नेपालको उत्तरी भेगमा अवस्थित अति विकट दुर्गम र पिछडिएको जिल्लाको रूपमा मुगुलाई चिनिन्छ । जसमा सडकसँगै अझै भौतिक पूर्वाधारहरूको निर्माण हुन सकिरहेको छैन । त्यस्तोमा यहाँको शिक्षाको अवस्था कस्तो होला आफैँ अनुमान लगाउन सकिन्छ । तर पनि यहाँ केही यस्ता विद्यालय छन्, जसले अभावै अभावका बीच आफूलाई अब्बल सावित गर्न सक्षम भएका छन् । सोरु गाउँपालिका–४ लिब्रु गाउँमा रहेको कालिका माध्यमिक विद्यालयले विभिन्न समस्याका बाबजुद आफूलाई जिल्लामै नमुना विद्यालयको रूपमा उभ्याएको छ ।
२०३४ सालमा स्थापना भएको यो विद्यालयमा भौतिक पूर्वाधारदेखि डेक्सटप बेन्च, लाइब्रेरी, कम्प्युटर अभाव छ । तर, यहाँ कार्यरत शिक्षक शिक्षिकाले मौखिक रूपमै विद्यार्थीहरू अतिरिक्त ज्ञान दिँदै आएका छन् । विद्यालयमा पठनपाठन राम्रो हुने गरेपछि हुम्लाका ताँजाकोट र सर्केगार्ड गाउँपालिकाका तुम्च, तलतडी बस्तीबाट दुई दर्जनभन्दा बढी विद्यार्थी आफ्नो गाउँको विद्यालय छाडेर कर्णाली पुल पार गर्दै यस विद्यालयमा पढ्न आउने गरेका छन् । त्यसैगरी, मुगु सोरु गाउँपालिका–२ स्थित जनज्योति माध्यमिक विद्यालय छाडेर करिब तीन दर्जन विद्यार्थी यहाँ पढ्न आउने गरेको पाइएको छ ।
भौतिक पूर्वाधार अभावका बाबजुद विद्यालयमा विद्यार्थीको चाप बढेको शिक्षकको भनाइ छ । गत वर्ष कालिका माध्यमिक विद्यालयबाट २८ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा २६ जना उत्तीर्ण भएका थिए । समस्यै समस्या बाबजुद पढाइ राम्रो हुँदा विद्यालयमा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक अंगबहादुर बुढाले बताए । हाल विषयगत शिक्षकको अभाव नभएको र कार्यरत शिक्षक शिक्षिकाले पढाइका साथै अतिरिक्त ज्ञान दिँदै आएको प्रअ बुढाको भनाइ छ ।
सोरु गाउँपालिका भरिका आठवटा माध्यमिक विद्यालयमध्ये लिब्रु गाउँमा रहेको यस विद्यालयमा राम्रो पढाइ हुने गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्ल बताउछन् । उनले भने, ‘न विद्यालयका गतिला भवन छन् न सरकारी कोटाबाट दरबन्दीमा शिक्षक छन् तर समुदाय र विद्यालय परिवारले निजी स्रोतबाट राखेका शिक्षकहरूको शिक्षणले सबैको मन जित्दै आएको छ । पालिकामा भएका अन्य माध्यमिक विद्यालयबाट समेत विद्यार्थी यहाँ पढ्न आउने गरेका छन् ।’
सोरु गाउँपालिका–२ मुसिनमेला गाउँका दत्तराज नेपाली स्कुल पढ्न दैनिक पाँच घण्टा पैदल हिँडेर आउने गरेका छन् । कक्षा ९ मा अध्ययनरत नेपालीलाई विद्यालय पुग्न दैनिक पाँच घण्टा उकालो ओरालो हिँड्नुपर्ने अवस्था छ । बिहानै ७ बजे झोलामा रोटी बोकेर ओरालो झरेर ९ बजे स्कुल पुग्ने र साँझ स्कुल बिदा भएपछि तीन घण्टा उकालो उक्लेर साँझपख घर पुग्ने गरेका छन् । उनी भन्छन्, ‘मलाई स्कुल पढ्न दैनिक पाँच घण्टा उकालो ओरालो दौडिनुपर्छ । स्कुल जान दुई घण्टा लाग्ने र घर पुग्न तीन घण्टा लाग्छ । स्कुल जान ओरालोबाट हिँड्नुपर्ने भएकाले दुई घण्टा मात्र लाग्ने र घर फर्किन उकालो चढ्नुपर्ने भएकाले तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । झरी हिमपातको बेला चिप्लिँदै विद्यालय आउजाउ गर्नुपर्छ ।’
गाउँमा माध्यमिक तह पढाइ हुने विद्यालय नहुँदा पढ्न पाँच घण्टा हिँड्नु परेको उनी सुनाउछन् । मुसिनमेला गाउँका दत्तराज मात्र नभएर करिब तीन दर्जनभन्दा बढी छात्राछात्र दैनिक पाँच घण्टा हिँडेर कालिका माध्यमिक विद्यालयमा शिक्षा लिन बाध्य छन् । भौतिक पूर्वाधारको अभावका बाबजुद कालिका माबिका शिक्षकहरूले गुणस्तरीय पढाइ र विद्यार्थीको बढी निगरानी गर्ने भएकाले मुसिनमेला गाउँका अभिभावकले आफ्नो छोराछोरीलाई पाँच घण्टा हिँड्नुपर्ने भए पनि कालिकामै पढ्न पठाउने गरेका छन् ।
बाटोमा पानी नहुँदा विद्यार्थीहरू मुख सुकाएर स्कुल पुग्ने र पसिना चुहाउँदै घर पुग्ने गरेका छन् । हामीलाई बिहान बेलुका हिँड्दै ठिक्क छ छात्रा दिपु नेपालीले भने, ‘सरले दिएको गृहकार्य गर्न पाइँदैन दैनिक पाँच घण्टा हिँड्नु पर्दा शरीर दुख्छ, थकान लाग्छ । रोटी र पानी बोकेर भोक थकान नमानी हामी दुर्गमका विद्यार्थीले पढ्नु परेको छ ।’
विद्यालय पढ्न गएका छोराछोरी घर नपुग्दासम्म अभिभावक भने बाटो हेरेर बस्ने गरेका छन् । जंगल र जोखिम बाटो भएकाले अभिभावकले विद्यालयबाट छोराछोरी घर नपुग्दासम्म चिन्ता मानेर बस्ने गरेका छन् । मुसिनमेला गाउँकी चिन्ता शाहीले भने, ‘मेरो दुई छोराछोरी दैनिक पाँच घण्टा हिँडेर लिब्रु कालिका माविमा पढ्न जाने गरेका छन् । घर नपुग्दासम्म चिन्ता लागिरहन्छ । स्कुलमा छात्रवास भइदिएको भए त्यही बसाल्थ्यौँ । नहुँदा दैनिक पाँच घण्टा हिँडाल्नु परेको छ ।’ उता, हुम्ला कर्णालीपारि तुम्च गाउँ, तलतडी गाउँका दुई दर्जन विद्यार्थी पनि डेढ घण्टा हिँडेर कालिका माध्यमिक विद्यालयमा पढ्न आउने गरेका छन् ।
पहिरोको जोखिम
कालिका माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा छ । गत वर्ष निर्माण गरिएको ६ कोठे दुई तले भवनको तलबाट जमिन भासिन थालेको र माथिबाट पनि पहिरो जान थालेपछि उक्त भवन जोखिम हुन थालेको हो । चार वर्षअघि निर्माण गरिएको अर्को ६ कोठे दुई तले भवन पनि अत्यन्तै जीर्ण भइसकेको छ । उक्त भवनको तल्लो तलाभन्दा माथिल्लो तलाका तीन कोठाहरूको भित्ता पर्खाल चर्किदे र ढुङ्गा झर्न थालेपछि शिक्षक विद्यार्थीलाई पढ्न र पढाउन जोखिम हुन थालेको छ ।
गत वर्षको भूकम्पले गर्दा उक्त भवन अत्यन्तै जीर्ण र जोखिम देखिएको छ । विद्यालयमा अरू कक्षाकोठा नहुँदा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरूलाई उक्त चर्किएको जोखिम कोठामा बसालेर पढाउने गरिएको शिक्षिका बिर्सना शाहीले बताए । उनले भने, ‘कक्षा कोठा अभावले विद्यार्थीलाई जोखिम कोठामा राख्नुपर्ने अवस्था छ । म पनि राति उक्त जोखिम भवनमै सुत्ने गरेको छु । राति ठूला पानी प¥यो, हावाहुरी लाग्यो भने विस्तारा बोकेर पल्लो भवनमा सर्नुपर्छ ।’
कालिका माध्यमिक विद्यालयको खेलमैदान चौर पनि झन् पहिरोको जोखिम छ । चौरको तलबाट भासिँदै गएको र माथिबाट पनि बेलाबेला पहिरो खस्न थालेपछि शिक्षक विद्यार्थी चिन्तित देखिएका छन् । झरी वर्षातको समयमा माथिबाट पहिरो खस्दा विद्यार्थीलाई लाइन लगाउन गाह्रो हुने गरेको शिक्षक उम्मेर बुमीले बताईन् ।
बेन्च डेस्क नहुँदा भुईँमा पढाइ
कक्षा कोठामा डेक्सटप बेन्च नहुँदा करिब तीन सय विद्यार्थी भुईँमा बसेर पढ्न बाध्य छन् । कक्षा १ देखि १० सम्म पढाइ हुने यो विद्यालयमा हरेक वर्ष विद्यार्थीको चाप वृद्धि हुँदै गएको र डेक्सटप बेन्च नहुँदा विद्यार्थीहरू भुइँको धुलो सफा गरेर वा ढुङ्गामाथि बसेर पढ्न बाध्य छन् । एकातिर कक्षा कोठाको अभाव र अर्कोतिर डेक्सटप बेन्चको अपुग बाबजुद विद्यार्थी अध्यागमन गर्न बाध्य छन् ।
डेक्सटप बेन्चको अभावले चिसो भुईँमा बसेर पढ्नु परेको कक्षा १० मा अध्ययनरत छात्रा फूलमाया शाहीले गुनासो पोखिन् । धुलोमा बसेर पढ्नु पर्दा कपडा फोहोर हुने कापी किताब च्यातिने उनको भनाइ छ । विद्यार्थीहरू पनि भुईँमा फराकिलो हिसाबले बस्न पाउँदैनन् साँघुरो कोठामा कोचाकोच गरी बस्नुपर्ने बाध्यता छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको समस्यालाई मध्यनजर गरेर जिल्लामा कार्यरत फेज नेपाल संस्थाले ४८ थान फलामे बेन्च उपलब्ध गराएको छ तर त्यो हात्तीको मुखमा जिरा जस्तो भएको छ ।
चर्पी र खानेपानी समस्या
विद्यालयमा खानेपानी र शौचालय अर्को समस्याको रुपमा रहेको छ । गत वर्ष निर्माण गरिएको खानेपानीको पाइप पहिरोले पुरिँदा विद्यालयमा पानी पिउनै समस्या छ । चुँडिएको पाइप गाँसेर ल्याइएको पानी दिगो नहुँदा पानीको दुःख व्यर्होनु परेको छ । माध्यमिक तहमा पढाइ हुने विद्यालयमा शौचालय पनि छैन । शौचालय नहुँदा शिक्षक विद्यार्थी जङ्गलतिर शौच गर्न जाने गरेका छन् । खुल्ला शौचले विद्यालय वरिपरि दुर्गन्धित हुने गरेको छ । झारीमा शौच गर्न जाँदा सर्पको डर हुने मान्छेले देख्लान् भन्ने त्रास हुने गरेको शिक्षक विद्यार्थी सुनाउँछन् । विद्यार्थीको समस्यालाई ध्यानमा राखेर कर्णाली गरिबी न्यूनीकरण विकास मञ्च केपीडिएफ नामक संस्थाले विद्यालयमा छात्र छात्राको लागि सुविधायुक्त शौचालय निर्माण गरेको भए पनि त्यो विद्यार्थी संख्याको अगाडि पर्याप्त देखिएको छैन ।
छैनन् कम्प्युटर र लाइब्रेरी
कालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षकदेखि पढ्ने विद्यार्थीले कम्प्युटर सिक्न त के देख्नसमेत पाएका छैनन् । आर्थिक अभावका कारण विद्यालयले कम्प्युटर खरिद गर्न नपाएको र अन्य निकायबाट सहयोग नहुँदा विद्यालय कप्युटरविहीन अवस्थामा छ । विद्यालयमा सौर्य ऊर्जाको बत्ती भए पनि कम्प्युटर नहुँदा विद्यार्थी सीमित किताबमा बाहेक अन्य ज्ञानबाट वञ्चित भएका छन् ।
विद्यालयमा कम्प्युटर नहुँदा प्रशासनिक कामदेखि पढाइमा गाह्रो भएको विद्यालयका लेखापाल मंगल बुढाले सुनाए । विद्यालयमा हरेक शुक्रवारीय क्रियाकलाप हुने गरेको छ । जसमा अतिरिक्त विषयमा विद्यार्थीलाई जानकारी र मनोरञ्जनात्मक क्रियाकलाप हुने हुँदा विद्यार्थीहरू उत्साहित देखिएका छन् । शुक्रवारको दिन विद्यालय सरसफाइसमेत गर्ने गरिएको छ । यस विद्यालय पढ्न विद्यार्थीले बाल क्लबसमेत गठन गरी कुरीति प्रथाविरुद्ध सडक नाटक प्रदर्शन गर्ने गरेका छन् । (रेडियो नेपाल)
युग संवाददाता । मुगु । ४ पुष २०८०, बुधबार १६:१३