परामर्शले फेरियो नन्दकलीको जीवन

मनोविमर्श सेवा लिईरहेकी वीरेन्द्रनगर–१२ निवासी नन्दकली न्यौपाने ।

वीरेन्द्रनगर–१२ निवासी नन्दकली न्यौपानेको जीवनमा थुप्रै मनोसामाजिक अवरोधहरु आए । ति अवरोधले नन्दकलीलाई शारिरिक रुपमा समेत अस्वस्थ्य बनायो।

४० वर्षिय नन्दकलीलाई घर वाहिरको वातावरणमा अनविज्ञता थियो। माइतमा बस्दै आएकी उनी कोठा वाहिर पनि विरलै भेटिन्थिन् । उनको साथमा एक छोरी पनि छिन् । मुस्किलले नन्दकलीबाट दुई÷चार शब्द मात्र निस्किन्थ्यो । उनको अवस्थामा उनका परिवारका सदस्य समेत निरास थिए ।

अहिले नन्दकलीको दैनिकी फेरिएको छ । उनी नियमित मनोसामाजिक परामर्श सेवा समेत लिईरहेकी छिन्, यसका साथै मनोसामाजिक अपाङ्गता औषधीहरु पनि उनले सेवन गर्छिन् ।

‘अहिले म ठिक छु । बाख्रा पनि पालेको छु । यसैको हेरचाहमा मेरो दिन बित्छ’, नन्दकलीले भनिन् ।

नन्दकलीलाई आफ्नो स्वास्थ्य अवस्थाको वारेमा जानकारी छ । यसतर्फ उनी सचेत समेत छिन् । समयमा औषधीको सेवन गर्ने, परामर्श सेवा लिने र अन्य नागरिकलाई समेत यस विषयमा उनले जानकारी दिन्छिन् ।

नन्दकली अहिले आफुजस्तै मनोसामाजिक अपाङ्गता भएका नागरिकको समुहसँग नियमित भेटघाटमा जान्छिन् । त्यहाँ उनीहरुका मनका भावहरु समुहमा साट्ने गरिन्छ ।

नन्दकलीसँग वीरेन्द्रनगर नगरपालिकाले जारी गरेको पूर्ण अशक्त अपाङ्गता (‘क’ वर्गको रातो) परिचय पत्र समेत छ । यस आधारमा उनले नेपाल सरकारले प्रदान गरेका सेवा सुविधा समेत प्राप्त गर्छिन् । घरमा नै अस्वस्थ्य रुपमा बसिरहेकी नन्दकलीलाई मनोसामाजिक अपाङ्गता परिचय पत्र लगायतका क्षेत्रमा कोशिश संस्थाले मनोविमर्श र पैरवीमा सहयोग गरेको उनले बताइन् ।

अतिअशक्त अपाङ्गता धेरै

वीरेन्द्रनगर नगरपालिकाले जारी गरेको अपाङ्गता परिचय पत्रको प्रकृति हेर्दा अतिअशक्त सम्बन्धिका परिचय पत्र धेरै संख्यामा छन् ।

२०७९/०८० मा जारी भएका दुई सय २४ अपाङ्गता परिचय पत्र मध्येमा एक सय नौं वटा परिचय पत्र अति अशक्त (ख वर्ग) परिचय पत्र रहेको वीरेन्द्रनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा अधिकृत सरला रेग्मीले जानकारी दिइन् ।

त्यसैगरी पूर्ण अशक्त अपाङ्गता (क) वर्गमा ५२ वटा, मध्ययम अपाङ्गता (ग) वर्गमा २७ वटा र सामान्य अपाङ्गता (घ) वर्गमा ३६ वटा परिचय पत्र वितरण भएको उनले जानकारी दिइन् ।

२४ जनालाई परिचयपत्र

वीरेन्द्रनगरमा मनोसामाजिक अपाङ्गताको परिचय पत्र लिनेहरुको संख्या अहिले बढ्दै छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा वीरेन्द्रनगर नगरपालिकाबाट २४ जनाले मनोसामाजिक अपाङ्गता सम्बन्धि परिचय पत्र लिएका छन् । ‘पछिल्लो समयमा मनोसामाजिक अपाङ्गताको परिचय पत्र धेरै संख्यामा जारी गरेका छौँ । यस विषयमा निवेदन धेरै संख्यामा आईरहेको छ । हामी उहाँहरुकै घरमा गएर अवलोकन गरेरै परिचयपत्र वितरण गरिरहेका छौँ’ वीरेन्द्रनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा अधिकृत सरला रेग्मीले बताइन् । वीरेन्द्रनगर नगरपालिकाबाट हालसम्ममा करिव ३५ जना भन्दा धेरैले मनोसामाजिक अपाङ्गताको परिचय पत्र लिएको रेग्मीले जानकारी दिइन् ।

वीरेन्द्रनगर नगरपालिकाले हालसम्ममा कुल एक हजार एक सय ८३ वटा अपाङ्ग सम्बन्धि परिचय पत्र वितरण गरिसकेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले दुई सय २४ वटा परिचय पत्र वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया