कथाः अवैध सन्तान

श्रीरामका चारवटा बिवाहपछि बडो मुस्किलले बुद्धिराम जन्मेको थियो । बुद्धिराम जन्मिदा श्रीराम ५० मा हिडेका थिए । श्रीरामले सन्तान राख्न बाहुनबाट झरेर क्षेत्रीनी, गुरुङ्गनी, मगर्नीसम्म बिहे गरे तर कुनैबाट सन्तान जन्मेनन् । जेठी स्वास्नी बाहेक पछि दुलहीबनेर आउने श्रीमतीहरुले एकदुई वर्षभन्दा बढी श्रीरामको घर खाएनन् । बच्चा नभए पछि आउने दुलहीहरु पनि चरी झै उडेर जान्थे । श्रीराम भने उहीँ मागेर ल्याएकी श्रीमती भद्रकलाकै अनुहार हेरेर चित्त बुझाउथ्यो । गाउँलेहरुले उसलाई छोराछोरी नभएको भनेर खिटिउरी गरेपनि कुराको प्रतिउत्तर दिदैन थियो । सुनेको नसुनेझै गरेर टाथ्र्यो । काम र व्यवहारको पक्का थियो । हरेक चिजको जतन गर्न जानेको थियो । रुपैयाँँलाई फोहोर मैलाबाट बचाएर सुरक्षित राख्न प्लास्टिकको थैलोमा बेरेर राख्थ्यो । पसलमा तिरन्तारन गर्नुपर्ने ऋण तिर्नुपर्दा अरुको भन्दा झण्डै दुई गुणा बढी समय लगाएर सद्दरीबाट रुपैयाँँ झिकेर दिन्थ्यो । उसको रुपैयाँ पट्याउने कला देखेर गाउँलेहरु ‘…को जिउ प्यारो …को धन प्यारो’ भनेर हावामा उडाउँथे उसलाई ।

भाग्यमा श्री हुनेसँग सबथोक हुन्छ भन्ने सुनेको थियो, उसले । तर जन्मदै नामका अघि श्री ल्याएर जन्मेपनि कर्ममा छोरा नभएपछि श्रीराम जिन्दगीसँग साह्रै दुःखी थियो । गाउँलेहरुको अघि छोरा जन्माएर देखाउने उसका सपनाहरु नदीका बगर झै प्यासी थिए । ढल्कदो उमेरले पनि उसलाई निरास बनाउँदै लगेको थियो । बाहिर भन्न नसकेपनि आफ्नो शेषपछि दाजुभाइका छोराहरुले सम्पत्ती बाडेर खानेकुराले उसको भित्री मन पोली रहन्थ्यो ।

अझै भद्रकलाको महिनावारी रोकिएको थिएन । उमेरले श्रीराम ५० पुगेपनि बाँसको झ्याङमा अल्झेको पछ्यौरी जस्तै भद्रकलाको महिनावारीमा छोराको आश अल्झेको थियो ।

धिरेन अनुपम

टाणुवाको सेतो पहिरोझै श्रीरामको जीवनमा सुखदुःखका पहिराहरु धेरै आए, गए । तर कुनै पहिरोले उसलाई सास्ती दिएर खेद्न सकेन । उ हरेक पहिरोमा सतिसाल भएर उभिन्थ्यो तर उमेरको पहिरोले भने उसलाई घरदेखी दिन प्रतिदिन खेदिरहेको थियो । बुढेसकालमा छोरा जन्माएर मृत्युपछि छोराको पिण्डदानद्वारा स्वर्गको ढोका उघारेर वैतर्णी तर्ने उसका रहर शालिग्राम झै मौन थिए । मठ मन्दिरमा छोरा पाउनका लागि भाकल गरेर धेरै दीयो बाल्यो, अगरबत्ती जलायो । शिवलिङ्गको प्रतिमुर्तिका स्वरुप नाङ्गा बाबाको लिङ्गमा जल चढाएर भद्रकलालाई दर्शन गर्न पनि नलगाएको होइन । श्रीरामको बेदना न मन्दिरमा बस्ने भगवानले सुने न त शिव स्वरुप लिङ्गले नै ।

४३ वर्ष भएर पनि भद्रकलाको महिनावारी सुकेको थिएन । भद्रकलाको महिनावारीमा श्रीरामको जवानी घाममा सुक्दै गरेको गुन्द्रुकको तरान जस्तै जीवित थियो । ओइलिएर सुक्न लागेको रायोको सागमा पसलेले पानी खन्याए झै श्रीरामले बुढो जवानी पोखिरहन्थ्यो भद्रकलामाथी । साइनोले श्रीराम र भद्रकला जोइपोई थिए तर सन्तानको अभावमा उनिहरुसँग एक अर्कालाई बोलाउने शब्द थिएन । सन्तानको नाम जोडेर फलानाको बा फलानाकी आमा भनेर बोलाउने रहर तारेभिरको मौरीको मह झै भित्रभित्रै गुम्सिएर बसेको थियो उनीहरु भित्र । जोइ र पोइ भनेर बोलाउन पनि अफ्ठेरो । नाम तानेर बोलाउँदा गाउँ समाजले कुरा काट्ने लाज तरपनि अफ्ठेरो परिस्थितिका बिच उनीहरु चल्न जानेका थिए । मानौ दुःखका पहाडलाई मकै, भटमास झै चपाएर श्रीरामका बुढाबुढीले मैदान बनाएका छन् ।

उनीहरु एक अर्कालाई राजारानी भनेर सम्वोधन गर्थे । उक्त सम्वोधन सुनेर गाउँलेहरुलाई पाच्य हुँदैन थियो । उल्टै बाँठा–बाठीनी भनेर लक काट्थे । बचनका तिखा बाण सुनेर गाउँबाट बसाई सरेर जाने योजना श्रीरामले नबनाएको पनि होइन । समस्याको समाधान बसाँई सरेर गएपनि नहुने भएकोले पुर्खाको पसिना र रगत मिसिएको माटोलाई उसले छोडेर जान सकेन । साँध सार्न मिलेपनि छिमेकी सार्न नमिल्ने रहेछ । जिउँदाको जन्ती र मर्दाको मलामी बन्न छिमेकी चाहिन्छ भन्नेकुरा श्रीरामले नबुझेको पनि होइन तर निःसन्तान भएर समाजमा बस्न पाइन्छ भन्ने कुरा छिमेकिहरुले कहिल्यै बुझेनन् । हानेको घाउ भलिन त्यती समय लाग्दो रहेनछ तर वचनरुपी घाउहरु बल्झि–बल्झी दुःखीरहे, श्रीरामको जीवनमा ।

माली गाईले बाच्छो र पेटारे बाख्राले पाठो पाउँदा महिनांै दिनसम्म आफैसँग सुताउथी भद्रकला । छोराछोरीको माया तिनै माथी पोख्थी । बाच्छीलाई सुन्तली र बोकालाई चन्दु भनेर बोलाउथी । मानौ उसैको कोखबाट जन्मेका सन्तान हुन, सुन्तली र चन्दु ।

आज श्रीरामको अनुहारमा चमक थिएन । उदास देखिन्थ्यो ऊ । सुल्पामा तमाखु भरेर चिलिम धेरै उडाई सकेको थियो । लाग्छ उसका जिन्दगीका चिलिम पनि हावामा यसरी नै धुवाँ बनेर उडिरहेका छन् । ओटालोमा बसेर पारी फणिकेको भित्तो एकनासले निहाली रहँदा मानांै बिरहको गहिरो दहमा श्रीराम डुबिरहेको छ । भद्रकलाको महिनावारी प्रति श्रीरामले लत्तो मार्न छोडी सकेको थियो । दिन गन्ने काल पर्खने शिवाय अर्को उपाय थिएन उसँग । आशाको भरी गाग्री बोकेर भद्रकला जीवनमा आउँलिन उसको मनले चिताएकै थिएन । विवाह गरेर नयाँ दुलहीबाट सन्तान जन्माउने सपना तुहिसकेका थिए उसका ।

