कथाः हजारे साँहु

वीरेन्द्रनगर–६ स्थित तल्लो बजार व्यवसायका लागि मध्ययम खालको बजार हो । यहाँ प्राय सबै किसिमका व्यवसायहरु सञ्चालनमा छन् । अहिलेको समयमा यस बजार क्षेत्रमा नागरिकको वहाव केहि हदसम्म कम भएपनि यसअघि यो बजारमा मानिसहरुको भिड नै लाग्थ्यो । राष्ट्रिय बाणिज्य बैंकको वीरेन्द्रनगर शाखा पनि यतै थियो । त्यसैगरी लहरै अरु बैंकका शाखा पनि सञ्चालनमा थिए । मानौ, सुर्खेतमा आर्थिक कारोवारमा यो बजारको योगदान धेरै छ ।

बजारमा भिड बढ्न थालेपछि अहिले वीरेन्द्रनगर नगरपालिकाले जुम्ला रोड तिर बैंकका शाखाका लागि क्षेत्र तोकेको छ । बैंक पुग्ने प्राय ग्राहकहरु पनि बैंक सँगै उतै सरेपछि अहिले जुम्लारोडतर्फ वीरेन्द्रनगरको बजार विस्तार भईरहेको झै देखिन्छ ।

उपभोक्ताले समेत छोड्दै गरेको तल्लो बजारमा गोलु नेपालीको टेलर व्यवसाय छ । उनले यो व्यवसाय सञ्चालन गरेको करिव ६ वर्ष भईसक्यो । खासगरी काँचो कपडा सिलाउने गछिन् उनी । विद्यालयका पोशाक, निजामति कर्मचारीसँग अन्य संघ संस्थाका लागि ‘गोलु टेलर्स’ चर्चित नाम नै हो । टेलरमा नै काँचो कपडाका बण्डालहरु समेत पाइन्थ्यो, ग्राहकलाई आफुलाई चाहिने कपडा खोज्न अन्त कतै जानु पर्थेन । पालो पर्खदै तीन दिनसम्म कुर्थे ग्राहकहरु । ग्राहक माझ गोलु टेलर्सको सेवामा भरोसा जितिसकेको थियो ।

तर अहिले गोलु तेलर्सको दिनचर्या नै फेरिएको छ । टेलर्ससँगै गोलुको समेत दिनचर्यामा परिवर्तन छ । यस अघि सबेरै टेलरको सटर खोलिसकेपछि मात्र चियाको पहिलो चुस्की लिने गोलु अहिले विहानीको खाना खाएर मात्र व्यवसायमा पुग्छिन् ।

तल्लो बजारबाट गोदामलाइन निस्कने सानो गल्ली भित्र गोलुको व्यवसाय सञ्चालनमा छ । दुई वटा मोटरसाइकल पनि नछिर्ने त्यो गल्लीमा यस अघि गोलु टेलर्समा लाग्ने भिडले सबैलाई उत्साहित बनाउथ्यो । स्थानीय पत्रपत्रिकाले समेत गोलुको सफलताका कथा छापेका थिए । महिला स्वरोजगार झल्काउने ति कथा पढ्नेहरु अहिले भने गोलु टेलर्समा भीड लाग्दैनन् । टेलर्समा ग्राहक मात्र घटेका हुन्, भिड भने उस्तै छ ।

…….

गोलू आफै स्वावलम्वी महिला हुन् । घरको आर्थिकदेखि सामाजिक दायित्वहरु समेत गोलु आफैले बहन गर्छिन् । गाउँमा छिमेकी बितेको समयमा होस् या भैँसी काटेको बेला, गोलु आफै पुग्छिन् । त्यसैले त भैँसीको भाग उठाउने नामावलीमा पनि उनकै नाउँ हुन्थ्यो, गोलु भाउँजु । छिमेकीमा कसैको मृत्यु हुँदा समेत सहयोग नावालीमा पनि उनकै नाउँ देखापथ्र्यो । नामः गोलु नेपाली, ठेगानाः पठान टोल ।

