‘सम्बोधिका’ ले गरेको सम्बोधन

पोखरा न्युरोड स्थित रिडर कर्नरमा २०८० भाद्र २१ गते डा. ईश्वरमणि अधिकारीसंग पहिलो भेट भएको थियोे । डा. अधिकारीसंग चियामा घुलेको चिनिझै मलाई पनि एकैछिनमा एक आपसमा अन्तरघुलन हुने सौभाग्य जुर्यो । खुब मजाका रहेछन् डा .अधिकारी सर ।

धिरेन अनुपम

निर्धारित समय भन्दा एक मिनट ढिलो नगरी कार्यक्रम प्रारम्भ भई समापन भएको यस्तो कार्यक्रममा सरिक हुने अवसर पहिले पटक जुरेको थियोे मलाई । साच्चै समयको महत्व पोखरेलीहरुलाई थाह रहेछ भन्ने महसुस त्यो समय भयो जब निर्धारित परिधिभित्र कार्यक्रम समापन भयो । समयको महत्व थाह नभए सम्म कहाँ एकै दिनमा पाँचपाँचवटा साहित्यिक कार्यक्रम गर्न सम्भव छ र ? भाषाको बकपत्र माथि सटिक विमर्श तथा रचना वाचन सहित कवि ’ महेन्द्र मल्लसंग एक साँझ ’ कार्यक्रम समापन भएको थियोे ।

अबेर सम्म घनिभुतरुपले कुराकानी गर्ने अवसर त जुरेन फेरि मिल्ने वाचा सहित हामी छुट्टीएका थियौं । छुट्टिनेबेला डा. ईश्वरमणि सरले आफ्नो कृती “सम्बोधिका “ मुक्तक संग्रह उपहार स्वरुप हातमा थमाउनु भएको थियोे । उपहार प्राप्त पुस्तकहरु अझै अध्ययन गर्न नै बाँकी छन् ।

आज जसोतसो डा.अधिकारीको मुक्तक संग्रहक पढ्ने अवसर जुर्यो । अध्ययन पश्चात मनमा लागेका कुराहरु साँझा गर्न मनले नमानी छाडेन ।

उमेरसंगै मान्छेको विचार ,दृष्टिकोण र आनीबानीमा परिपक्कता बढ्दै जान्छ । तर भावनाको आरनमा भावनालाई निखारेर सुलोलित , कोमल र सबैेको मन जित्ने साहित्य लेख्नु जस्तो कठिन कर्म अरु छैन जस्तो लाग्छ दुनियामा । डा.अधिकारी देश, दुनिया , सरकार ,गरिबी, बिकृती बिसंगती र प्रेमकै आवरण भित्र रगडिएर मुक्तकहरु लेख्नु भएको छ । सिमित बिषय बस्तु भित्र पनि एउटै बिषय बस्तुलाई पृथक श्रृङ्गार भरेर सुन्दर सृर्जाना कोर्नु डा. अधिकारीको बौद्धिक तागत हो । त्यहीँ तागतको गर्भमा सृर्जित उहाँको मुक्तक यस्तो छ ।

जनताको राज आयो भन्नू मात्रै भयो
सामन्तको अन्तिम दिन गन्नु मात्रै भयो
हिजो जस्तै भयो आखिर अस्ति जस्तै भयो
अनाहकमा तिमी सहिद बन्नु मात्रै भयो ।

देश बनाउने नाउँमा ३ साल , ६ साल र ५२ सालमा जनताकै मुद्धा उठाएर पार्टीहरुको जन्म भयो । माओवादी ले १० बर्षे जनयुद्ध नै गर्यो । बर्षामा उम्रिने बगाले च्याउ झै अहिले पनि जनतनको नाउमा पार्टीहरु उम्रि रहेकै छन् । नेपाली आमाका छोराछोरीले परिवर्तनो लागि विशेष कालखण्डमा रगत पसिना बगाएर सहिद भए । दस बर्षे जनयुद्धको बलमा लामो इतिहास बोकेको राजतन्त्रको अन्त्यसंगै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर परिवर्तनको बुर्खा ओढेर देश कुइरो भित्रको काग भएर हराई रहयो । बिकृती बिसंगती , सत्ता मोह बढेर गयो । गरिब जनता महंगिको मार खेपेर बाँची रहे । देश बनाउने सपना लिएका शासकहरु जनताको परछाँया देख्न बित्तिकै किनार लागे ।

तर अतित र बर्तमानमा फरक नभएपछि जनतालाई भने जो जोगी आयो कानै चिरिएका भन्ने उखान चरितार्थ भएको छ । आफ्नो छोरा सहिद भएको देखेर अभिभावक पछुताएको कुराले साहित्यकारलाई गम्भीर बनाएको छ । साहित्यकार अधिकारी द्वारा माथिको रचना जन्मनु नेताहरुको गैरजिम्मेवारी पनको निस्कृष्ट चरित्रको भद्दा उदाहरण हो । शासकहरु आमूल रुपले रुपान्तरण हुनुनै देश र जनताको भलाई हो । परिवर्तनको नाउमा देशलाई बुर्खा भित्र लुकाएर सहिदको अपमान नगरौं यहीँ आसय माथिको मुक्तकले औंल्याएको छ ।

चरा ,खरायो र माछालाई एकैसाथ पढायौँ
कछुवा र खरायो दौडमा कछुवालाई जितायौँ
बिस्तारै हिँड्ने चलाख र दौड्ने सँधै मूर्ख हुन्छ
सम्झौँ त, कति सही कति गलत सिकायौँ ।

चोर औंला अरुलाई देखाएर उन्मुक्ति पाइदैन भन्ने कुराको गम्भीर हेक्का राखेका मुक्तकार अधिकारी देशको दुरदर्शा बिग्रिनुमा नेतालाई मान्त्रै दोशी देख्दैनन् । सर्वप्रथम त चोरऔंलाको तिर बिम्बात्मक रुपले आफू माथि पनि सोझाएका छन् । त्यति मात्रैहोइन समाजमा सजग र सचेत नागरिकलाई झन गम्भीरतापुर्वक सोचविचार पुर्याएर निर्णय गर्न सुझाएका छन् । अघिपछि नेतालाई धारेहात लगाएर नथाक्ने हामी । जब चुनाब आउँछ तब अतितका कुराहरु भुलेर त्यहीँ भ्रष्ट लिलामा लिन भएका नोहरुलाई पार्टी एउटै भएको नाता गासेर जिताउन लाग्छौँ । चोरलाई दण्डित र साधुलाई प्रोत्साहन गर्नु कहाँ हो कहाँ । जब चुनाब आउँछ , त्यस बखत बरु चोरै सही आफ्नो पार्टीलाई जिताउन लाग्छौ । पार्टी जीताउने नाउँमा चोरलाई जिताएपछि अमिलो रोपेर सुन्तला फलको आसगर्नु भन्दा बिडम्बना अरु के हुन सक्छ ? त्यसैले सहि र गलत बस्तुको पहिचान समाजका बुद्धिजीवीबाटै हुन जरुरी छ । पार्टी भन्दा माथि उठेर हाम्रो भन्दा राम्रो छान्ने सहास नगरे सम्म देश नबन्ने कुरा मुक्तककारले मुक्तकिय भाषामा दलिल पेश गरेका छन् ।

फुल देख्यो प्रीत बनेर पोखिऊँ झै लाग्छ
शीतको सफेद च्यादरले छोपिऊँ झै
लाग्छ
आधाबाटो काटिसकेँ हिँड्न रोकिएन
टक्क तिमीसम्म पुगूँ र रोकिऊँ झै लाग्छ ।

प्रेमको आयतन नभएर होला । प्रेम गर्ने मान्छेलाई उमेरले छेक्ने रहेन छ । बुढ्यौली बढे संगै प्रियसिको रुमानी यादले प्रेमलाई झन गाढा बनाउने रहेछ । त्यही भएर होला । मुक्तकार अधिकारी यादहरुको बिस्तारामा हराएर फुल देखेपछि आफ्नो प्रेमिका सम्झिनछन् ।

शान्तिको प्रतीक हो सेतो रंग । त्यही शान्तिरुपी शीतको सेतो रंगमा लुटपुटिएर सत्य शिवम् सुन्दरम भजन गाउँदै प्रेमीकाको बस्तीमा पुगेर जिन्दगीका अनुभुतीहरु सुनाउन आतुर देखिन्छन् माथिको मुक्तकमा मुक्तककार ।

गफैले खोरिया फाँड्नेहरु धेरै माथि पुगे
स्वार्थमा मुलुक भाँड्नेहरु धेरैफमाथि पुगे
जसले जे भने पनि हो हो भन्यौं हाम्ले
झुट्टा आश्वासन बाँड्नेहरु धेरै माथि पुगे ।

