हिमपातका कारण चिसो बढ्दा हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित बनेको छ ।
तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो । जिल्लामा यतिवेला बिहान र रातिको समय तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ ।
यो वर्ष हिउँदयाममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् भने साथै सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहने गरेका छन् । हिल्सामा बिओपी स्थापना भएसँगै केही वर्षअघिदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिँदै आएको छ ।
पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुन्छ । चिसोमा सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिए ।
लिमीमा हिमपातले बाटो नै खुलेन्
गत सोमवारको हिमपातपछि नाम्खा गाउँपालिका–६ स्थित लिमी आवतजावत बन्द भएको छ । लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक बन्दाबन्दीमा परेका छन् ।
हिमालपारिको गाउँले चिनिएको लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको जनाइएको छ । लिमीका स्थानीय निमा तामाङले बाक्लो हिमपातको कारण लिमी आवत जावत बन्द भएको जानकारी दिए ।
उनका अनुसार लिमी जाने चार हजार ६ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएको छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेकाले जानकारी दिए ।
सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख–जेठसम्म लिमी आवत जावतमा समस्या हुने जनाइएको छ । हिउँद भर्खर शुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । यसअघि नै गत कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरिसकेको छ ।
युग संवाददाता । हुम्ला । २४ मंसिर २०८०, आईतवार ११:३२