पठान टोलको पनि आफ्नै परिचय छ । वीरेन्द्रनगर नगरपालिकाको दक्षिण भूभागमा पर्ने यस क्षेत्रमा वि.सं. २०२७ साल अघि नै बस्ती बसेको थियो । वारीपट्टी चौधरी समुदायका घरहरु लहरै वस्ती बसेका थिए । पारिपट्टी पठान टोलमा भने छिटपुट रुपमा दलित समुदायका घरहरु बने ।
अहिले पठान टोलमा कुल ६१ घर दलित समुदायको छ । भौगोलिक रुपमा समेत पठानटोललाई प्रकृतिले नै छुट्टाएको देखिन्छ । दक्षिणतर्फ सामुदायिक वन क्षेत्र । पूर्व र उत्तरतर्फ भने खोलाको घेरो ।

समुदायमा समेत आफ्नै समस्या छन् । थारु बस्तीबाट पठान टोल पुग्न पुल निर्माण भएको पनि अहिले मात्र हो । यहाँका सबै घरमा विद्युत् अझै पुगेको छैन । सबै घरमा धारा पनि जोडिएका छैनन् । पठानटोलवासी सबैले सेतो पूर्जा भएको जग्गामा आफ्ना घर बसाएका छन् ।

सुकुम्वासी समस्या समाधान आयोगले थमाएको सेतो पूर्जामा गोलुको पनि घर छ । उनका ससुरा काले वादीले जग्गा भोगाधिकारबाट पाएको जग्गा हो त्यो । वि.सं. २०२७ सालमा बस्ती सर्ने क्रममा काले वादी र उनका आफन्तहरुले पठान टोलमा जग्गा बनाएका थिए । जंगल नजिक भएकाले पनि उनीहरुले यो क्षेत्र रोजेका हुन् । त्यसपछि यो गाउँ नै वादी बस्ती भयो । यहाँ हँसिया पिट्नेहरु, सुनको काम गर्नेहरु पनि छन् । तर सबैले भने आफ्नो पुर्खयौली पेशा अंगालेनन् ।

पछि २०५८ ताका पहाडी क्षेत्रीहरु पनि जग्गा खरिद गर्दै बसाई सर्न थाले । सेतो पूर्जा भएकैले जग्गा सस्तोमा पाइन्थ्यो । त्यसैबैला देखि यो टोले पनि आफ्नो नाउँ पाएको हो । त्यो भन्दा अगाढी ‘बादी टोल’ भनेर निचिने यो गाउँले नयाँ नाम पायो, पठान टोल । द्वन्द्वका समयमा दैलेख तिरबाट विस्थापित भएर सुर्खेत झर्नेहरुले नै यो गाउँको नाउँ दिएका हुन् । तर गाउँको नाउँ पठान टोल कसले राख्यो भन्ने कसैसँग यथार्त सूचना छैन ।

गोलुले पनि २०६६ तिर एक जना रोकाया थर भएकालाई एक कठ्ठा जग्गा बिक्रि गरेकी थिइन् । ससुरा नभएपछि घरको सबै काम आफ्नै काँधमा लिएकी उनले अहिले पनि आफ्नै काँधमा राखेकी छिन् । उनका ससुरा काले वादी भारतमै हराए । करिव १५ वर्ष पुग्न आँटिसक्यो, तर अहिलेसम्म उनको केहि खबर छैन । गोलुका श्रीमान् रोजगारीका लागि भारत आउजाउ गर्थे ।

……

ग्राहक नभएपनि गोलुको टेलरमा दिनहुँ लाग्ने घुइचो उनका सयपत्री साँहुहरुको हो । सयपत्री फूलका पत्र झै गोलुका साँहुहरु पनि धेरै नै छन् । टेलरको पनि छवी नै बिग्रिसकेको छ । यहाँ आउने ग्राहकहरुलाई समेत छिमेकी व्यवसायीहरु साँहुकै रुपमा अड्कन्छन् ।

‘खाएपछि हग्नुप¥र्यो नि । छैन भनेर हुन्छ । कति दिन आईराख्ने हामी ?’, उनीहरु यसैगरी कड्किन्छन् ।

‘भागेको त छैन नि ? व्यापार भए पो दिने हो । भएको बेला तपाईहरुले नभन्दै पनि दिन्थे क्यार । समस्या परेका बेला कसरी दिने ?’

