जुम्लाको हिमा गाउँपालिका–७ बागबजारका बाढीपीडितहरू घर आँगनमै खानेपानीका धारा पुगेको छ । बाढीपीडितहरु आफ्नो घरमै पुग्दा खुसीले गतगत छन् । उनीहरु २०७९ असोज १९ देखि २६ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीले खानेपानीको मुहान नै बगाएको थियो ।
त्यसयता देखि उनी खानेपानीको समस्या थियो । मुहान नै बाढीले बगाएपछि बागबजारबासीहरु हिमा नदीको दुषित पानी पिउन बाध्य थिए ।
जसले पानीजन्य रोगको प्रकोप बढ्न थालेको वडाध्यक्ष विक्रमबहादुर शाहीले बताए । उनले भने, ‘घरमै मुहानको शुद्ध पानी पुगेपछि स्थानीय खुसी छन् ।’ उनका अनुसार हिमा ७ का २२ घरपरिवारका एक सय ५० जनाले खानेपानीको समस्या खेपिरहेका थिए । अहिलै चौबिसै घण्टा धारामा पानी आउँछ ।
नाग्म गमगडी सडक हुँदै मुगुको राराताल जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि त्यही चिसो पानी खान्छन् । वडाध्यक्ष शाहीले भने, ‘पानीको काकाकुल नै थियो ।’ बर्खामा हिलो र हिउँदमा नदीमा जमेको पानी बोकेर गुजारा चलाउनु पर्थ्यो ।
बल्ल आँगनमै पानी आउन थालेपछि खानेपानीको सास्तीको हल भएको बताए । यता जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले घरघरमा खानेपानीको पहुँच पुगेको भन्दै खानेपानी आयोजना वडाध्यक्ष शाहीलाई हस्तान्तरण गरेका थिए । उनले खानेपानी धाराहरूको संरक्षण गर्दै प्रभावकारी रुपमा पानीको उपयोग गर्न अपिल गरेका छन् । आचार्यले भने,‘बाढीपिडितहरुको ठूलो समस्याका रुपमा खानेपानी थियो । अब घरघरमै धारा पुगेको छ ।’
मुहानदेखि ट्यांकी र धाराहरुको संरक्षणमा लाग्नु पर्ने बताए । स्थानीय महिला जैसरा शाहीले आँगनमै धारा आएपछि महिलाहरूको कामको बोझ घटेको बताइन् । पानी पुग्दा खानेपानी, सरसफाइदेखि करेसाबारी बनाउन सहज भइरहेको छ । अब हरियोपरियो सागपात तरकारी उत्पादन गरेर पोषणको काममा पनि राहत मिल्ने शाही बताउँछिन् ।
प्लान इन्टरनेसनल नेपाल र पेस नेपालको साझेदारी स्थानीय सरकार र समुदायको सहयोगमा खानेपानी धाराहरू घर आँगनमै पुगेका हुन् । प्लान इन्टरनेसनल नेपालका क्षेत्रीय व्यवस्थापक मिना पराजुलीले पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा धाराहरू निर्माण भएकोले संरक्षणमा खासै समस्या नहुने बताइन् ।
उनले समुदाय, दाता र सरकारबीचको आपसी समन्वयले हर कामहरु सम्भव भइरहेको यो आयोजनाले देखाएको बताइन् । खानेपानी ट्यांकी, मुहान र धाराहरूको रेखदेख, बिग्रेको खण्डमा मर्मत गरेर दिगो बनाइराख्न आग्रह उनले गरिन् ।
स्थानीय श्रमदान, प्लान नेपाल, पेस नेपाल र स्थानीय सरकार गरेर झन्डै १० लाख रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको हो ।
गाेल्डेन बुढा । जुम्ला । १२ पुष २०८०, बिहीबार १२:५८