भद्रकलाकी सुखदुःखकी साथी जौमती थिई । महिनावारी रोकिएको धेरै भइसकेको थियो । महिनावारी रोकिएको कुरा जौमतीलाई पनि सुनाएकी थिईन । ४० काटेपछि कोखपनि बस्छन् भन्ने कुरा मेलापात जाँदा उनलाई साथीसंगीहरु सुनाउने गर्थे । कहिले बढ्दो उमेरका कारण छुई त सुकेन । अगुल्टाले हानेको कुकुर बिजुली देखी चम्किन्छ भने झै । यहि कारणले पनि भद्रकलाले कुरा गुपचुप राखेकी थिई । दिन घर्किदै गए । शरीरमा असामान्य वृद्धि र अस्वभाविक लक्षण देखिन शुरु गरेपछि भद्रकलाले जौमतीलाई पोल खोलिन् । जौमतीले दोजिया भएको कुरा विश्वस्त पारेपछि भद्रकलाले श्रीरामलाई बल्ल भनेकी थिईन । तर उक्त कुरा श्रीरामले पत्याउन सकेन । पत्याओस् पनि कसरी । यतिका वर्षसम्म नभरिएको कोख कसरी आजै भरिन सक्छ ? आफूले आपैm माथी प्रश्न ग¥यो । आकाशबाट खसेको फल छानामाथी आएर अड्केको जस्तो महशुुस ग¥यो श्रीरामले । उसँग खुशी साट्ने कुनै सीमा भएन । के गरुँ, कसो गरुँ, खबर कसलाई सुनाउँ, भित्र बाहिर गर्दै नाचीरह्यो । अघिसम्म निराशाको बादल मडारिरहेको उसको अनुहारमा एकैछिनमा खुशीको आकाशगंगा बग्यो । चाउरिएका निधारका खहरे धर्साहरुमा सन्तानको उपस्थिति देख्यो ।

दिनहरु बित्दै गए । भद्रकलाको ट्याम्को जत्रै भूँडी दिन प्रतिदिन बढ्दै गएर दाहिने दमाहाको आकार लियो । हिजोसम्म भद्रकलालाई बाठी भन्नेहरु मौसम झै बदलिएर दुई सन्तान जन्माउने कुरा गर्न थाले । श्रीमतीको स्याहार सुसारमा श्रीराम ज्यान फालेर लाग्यो । आहार विहारमा कुनै चिजको कमी हुन दिएन । खसी, कुखुराको झोलमासुमा भद्रकलालाई डुबाई रह्यो ।

चिसा दिनहरुको शुरुवात हँुदै थियो । कार्तिक लाग्न एकदिन मात्रै बाँकी थियो । असोज शुक्लपक्षको पूर्णिको दिन । चन्द्रमामा ग्रहण नलाग्दै असोज महिनाको राती ११ बजे भद्रकलाले बुद्धीरामलाई जन्म दिइन् । बुद्धिराम रुँदै कराउँदै जमिनमा खस्यो । श्रीराम बुढेसकालमा छोरो देखेर खुशी भयो । बुद्धिरामका भने दुःखका दिन शुरु भए । गाउँलेहरुले जम्मा भएर श्रीरामलाई अबिर दलेर बधाई दिए । छोरो भाग्यमानी रैछ ग्रहण नलाग्दै जन्मियो । गाउँलेहरुले कानेखुशीको भाषा बोले । आँगनमा नाचगान शुरु भयो । छैठौं दिनमा ब्राहमण बोलाएर श्रीरामले छैठी खेलायो । नौं दिनमा ज्योतिषले छोराको नाम बुद्धिराम राखे । बुढेसकालमा छोरा जन्मेको खुशीमा श्रीरामले दुई–दुई वटा खसी काटेर भोजभतेर गरायो । श्रीरामलाई सन्तान नभएको भन्नेहरुका दाँत कुँडिए । बाठी भद्रकला आमा र बाठो श्रीराम छोराको बा भयो ।

दिन दुई गुणा रात चौगुणा बुद्धिराम उमेरसँगै शारिरीक रुपमा पनि बढिरहेको थियो । श्रीरामको बिंडो बुद्धिरामको काँधमा थपिदै थियो । छोरा बुद्धिरामको फर्किदो जवानीमा श्रीरामको उमेर अक्करमा सुक्न लागेको सुनगाभा झै ओईलिदै थियो । श्रीरामका अगाडिका दाँत झरी सकेका हुनाले उसको आवाज जो कोहिलाई बुझ्न मुस्किल हुन्थ्यो । श्रीरामले बोल्दा तोते आवाज निस्किनथ्यो अर्थात् भाषा सिक्न लागेको मैना जस्तो । तमाखु तान्न छोड्नुस् भनेर भद्रकलाले जति बिन्ति चढाएपनि श्रीरामले कहिले सुनेन । मेरा बाउ बाजे ९० काटे म पनि ९० नकटाई मर्दैन, उसको सटिक जवाफ हुन्थ्यो, भद्रकलासँग । मलद्वार देखीको बल लगाएर खोकी रहनथ्यो । औषधी गर्न ऊ कहिल्यै पनि दवाईखाना गएन । आखिर खोक्दा खोक्दा श्रीरामको आयू सकियो र भगवानको प्यारो भयो ऊ । श्रीरामले संसार छोडेको पाँच दिनपछि अस्पतालको रिपोर्ट आएपछि फोक्सोमा क्यान्सर भएको कुरा थाह भएको थियो घरपरिवारलाई ।

बा को तमाखु खाने लत बुद्धिराममा सरेन । भद्रकला खुशी थिई यसमा । तर उसको छिमेकीसँग दैनिक जसो तासमा झुम्मिने बानीले भने वाक्क भएकी थिई । श्रीरामको शेषपछि घरको जिम्मा बुद्धिरामकै काँधमा आउनु स्वभाविक थियो । भद्रकलाको उमेरपनि डाँडामाथी अस्ताउन लागेको घाम जस्तै थियो । नातीको मुख हेरेर मर्ने धोको थियो भद्रकलामा । बुद्धिरामलाई चाँडो विवाह गर्ने कुरा सुझाईरहन्थिन् । आमाको कुरा नकार्न नसकेर बुद्धिरामले आफ्नै मामाकी छोरी ध्रुपालाई विवाह गरेर भित्राएको थियो । एकै गाउँले भएकाले ध्रुपा र बुद्धिरामको जोडी उल्कै मिलेको छ भनेर गाउँलेहरु तारिफ गर्थे । ध्रुपाको आगमनले बुद्धिरामको घरको मुहार नै फेरिएको थियो । भालेको पहिलो डाँकोमै ऊ उठिसक्थी । लिपपोत, वनजंगल, चुलो चौको, वस्तु भाउमै उसका दिनचर्याहरु थिए । सासु बुहारीका कुरा साह्रै मिल्थे । सासु र बुहारीको झगडा नहुने कहाँ हुन्थ्यो र थियो भने बुद्धिरामका घरमा थियो । ध्रुपालाई छोरी झै माया गर्थिन् भद्रकला ।

बेलैमा सन्तान नपाएर सासुको जस्तै पिडा ध्रुपाले खेप्नु परेन । पहिलो बेतमै ध्रुपाले दुई छोरीलाई जन्म दिएकी थिइन् । दुई नातिनीको आगमनमा भद्रकलाले हर्षविभोर हुँदै परलोक गएका श्रीमान् श्रीरामलाई सम्झिएर आँसु समेत बगाईन् ।

मान्छे जन्मेपछि मर्नु संसारिक नियम हो । यो नियमको उलंङघन न त भगवानबाट भयो न तपस्वी महापुरुषबाट नै । दमले च्यापेपछि भद्रकला पनि श्रीमान गएकै बाटो गइन् । यो संसारमा बुद्धिरामको आफ्नो भन्ने श्रीमती र दुई छोरी बाहेक अरु कोही भएन । आमाको शोकमा डुबेर मात्रै जीवन चल्ने कुरा थिएन । सबै कामको जिम्मेवारी बुद्धिरामको काँधमा आइपरेको थियोे । गाउँमा उद्योग धन्दा हुने कुरै भएन । बुद्धिरामको घर जाजरकोट सदरमुकामबाट ७० किलोमिटर टाढा नायकबाडा भन्ने ठाउँमा हो । मौसम बदलिएसंगै पाखो जमिनमा पहिले जस्तो उब्जनी हुन छोडेको थियोे । खाने मुखको आहारा बढिरहेको थियो । दुई छोरीलाई पढाउनु लेखाउनु पनि थियोे । गाउँमा मोटरबाटो पुग्न केही दुरी मात्रै बाँकी थियो । आधुनिकताको चपेटामा परेर शिकार हुँदै गरेको गाउँ समाजमा बेरोजगार भएर बस्नु जस्तो पीडा अरु के थियो र बुद्धिरामको लागि ।

