जिल्ला सहकारी संघ लि. सुर्खेतको १६ औं बार्षिक साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्लाभरी ५ सय २५ वटा विभिन्न कार्य, उदेश्य, लक्ष्य सहित विभिन्न सहकारी सस्थाहरु क्रियाशिल रहेकाे जनाइएकाे छ । सभामा बोल्दै राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सञ्चालक हरिहरनाथ योगीले सहकारीको क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न राज्य गम्भिर र जिम्मेवार हुनुपर्ने बताए ।
उनले भने ‘सहकारी क्षेत्रलाई बदनामित गर्दै सहकारीको योगदानमाथी प्रहार गर्ने काम भएको छ । केही सहकारीमा समस्या देखिएको होला र छ त्यसलाई समाधान गर्न सबैको महत्वपूर्ण भूमिका हुन्छ । कोही पनि जिम्मेवारीबाट भाग्न मिल्दैन ।’ देशैभरी रहेका जिल्ला सहकारी संघहरुलाई सक्रिय बनाउन महासंघले कार्ययोजना सहित रणनीतिक योजना निर्माण गरेको बताए ।
साधारणसभामा संघका सचिव विशाल केसीले भए गरेका भए गरेका गतिविधि र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । त्यसैगरी कोषाध्यक्ष अर्जुन बुचामगरले आ.व. २०७९/०८० को २ करोड २ लाख ७० हजार ३ सय १९ रुपैयाँ बराबरको आव्यय विवरण र चालु आर्थिक बर्षको २ करोड १२ लाख ३७ हजार ६ सय ८ रुपैयाँ बराबरको प्रस्तावित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष अमृत बहादुर विसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बहुउद्देश्यीय सहकारी संघ केन्द्रीय सञ्चालक तथा जिल्ला अध्यक्ष चन्द्र प्रसाद थानी, जिल्ला वचत संघका अध्यक्ष पदम दाहाल, राष्ट्रिय कृषक महासंघ कर्णाली प्रदेश अध्यक्ष सन्त बहादुर केसी, कृषि सहकारी संघका अध्यक्ष शंकर बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
युग संवाददाता । सुर्खेत । ६ माघ २०८०, शनिबार २०:३९