वीरेन्द्रनगर नगरपालिकाको १४ औें नगर सभामा एकिकृत प्रतिवेदन पेश गरिएको छ । नगरपालिकाको योजना तथा वातावरण शाखाले आर्थिक बर्ष २०८०–०८१ मा हालसम्म गरेका काम र उपलब्धिसहितको एकिकृत प्रतिवेदन सभामा पेश गरेको हो ।
विभिन्न शाखाहरु र वडा कार्यालयले गरेका कामहरुको प्रतिवेदनको आधारमा तयार पारेको एकिकृत प्रतिवेदन बिहिबार अर्ध–बार्षिक समिक्षासहित सभामा प्रस्तुत गरिएको छ । अर्ध बार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाको आ.ब २०८०–०८१ को कार्यसम्पादनमाथि छलफल गर्दै आगामी आर्थिक बर्ष २०८०१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रिया समेत सुरु गर्नेछ ।
एकिकृत प्रतिवेदनमा नगरपालिकाका विभिन्न शाखा र वडा कार्यालयबाट भएका मुख्य मुख्य कार्यसम्पादन र भइरहेका गतिविधिहरु समावेश गरिएको छ । सबै क्षेत्रमा सुधार ल्याउँदै वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको व्यवस्थित राजधानीका रुपमा विकास गर्ने लक्ष्यका साथ अगामी वर्षमा नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तयार गर्ने जनाएको छ ।
नगरपालिकाको चालु आ.ब को आम्दानी रकम ३ अर्ब बढि प्रस्तावित भएपनि अर्धबार्षिक अवधिमा १ अर्ब ४७ करोड बढि रकम आम्दानी भइसकेको एकिकृत प्रतिवेदनमा उल्लेख छ । यस्तै अर्धबार्षिक अवधिमा ५ करोड ४९ लाख बढि रकम आन्तरिक राजस्व स्वरुप असुली गरिएको छ ।
हालसम्म नगरपालिकाको चालुतर्फ ३८ दशमलब ५५ र पुँजिगत तर्फ ११ दशमलब ४१ प्रतिशत वित्तिय प्रगति भएको पालिकाले जनाएको छ । नगर सभामा पेश गरिएको प्रतिवेदनमा शहरी खुल्ला क्षेत्रको सरसफाईका लागि सात जनाको छुट्टैै टोली बनाएकार नियमित सडक नाला र चौर तथा झाडी सफा गरिएको र प्रकोप नियन्त्रणका लागि १५१ थान जाली सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, ९० प्रतिशत पूर्वाधार योजनाको उपभोक्ता समिति गठन गरिएको र वडा नम्बर १ र २ का ४३ टोलहरुमा रहेका नौ सय पोलमा वत्ती जडान गरिएको उपप्रमुख निलकण्ठ खनालले जानकारी दिए । क्षेत्रगत रुपमा हालसम्म १२ किलोमिटर कच्ची सडक मर्मत, तीन किलोमिटर सडक ग्राभेल, दुई किलोमिटर पक्क्ी नाला निर्माण र सडक कालोपत्रे तथा आरसीसी एक किलोमिटर निर्माण गरेको नगर सभामा उपप्रमुख खनालले जानकारी गराए ।
चालु आर्थिक वर्षको हालसम्म नक्सा दर्ता ४ सय ५९, आंशिक नक्सापास ३ सय ४२, पूर्ण नक्सा पास ३ सय ९१ निर्माण सम्पन्न प्रमणपत्र ३ सय ८१ ओटा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
बिहीबारबाट शुरु भएको नगर सभामा विधायन समितिका संयोजक यामुना नेपालीले स्थानीय वन विधेयक–२०८०, लैङ्गिक समानता अपाङ्ग सामाजिक समावेशीकरण विधेयक, वस्ती विकास तथा जग्गा एकीकरण विधेक, नगर शिक्षा ऐन–२०७४ पहिलो संशोधन र कृषि प्रवर्द्धन ऐन २०८० विधेक टेवल गरेकी छन् ।
नगर सभामा पेश गरिएका प्रतिवेदन तथा विधेयकमा दफावर छलफल गर्ने र सार्वजिनक महत्वका विषयहरु माथि उठेका सवालमा नगर प्रमुख मोहनमाया ढकालले जवाफ दिने कार्यतालिका छ ।
युग संवाददाता । सुर्खेत । २५ माघ २०८०, बिहीबार १७:५०