दर्शन एउटा दृष्टिकोण हो । दर्शन वस्तु वा जीवन प्रतिको हेराइ पनि हो । यसले मानव जीवनलाई व्याख्या गर्छ । जगतलाई अवलोकन गर्छ । प्रकृतिलाई जाँच्छ । निहाल्छ । धारणा बनाउँछ । धारणा मानव जीवनको बारेमा । धारणा जगतको बारेमा । मात्रै यति होइन, दर्शनले मानव व्यवहार पनि निर्धारण गर्छ । संस्कारमा ढाल्छ । संस्कृति बनाउँछ । मान्यता बनाउँछ । समय सापेक्ष बनाउन प्रयत्न गर्छ । परिष्कृत बनाउन प्रयत्न गर्छ । विगत र वर्तमानको फ्युजनबाट भविष्य हेर्न माध्यम खोज्छ । माध्यम हुन सक्छन्, परिवार । समुदाय । समाज । विद्यालय । विद्यालय विद्यार्थीको लागि हो सिक्न । शिक्षकको लागि हो सिकाउन । अभिभावकको लागि हो आफ्ना बालबालिकाको जीवन मार्गदर्शनको बाटो तय गराउन । बाटो प्रमाणित गराउन । गणितको भाषामा विद्यालय समबाहु त्रिभुज हो ।
विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका ६०/६० डिग्रीको अनुपातमा हुने । प्रत्येक भुजाभित्र पाठ्यक्रम हुन्छ । कोणभित्र गन्तव्य हुन्छ । किन कि मानवलाई श्रेष्ठ र उच्च बनाउने तत्व ‘शिक्षा’ हाम्रा विद्यार्थीले प्राप्त गरुन् भनेर । विद्यार्थी सचेत बनुन् भनेर । विवेकी बनुन् भनेर । शिल र स्वभाव मानवरुपी बनोस् भनेर । सभ्यता, संस्कार र दर्शन सिकुन् भनेर । हाम्रा विद्यार्थी दर्शनबाट निर्देशित होउन् भनेर । तर्क र तथ्यको पछि लागुन् भनेर । स्वतन्त्र र स्वाभिमानी बनुन् भनेर । हामी विविध धर्म मान्छौँ । विविध संस्कृतिलाई अनुशरण गर्छौँ । देवीदेवताको पूजा गर्छौँ । सबैको असल कर्मको अपेक्षा गर्छौँ । यसको कारण यो पनि हुन सक्छ कि हामी पूर्वीय वैदिक दर्शनबाट प्रभावित भएका छौँ । हामी शिक्षा प्रदायक शिक्षक, समाज नेतृत्व गर्ने नेता अनि अभिभावक जस्ता छौँ त्यसैको प्रतिबिम्बन हाम्रा विद्यार्थी बन्छन् । सिकारु बन्छन् । सन्तती बन्छन् । यस लेखमा पूर्वीय दर्शन भनेको के हो ? शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धमा पूर्वीय दर्शन किन आवश्यक छ भन्ने कुरालाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।
के हो त पूर्वीय दर्शन ?
