सुर्खेतमा चार सय २२ जना उपभोक्ताको विद्युतको लाईन काटिएको छ । विद्युत महशुल समयमा नबुझाएपछि नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले विद्युतको लाईन काटेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को कार्तिक मसान्तसम्ममा प्राधिकरणले एक करोड ३८ लाख ३१ हजार रुपैयाँ बढि महशुल उठाउँन बाँकी थियो । प्राधिकरणले धमाधम लाईन काट्न थालेपछि अहिले उपभोक्ताहरुले वक्यौता महशुल बुझाँउन समेत थालेका छन् ।
कार्तिक मसान्त सम्ममा वक्यौता महशुलबाट ९४ लाख २५ हजार पाँच सय ४७ रुपैयाँ असुल भएको प्राधिकरणको सुर्खेत वितरण केन्द्रका वरिष्ठ सहायक कृष्णप्रकाश वलीले जानकारी दिए ।
प्राधिकरणले प्रत्येक वर्ष समयमा नै विद्युत महशुल भुक्तानी नगर्ने उपभोक्ताको विद्युत लाईन काट्दै आएको छ । त्यसैगरी समयमा नै विद्युत महशुल भुक्तानी नगर्ने उपभोक्ताहरुको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा छ ।
२०७७/०७८ मा ७३ जना उपभोक्ताको विद्युत लाईन काटिएको थियो । २०७८/०७९ मा भने दुई सय ५८ जना र २०७९/०८० मा चार सय ७५ जना उपभोक्ताको विद्युत लाईन काटिएको वलीले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना अवधिमा मात्र चार सय २२ जना उपभोक्ताको विद्युत लाईन काटिएको हो ।
लाईन काटिनेमा प्रायः उद्योग, होटल व्यवसाय र घरमा विद्युत प्रयोग गर्ने उपभोक्ताहरु नै बढि भएको नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रका वरिष्ठ सहायक वलीले जानकारी दिए । उनले भने, ‘हामीले लाईन काट्नु भन्दा अगाडि नै पटक–पटक सूचना गरेका हुन्छौ । यदि त्यो समयमा पैसा नतिरेमा लाईन काट्न बाध्य हुन्छौ ।’
लाईन काटिएका उपभोक्ता मध्येले सात लाख रुपैयाँ सम्म पनि महशुल बुझाउँन बाँकी रहेको उनले जनाए ।
लाईन काटेपछि मात्रै महशुल उठ्छ
लाईन काटेपछि मात्र प्राधिकरणले चार करोड ७२ लाख ७१ हजार संकलन गरेको छ । यो रकम २०७७÷०७८ यता लाईन काटेपछि संकलन भएको महशुल विवरण हो ।
सबैभन्दा धेरैं आर्थिक वर्ष २०७९/०८० मा दुई करोड २८ लाख ५५ हजार रुपैयाँ असुल गर्न लाईन काटेको प्राधिकरणले दुई करोड २२ लाख ७९ हजार रुपैयाँ संकलन गरेको थियो ।
यसैगरी २०७८/०७९ मा एक करोड ५० लाख १० हजार रुपैयाँ संकलन गर्न लाईन काटेपछि एक करोड १३ लाख २६ हजार रुपैयाँ महशुल संकलन भएको थियो ।
एक अर्व बढि राजस्व संकलन
२०७७/०७८ यता एक अर्व ७१ करोड ६७ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । सबै भन्दा बढि आर्थिक वर्ष २०७९/०८० मा ५७ करोड ५८ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
२०७८/०७९ मा ५३ करोड ८५ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जनाएको छ । त्यसैगरी २०७७/०७८ मा ३९ करोड ८९ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ को कार्तिक मसान्त सम्ममा २० करोड ३४ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भइसकेको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द सुर्खेतले बुधवार सम्ममा आठ करोड १८ लाख रुपैयाँ महशुल उठाउँन बाँकी छ ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । १५ मंसिर २०८०, शुक्रबार १२:०४