यि सयपत्री साँहुहरुको पनि आफ्नै नाउँ छन् । झिलेमिले सहकारी, लक्ष्मी लद्युवित्त, आफ्नै लद्युवित्त, दिविहिनी लद्युवित्त, सृजनशिल लद्युवित्त … यस्तै यस्तै ।

अन्तिममा फेरी आफै भन्छन्, ‘तीन किस्ता रोकिएको छ । ब्याज मात्र भएपनि त दिनुस् ।’

गोलुसँग यसको पनि उपाए छ । उनी एक हजार रुपैयाँ निकाल्छिन् र थम्थमाउँछिन् । यि सयपत्री साँहुहरु आएको बेला एक हजार रुपैयाँ भएपनि थमाईदिए पुग्छ । भन्न न भन्छन्, कराउँछन्, अनि अन्तिममा फेरी आउछु भन्दै एक हजार रुपैयाँको भौचर भर्छन् र फर्किन्छन् ।

त्यसैले गोलु यि सबैलाई हजारे साँहु भन्दै पुर्काछिन् । वश्, आएको बेला हजार रुपैयाँ दिएपनि चल्छ ।

कोहि साहुँ यस्ता पनि छन् कि, मानौ उनीहरुको अरु काम पनि छैन । विहानदेखि साँझैसम्म टेलरमै बस्दिन्छन् । टिकटक चलाएर समय बिताउँदै उनीहरु बेलाबेलामा बोल्छन् पनि, ‘आज त जहाँबाट भए पनि खोजेर ल्याउनु । मलाई केहि थाह छैन ।’

गोलु टेलरमा एक्लै पनि छैनिन्, उनलाई रजनीले पनि सघाउँछिन् । रजनीको घर पनि पठान टोल नै हो । हाल टेलरको आर्थिक अवस्थाका विषयमा रजनीलाई सबै जानकारी नहुने कुरै भएन । छिमेकी भएकैले पनि उनले गोलुलाई असाध्यै कदर गर्छिन् ।

‘दिदिवहिनीवाला आएको थियो दिदि’, रजनीले प्राय सुनाउने सूचना यस्तै हुन्छन् ।

‘आएर के गर्ने हो ? दिउँला त । अव त झन् नयाँ वर्ष पनि आउदैछ । अलि व्यापार बढ्ला नि ?’, गोलुका उत्तरहरु सधै नै उत्साह बोकेका नै हुन्छन् । उनी कहिल्यै समस्याबाट हरेस खाने महिला होइनन् ।

……….

२०६६ मा पहिलो पटक श्रीमान्लाई विदेश पठाउने योजनाले जग्गा बिक्रि भयो । सेतो पूर्जा, त्यस माथीपनि पठानटोलको जग्गा महंगोमा बिक्रि हुने कुरै भएन । तीन लाख रुपैयाँ कट्ठाका दरले उनले जग्गा बिक्रि गरिन् ।

भारतको रोजगारीले बचत हुन नसकेपछि उनका श्रीमान् अन्यन्त्र देश लागे । कतार पुग्नलाई उनले दुई लाख रुपैयाँ जति खर्च गरे । बाँकी ५० हजारको गोलुसँग अहिले पनि हिसाव नै छैन । एक लाख रुपैयाँ चाही उनले टेलर सञ्चालन गर्न खर्च गरेकी थिइन् । सुरुमा कामदार खोजेर सञ्चालन भएको व्यवसाय अहिले गोलु र रजनी आफैले मात्र चलाउँछन् ।

श्रीमान् रणबहादुर विकले पनि कतारमा खास्सै उपलब्धी गर्न सकेनन् । उनलाई त्यहाँको गर्मीले खायो भन्छन् । विदेश पुगेको तीन महिनामै पठान टोल फर्कदा रणबहादुर झन् निलौटो भएर फर्किएका थिए । वहाना पनि उही नै थियो, ‘मेनपावरले बाहिरको काममा पो पठाइदिएको रैछ ।’

दोस्रो पटक २०७२ तिर गोलुले फेरी एक कठ्ठा जग्गा बिक्रि गरिन् । यस बेला उनले टेलर व्यवसायलाई बढाउने योजना थियो । विदेशबाट फर्किएका श्रीमान पनि स्वरोजगार हुन खोजिरहेका थिए ।

गाउँमा काम पाएसम्म मजदुरी गरिरहेका रणबहादुरलाई पनि यो योजना ठिकै लाग्यो । काँचो कपडा सुविधा पनि पसलमा थपिने भयो । रणबहादुर पनि मख्ख नै थिए । २०७२ मा भने जग्गाले केहि मूल्य पायो, कठ्ठाको आठ लाख रुपैयाँ ।

रणबहादुरले एउटा मोटरसाइकल पनि निकाले । सबै रकम मोटरसाइकलमा नबुझाएर एक लाख ५० हजार मात्र बुझाए । बाँकी पैसा किस्तामा बुझाउने सर्त भयो ।

पठान टोल र आसपासका गाउँका स्थानीयहरु गोलु टेलरमै पुग्थे । आफ्ना छिमकीलाई उनले काँचो कपडामा केहि छुट पनि दिन्थिन् । सरकारी कार्यालयका कर्मचारीहरुलाई पोशाक बनाउने ठेगाना भईसकेको थियो, गोलु टेलर । संघ संस्थाका कर्मचारीहरु पनि त्यहि नै पोशाक सिलाउने । रजनी पनि गोलुको व्यवसायमा जोडिएको बेला त्यही नै थियो । रजनी मात्र होइन, दैलेखको गुँरास गाउँपालिका–८ बाट वीरेन्द्रनगर झरेकी सुस्मा पनि कामदार नै थिइन् । रणबहादुरले काउन्टर हेर्थे । कसको कपडा पहिले सिलाउने, कुन ग्राहक कसबेला आउछ ? त्यो सबै रणबहादुरकै जिम्मामा थियो । गोलु छिटफुट सबै काम हेर्थिन्, रजनी र सुस्मालाई भने फुर्सद नै हुन्थेन ।

समय ठिकै बित्यो, व्यापार पनि । अहिले आउने हजारे साहुँहरु पनि त्यसैबेला जोडिएका हुन् ।

पहिले महिला समुहबाट गोलुलाई आवद्ध गराएका उनीहरु अहिले गोलुलाई भेट्न एक्लै आउछन् । १५ गतेको बैठक, ११ गतेको बैठक, २ गतेको बैठक । यस्ता बैठकहरु त अहिले कति छुटे कति ! हजारे साँहुहरु पनि बैठकमा गोलु आउने विषयमा समेत सोच्दैनन् ।

अनि भौचर समाएर बैठकका दिन हजारे साहुँहरु आफै पुग्छन्, गोलु टेलर ।

…..

अहिले दिन अलि फेरिएको छ । टेलरमा हजारे साँहु आए भने रजनीले गोलुलाई खबर पठाइहाल्छिन् । गालु भने त्यो दिन घरतिरै बिताइदिन्छिन् ।

उनका श्रीमान् पनि अहिले घरमै बसेका छन् । दुई छोराछोरी छन् । पहिलो छोरो नजिकैको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पाँच कक्षामा पढ्छ । दोस्रो सन्तान छोरी दुई वर्षकी भइन् । उनलाई पनि सोहि विद्यालय पठाउने तयारी भएको छ ।

रजनी र गोलुको आफ्नै सांकेतिक भाषा छ, ‘कपडा लिन आउनु भएन त ?’

रजनीले फोनमा यो सुनाइन् भने अहिले पसल नआउनु भन्ने बुझिन्छ ।

‘कपडा ल्याएर आउछु भन्नुभएको थियो । कहिले ल्याउनुहुन्छ ?’, गोलुले यो शब्द सुनिन् भने त झन् घरमा पनि नबस्ने भन्ने बुझ्नुपर्छ । लद्युवित्त तथा सहकारीका समुहमा बसेका दिदी वहिनीलाई पनि संस्थाले आफैसँग ल्याएको छ भन्ने संकेत हो त्यो । यस्तो समयमा उनीहरु कचकच गर्न घरमा समेत आउन सक्छन् भन्ने अर्थ लाग्छ ।

गोलु टेलरको व्यवसाय र कारोवार बिग्रिएको कोभिड–१९ संक्रमण जोखिमका समयमा नै हो । त्यो बेला पठान टोल पनि सुनसान नै भयो । मरिन्छ कि बाँचिन्छ भन्दै गाउँमा भैँसी काटेर रमाउने पठान टोलमै संक्रमण देखिएपछि बल्ल सुनसान भएको थियो ।