भगवान श्रीकृष्ण र सुदामा बाल्यकालका साथी थिए । एक दिन सुदामालाई भगवान श्रीकृष्णलाई भेट्ने सारै ईच्छा जाग्यो । तर सौगात लिने कुरा सुदामासँग केही थिएन । सुदामाले आफ्नो झुपडीमा भएको एकमात्र चिज एक माना कनिका लिएर कृष्णलाई भेट्न गए । कृष्णले पनि देवदरवारका सबै खानेकुरा भन्दा पनि मिठो मानेर साथीले लिएर गएको कनिका खाए । यो भगवान श्रीकृष्णको साथी प्रतिको एक सम्मान थियो । यस्तै सन्र्दभ सिकाउने कथा पूर्वीय दर्शन हो । यसले असल संस्कार सिकायो । आत्मियता सिकायो । शिखर चढिसकेपछि पनि भ¥याङ सम्झन सिकायो । सकारात्मक सोच बनाउन सिकायो । यसै गरी महादेवसँग किसान हारेको कथा सिकाउने दर्शन पनि पूर्वीय दर्शन हो । यसले घमण्ड सबैलाई हानिकारक हुन्छ भन्ने सिकायो । परिश्रमले सफलतामा पु¥याउने कुरा सिकायो । दरबारीया सुख, सयलबाट भागेर ज्ञान प्राप्तीका साधनामा लाग्ने गौतम वुद्धको शुद्ध विचार पनि पूर्वीय दर्शन हो । ज्ञान भन्दा ठूलो परिवार हुन सक्दैन । भौतिक सम्पत्ति हुन सक्दैन । यस्ता सन्देश वौद्ध दर्शनले सिकायो ।
पूर्वीय दर्शनमा वेदका ६ वटा दर्शन छन् । ‘सांख्य दर्शन’ जसले बुद्धिको प्रयोग गर्न सिकाउँछ । कारण खोज्न सिकाउँछ । तर्क गर्न सिकाउँछ । ‘योग दर्शन’ जसले शारीरिक स्वस्थता र मनोविकार हटाउन सिकाउँछ । ‘न्याय दर्शन’ जसले अनुभवलाई मान्यता दिन्छ । ‘वैशेषिक दर्शन’ जसले पदार्थको अस्तित्वलाई स्वीकार्छ । ‘मिमांसा दर्शन’ जसले कर्मकाण्ड र ज्ञानकाण्ड अथवा धर्मको परिपालनालाई जोड दिन्छ । अर्को महत्वपूर्ण बुद्ध दर्शन हो । जसका प्रणेता गौतम बुद्ध हुन् । उनले यस दर्शनको बारेमा सुखमय र भोगमय जीवन भन्दा पनि टाढा रहेर सादा जीवन र विश्व शान्तित्वन्मुख विचार प्रकट गर्छन् । चार आर्यसत्य, अष्ठमार्ग र पञ्चशिल वौद्ध दर्शनको समग्रता हो ।
कन्फ्युसियसले मानवतावादी र नीतिवादी सोचलाई अँगाले । ‘अरूसँग त्यस्तो व्यवहार नगर जुन व्यवहार अरूले गर्दा तिमिलाई मन पर्दैन’ भन्ने कन्फ्युयिसको दर्शन थियो । समग्रमा वैदिक दर्शन आत्मा र शरिरको सम्बन्ध । वौद्ध दर्शन शान्तीको सन्देश । कन्फ्युसियसको दर्शन असल सभ्यता र संस्कारको सन्देश । जातपातमा भेदभाव राख्न नहुने गुरु नानकको दर्शन । सत्यज्ञान, सत्यकर्म र सत्य विश्वासलाई सिद्धान्त मान्ने जैन दर्शनलाई नै मुख्य पूर्वीय दर्शन मानिन्छ । यसका अतिरिक्त गान्धि दर्शनले अहिंसाको मार्ग हिँड्न सिकायो । चाणक्य दर्शनले नीति र विधिका कुरा सिकायो । कौटिल्य दर्शनले अर्थ र लगानीको कुरा सिकायो ।
पैगम्बर मोहम्मद दर्शनले दृढ्ता र अठोट सिकायो । शंकाराचार्य दर्शन र विभिन्न ऋषीमुनिका विचारले जीवन र जगतलाई चिन्न सिकायो । आदर्शवादको सन्देश सिकायो ।
पूर्वीय दर्शनको शिक्षकलाई उपादेयता
शिक्षक सार्वजनिक व्यक्ति हुन् । उनले पेशाप्रति वफादार र जिम्मेवार बन्नु पर्ने हुन्छ । धर्म भनेको सेवा हो भन्ने बुझ्नु पर्ने हुन्छ । पेशालाई पनि बोझको रुपमा होइन, सेवा कै रुपमा बुझ्नुपर्ने हुन्छ । सार्वजनिक, सांगठनिक र पेशागत जीवनको मूल्य र कर्तव्य बोध गराउँछ । कार्यव्यवहारलाई अद्यावधिक र संस्थाप्रति समर्पित बनाउन । साझा मान्यता, साझा कार्यसंस्कृति र साझा व्यवहारको मान्यतालाई अनुशरण गर्न । निष्पक्षता सिकाउँछ । चाणक्यका नीतिलाई अनुशरण गर्न । साम, दाम, दण्ड र भेदको राम्रो अर्थ बुझि सो अनुसार राजनीति चल्छ भनेर सिकाउन । विज्ञानको फूर्ति बुझ्न । धर्मको सेवा बुझ्न । प्रविधिको प्रगति बुझ्न । संस्कृतिको पृष्ठभूमि बुझ्न । शाश्वत सत्य देख्न । आफ्ना विद्यार्थीहरुलाई ‘तरबार भन्दा कलम बलियो हुन्छ’ भन्ने कुरा बुझाउन । धर्म, कर्म, अर्थ र मोक्षको बारेमा जानकारी दिन । समग्रमा विगत–वर्तमान जोड्दै बालबालिकाको सर्वाङगिण विकासको ध्येय राखी समाजको निर्माता बन्नको लागि पनि शिक्षकको लागि पूर्वीय दर्शनको आवश्यकता पर्छ ।
अभिभावकको लागि पूर्वीय दर्शनको उपदेयता
बालबालिकाको पहिलो विद्यालय त गृह नै हो । पहिलो गुरु पनि बाबुआमा नै हुन् । त्यसैले अभिभावक नै धार्मिक रुपमा सहिष्णु बन्नु पर्छ । सामाजिक रुपमासद्भावी बन्नुपर्छ । संवेगात्मक रुपमासंयमी बन्नुपर्छ र व्यवहारिक रुपमा हार्दिक बन्नुपर्छ । आफ्ना सन्ततिको पृष्ठभूमि बुझ्न दर्शन चाहिन्छ । यति मात्र होइन निम्न कारणले पनि पूर्वीय दर्शन अभिभावकमा हुन जरुरी छ । बालबालिकालाई परिवेश बुझाउन । संस्कृति र संस्कार सिकाउन । असल संस्कारिक बनाउन । राज्य बहुउद्देश्यीय, आमनागरिकको विश्वासको अन्तिम धरोहर र नैतिक संस्था पनि भएकाले यसलाई मूल्यबोधी बनाउने आवश्यकता अरुभन्दा पनि बढी रहन्छ । अभिभावकले आफ्ना सन्तानलाई ‘कर्मविनाको सम्पत्ति नकमाउनु भन्ने सिकाउन जसले भ्रष्टाचार रहित समाजको परिकल्पना गर्छ ।
चरित्रविनाको ज्ञान शुन्य हुन्छ भन्ने सिकाउँदा सभ्य समाज निर्माणको ढोका खुल्छ । नैतिक व्यापारले सदाचारी बनाउँछ । मानवता विनाको विज्ञान अर्थहिन हुन्छ भन्ने सिकाउँदा समाजमा अर्थ रहन्छ । सिद्धान्त विनाको राजनीति, सेवा विनाको धर्म र विवेक विनाको सुख’ शुन्यमूल्य हुन भन्ने सिकाउँछ । आफ्ना सन्ततिलाई विषयवस्तु (कन्टेन्ट) को महत्व बुझाउन, भाषाको होइन । बोर्डिङ स्कुलमा पठाएर अँग्रेजी सिके भने सबै सिके भन्ने मान्यता नभई विषयवस्तुको महत्व बुझे कि नाई भन्ने कुरालाई महत्वपूर्ण मान्न । आत्माको शक्ति बुझ्न । आफ्ना सन्ततिलाई आस्तिक र नास्तिक बाटो रोजाउन । स्वस्थ र सन्तुलित जीवनको बारेमा सिकाउन । अरुको निन्दा, तिरस्कार र अपमान गर्नु ठूलो पाप हो भन्ने सिकाउन । मातृपितृ भक्ति, गुरुभक्ति, देशभक्ति, आफू भन्दा ठूलाको सम्मान जस्ता जीवन दर्शन पूर्वीय दर्शनमा छन् । त्यसैले अभिभावकलाई पनि यो आवश्यक छ ।
विद्यार्थीको लागि पूर्वीय दर्शन
विद्यार्थीको लागि पूर्वीय दर्शन अनिवार्य छ । किन कि यो दर्शनले विद्यार्थीलाई नैतिक र चरित्रवान् वनाउछ । आन्तरिक प्रेरणा खोजाउँछ । प्रेमपूर्ण जीवनमा रही खुशी राख्छ । आत्महत्या जस्ता कहाली लाग्दा घटनाको परिकल्पना पनि नगर्ने बनाउँछ । जीवनको मूल्य बुझ्छ । सम्बन्ध, सुविधा, विश्वास र व्यवहारलाई सकारात्मक बनाउँछ । राष्ट्रियता बुझाउँछ । थिङ्क ग्लोबल्ली याक्ट लोकल्ली भन्न सिकाउँछ । अरुको भाषा होइन, आफ्नो भाषा बुझ्न सिकाउँछ । सत्य र असत्य छुट्टयाउन सिकाउँछ । आदरार्थी र विनम्र बन्न सिकाउँछ । इमान्दार, निष्ठावान् बन्न सिकाउँछ । न्यायको पक्षमा वकालत गर्न सिकाउँछ । संयम बन्न सिकाउँछ । साथित्वको मूल्य बुझ्न सिकाउँछ । समझदारी खोज्ने बनाउँछ । शान्ति र स्वतन्त्रताको पक्षपोषण गर्न सिकाउँछ । उत्साही र आत्मविश्वासी बनाउँछ । चिनीयाँ दार्शनिक कन्फ्युसियसले ‘विद्यार्थी जीवनको सम्पूर्णताका लागि सदाचारी जीवन र नीतिज्ञता’ मा जोड दिएका छन् । पिताको पूजा गर भनेका छन् । रामलाई पनि असल आज्ञा पालक र त्यागी मानिन्छ । वृद्धप्रति सम्मान गर भनेका छन् । भद्र व्यक्तिले नै समाज हाँक्न सक्छ भनेका छन् ।
त्यसैले घरपरिवार, बृद्ध र समाजका अग्रज व्यक्तिहरूको आज्ञा र निर्देशन परिपालनाको लागि पनि पूर्विय दर्शनको आवश्यकता पर्छ । आत्मअनुशासन सिकाउँछ । बौद्ध दर्शनले ‘आफ्नो दियो आँफै बाल्नुपर्छ’ भने झैँ विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउँछ । संस्कृति बुझाउँछ । संस्कृति भनेको मानिसको सम्पूर्ण चरित्र नै हो भन्ने सिकाउँछ । सामाजिक बन्धनसँग परिचित हुन सिकाउँछ । आफू आरम्भ गरेको काममा चिन्तन, तपस्या, ध्यान र साधनान्मुख हुन सिकाउँछ । रस्किनले भनेका ‘उद्योगविनाको दिन र परिश्रम विनाको जीवन पवित्र हुन सक्दैन’, यो भनाइबाट प्रेरणा लिन सिकाउँछ । अँग्रेजी भाषा विज्ञापनको भाषा बन्यो । ज्ञानको भाषा बनेन । कराउन, चिच्याउन र चलचित्र हेर्न सिकायो । संस्कृत ज्ञानको भाषालाई पाठ्यक्रममा राखिएन । आज हामी हुन छोडेर उनीहरु भइरहेका छौँ । आज हामी विश्वव्यापीकरणमा छौँ । पुस्तकहरु इ–पुस्तक भएका छन् । शिक्षकहरु रोवर्ट शिक्षक भएका छन् । हामी जे पनि लिन मात्र खोज्छौँ । दिन केही पनि खोज्दैनौँ । ज्ञानको स्रोत गुगल भएको छ । विज्ञानले अरुको जिनले बच्चा जन्माउन सिकायो । रगतको नाता हराइउन थाल्यो । उत्तर आधुनिकतावादको दबदबा रह्यो । व्यक्तिवाद हावी भयो । समग्रतावाद हरायो । भौतिकवाद मौलायो । यथार्थवाद अल्मलियो । पदार्थवाद र चेतनावादमा पश्चिमाको भयो । एकिकृत मानवतावादको खडेरी प¥यो । अब हाम्रो समाजलाई मौलिकतामा फर्काउन पनि पूर्वीय दर्शनको आवश्यकता रहेको छ ।