घर धन्दा चलाउन बुद्धिरामको अघि कालापहाड वा खाडीमुलूक जानुको विकल्प थिएन । उसले पहिलो बिकल्प चुन्यो र लाग्यो उत्तराञ्चल बागेश्वर खरी खान । गएको एकहप्ता पछि उसले खरी खानमै जागिर पायो । माटाको सुरुङ्ग भित्र पसेर सेतो चुनढुङ्गा निकाल्ने उसको दिनचर्या बनेको थियोे । एक कट्टा चुनढुङ्गा निकाले बाफत पारिश्रमिक २० रुपैयाँँ थियोे । भारुलाई नेरु बनाउँदा उसको ज्याला महिनामा राम्रै बचत हुने गरेको थियोे । नयाँ विहानसंगै घर छोडेर हिडेका दिनहरु पुराना भए तर घरबाट कालापहाड आएको चार वर्ष बितेको उसले चाल पाएन । रुपैयाँँमै सुन्दर संसार देख्यो । रुपैयाँँकै बाकस बोकेर घर फर्कने सपना बुन्यो । सपनाको संसारमा डुबेर गाउँमा पसल खोल्ने सपना देख्यो तर आफू खरी खानमै डुबेर मर्ने सपना कहिल्यै देखेन । हप्ता दिन अघिको अबिरल झरीले खरीखानको आँत गलेको थियोे । झरीले खानीको आँत गलेको बुद्धिरामलाई हेक्का भएन । कुल्लीहरु काममा निस्केका थिएनन् । आकाश खुलेसंगै बुद्धिराम डेक्चिमा दाल बसाएर काममा निस्क्यो  । सुरुङ्ग भित्र ऊ के पसेको थियोे, खुट्टाको चालमा कम्पन भएको कम्पनलाई जमिनले थेग्न सकेन र सुरुङ्ग भत्कियो बुद्धिराम निस्सासिएर कहिल्यै नब्यूझिँने गरी सुरुङमै निदायो । उसका सपनाहरु सुरुङ्ग भित्रै पुरिए ।

घरमा ध्रुपाको साथ दिने कोही थिएन । बुद्धिराम बिना ध्रुपा एक्लेतारा जस्तै भई । बुद्धिरामको शोकमा ध्रुपाले ठुलीभेरीमा डुबेर मर्ने सोच नबनाएकी पनि होइन । जुम्ल्याह छोरीहरुको मायाले ऊ मर्न सकिन । छोरीहरु सात पुगेर आठमा लागेका थिए । छोरीहरु अझै काम सघाउने भई सकेका थिएनन् । छिमेकीको काम नगरे मुखमा माँण पस्न बन्द हुने अवस्था थियोे ।

जमानसिंह खच्चर ब्यापारी हो । ऊ कालीमाटी बजारको सामान खच्चरमा ढुवानी गरेर जाजरकोट मात्रै होईन जुम्ला र डोल्पा जिल्लासम्म पु¥याउने गर्छ ।

एक दिन नुन तेल र खाद्यको चामल लिन ध्रुपा कालिमाटी आएकी थिई । खारखोला कटेपछि जमानसिंह र उसको जम्काभेट भएको थियोे, स्याप्सेको भिरमा । सँगसँगै उनीहरु स्यापुखोलासम्म पुगे । व्यापारीहरु बाठा हुन्छन् । उनिहरु अं भने कलंकार बुझ्छन् । मान्छेको कमजोरी कहाँ छ उनीहरु त्यहीँ प्रहार गर्न जानेका हुन्छन् । ध्रुपाले आफ्नो जीवनमा घटेका सबै कहानीको नालीबेली सास नफेरेर पहिलो परिचयमै भनेर सकी । जमानसिंहले नक्कली सद्भाव देखायो । के खोज्छस काना आँखो भने झै भयो । जुम्लासम्म सामान ढुवानी गर्दा ध्रुपाकै घर आँगन भएर जानुपर्ने भएकोले ऊ मख्ख थियोे ।

जमानसिंह महिनामा आठ, नौ पटक यहीं बाटो भएर जुम्लासम्म आउ–जाउ गथ्र्याे । ध्रुपासंगको निकट्ताले ‘के निहुँ पाउँ कनिका बुकाउँ’ साबित भयो । मानौ ध्रुपाका दुःखका दिन गए, नुन तेल, चामल उसले किन्नु परेन । काम गर्थी त समाजलाई देखाउलाई मात्रै गर्थी, घर आँगनको अनुहारपनि जमानसिंहको सँगतसँगै फेरिएको थियोे । गाउँलेको अघि जमानसिंहलाई मित बा को भान्जा बनाएर दाइ साइनोले सम्बोधन गर्थी । उनिहरुको हिमचिम दाइबहिनीको सम्बन्ध जस्तो थिएन ।

समाजलाई देखाउने नाता दाजुबहिनीको भएपनि जमानसिंह ध्रुपाको नाठो थियोे । जमानसिंह र ध्रुपालाई गाउँलेहरुले संगै देखेपछि लाज पचाएपछि लाज हराउँने रहेछ भनेर लक काट्थे । ध्रुपाको जवानीको रंग र बाध्यता कसले बुझोस् । समाज जहिले पनि हुने खानेकै पक्षमा हुन्छ । बरु भोकाएर गरिब मरेको देख्न चाहान्छ तर सहयोग गरेर पुण्य कमाउन समाज उचित ठान्दैन । स्वार्थी समाजको हर्कत ध्रुपाले नबुझेकी पनि होइन । सिटामोल खाना नपाएर पाँच दिन थला पर्दा समाज मुखदर्शक बन्दा जमानसिंहले खच्चरमा बोकेर खलंगा अस्पताल पु¥याएको गुण ध्रुपा कसरी भुल्न सक्थी । पितृसतात्मक युगको खास्टोमा जकडिएर सासफेर्ने समाज प्रति ध्रुपा निकै दुःखी थिई । हिजोको जस्तो मातृसत्तात्मक युग अर्थात् महिला प्रधान युग पनि होइन । मातृसत्तात्मक युगमा महिलाले पति राख्ने चलन थियोे । एउटै स्त्रीका चार–पाँच श्रीमान् हुन्थे । कुन पुरुषका छोराछोरी कुन–कुन हुन् त्यो कुरा आमालाई मात्रै थाह हुन्थ्यो । त्यसैमा विधुवा आईमाई प्रति हेर्ने दृष्टिकोणमा समाजका आँखा नरम हुने कुरै भएन । पटुकीले जति कसे पनि जमानसिंहको नासो कहाँ लुक्थ्यो र ? ध्रुपाको पेट दिनदिनै बढ्दै गइरहेको देखेपछि जमानसिंह मनमनै आत्तिएको थियो । अब कसरी यसबाट छुटकारा पाउने भन्नेमा जमानसिंहले अनेक उपायहरु सोचिरहेको थियो । पेटमा भएको बच्चाको हत्या गर्ने बारे पनि जमानसिंहले ध्रुपासँग कुरा नगरेको होइन । तर धु्रपाले गर्भपतन गरेर भ्रुण हत्या गर्ने पाप सोच्नसम्म पनि सकिन । बरु समाजका तिखा वचनका प्रहारहरु झेल्दै गाउँदेखि एक सय कोष टाढा सुर्खेत अस्पताल, सुर्खेतमा आएर छोरो जन्माई । अस्पतालले थमाएको बच्चाको डेट अफ बर्थ को सार्टिफिकेटमा बच्चाको बुवाको नाम थिएन । आमा ध्रुपा मात्रै लेखिएको थियोे । नर्सले बुबाको नाम सोध्दा ध्रुपा मौन थिई, उसले केही बोलिन । छोरा जन्माउदा पनि खुशी नहुने कस्ती आईमाई हो नर्सलाई लाग्यो होला । जसरी तराई पुगेपछि कर्णाली नदी सुसाउँदैन आफ्नै गन्तव्यमा शान्त स्वभावका साथ बगिरहन्छ त्यसैगरी धु्रपा पनि मौन थिई, शान्त थिई र उसको अवोध चेहेराले मात्र बोलेको थियो बच्चाको बाबु त फरार छ । बच्चा जन्मिएको हप्ता दिन भई सकेको थियो । ध्रुपालाई रेखदेख गर्ने मान्छे कोही नभएकाले पेसेन्ट पूर्णरुपले ठिक भएमात्रै पठाउँने उपचारमा खटिएका डाक्टर श्रेष्ठको निर्देशन थियोे । ध्रुपालाई भने आफू पूर्णरुपले ठिक भएको महशुस थियोे । ध्रुपा कसैलाई थाहैं नदिएर अस्पतालबाट भाग्ने जालो बुन्दै थिँई मनमनै । शनिवार यसै पनि अस्पतालमा भिडभाड हँुदैन, आकस्मिक बिरामी बाहेक सामान्य बिरामी भर्ना शनिवार नहुने भएपछि सुर्खेत अस्पताल रित्तो थियोे । गार्डहरु कुर्सीमै निदाएका थिए । ध्रुपाको लागि भाग्ने समय यो भन्दा उपयुक्त के नै हुन्थ्यो र । औंषधीका बट्टा, भिटामीनका बोतल र फलफुल टेवुलमा छोड्दै ध्रुपा बच्चा लिएर अस्पताल देखी मध्यरातमा फरार भई । रातका केही प्रहर अस्पतालदेखी माथिको जंगलमा कटाई । मान्छे नचिनिने भुकभुके उज्यालो हुन थालेपछि ध्रुपा तल झरी । बच्चालाई छोडेर जान उसको रहर थिएन । छोडेर जाने पीडा भित्र पनि ऊ बच्चाको भविष्य खोजी रहेकी थिई । के वैध, के अबैध । आमा भएपछि वैध अबैध, जस्तोसुकै सन्तानको पनि माया लाग्नेरहेछ ।

