मुख्य बालीहरुले ढाकेको क्षेत्रफल अहिले घट्दो क्रममा छ । किसानहरु फलफूल खेती तर्फ अग्रसर भएपनि मुख्य बाली तर्फ भने खेती घटाएका छन् ।
धान, मकै तथा गहुँ जस्ता मुख्य बालीहरुले ढाकेको क्षेत्रफल नेपालमा घटेको छ । विगत १० वर्षको तुलनामा नेपालमा धान बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्रिय कृषि गणना, २०७८ को तथ्यांक छ ।
२०६८ मा नेपालमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । अहिले यो क्षेत्र घटेर १२ लाख १६ हजार चार सय हेक्टरमा सिमित भएको छ । त्यसैगरी मकै तर्फ २०६८ मा ६ लाख ७३ हजार सात सय हेक्टर क्षेत्रफलमा खेती भएपनि हाल भने पाँच लाख ५९ हजार नौं सय हेक्टरमा खेती भईरहेको छ । गहुँ तर्फ २०६८ मा सात लाख ४९ हजार चार सय हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो । २०७८ मा भने ६ लाख ५४ हजार दुई सय हेक्टर क्षेत्रफलमा गहुँ खेती भईरहेको राष्ट्रिय कृषि गणना, २०७८ को तथ्यांक छ ।
कर्णालीमा प्रदेशमा समेत यि मुख्य बालीहरुको खेती गरिएको जग्गाको क्षेत्रफल घट्दो क्रममा छ । कृषि गणनाले सुर्खेत जिल्लामा गरेको अध्ययनका अनुसार सुर्खेतमा यि तीन वटै मुख्य बालीले ढाकेको क्षेत्रफल तीन हजार हेक्टर क्षेत्रफलसम्म घटेको छ । १० वर्षको अवधिमा सुर्खेत जिल्लामा मात्र गहुँले ढाकेको क्षेत्रफल तीन हजार तीन सय १७ हेक्टर घटेको छ । अहिले सुर्खेतमा ११ हजार तीन सय ४१ हेक्टर क्षेत्रफलमा गहुँ खेती भईरहेको कृषि गणनाको तथ्यांक छ ।
त्यसैगरी मकै तर्फ समेत १० वर्षको अवधिमा दुई हजार ७४ हेक्टर क्षेत्रफलले खेती घटेको देखिन्छ । हाल सुर्खेतमा आठ हजार सात सय ५५ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । धान खेती तर्फ एक हजार नौं सय १३ हेक्टर क्षेत्रफलले खेती घटेको छ । हाल सुर्खेतमा नौं हजार चार सय ३२ हेक्टर क्षेत्रफलमा धान खेती भईरहेको कृषि गणनाले जनाएको छ । कर्णालीमा अहिले ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुन्छ । त्यसैगरी ४० हजार ८३ हेक्टरमा मकै र २९ हजार दुई सय ४१ हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषि गणनाको तथ्यांक छ ।
घरायसी उत्पादन गर्ने किसान धेरै
कर्णालीमा कृषि उत्पादनको बजारिकरण तथा बिक्रि वितरण हेर्ने हो भने यहाँ सबै उत्पादनलाई घरायसी प्रयोगमा मात्र ल्याउने किसानको संख्या धेरै छ ।
कर्णालीमा उत्पादित कृषि उपजहरु मध्ये ८२ दशमलव दुई प्रतिशत उत्पादन सबै घरायसी रुपमा किसानले प्रयोग गर्छन् । त्यसैगरी मुख्य रुपमा घरायसी रुपमा उपभोग गर्ने र केहि मात्रामा मात्र उत्पादनको बिक्रि वितरणको अवस्था १५ दशमलव ६ प्रतिशत छ ।
सबै उत्पादन बिक्रि गर्ने शून्य दशमलव एक, मुख्य उत्पादन बिक्रि गर्ने र केहि मात्रामा उत्पादन घरायसी प्रयोजनमा ल्याउनेको संख्या दुई प्रतिशत रहेको राष्ट्रिय कृषि गणना, २०७८ ले जनाएको छ ।
उत्पादनले वर्षभरी खान पुग्दैन
कृषि गणनाको तथ्यांक हेर्ने हो भने कर्णालीमा रहेका कृषक परिवारलाई उत्पादनले वर्षभरी खान समेत पुग्दैन । उनीहरुले उत्पादन गरेको कृषि उपजले कर्णालीका कुल ६९ दशमलव पाँच प्रतिशत कृषक परिवारलाई वर्षभरी खान समेत पुग्दैन ।
आफ्नै उत्पादनले वर्षभरी खान पुग्ने कृषक परिवारको प्रतिशत कर्णालीमा ३० दशमलव पाँच प्रतिशत रहेको छ ।
सुर्खेत जिल्लामा भने प्रदेशको तुलनामा यो प्रतिशत अलि बढी नै छ । सुर्खेतमा ४३ दशमलव पाँच प्रतिशत कृषक परिवारका उत्पादनले उनीहरुलाई वर्षभरी खान पुग्छ ।
केरा र सुन्तला जात फलफूलमा आकर्षण
सुर्खेतमा केरा र सुन्तला जात फलफूल खेतीमा आकर्षण बढेको कृषि गणनाले जनाएको छ । सुर्खेतमा सुन्तला र कागती ३२÷३२ हेक्टर क्षेत्रफलमा खेती भईरहेको गणनाले जनाएको छ ।
विगत १० वर्षको तुलनामा २८ हेक्टर क्षेत्रफलले सुन्तला खेती र ३२ हेक्टर क्षेत्रफलले कागती खेती सुर्खेतमा बढेको हो । विगतमा सुर्खेतमा आँप खेतीको वृद्धि भएपनि अहिले किसानहरु आँप खेती तर्फ आकर्षण भएका भने छैनन् ।
सुर्खेतमा आँप खेतीले ढाकेको क्षेत्रफल १० वर्षको अवधिमा सात हेक्टरले घटेको छ । हाल एक सय ३७ हेक्टर क्षेत्रफलमा आँप खेती भईरहेको छ ।
कर्णालीमा हेर्दा आठ सय ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । त्यसैगरी केरा चार सय ७२ दशमलव दुई, आँप तीन सय १२ दशमलव पाँच र कागती दुई सय तीन दशमलव तीन हेक्टर क्षेत्रफलमा खेती भईरहेको राष्ट्रिय कृषि गणना, २०७८ ले जनाएको छ ।
स्याउँ खेती तर्फ भने कर्णालीमा अन्य फलफूल भन्दा धेरै क्षेत्रफलमा खेती भएको छ । कर्णालीमा हाल दुई हजार एक सय ९७ दशमलव पाँच हेक्टर क्षेत्रफलमा खेती भईरहेको कृषि गणनाको तथ्यांक छ ।
ऋण, बीमा र अनुदान नलिने धेरै
कर्णालीमा कृषि प्रयोजनका लागि ऋण, बीमा र सरकारी अनुदान लिने किसान परिवारको संख्या ज्यादै न्यून अवस्थामा छ ।
कर्णालीमा नौं दशमलव नौं प्रतिशत कृषक परिवारले कृषि ऋण लिएको राष्ट्रिय कृषि गणना, २०७८ को तथ्यांक छ । त्यसैगरी तीन दशमलव पाँच प्रतिशत किसान परिवारले बीमा र चार दशमलव चार प्रतिशतले सरकारी अनुदान लिएको गणनाले जनाएको छ ।
यि विषयमा राष्ट्रिय तथ्यांकको अनुपात आधारमा कर्णालीको यो अवस्था ज्यादै न्यून हो । नेपालमा १२ प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका छन् । त्यसैगरी चार प्रतिशत कृषि बीमा र सात प्रतिशतले सरकारी अनुदान लिएको नेपालभरको कुल अनुपात हो ।
पुनम वि.सी. । सुर्खेत । ४ पुष २०८०, बुधबार १२:१२