काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४ दशमलव नौं प्रतिशतले बढेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा पाँच दशमलव तीन प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए । उनले बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष आठ दशमलव दुई प्रतिशतले बढेकोमा चालु वर्ष १४ दशमलव नौं प्रतिशतले बढेको पनि बताए ।
उनले बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा एक सय नौं अर्ब रुपैयाँले बढेको बताए । उनले तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आँकलन राष्ट्र बैंकको रहेको बताए । उनले मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको बताए । उनले गत वर्ष टेजरी बिलको भारित ब्याजदर १० दशमलव १४ प्रतिशत रहेकोमा २०८० असोजमा चार दशमलव ९४ प्रतिशत रहेको बताए ।
उनले ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर दुई दशमलव ६२ प्रतिशत रहेको बताए । उनले गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताए । उनले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा दुई दशमलव २६ प्रतिशत रहेको ब्याजदर थप घटेर एक प्रतिशतको हाराहारीमा रहेको बताए । उनले बैंकहरुको बेस रेट घटेर नौं दशमलव ९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२ दशमलव एक प्रतिशतमा झरेको बताए ।
उनले बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको बताए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा चार देखि पाँच प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको बताए । उनले चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकोले चार देखि पाँच प्रतिशत आर्थिक वृद्धि हुने बताए । उनले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको बताए ।
उनले देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९-०८० असोजको मूल्यवृद्धि सात दशमलव पाँच प्रतिशत रहेको बताए । उनले वाह्य क्षेत्र थप सुदृढ हुँदै गएको पनि बताए । उनले लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म एक दशमलव सात प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः तीन दशमलव आठ प्रतिशतले र व्यापार घाटा पनि तीन दशमलव तीन प्रतिशतले घटेको बताए । उनले २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको बताए ।
उनले पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको बताए । उनले वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको उल्लेख गरे । गभर्नर अधिकारीले राष्ट्र बैंकले वाह्य क्षेत्रको स्थायीत्व, बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियार पूर्वक काम गरिरहेको बताए । उनले यी तीन विषयमा स्थायित्व दिनेसके मात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुने बताए ।
उनले अर्थतन्त्रका यी तीनवटा विषयमा राम्रो अवस्था रहेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्याको सबै जड गभर्नर हो भन्ने पनि आफूले अर्थतन्त्रमा समस्या हुने काम केही नगरेको बताए । उनले निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताए । उनले बैंकहरुमा कर्जाको माग कमी हुनुमा दुर्गा प्रसाईले २० लाखसम्मको ऋण मिनाह गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा बैंकहरु हच्केको बताए ।
युग संवाददाता । सुर्खेत । २० मंसिर २०८०, बुधबार १८:४६