अन्तमा,
पूर्वीय दर्शन र नीति मानव सभ्यता, सामाजिक व्यवस्था र राज्य प्रणालीलाई मार्गदर्शन गर्ने आदर्श आधार हो । वेद, पुराण, गीता, रामायण, महाभारत, उपनिषध, त्रिपिटक, मुन्धुम, श्रुति, हालसम्मका साहित्य, कला यसका सन्दर्भ सामाग्री हुन् । इन्द्रियहरु शरिर भन्दा बलवान हुन्छन् । इन्द्रिय भन्दा मन बलवान् हुन्छ । मन भन्दा बुद्धि बलवान हुन्छ । बुद्धि भन्दा पनि अत्यन्त बलवान आत्मा हो । त्यसैले आत्मिक अनुशासन सबैभन्दा ठूलो आचरण हो र सार्वजनिक जीवनमा यो अझै महत्वपूण हुन्छ भनेर गीतामा भनिएको छ ।
माथि उल्लेखितका अतिरिक्त मदरटेसेसा, जवाहरलाल नेहरु, स्वामी विवेकानन्द, रविन्द्रनाथ टैगोर, पृथ्वीनारायण शाह, विपी कोइराला, गणेशमान सिँह, दलाइ लामा, मदन भण्डारी, मनमोहन अधिकारी लगायतका हाम्रै माटोमा खेलेका तथा सारा पूर्वीय माटोमा खेलेर शुद्ध असल विचार दिनेहरुलाई समेत पूर्वीय दर्शनका सन्दर्भ र उनीहरुका विचारलाई स्रोत मानिन्छ । एउटा सभ्य, सुसंस्कृत र असल नागरिक तयार गर्नको लागि शिक्षक, अभिभावक र विद्यार्थीमा पूर्वीय दर्शनको ज्ञान र अनुशरण भएमा सार्थकता पाउने देखिन्छ । अहिले नेतामा नीति खोज्नु पर्ने भो । डाक्टरमा उपचार खोज्नु पर्ने भो । शिक्षकमा ज्ञान खोज्नु पर्ने भो । पूजारीमा धर्म खोज्नु पर्ने भो । विद्यार्थीमा अनुशासन खोज्नु पर्ने भो । कर्मचारीमा विनम्रता र पारदर्शिता खोज्नु पर्ने भो ।
सुरक्षाकर्मीमा रक्षा खोज्नुपर्ने भयो । सन्तानमा माया खोज्नु पर्ने भो । बाबुआमामा कर्तव्य खोज्नु पर्ने भो । पालोमा धैर्यता खोज्नु पर्ने भो । उपकार, संयम, पवित्रता, शुद्धता भन्ने कुरा एकादेशका कथा बन्न थाले । असत्यबाट सत्यमा पुग्न कठिन भयो । अन्धकारबाट प्रकाशमा पुग्न कठिन भयो । भ्रष्टाचारले जताजतै जरा गाड्यो । स्वदेशी मौलिक शिक्षा खोज्नु पर्ने भो । हाम्रो शिक्षामा वेद, उपनिषद, गीता, त्रिपिटक, रामायणहरु हम्रा पाठ्यक्रमका विषयवस्तु बनेनन् । देवऋण, पितृऋण र गुरुऋणको मूल्य नै थाहा भएन । बृद्ध आश्रमको संख्या बढ्दै गयो । पश्चिमा मर्मलाई घोकाइमा ढालियो । अझै पनि एकपटक सोचौँ न । संस्कृत पनि गाऔँ । संस्कार पनि बचाऔँ । समग्रमा पूर्वीय दर्शनलाई हाम्रो पाठ्यक्रम र शिक्षणमा जोडौँ । असल समाजको परिकल्पना गरौँ ।
(लेखक अमरज्योती नमूना माध्यमिक विद्यालय, नेवारेमा माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । २१ मंसिर २०८०, बिहीबार ११:१०