सुर्खेतमा  धान उत्पादन ९ प्रतिशतले वृद्धि

सुर्खेतले धान उत्पादनमा वृद्धि गरेको छ । अहिले यहाँ जिल्लामा ७५ हजार मेट्रिकटन धान उत्पादन भएको हो ।

कृषि विकास निर्देशनालय, सुर्खेतका अनुसार सुर्खेत जिल्लामा १५ हजार दुई सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट ७५ हजार चार सय ३८ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयको प्रारम्भिक तथ्यांक छ ।

विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्दा समेत सुर्खेतमा धान उत्पादन वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्ष २०७९/०८० मा सुर्खेतमा ६९ हजार एक सय २० मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयको तथ्यांक छ ।

यस अघि २०७८/०७९ मा सुर्खेतले ७० हजार एक सय तीन मेट्रिकटन धान उत्पादन गरेको थियो । त्यसैगरी उत्पादकत्वमा समेत सुर्खेतमा वृद्धि भएको छ  । २०७८/०७९ मा सुर्खेतमा प्रति हेक्टर चार दशमलव पाँच मेट्रिकटन धान उत्पादन भएको थियो । २०८०/०८१ मा प्रति हेक्टर चार दशमलव ९५ मेट्रिकटन धान उत्पादन भएको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिए ।

कर्णाली भर ५१ हजार हेक्टरमा धान खेती

कर्णालीमा प्रदेश भर ५१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । प्रदेश भर कुल ५१ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको कृषि विकास निर्देशनालयको तथ्यांक छ ।

२०७८/०७९ मा कर्णालीले कुल एक लाख ८१ हजार एक सय ८० मेट्रिकटन धान उत्पादन गरेको थियो । २०७९/०८० मा प्रदेश भर भएको धान उत्पादनको अवस्थाका विषयमा भने अध्ययन प्रतिवेदन सार्वजनिक अन्तिम तयारीमा रहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिए ।

२०७८/०७९ को तथ्यांक हेर्ने हो भने कर्णालीमा धानको उत्पादकत्व प्रति हेक्टर दुई दशमलव नौं मेट्रिकटन छ ।

उत्पादन र उत्पादकत्व बढ्ने संकेत

नेपाल राष्ट्र बैकको प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन, २०७९ का अनुसार कर्णालीमा धान खेतीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ । उक्त अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/८० मा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढेपनि प्रमुख बाली मध्ये धान खेतीले ढाकेको क्षेत्रफल भने घटेको जनाएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ को पुष महिनाको तुलनामा गत आर्थिक वर्ष २०७९/०८० को सोहि अवधिमा कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव तीन प्रतिशतले बढेको थियो । तर, सोहि अनुपातमा धान बालीले ढाकेको क्षेत्रफल भने घटेको देखिन्छ । धान बालीले ढाकेको क्षेत्रफल एक दशमलव १८ प्रतिशतले घटेको छ ।

यता कृषि विकास निर्देशनालयका प्रमुख तथा वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायले कर्णालीले धानको उत्पादकत्वमा वृद्धि गरेको बताउँछन् । हाल कृषकमा समेत चेतनाको स्तर वृद्धि भईरहेको उनले जनाए । उनले भने, ‘अहिले शिक्षित युवाहरु कृषि उत्पादनमा सक्रिय बन्दै गएका छन् । कृषिमा प्रविधिको प्रयोग समेत बढ्दैछ । उन्नत जातका बीउँको प्रयोगले समेत उत्पादकत्वमा बढावा दिएको छ ।’

पहिले धान खेती हुने जग्गामा धान वाहेक अरु वालीको खेती समेत हुन्थेन । अहिले किसानहरुले वार्षिक तीन बालीसम्म पनि खेती गरिरहेका छन् । बालीले ढाकेको क्षेत्रफल नबढेपनि सुर्खेत लगायत कर्णालीमा धानको उत्पादनलाई अझ वृद्धि गर्न चैते धान विकल्प हुने उनको भनाई छ । उनले भने, ‘किसानले चैते धान पनि लगाए भने एउटै जग्गामा दुई पटक धान उत्पन्न हुन्छ । यसले पनि उत्पादन बढाउछ ।’

त्यसैगरी हालको समयमा धानको उत्पादनमा वृद्धि हुनुको कारणमा वेमौषमी वर्षातले क्षति नगर्नु, सिचाईंको सुविधा बढ्नु, उन्नत जातका बीउँको प्रयोग तथा रोग किराको प्रकोपमा कमीका कारणहरु रहेको उनले जनाए ।

सडक सञ्जालहरुको विकास तथा किसानलाई बजारीकरणमा समेत सहजताका कारण धानको उत्पादन वृद्धि भईरहेको उनले जनाए ।

तपाईको प्रतिक्रिया