महशुल भुक्तानी नभए सडक बत्तीको लाइन काटिने

नयाँ मिटर तत्काल जडान नभए सडक बत्ती हटाउने नेपाल विद्युत प्राधिकरणको योजना ।

वीरेन्द्रनगर नगरपालिकामा प्रयोग गरिएका सडक बत्तीको महशुल चार करोड नाघेको छ । नगरपालिका भित्र विना मिटर प्रयोगमा रहेक सडक बत्तीको हालसम्मको महशुल चार करोड १४ लाख ४९ हजार एक सय ५९ रुपैयाँ पुगेको हो । यो रकम हर्जना वाहेक आईतवारसम्मको हो । यसमा वीरेन्द्रनगरमा सञ्चालित ‘हाई मास्ट लाईट’को महशुल भने समावेश गरिएको छैन ।

वीरेन्द्रनगर नगरपालिकालाई गत वर्ष नै नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले महशुल भुक्तानीका लागि पत्राचार गरिसकेको थियो । गत वर्ष २०७९ पौष महिना सहित हालसम्ममा तीन वटा पत्र सुर्खेत वितरण केन्द्रले नगरपालिकालाई पठाईसकेको छ ।

‘अघिल्लो साताको शुक्रवार हामीले अन्तिम पत्र पठाएका छौं । सडक बत्तीमा मिटर जडान गर्नुपर्ने र महशुल समेत भुक्तानी गर्नुपर्ने पत्रको व्यहोरा छ’, सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले भने ।

महशुल भुक्तानीसँगै विद्युत लाइनमा नयाँ मिटर समेत जडान गर्नुपर्ने प्राधिकरणको माग छ । वितरण केन्द्र प्रमुख रावतका अनुसार सडक बत्तीका लागि प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने योजना गरेको छ । सात दिने समय दिएर वितरण केन्द्रबाट पठाइएको पत्र अनुसार नगरपालिकाले रकम भुक्तानी नगरे सडक बत्तीहरु हटाइने उनले बताए । ‘हामीलाई माथीबाट पनि सोहि अनुसार काम गर्न निर्देशन भएको छ’, उनले भने ।

गत वर्ष देखि नै प्राधिकरणले नगरपालिकालाई विद्युत महशुल बुझाउन पत्र पठाएपनि वीरेन्द्रनगर नगरपालिकाले भने महशुल भुक्तानी गरेको छैन । यसअघि नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई महशुल मिलानका लागि अनुरोध गर्ने निर्णय समेत गरेको थियो । साथै उर्जा मन्त्रालयलाई समेत वक्यौता महशुलको हिसाव मिलान गर्न अनुरोध गर्ने निर्णय गरिएको थियो । गत वर्ष २०७९ पौष २६ गते बसेको नगर कार्यपालिकाको १२ औं बैठकमा विद्युत महशुल वक्यौताको विषयले स्थान पाएको थियो । बैठकले यस विषयमा निर्णय गर्दै महशुल भुक्तानी गर्न परे विद्युतका पोलले प्रयोग गर्ने जग्गाको राजश्व समेत असुल गरिने आशय व्यक्त गरेको थियो ।

कार्यपालिकाको १२ औं बैठककको निर्णय नं. ९(ङ) मा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको क्षेत्राधिकार भित्रको भूमी व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने र नगरपालिका भित्र सेवा दिने विद्युत, टेलिकम, इन्टरनेट जस्ता सेवा प्रदायक संस्थाले समेत स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने जमीन उपयोग गरेवापत स्थानीय तहलाई कर तिर्नुपर्ने कानूनी व्यवस्था भएको तर यस्ता सेवा प्रदायक निकायबाट स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने जमिन उपयोग गरेवापत कर÷राजश्व÷शुल्क तिराउने अवस्था हाल नरहेकोले सोको हिसाव मिलानको लागि’ संघका मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

तर हाल मंसिर १७ गते अर्थ मन्त्रालयले स्थानीय तहले नै सडक बत्तीको महशुल भुक्तानी गर्नुपर्ने निर्णय गरिसकेको छ । अर्थ मन्त्रालयले ‘सडक बत्तीको पैसा सम्बन्धित स्थानीय तहबाट नै असुल उपर गर्ने निर्णय गर्दै सो को कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन’ दिएको थियो ।

नेपाल सरकारको निर्णय कार्यान्वयन हुन्छः प्राधिकरण प्रवक्ता

स्थानीय तहले आफ्नो क्षेत्रमा प्राधिकरणले जग्गा उपयोग गरेको वहानामा महशुल भुक्तानी रोक्नु सान्र्दभिक नभएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । उनले भने, ‘विजुलीका पोलहरु व्यक्तिका जग्गामा पनि छन् । उनीहरुलाई पनि पोलको भाडा दिएर होला र ?’ नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था बताउँदै उनले भने, ‘हामी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हौँ । प्रदेश तथा स्थानीय तहको स्वामित्वमा छैनौं । प्राधिकरणमा सबै नेपाली नागरिकको पैसा जम्मा हुन्छ ।’

स्थानीय तहले प्राधिकरणलाई सडक महशुल वापतको रकम भुक्तानी गर्नैपर्ने बताउँदै उनले बजेट स्रोत सुनिश्चितताका विषय पालिकाको आफ्नै समस्या रहेको बताए । ‘नेपाल सरकारबाट लिएर भएपनि स्थानीय तहले सडक बत्तीको रकम त दिनैपर्छ’, उनले भने ।

चार हजार बढी सडक बत्ती

वीरेन्द्रनगरमा हाल चार हजार भन्दा धेरैको संख्यामा सडक बत्तीहरु बलिरहेका छन् । नगरका वडाहरुले उपलब्ध गराएको प्रारम्भिक तथ्यांक बमोजिम १ नम्वर वडामा आठ सय वटा, २ नं. वडामा दुई सय ५० वटा, ४ नं. वडामा तीन सय ९० वटा, ५ नं. वडामा तीन सय वटा, ६ नं. वडामा एक सय ५० वटा सडक बत्ती जडान भएको छ ।

यसैगरी ८ नं. वडामा चार सय वटा, ९ नं. वडामा पाँच सय वटा, १० नं. वडामा आठ सय ५० वटा, १२ नं. वडामा पाँच सय ५० वटा र १४ नं. वडामा २२ वटा सडक बत्ती जडान भएको वडा कार्यालयहरुले जनाएका छन् ।

वीरेन्द्रनगरको १३, १५ र १६ नं. वडामा सडक बत्ती जडान भएका भने छैनन् । भौगोलिक विकटता, सडकमा विद्युत प्रसारण लाइनको पहुँच नभएका जस्ता कारणले यि क्षेत्रमा सडक बत्ती जडान नभएको हो । यस प्रारम्भिक तथ्यांकमा नगरको ३, ७ र ११ नं. वडाको विवरण भने प्राप्त भएको छैन । अन्य वडाहरुबाट प्राप्त विवरणहरु प्रारम्भिक तथ्यांक हुन् । गत वर्ष २०७९/०८० मा वडाले सडक बत्तीको मर्मत तथा जडानमा खरिद गरिएको सामाग्रीको आधारमा वडाले प्रारम्भिक तथ्यांक मात्र उपलब्ध गराएको हो । प्राप्त तथ्यांकमा आधारमा वीरेन्द्रनगर नगरपालिका भित्र चार हजार दुई सय १२ वटा भन्दा धेरै सडक बत्तीहरु जडान भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया