नागरिक त्रिपालमा, अस्थायी आवास अनुदान भने पालिकामै थुप्रियो

पुनम वि.सी. (सुर्खेत)/दिपेन्द्र शर्मा (जाजरकोट) ।

जाजरकोटको नलगाड नगरपालिका–७, चामाखेत निवासी विक्रम तामाङ्ग अहिले अस्थायी आवास निर्माणमा जुटेका छन् । हाल उनको घरमा उनी सहित दुई जनाको परिवार छ । तामाङ्गले भूकम्पमा श्रीमति र छोरी गुमाए ।

हाल भूकम्पले भत्काएको घर भन्दा केहि पर उनी आफ्ना वुवासँग त्रिपालमै बस्छन् । त्रिपालको बसाई कठिन हुन थालेपछि तामाङ्गका बुवाछोरा अहिले आफै अस्थायी आवास निर्माणमा जुटिरहेका छन् । स्थानीय सामाग्रीको नै प्रयोग गरेर अस्थायी आवास बनाउने उनीहरुको योजना छ ।
उनले भने, ‘पहिला भत्केको घरकै काठ ल्याएर बनाउन लागेको हो । हामी बाउँछोरा आफैले बनाउदैछौ ।’

तर, हालसम्म पनि तामाङ्ग परिवारले अस्थायी आवासको अनुदान रकम पाएको छैन ।

अस्थायी आवास निर्माण गर्दै नलगाड नगरपालिका–७, चामाखेत निवासी विक्रम तामाङ्ग । (तस्विरः दिपेन्द्र शर्मा/युगआह्वान)

तामाङ्गको मात्रै होइन चामाखेत नै वसोवास गर्ने सुशिला परियारको समेत अवस्था उस्तै छ । परियारको घरमा ६ जनाको परिवार छ ।

सुशिलाले भने टिनको प्रयोग गरेर अस्थायी आवास बनाईसकेकी छन् । ‘पुरानो घरको सामान ल्याएर बनाएका हौँ । अरु खर्च १० हजार रुपैयाँ जति भयो होला ।’

परियार र तामाङ्गको परिवारले अझैपनि अस्थायी आवास अनुदान रकम पाएको छैन । ‘हामीले वडामा गएर फर्म पनि भरेका हौँ । अव कहिले दिन्छन् थाह छैन’, उनले भनिन् ।

संघीय सरकारले उपलब्ध गराएको अस्थायी आवास अनुदान रकम स्थानीय तहका बैंक खातामै रोकिएको छ । जाजरकोट भूकम्पमा कुल ६० हजार तीन सय ३७ परिवार लाभग्राही कायम भएका थिए । यस मध्ये मंसिर २७ गतेसम्ममा १० हजार सात सय ३४ लाभग्राहीले मात्र अस्थायी आवास अनुदानको पहिलो किस्ता पाएका छन् । अझै ४९ हजार ६ सय तीन लाभग्राही परिवाले आवास निर्माणको रकम प्राप्त गर्न बाँकी नै छ ।

संघीय सरकारले हालसम्म एक अर्व ४१ करोड रुपैयाँ निकासा गरिसकेको छ । तर यता स्थानीय तहहरुले भने २६ करोड आठ लाख रुपैयाँमात्र लाभग्राहीको बैंक खातामा निकासा गरेका छन् । जिल्लाबाट भने स्थानीय तहको खातामा हालसम्म एक अर्व १६ करोड रुपैयाँ निकासा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

जिल्लागत रुपमा हेर्दा जाजरको र रुकुम पश्चिमका लागि ५०/५० करोड रुपैयाँ निकासा गरिएको थियो । जिल्ला स्थित विपद् न्यूनीकरण तथा व्यवस्थापन समितिले जाजरकोटमा ४९ करोड ९३ लाख रुपैयाँ निकासा गरिसकेको छ । जाजरकोटका स्थानीय तहले भने हालसम्ममा कुल एक करोड तीन लाख रुपैयाँ मात्र लागभ्राहीको खातामा भुक्तानी गरेको प्राधिकरणको तथ्यांक छ ।

त्यसैगरी रुकुम पश्चिममा जिल्लाले ४९ करोड ८३ लाख ५० हजार रुपैयाँ स्थानीय तहलाई भुक्तानी गरेका थिए । सो मध्ये स्थानीय तहले हालसम्म २२ करोड ८६ लाख २५ हजार रुपैयाँ लाभग्राहीलाई भुक्तानी दिएका छन् ।

सल्यानमा संघीय सरकारले दुई करोड निकासा गरेकोमा जिल्लाले एक करोड ८० लाख रुपैयाँ स्थानीय तहका लागि निकासा गरेको थियो । यस मध्ये सल्यानका स्थानीय तहले एक करोड ४५ लाख लाभग्राहीलाई वितरण गरिसकेका छन् ।

बाजुरामा १४ करोड निकासा मध्ये जिल्लाले तीन करोड ७७ लाख २५ हजार रुपैयाँ स्थानीय तहलाई निकासा गरेका थिए । बाजुरामा हालसम्म लाभग्राहीका लागि ४३ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यसैगरी बझाङ्गमा २५ करोड मध्ये ११ करोड ४३ लाख २५ हजार रुपैयाँ रकम स्थानीय तहलाई निकासा भएको छ । यस मध्ये हालसम्म ३० लाख ५० हजार रुपैयाँ लाभग्राहीको खातामा निकासा भएको छ ।

कहाँ कति भुक्तानी ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार हालसम्म कुल ६० हजार तीन सय ३७ लाभग्राही कायम गरिएको थियो । सो मध्ये १० हजार सात सय ३४ लाभग्राहीले अस्थायी आवास निर्माण सम्झौता गरेर पहिलो किस्ता भुक्तानी लिईसकेका छन् ।

जाजरकोटमा कायम भएका ३३ हजार आठ सय ७१ लाभग्राही मध्ये सात सय १२ लाभग्राहीले भुक्तानी लिएका छन् । रुकुम पश्चिममा १७ हजार चार सय ३४ मध्ये नौं हजार एक सय ४५ लाभग्राहीले भुक्तानी लिएको प्राधिकरणका सूचना अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

सल्यानमा एक हजार सात सय ३० लाभग्राही मध्ये पाँच सय ८० लाभग्राहीले पहिलो किस्ता भुक्तानी लिएका छन् । त्यसैगरी बझाङ्गमा चार हजार पाँच सय ७३ मध्ये एक सय २२ र बाजुरामा दुई हजार सात सय २९ मध्ये एक सय ७५ लाभग्राहीले भुक्तानी लिएको प्राधिकरणको तथ्यांक छ ।

भुक्तानी गरिरहेका पालिकाहरु

जाजरकोटमा छेडागाड नगरपालिकाले मात्र लाभग्राहीलाई अनुदान भुक्तानी गरेको छ । छेडागाड नगरपालिकाले सात सय १२ लाभग्राहीका लागि कुल एक करोड तीन लाख रुपैयाँ भुक्तानी गरेको हो ।

रुकुम पश्चिममा आठबिसकोट नगरपालिकाले सात करोड ६४ लाख रुपैयाँ लाभग्राहीलाई भुक्तानी गरिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका ध्रुवबहादुर खड्काले जानकारी दिए । चौरजहारी नगरपालिकाले पाँच करोड दुई लाख, त्रिवेणी गाउँपालिकाले पाँच करोड १७ लाख र सानीभेरी गाउँपालिकाले पाँच करोड चार लाख रुपैयाँ भुक्तानी दिएको उनले जनाए ।

जुनीचाँदेमा लाभग्राही एकिन ढिलाईं

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भूकम्प प्रभावित लाभग्राहीहरुको संख्या हालसम्म पनि एकिन भएको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्राप्त गत बुधवारसम्मको अन्तिम तथ्यांक हेर्ने हो भने जाजरकोटमा जुनीचाँदे गाउँपालिका वाहेक सबै स्थानीय तहमा लाभग्राही संख्या एकिन भईसकेको छ ।

लाभग्राही नै एकिन नभएपनि जुनीचाँदे गाउँपालिकामा अस्थायी आवास अनुदान रकम समेत वितरणमा ढिलाईं हुने स्पष्ट देखिन्छ । पालिका अध्यक्ष बेदबहादुर शाहीले भने, ‘हामीलाई लाभग्राहीको प्रमाणिकरण गर्न समय लागेको हो । अव चाँडैनै शुरु हुन्छ होला । वडाहरुलाई पनि हामीले सो अनुसार खवर गरिसकेका छौँ ।’

अध्यक्ष शाहीका अनुसार पालिकामा हालसम्म पाँच हजार तीन सय ५२ लाभग्राही एकिन भईसकेको छ ।

तपाईको प्रतिक्रिया