जातीय विभेद गरेको आरोपमा स्थानीय पक्राउ

पचालझरना गाउँपालिका–२ का वडा अध्यक्ष ४१ वर्षिय करबीरे विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा स्थानीय एक जना पक्राउ परेका छन् । प्रहरीले सोही गाउँपालिका–१ का ४४ वर्षिय गोकुल बोगटीलाई शनिवार पक्राउ गरेको हो ।

स्वास्थ्य चौकीको विषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोबाइल फोन मार्फत वडा अध्यक्ष विश्वकर्मालाई जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले पुष १२ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घरबाटै उनलाई पक्राउ गरेको कालिकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए ।

उनका अनुसार कार्यालय सहयोगी बोगटीले फेसबुक स्ट्याटसको कमेन्टमा गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको उजुरी आएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरेको हो ।

पीडित वडाध्यक्ष विश्वकर्माले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर सजाएँ ऐन २०६८ र संशोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए ।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्दै कालिकोटका दलित अधिकारकर्मी, मानव अधिकारकर्मीले चर्को विरोध जनाएका छन् । आरोपित बोगटीले आफूले जातीय भेदभाव गर्ने उद्देश्यले टेलिफो र सामाजिक सञ्जालमा नभनेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया