कर्णाली प्रदेश सरकारले पूँजिगत खर्चमा वृद्धि गर्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीमा हालसम्म पाँच पहिनाको अवधिमा पाँच प्रतिशतसम्म पनि पूँजिगत बजेट खर्च हुन सकेको छैन । मंसिर मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले कुल चार दशमलव ९४ प्रतिशत मात्र पूँजिगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतले जनाएको छ ।
त्यसैगरी चालु तर्फ १६ दशमलव ४१ प्रतिशत बजेट खर्च भएको देखिन्छ । समग्रमा कर्णालीले मंसिर मसान्तसम्ममा कुल नौं दशमलव ६८ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत धर्मवीर पल्लीमगरले जानकारी दिए ।
चालु आर्थिक वर्षको पाँच महिना अवधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूँजिगत तर्फ शून्य दशमलव ७१ प्रतिशत खर्च गरेको छ । २०८०/०८१ मा मुख्यमन्त्री कार्यालयका लागि पूँजिगत तर्फ एक अर्व ३० करोड चार लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।
त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई दशमलव २३ र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चार दशमलव २० प्रतिशत बजेट खर्च गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २०८०/०८१ का लागि कुल नौं करोड ६ लाख २९ हजार रुपैयाँ पूँजिगत बजेट विनियोजन भएको थियो । कानून मन्त्रालयले मंसिर महिनासम्ममा पूँजिगत तर्फ तीन दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन दशमलव ७१, भौतिक पूर्वाधार विकास मन्त्रालयले चार दशमलव ७०, सामाजिक विकास मन्त्रालयले १० दशमलव ४७ प्रतिशत र आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ दशमलव ६९ पूँजिगत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश व्यवस्थापिकाले समेत हालसम्म सात दशमलव ७१ प्रतिशत पूँजिगत बजेट खर्च गरेको छ । प्रदेश लोक सेवा आयोगले २७ दशमलव ९८ र मुख्य न्यायाधिवक्ताको कार्यालयले १९ दशमलव ११ प्रतिशत पूँजिगत बजेट खर्च गरेका छन् ।
त्यसैगरी कर्णाली प्रदेश योजना आयोगले समेत मंसिर मसान्तसम्ममा पूँजिगत तर्फ २२ दशमलव ७२ प्रतिशत बजेट खर्च गरेको छ ।
९६ करोड पूँजिगत खर्च भयो
मंसिर मसान्तसम्ममा कर्णालीले कुल ९६ करोड रुपैयाँ बढी पूँजिगत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा कर्णाली प्रदेश सरकारले १९ अर्व ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ पूँजिगत तर्फ बजेट विनियोजन गरेको थियो ।
यस मध्ये हालसम्ममा ९६ करोड ६३ लाख ३६ हजार एक सय २३ रुपैयाँ पूँजिगत बजेट खर्च भएको छ ।
कुल बजेटमा ९ प्रतिशत खर्च
चालु आर्थिक वर्षका लागि कर्णालीमा ३३ अर्व ३७ करोड रुपैयाँ बढी बजेट विनियोजन भएको थियो । मंसिर मसान्तसम्ममा कुल बजेटको नौं दशमलव ६८ प्रतिशत बजेट खर्च भएको छ । चालु र पूँजिगत गरी हालसम्ममा कुल तीन अर्व २३ करोड १७ लाख ५४ हजार सात सय ६६ रुपैयाँ बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मन्त्रालयगत रुपमा हेर्दा कुल बजेटमा धेरै खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ । यस मन्त्रालयले हालसम्म २५ दशमलव ६६ प्रतिशत बजेट खर्च गरिसकेको छ ।
त्यसैगरी सामाजिक विकास मन्त्रालयले १६ दशमलव २४, आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालसम्म १५ दशमलव ६२ प्रतिशत कुल बजेट खर्च गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ दशमलव ८२ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ९ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले पाँच दशमलव ८९, भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच दशमलव ३२ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तीन दशमलव ८६ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
पुनम वि.सी. । सुर्खेत । ४ पुष २०८०, बुधबार १२:०४