संसार गफैले जितिन्थ्यो भने नेपोलियन बोर्नापाट र हिटलरले कहिल्यै हार्नु पर्ने थिएन । उनका सैनिकहरु हिउँदमा पुरिनु पर्ने थिएन । नत दुश्मनका सैनिकसंग युद्ध नै लड्नु पर्थ्यो । आखिर आधा संसार जितेर पनि संसार हार्ने बोर्नापाट र हिटलर नै थिए । यस्तो कुराको हेक्का नेपालका शासकहरुलाई कहिल्यै भएन । आफ्नो स्वार्थ र सत्ताको लागि विदेशी प्रभुको अगाडि देशकै स्वाभिमान झुकाएर चाकडी गरेको देख्दा मुक्तकारको मन खिन्न हुन्छ । काम गर्ने सवालमा जस्ले सिन्को सम्म भाँच्न सकेको छैन । झुटको साम्राज्य फैलाएर जस्ले संसार जितने अफबाह फैलाई रहेको छ तिनै नेता भनाउँदाहरु जनतनको आँखामा खरानी हालेर सत्तासिन हुँदै माथि पुगेको देख्दा मुक्तकार अधिकारीले हिन्ताबोध मात्रै गरेका छैनन् पश्चातापको रापमा भुसको आगोझै आफै जलेको अनुभुती गरेको देखिन्छ ।

प्रेमपत्रहरु जोगाइराख्नु र जलाउनु दुबै कठिन हुन्छ
सम्बन्धहरु भत्काउनु र बनाउनु दुबै कठिन हुन्छ
हिजो आफैँलाई लैलामज्नु मान्नेहरु आज भन्दैछन्
दिलको तस्बिर देखाउनु र लुकाउनु दुबै कठिन हुन्छ ।

संसारमा सबै भन्दा सुन्दर चिज केही छ भने प्रेम भन्दा सुन्दर चिज अरुकेही छैन । कुरुप चिज छ भने पनि प्रेम भन्दा कुरुप केही साधन छैन । न त प्रेमको दायारा हुन्छ , न भुगोलको परिधिमा खुम्चिएर प्रेम सिमित रहन्छ । यसो भनौ प्रेम जातभात।भन्दा पनि उचो हुनेरहेछ । जब दिलले दिल जित्छ तब एकले अर्कालाई मन पराउन थाल्छ कुरुप मान्छे पनि सुन्दर लाग्छ । त्यसपछि मान्छे प्रेमको डोरीमा बाधिन्छ । प्रेमको सागरमा डुब्नेहरुको लागि उक्त संसार भन्दा कुनै अर्को सुन्दर संसार लाग्दैन । प्रेमिकाले हिडेर छोडेका स्थिर पदचापहरुका डोबसंग पनि अमिट प्रेमको साइनो जोडिए हुन्छ । स्थिर पदचापका डोबलाई हावाले पनि असर नगरोस भन्दै उस्ले कामना गरेको हुन्छ । उ फर्केर आउने बाटो कुरी बसेको हुन्छ । प्रेमीका बस्ने कुनै सहर नै किन नहोस । त्यहाँ बहने हावामा प्रेमीकाले छोडेको श्वासमा आफुले अक्सिजन लिएर बाँचेको अनुभुत गर्छ ।

जब प्रेममा दुरी बढ्दै जान्छ र पखटपट सुरुहुन्छ त्योभन्दा अर्को भयङ्कर दुश्मन कोही लाग्दैन । हिजो नजरमा फुल देखिनेहरु कसिङ्गर लाग्न थाल्ने रहेछन् । आफुलाई प्रेमका प्रमिथस ठान्ने लैलामज्नुहरु पनि एकले अर्कालाई सिध्धाउन पछि पर्ने रहेछन् । साहित्यकार अधिकारीले मिहिन रुपमा उठान गरेका छन् । सुन्दर प्रेमलाई भौतिक सुख र स्वार्थ संग जोडेर हेर्नू हुदैन । सुन्दर प्रेमको भेट नहुन सक्छ । भेट नभएकै कारण एकले अर्कोलाई धारेहात लगाउनु राम्रो होइन । सप्तरंगी इन्द्रेणीलाई टाढाबाट जति हेर्नमा आनन्द आउँछ त्यति नजिक पुग्दा आँउदैन । नजिक पुग्दा त इन्द्रेणी लोप हुन्छ । मस्तिष्कले सोचेर र दिलबाट चाहेर प्रेम गर्ने प्रेमीहरु छुट्टीनु पर्दा पनि आत्मितयता साटेर छुट्टिनु पर्ने कुराको जिकिर मुक्तकार अधिकारीले गरेका छन् । प्रेम भनेको फुलहो फुल नछुदानै राम्रो । छोएत फुलमा लाग लाग्छ भन्ने कुराको उदाहरण पेश गर्न खोजेका छन् ।

सत्य बोलूँ सुन्दर बाँचूँ जून छुन नबिर्सूँ म
हाँसु खेलुँ जिन्दगानी प्रेमिल धून नबिर्सूँ
पद प्रतिष्ठा पहिचान यी सब क्षणिक हुन्

ठूलो हुने स्वप्न पालेर मान्छे हुन नबिर्सूँ पञ्चतत्वले बनेको मान्छेको शरीर नासवान छ । अमुल्य जिवनको महत्व सबैले बुझ्न जरुरी छ । ज्ञानेन्द्रीय भएर मात्रै मान्छे – मान्छे हुन सक्दैन । मान्छे हुनको लागि फराकिलो सोचको दायारामा जून छुने उदेश्य लिएर उडान भर्ने हिम्मत गर्नुपर्छ । मानवताको परिचय दिएर समाज र मान्छेको हृदयमा नुन चिनि झै अन्तरघुलन हुन सक्ने शक्तिबाट मान्छे टाढा भाग्नु हुदैन । आन , बान , र सान त साधन मात्रै हो । जीवन जिउने साध्य होइन । क्षणिक भौतिक सुविधामा रमाउने मनसाय बोकेर मान्छे हुनबाट स्खलित हुँदै समाजको नजरबाट गिर्न मान्छेले कहिल्यै नपरोस भन्ने कुरामा मुक्तकार सजग छन् । सचेत मानवहरुले नै सुन्दर मानव समाज निर्माण गर्न सक्छन् । लोककल्याणका लागि समाजमा रहने अगुवा र राज्य संञ्चालन गर्ने जिम्मा लिएका राजनेताहरुले सकारात्मक भुमिका निभाउनु पर्ने कुराको सन्देश मुक्तककारले दिन खोजेका छन् ।

सम्बोधिकामा जम्मा जम्मी एक सय एघार वटा मुक्तक समाबेश छन् । मुक्तकार ईश्वरमणी अधिकारीले कविता र गजल विधामा कलम चलाएर आफ्ना रचनाहरुको कृति यहाँ भन्दा अगाडिनै प्रकाशीत गरिसक्नु भएको छ । विधागत रुपले यो उहाँको तेस्रो कृति हो । प्रध्यापन पेशामा सक्रिय जीवन बिताइ रहेका अधिकारी साहित्यिक संस्थाको जिम्मेवारीमा रहेर साहित्यिक गतिविधि गर्नेकुरामा पनि पोखरामा उत्तिकै सक्रिय छन् । सम्बोधिकामा समाबिष्ट मुक्तकहरु एकसे एक छन् । मुक्तकारले समाजमा जगडिएर रहेको गलत प्रवृत्तिका विरुद्धमात्रै कलम चलाएका छैनन् ।

समाजका अगुवा पछुवाका रुपमा रहेका मानव प्रवृतिका बिरुद्ध पनि उत्तिकै तीखो प्रहार गरेका छन् । हरेक विहान विदेशीने नेपाली युवायुवतीहरुको पीडामा उत्तिकै छल्किएका छन् । त्यति मात्रै होइन साहित्यको नाममा मौलाउँदै गएको गलत र बिकृत संस्कारका बिरुद्ध पनि आगो ओकलेका छन् । सम्बोधिकाले सम्बोधन गर्न नसकेकाबिषयहरु पुस्तकमा बाँकी शेष बचेका छन् जस्तो मलाई लाग्दैन ।

हरेक बिषय बस्तुलाई गहनताका साथ बुझेका साहित्यकारको लेखनिय कलाले सबै पाठकहरुको मन छुन्छ । पाठकको मन जित्नु मुक्तकारको कला हो । अब सम्बोधिका कृति पुस्तकका रुपमा मात्रै सिमित भएन उक्त नाम छोरीको नाउँमा पनि संस्लेसित भएको कुराले अझै थप खुशी थपेको छ । नयाँ मान्छेमा पनि मुक्तकिए गुणले राजगर्दै जाओस हार्दिक शुभकामना सर ।

तपाईको प्रतिक्रिया