भोली भेट होला नहोला भेट भएपनि बच्चाले नचिन्न सक्छ । अलपत्र छोडेर जाने बच्चाले भोली दोबाटोमा भेटिएकी आमालाई चिन्ने कुरा पनि भएन । छोड्नुको विवशता बच्चालाई के थाह । आँसु रित्तिएपछि पीडा कम हुन्छ भन्ने कुरा ध्रुपाले सुनेकी थिई । बच्चाको अनुहार र आँखीभौं माथिको कालो कोठी हेर्दै खुब रोइ । जति रोएपनि आँसु कम भएनन् । बगीरहे आँखाबाट आँसु नलगाड खोला बगे झै । निशा च्यात्तिएर उज्यालो हुने क्रम बढ्दै गएपछि ध्रुपा जंगलदेखी अलि तल बस्ती नजिक झरी । जंगलको आडैमा एओएसको गेट छ । एसओएसको गेट अनाथ बच्चाहरुको स्वागतार्थ सधै भरी खुल्ला छ । गेटको अघि गुलमोहरको रुखको छायामा आडलिएर ऊ ठिङ्ग उभिई । आफुले लगाएको स्विटरले अनुहार नढाकिने गरी बच्चालाई त्यसैँमा लपेटी । आफ्नो कोखबाट अलग गर्दै बल्याङकेटको न्यानोमा बच्चालाई गोद लगाएपछि पश्चातापको खलियानमा जल्दै बच्चालाई एसोएसको गेटमा छोडेर ऊ बाहिर अलप भई । अलि पर पुगेपछि उसका आँखाबाट बलिन्द्र आँसुका धारा बगे । त्यति आँसु बुद्धिराम परलोक हुँदा बगेका थिएनन् । ध्रुपाले आफुले आफुलाई धिक्कारी, समाजलाई धिक्कारी । एउटै घरमा कुनै दिन छोराको अभावमा आँसु बगेका थिए भने आज छोरा भएर पनि बाध्यताको ज्वालाले जलाएपछि धु्रपाको आँखाबाट आँसु बग्न छोडेनन् । अन्ततः ऊ हारी, समाजले जित्यो । ऊ खाली हात र रित्तो पेट घर फर्की ।

छोरीहरु जवान भएपछि पराई घर जानु पितृसत्तात्मक ब्राह्माण्डको नियम नै हो । मानव जीवनको अस्तित्व यहीँ चक्रमा चलेको छ । बचेराले माउ छोडे झै ध्रुपाकी जुम्ल्याहा छोरीहरु पनि लाखापाखा लागिन् । ध्रुपालाई हेर्ने समाजको दृष्टिकोण सफा नहुँदा नहुँदैपनि उनी समाजलाई चुनौती दिएर गाउँ बसेकी थिइन् । मानौ पितृसतात्मक युगले निलेको मातृसतात्मक युगलाई स्थापित गर्ने एक देवदाश हुन् ध्रुपा ।

समय भन्दा बलवान् आखिर कोही रहेनछ । जवानी त कर्कलाको पात माथि अडिएको पानी जस्तै रहेछ । उमेरका अंकहरुले खुड्कीला उक्लिए पछि मान्छेको जवानीको रस सुक्दै जाने रहेछ । उमेरका पदचापसंगै अशक्तता बढ्दै गएपछि सक्ने कामहरुबाट पनि हारखानु पर्नेरहेछ ।

साथमा छोरो हुनुको महसुस ध्रुपाले त्यसपछि गरिन् जब शरिरले साहारा लठ्ठी माग्यो । छोरी बाहेक आफ्नो भन्ने अरु कोही नभएपछि ध्रुपा छोरीज्वाइँकै घरमा ओत लाग्न पुगिन् । छोरीज्वाइँको घरमा छ महिना पाहुना भएर राम्रैसँग बिते दिनहरु । आफ्नो घर जस्तो सहज छोरीज्वाइँको घरमा ध्रुपालाई लागेन । छोरीज्वाइँका घरमा हुने ठाकठुक कुराले ध्रुपाको मन पोलिरहन्थ्यो ।

गाउँमा आएको महामारीले ध्रुपालाई पनि लपटेपछि । उनी दल्लीको अस्थायी स्वास्थ शिविरमा भर्ना हुन पुगिन् । चार दिनको उपचारले बीसको उन्नाईस नभएपछि उनलाई सुर्खेत अस्पताल रेफर गरियो । कुनैबेला उनी आफै सुर्खेत अस्पताल कसैको जीवन फुलाउन आएकी थिइँन तर आज ३० वर्ष पछि ध्रुपा पुनः एम्बुलेन्सको सिरानीमा मृत्युलाई च्यादरमा लपेटेर अस्पताल आएकी थिइँन ।

ईमर्जेन्सी वार्डमा विमारीको उपचारार्थ खटिएका थिए डाक्टर देव । शरिरमा एप्रोन, गलामा आला र दुई औंलाको बिच भागमा सिगरेट झै समाएका थिए थर्मोमिटर उनले । हेर्दा आकर्षक खाइलाग्दो शरीर । नाकको डाँडीमाथि बसेको सेतो चश्माको सिसामा ट्युलाइटको प्रकाश परावर्तन हुँदा उनको गोरो अनुहार हिरा झै चम्किन्थ्यो । नर्सहरु उनले सुझाए झै विरामीको सेवामा तत्लिन थिए ।

शरीरमा अक्सिजनको मात्रा कम भएपछि ध्रुपालाई अक्सिजन दिइयो । सलाइन चढाइयो । हातको नाडीबाट रगत झिकियो र रोगका किटाणुहरु पत्ता लगाउन रगत ल्याबमा पठाउने काम भयो । अत्याधिक ज्वरो र कमजोर शारिरीक अवस्था भएपछि सलाइनमा भिटामिन र ज्वरोको औषधीसमेत मिसाएर दिएको थियोे ।

ल्याबटेष्ट पछि रगतमा ब्ल्याकफोर्ड एक्सएक्स भाइरसका जिवाणुुहरुको संक्रमण देखिएपछि जिवाणुसंग लड्ने प्रतिरोधात्मक औषधी नर्सहरुको निगरानीमा दिन थालियो । ३० दिनको अनवरत उपचार पछि ध्रुपा होसमा आइन् । आफू सुर्खेत अस्पतालमा भर्ना भएको थाह पाइन । ध्रुपा मान्छे चिन्ने भइन् । ३० वर्षपछिको होसमा आएसंगै डाक्टर देवले सोधेका थिए कस्तो छ आमा तपाईंलाई ? ध्रुपाको जवाफ थियो ठिक छ, डाक्टर साहेब । उपचारमा खटिएका नर्स र डाक्टर चिनिन् उनले । तर डाक्टर देवलाई आफ्नो छोरो हो भन्ने उनीसंग प्रमाण थिएन । आखीभौँ माथिको कालो कोठी देखेर डाक्टर देवलाई आफ्नो छोरा होला कि भन्ने उनीमा न सहास थियोे न त प्रमाण नै । आखिर डाक्टर देव त्यही एसओएसको गेटमा ३० वर्ष अघि लावारिस अवस्थामा ध्रुपाद्वारा छोडिएका अनाथ शिशु थिए । आज समयको चक्रले आफ्नै छोराको हातबाट ध्रुपाको उपचार भएको छ । तर यो कुरा न आमालाई थाह छ न छोरालाई । डा. देवको हेरचाहबाट ध्रुपालाई विस्तारै सञ्चो हुँदै गयो । डा. देवले उनका लागि आवश्यक औषधीको पोको थमाइदिए । उनी अस्पतालबाट डिस्चार्ज भइन् । हातमा औषधीको पोकोसहित एकपटक फेरी डा. देवको अनुहारमा पुलुक्क हेरेर मनमनै धन्यवाद दिँदै उनी पुनः जाजरकोटको यात्रामा निस्किन् । डा. देव पनि सञ्चो भएको विरामी ध्रुपातिर हेर्दै आमा विष्णुमायासँगै आफ्नो वासस्थान तिर लागे । विवशताले छुटाएपछि डाक्टर देवकी आमा ध्रुपा नभएर अचेल एसओएस भिलेजकी विष्णुमाया औपचारिक आमा भएकी छन् ।

तपाईको प्रतिक्रिया