विकास निर्माणमा महिला सहभागीता बढ्दो

चुलोचौकामा सीमित रहने दैलेख ग्रामिण भेगका महिला आजभोली विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन् । दैलेखका अधिकाँश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारत लगायत अन्य मुलुकमा जाने भएकाले यहाँका महिलाहरू विकास निर्माणको कामदेखि सामाजिक कामसम्म आफैँ अग्रसर हुन थालेका हुन् ।

प्राय पुरुषहरू गरिवीले गर्दा रोजगारीका लागि भारत, खाडीमुलुक तथा नेपालका अन्य सहरमा जाने भएकाले गाउँमा महिला मात्र रहने हुँदा विकास निर्माणमा महिला सहभागिता बढी देखिएको हो । “पराई घरमा जाने छोरीलाई पढाउने चलन थिएन । त्यतिलेला औंला गन्न सकिने छात्रा मात्र विद्यालयमा भेटिन्थे । अहिले छात्रभन्दा बढी छात्रा संख्या छ । महिला पुरुष बराबर हुन् सम्मान अधिकार बारे जानकार छन् ।

चुलो र चौकामा सिमित्त महिला शिक्षित बनेका छन् । गोष्ठी सभा, सेमिनारसँगै विकास निर्माणमा उत्तिकै सहभागिता बढेको भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले बताईन । हाम्रो पालिकाले अहिले छोरी बचत खाता सञ्चालन गरेको २० बर्षसम्म पालिकाले एक हजार र प्रदेश सरकारले पाँच सय खातामा जम्मा गरिदिन्छ । आगामी दिनमा यी छोरीले आत्मनिर्भर व्यवसाय गरुन भन्ने नै हो” उनले भनिन् । दैलेखमा २०७८ जनगणना अनुसार महिला साक्षरताको तथ्यांक ६८.७ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

घरमा रहेका पुरुष पनि विकास निर्माण र सामाजिक काममा त्यति अग्रसर नहुने भएका कारणले महिलाले नै सबै काममा अग्रसर हुने गरेको ठाटीकाँध गाउँपालिका–२ की मनसरा विष्टले बताई । गाउँमा पुरुष नहुँदा स्थानीय विकास निर्माण तथा अन्य रोजगारीका काममा महिला सहभागिता हुने गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित विकास निर्माणका कामसँगै स्थानीय रूपमा हुने अन्य विकास निर्माणका काममा पनि महिलानै सहभागी भएको सोही गाउँपालिका–१ की मनसरा शाहीले बताईन । ‘हामीले स्थानीय विकास निर्माणका काममा पनि सक्रिय सहभागिता जनाउने गरेका छौँ’ उनले भनिन् ।

गाउँघरमा हुने धारा, पधेँरा, सडक, खानेपानी, विद्युत्, भवन निर्माणका काममा पनि महिलाको विशेष सहभागिता रहने गरेको भगवतीमाई गाउँपालिका –१ धनाकुमारी विकले बताईन । ‘अब हामी गाउँमा नै बसेर विकास निर्माणका काम गरेर आम्दानी गछौं ।’

दिगोपनाका लागि महिलाहरुको सक्रियता
पछिल्लो समय खानेपानी दिगोपनाका लागि समेत महिला सक्रियता बढेको छ । केही दिन अगाडी दैलेखको भगवतीमाई गाउँपालिका गरिएको नौं दिने खानेपानी योजना दिगो सञ्चालन तथा मर्मत सम्भार तालिममा पुरुष भन्दा महिला सहभागिता बढी रहेको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना कुमारी खड्काले बताईन ।

हरेक बर्ष गाउँपालिकामा खानेपानी योजना बन्ने, तर योजनाको मर्मत सम्भार र नहुँदा योजना दिगो सञ्चालन नहुने देखिएकोले पुरुषसँगै महिलालाई पनि सिप विकास र मर्मत सम्भार तालिम दिएको सुस्वा आयोजना भगवतीमाई गाउँपालिकाले जनाएको छ ।

खानेपानी योजनाको अवधि २० बर्ष भएता पनि मर्मत सम्भार कार्यकर्ता परिचालन हुन नसक्दा जिल्लाभर दर्जनौं भन्दा बढी खानेपानी योजना बन्द भईसकेका छन् । पुरुष मर्मत सम्भारको तालिम लिएर पनि बैदेशिक रोजगारमा जाने महिला घरमै बस्ने हुँदा यसलाई दक्ष मिस्त्री र मर्मत सम्भारको तालिममा महिला सहभागिता बढाईएको सुस्वा आयोजनाको भनाई छ ।

बर्षातमा पहाडी जिल्लामा जताततै मुल फुटने हिउँदे लागेपछि मुहान सुक्ने र घण्टौ लगाएर पानी ल्याएर पिउनु पर्ने बाध्यता आफुले भोग्नु परेको पिडा समेत बुझ्न थालेपछि महिला आफै सिप सिक्दै काम गर्न थालेका हुन ।

चुलो चौका गाई वस्तु खाना, सरसफाईदेखी करेसावारीसम्म पानीकै आवश्यक हुन्छ तर पानीको अभावले बर्षेनी दुख पाएका महिला अहिले पलम्वर तालिम पाएपछि खुशी छन् । भगवतीमाई गाउपालिका सुस्वा आयोजनाले एक करोड बढि लागतमा ५ वटा खानेपानी योजना निर्माण गर्दैछ निर्माणाधिन खानेपानी योजनाहरुमा पलम्बिङदेखी संरचना निर्माणका लागि महिलाहरु सिप सिकेर काम गरिरहेका छन् भने स्वरोगार समेत बन्न पुगेका छन् ।

लामतडा खानेपानी तथा सरसफाई योजनाको मर्मत सम्भार कार्यकर्ता रमिता कुमारी खड्काले आफ्नो वस्तीमा सिप सिकेको कोही नभएको बताईन । ‘हामीलाई पाईप टाल्न आउदैन थियो, यसरी धाराका चुरी काट्ने, खानेपानीको टयांकी बनाउने खानेपानीको मुहानदेखी घरसम्म सुरक्षित पानी कसरी प¥याउने आदी कुरामा हामीलाई त केही पनि थाहा नै थिएन तालिमपछि धेरै कुरा बुझ्यौं । कति असुरक्षित पानी खाएका रहेर्छौ थाहा पायौं । अब हामीले आफ्नो योजनाको दिगोपना र सुरक्षितका लागी काम गछौं ।”

खानेपानी योजना सञ्चालनका लागी निर्माण भन्दा मर्मत सम्भार कार्यकर्ता (हेरालु) को निकै महत्व रहेकाले महिलालाई मर्मत सम्भार र दक्ष मिस्त्रीको तालिम दिएको सुस्वा आयोजनाका बास सल्लाहकार सुर्य थापाले बताए । ‘पुरुषलाई तालिम दिँदा रोजगारीका लागि पुरुष पराई देश जाने मर्मत, सम्भारका लागि कोही नहुने र योजना जीर्ण हुने हुँदा यस पालिका महिला र पुरुष दुवैलाई दक्ष मिस्त्री र खानेपानी मर्मत सम्भारको तालिम दिएका हौं’, उनले भने ।

तपाईको प्रतिक्रिया