रारामा पर्यटकको संख्या बढ्न थालेको छ । रारा पुगेका पर्यटकहरुको तथ्यांक हेर्दा यो वर्ष मात्र ६ हजार बढी पर्यटकहरुले राराको भ्रमण गरिसकेका छन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिरसम्ममा ६ हजार एक सय ४५ जना आन्तरिक पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालले जानकारी दिए ।
त्यसैगरी साउनदेखि मंसिर महिनासम्ममा सार्क मुलुकका पर्यटक २७ र अन्य विदेशी एक सय २६ जनासहित कुल ६ हजार दुई सय ९८ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा रारामा घुम्न जाने आन्तरिक पर्यटकको संख्या १० हजार दुई सय १७ जना थियो । यस आर्थिक वर्षमा विदेशी पर्यटक २२ जना गरी कुल १० हजार दुई सय ३९ जना पर्यटकले भ्रमण गरेको थिए । ०७७÷०७८ मा भने सार्क मुलुकका पर्यटकको संख्या शून्य रहेको कार्यालयले जनाएको छ ।
०७८/०७९ मा आन्तरिक पर्यटक ११ हजार चार सय ५१, विदेशी पर्यटक ८४ र सार्क मुलुकका १५ जना पर्यटक गरी ११ हजार पाँच सय ५० जना पर्यटकले भ्रमण गरेका थिए ।
यसैगरी आर्थिक वर्ष ०७९/०८० मा आन्तरिक पर्यटक ११ हजार चार सय ३९, विदेशी पर्यटक एक सय ८३ र सार्क मुलुकका २६ जना पर्यटक गरी कुल ११ हजार ६ सय ४८ जना पर्यटकले रारा भ्रमण गरेको तथ्यांक छ ।
तीन वर्षमा दुई करोड राजस्व संकलन
रारामा पर्यटकको आगमन बढेसँगै राजस्व पनि बढेको छ । २०७७/०७८ यता हाल सम्म दुई करोड सात लाख ९३ हजार तीन सय रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर २६ गते सम्म आन्तरिक पर्यटकबाट ६ लाख १४ हजार पाँच सय, विदेशी पर्यटकबाट तीन लाख ७८ हजार र सार्क मुलुक पर्यटकबाट ४० हजार पाँच सय रुपैयाँ गरी १० लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको धितालले जानकारी दिए ।
२०७९/०८० मा आन्तरिक पर्यटकबाट ११ लाख ४३ हजार नांै सय, विदेशी पर्यटकबाट पाँच लाख ४९ हजार र सार्क मुलुक पर्यटकबाट ३९ हजार रुपैयाँ गरी एक करोड ७३ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसैगरी २०७८/०७९ मा आन्तिरक पर्यटबाट ११ लाख ४५ हजार एक सय, विदेशी पर्यटकबाट दुई लाख ५२ हजार र सार्क मुलुक पर्यटकबाट २२ हजार पाँच सय रुपैयाँ गरी १४ लाख १९ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
२०७७/०७८ मा आन्तरिक पर्यटकबाट १० लाख २१ हजार सात सय, विदेशी पर्यटकबाट ७७ हजार रुपैयाँ गरी १० लाख २१ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी धितालले जानकारी दिए ।
रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय रुपैयाँ, सार्क मुलुककालाई प्रति व्यक्ति एक हजार पाँच सय र अन्य विदेशीसँग तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरेको धिमालले जानकारी दिए ।
आशा लाग्दो पर्यटक आगमन
तीन आर्थिकको तुलनात्मक तथ्यांक हेर्ने हो भने अहिले रारामा पर्यटकको आगमन आशलाग्दो तरीकाले बढिरहेको देखिन्छ । आन्तरिक पर्यटकसंगै विदेशी पर्यटकहरुको संख्या पनि बढेको कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताए ।
रारामा डुङ्गा सवार गर्न, रारा तालको अवलोकन सँगै प्रकृतिमा रमाउनेहरुका लागि सुन्दर ठाउँ भएकाले पनि पर्यटकहरुको संख्या बढेको उनको भनाई छ ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । ३० मंसिर २०८०, शनिबार १४:०८