गोलुको व्यवसाय पनि करिव एक वर्ष पूर्ण रुपमा बन्द नै भयो । बजार केहि खुकुलो भएपछि कपडा सिलाउने ग्राहक भेट्टाउनै मुस्किल पथ्र्यो । घरबेटीले भाडा वापतको मासिक १६ हजार रुपैयाँ ठटाएरै एक वर्षको लिए । ‘भाडा दिन नसक्ने भए, अर्कोलाई दिन्छु’ धम्की नै दिए ।

हजारे साँहुहरु पनि केहि समय आएनन् । तर जब आए, सबै एकसाथ आए । दुईवटा सटर कोठा लिएर व्यवसाय चम्केको गोलु टेलर अहिले एउटा सटरमा सिमित छ ।

गाउँमा पनि अब १० धुर जति जग्गा बाँकी छ । त्यसलाई बिक्रि गरौं भनेपनि अहिले मूल्य पाउँला भन्ने नै छैन । फेरी कतै बैंक तथा वित्तिय संस्थामा राखौं भनेपनि सुकुम्वासी समस्या समाधान आयोगले बाडेको सेतो पूर्जालाई कानूनी मान्यता नै छैन ।

यस विच निकै दोधार छ, गोलुको परिवारलाई । गाउँमा भैँसी काटियो भने पनि भाग सोध्न अहिले कोहि आउँदैनन् । मासुको पैसा असल नहुने चिन्ता हुन्छ्, गाउँलेलाई ।

धेरै त छैन, करिव नौं लाख रुपैयाँको हाराहारीमा ऋण पुगेको रहेछ । हजारे साहुँको सावा केहि वर्ष यता घटेकै रहेनछ । दिनदिनै आएर व्याज लिने उनीहरुलाई पनि फाइदै देखियो । भाग्दै, झेल्दै, हजार रुपैयाँ भएपनि बुझाईरहेकी गोलुको मेहनत सबै व्याजमा नै गएको देखियो ।

‘आखिर कहिलेसम्म यसरी चल्ने ?’

उनको परिवार अहिले विदेशीने तयारीमा छन् । गाउँमा कहिले कहिले पाईने मजदुरीले खर्च नै पुग्दैन । व्यवसायमा पनि ऋण मात्रै लागेको छ । छोराछोरी पनि ठुला हुँदैछन् । उनीहरुको पनि भविष्य बनाउनु छ, खर्च झन् बढ्दैछ । आफुले कमाउन नसकेपनि ससुराले पसिना चुहाउँदै बनाएको ढाई कठ्ठा जग्गा गुमाएकोमा ठुलो सुर्ता परेको छ, गोलु परिवारलाई । भएको १० धुर जग्गा बिक्रि गरेर छोराछोरीलाई समेत सुकुम्वासी बनाउन सकिदैन । सुकुम्वासी समस्या समाधान आयोगले अहिलेसम्म पठान टोललाई जग्गा दर्ताको रातो लालपूर्जा दिएको पनि छैन । कहिले दिने कुनै अत्तोपत्तो छैन ।

रातो पूर्जा पाएको भए, बैंकबाट एकमुष्ट ऋण गरेरै भएपनि यि हजारे साँहुलाई पन्छाउने विचार थियो गोलुको । लद्युवित्त भन्दा त बैंकको व्याज पनि अलि सस्तो, धेरथोर गरेरै भएपनि टेलर पनि सञ्चालन हुन्थ्यो, हजारे साँहु पनि हराउथे ।

रजनीलाई नयाँ वर्षमा व्यापार चम्किन्छ भन्ने आस जताउने गोलु आफ्ना श्रीमान्सँगै विदेश जाने योजना बुनिरहेकी छिन् ।

विदेश जाने पैसा त जो छिमेकीले पनि पत्ताउछ, नेपालमै व्यवसाय सुधार्न चाहनेलाई पठान टोल मात्र होइन अन्य टोलले पनि पत्ताउँदैनन् ।

गोलुले पनि यही बुझेकी छिन् । श्रीमान्–श्रीमती एउटै कम्पनीमा हुनेगरी कुन देश जाने भन्ने हालसम्म तय भने भएको छैन ।

तपाईको प्रतिक्रिया