उच्च पहाडमा हिउँ नपर्दा किसान चिन्तित


पुसमा हिमालमा परेको हिउँ जमेर बस्ने र अन्य महिनामा परेको हिउँ चाँडै बिलाउने पुरातन विश्वास रहेपनि कर्णालीका हिमालमा अहिले हिउँ भन्दा पनि काला पहाड मात्र देख्न सकिन्छ । पुसमा हिमालमा हिउँ नपर्दा अन्नबाली लगाएका खेतबारी सुख्खा धुलोमा परिणत भएका छन् ।

अघिल्ला वर्षमा हिउँले सेताम्य देखिने हिमाल सुख्खा देखिएका छन् । माघ लाग्दा पनि हिमपात नहुँदा हिउँको पर्खाइमा मारघोर, चाङ्ला, रलिङ्ग, सैपाल, पञ्चमुखी, चंखेलीलगायत उच्च स्थानमा रहेका हिमालमा हिउँ पातलिएको छ । हिउँ नपर्दा किसानलाई खडेरी लाग्ने हो की भन्ने चिन्ता छ । यो वर्ष जिल्लामा दुई पटक मात्रै हिमपात भएको छ । हिमपात थोरै भएकाले बालीनाली राम्रो फस्टाएको छैन ।

सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामाले भने, ‘यतिबेला हिउँले जताततै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवती रमाउने गर्थे, तर यो वर्ष त्यसो हुन सकेन । माघ महिना भइसक्यो अझै हिउँ पर्ने कुनै सम्भावना छैन ।’ हिउँदको हिउँ र वर्षा यामको वर्षाको भरमा हुम्लाका किसानको अन्नबालीमा भर पर्नु पर्ने भएकाले जौ, गहुँलगायतका बाली खेतबारीमै सुक्ने हो की भन्ने किसानलाई चिन्ता छ ।

यस वर्षको हिउँदमा हिमपात र वर्षा दुवै नहुँदा खडेरी लाग्ने हो की भनेर किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा वर्षेनी मंसिर, पुस र माघमा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुन नसक्दा जेठमा भित्र्याइने बालीमा राम्ररी उत्पादन नहुने चिन्ता बढेको सिमकोट गाउँपालिका–२ ठेहेका गौगोरा बोहराले गुनासो गरे ।

‘जाडो मौसममा भारी हिमपात नभएका कारण जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ’ उनले भने, ‘विगतका वर्षहरुमा कात्तिकदेखि फागुनसम्म हिमपात हुन्थ्यो ।’ यो वर्ष मंसिरमा दुई पटक मात्रै हिमपात भयो । त्यस यता हिमपात नभएर यहाँको जमिन, सुख्खा हुन थालेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया