जनप्रतिनिधि सहमतिमा नआएपछि सोरु गाउँपालिकाको केन्द्र निर्धारणमा समस्या परेको छ । उक्त गाउँपालिकाका ६ वडाका जनप्रतिनिधिले जिमा कुलाहाँ र ५ वडाका जनप्रतिनिधिले सोरुकोटमा हुनुपर्ने अडान लिएपछि केन्द्र निर्धारणमा अन्योल उत्पन्न भएको हो । कर्णाली नदीवारि कि पारि केन्द्र निर्धारण गर्ने भन्ने विवाद अझै सुल्झिन सकेको छैन ।
‘कुलाहाँ सबैका लागि पायक पर्ने हुनाले हामीले पालिकाको केन्द्र यहीं हुनु पर्छ भनेका छौं,’ वडा ९ का वडाध्यक्ष सागरशमशेर शाहीले भने । सोरुकोटमै पालिका केन्द्र राख्नु उपयुक्त हुने वडा २ का वडाध्यक्ष ऐनबहादुर शाहीको भनाइ छ ।
स्थानीय तह सञ्चालन भएको साढे ६ वर्ष बितिसक्दासम्म पनि पालिकाको केन्द्र निर्धारण नहुँदा भौतिक संरचना निर्माणमा समस्या भएको छ । केन्द्र निर्धारण नहुँदा जग्गा खरिददेखि यहाँको पूर्वाधार निर्माणमा पनि बाधा पुगिरहेको स्थानीयको गुनासो छ ।
पालिकाको पहिलो ५ वर्षे कार्यकाल सोरुकोटमा रहेको वन डिपोको जीर्ण भवनमा बित्यो भने गत वर्षदेखि सोरुकोटमै एक गैससले दुईतले भवन बनाइदिएपछि सोही भवनमा पालिकाको कार्यालय स्थापना गरी कामकाज गरिएको छ ।
हरेक वर्षको हिउँदे र बर्खे अधिवेशनमा पालिकाको केन्द्र निर्धारणका लागि जनप्रतिनिधिले कुरा उठाउने गरे पनि टुंगोमा पुग्न नसकेको जनप्रतिनिधिले बताए । कर्णाली नदीवारि कि पारि केन्द्र निर्धारण गर्ने भन्ने विवादले गर्दा पालिकाको केन्द्र निर्धारण गर्न कठिनाइ भइरहेको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।
सोरु गाउँपालिकाका ५५ वटा बस्तीमध्ये कालै, खनाया, कच्चे, तारापानी, सिप, सोरुकोट, नार्थपु, जवलधारा, जडेपानी, धुपी, बन्जाहा, पुरुमुरु, जिमा गाउँमा सडक पुगिसकेको छ भने बाँकी बस्तीमा सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
युग संवाददाता । मुगु । २१ माघ २०८०, आईतवार १३:४०