नागराजदेखि पृथ्वी मल्लसम्म लगभग तीन सताब्दीसम्म कर्नालीमा के भयो ? कस्तो बित्यो ? यसको बिरासत के थियो ? यसको इतिहाँस कति गौरवपूर्ण, कति रोचक, कति कहाली लाग्दो छ ? हामी मध्ये कमैलाई जानकारी होला । पूर्वमा त्रिशुलीदेखि पश्चिम लेह लद्घाख हँुदै उत्तरको गुँगे र कैलास मानसरोवरसम्म फैलिएको तत्कालीन खस साम्राज्यको ईतिहाँस हामीले कुनैपनि विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्न पाएनौ । केन्द्रिय राज्य सत्ताले यसरी दबाएर राख्यो ईतिहाँसलाई नामेट पार्न खोज्यो यस्तै विषयवस्तुमा रहेर लेखक धिरेन अनुपमले साहित्यकार महेन्द्र चौलागाईंसँगको जम्काभेटमा गरिएको भलाकुसारी ।
युग आव्हान दैनिकमा यहाँलाई स्वागत छ ।
युग आव्हान दैनिक पत्रिकामार्फत आफ्ना विचार प्रस्तुत गर्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद । म महेन्द्र चौलागाईं, शुभकालिका–६ कालीकोटमा जन्मेको, पेशाले श्री महादेव मा.वि. राराकाटिया कालीकोटमा माध्यमिक तहमा नेपाली विषयको शिक्षक, नेपाली साहित्यको विद्यार्थी ।
साहित्य लेखनमा कसरी लाग्नुभयो ? के के लेख्न रुचाउनुहुन्छ ?
मेरो साहित्य सिर्जनाको प्रेरणा मुख्यतः आफ्नै जीवन भोगाई हो । अर्को प्रेरणा मेरो बुवा र दाजु हुनुहुन्छ । कालीकोटका दुर्गम बस्तिहरुमा आजभन्दा पाँच दशक अघि जन्मिने थोरै बच्चाहरु मध्ये एउटा म हुँला कि मैले १० बर्षको उमेरमा रामायण र महाभारतका कथाहरु सुने र जाने, त्यसका लागि म मेरो बुवा र दाजुको जीवनभर ऋणी नै रहने छु । त्यतिबेला मेरो घरमा हिउँदको समयमा छिमेकका केही आफन्तहरु जम्मा भएर रामायण, महाभारत,कृष्णचरित्र, देवी भागवतका पुस्तकहरु लय मिलाएर बाचन गन्थ्यिो । हामी भुराहरु मन्त्रमुग्ध भएर सुन्थ्यौं । मेरो ठुल्दाजु खडानन्द चौलागाईं रामायणका धेरै काण्ड पुस्तक नहेरिकनै वाचन गर्नुहुन्थ्यो । त्यसैले मेरो पारिवारिक वातावरण प्रमुख प्रेरणा हो । क्याम्पस पढ्न आएपछि नेपाली विषयका आदरणीय गुरु खोपिराम लम्सालको शिक्षण शैलीले पनि प्रेरणा दियो । त्यसपछि आर्थिकरुपमा भोग्नु परेका उत्पिडनहरु, समाजमा रहेको आर्थिक र सामाजिक विभेद, राजनीतिक विकृति र बिसंगती, समाजमा फैलिँदै गएको विद्रुपता आदिले मलाई साहित्यतिर डो¥यायो । मुख्यतः कविता, गजल र कथा लेख्ने गरेको छु ।
तपाईंको नजरमा कर्णालीको साहित्यलाई कसरी बुझ्रनु भएको छ ?
तपाईंले आफ्नो आमालाई जसरी बुझ्रनु भएको छ मैले कर्णालीको साहित्यलाई त्यसरीनै बुझेको छु । मैले मात्रै होईन सम्पूर्ण नेपाली भाषा साहित्यानुरागीले त्यसरी नै लिनु पर्ने हो । किनभने समग्र नेपाली भाषा साहित्यको जननी नै खस भाषा साहित्य होईन ? तर हामी सबैले आफुलाई जन्माउने आमालाई बिर्सेका छौं ।
साहित्य कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
साहित्य कुनै पनि आग्रह तथा पुर्वाग्रहरहित, जीवन जगतलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्ने, समाज रुपान्तरण गर्न सक्ने हुनुपर्छ । बर्तमानलाई मात्र होईन भुत र भविष्यलाई समेत ध्यान दिएर
साहित्य सिर्जना गर्नुपर्छ । किनकी साहित्य समाजको दर्पण हो । हामीले अघिल्लो पुस्ताको साहित्यको अध्ययन र मुल्यांकन गरिरहेका छौं । हाम्रो पुस्ताको मुल्याङ्कन अरु कति पुस्ताले गर्ला । हामी कतिपयलाई थाहा होला केही साहित्यिक कृति बैज्ञानिक आविस्कारका कारक पनि बनेका छन् । हो साहित्यमा यो खालको दृष्टिकोण हुनुपर्छ । युगान्तकारी, कालजयी, समय सान्दर्भिक, स्थानीय परिवेशका साथै विश्वब्यापी चेत दिन सक्ने साहित्य नै लोकप्रीय हुन्छ ।
कर्णाली कला, साहित्य र धर्म संस्कृतिको पनि खानी हो, भन्छन् तर राज्य यसप्रति उदासिन देखिन्छ नि ?
कर्नाली कला, साहित्य र धर्म संस्कृतिको पनि खानी हो, भन्छन् मात्र होईन हो हो हो । जहाँ भाषाको उत्पत्ति हुन्छ त्यहीँ नै उक्त भाषासंग सम्बन्धित सम्पूर्ण पक्षको थालनी हुन्छ भन्ने विषयमा कसैको पनि दुई मत रहँदैन । त्यसैले नै कर्नालीको भाषा साहित्य नै समग्र नेपाली कला, साहित्य र धर्म संस्कृतिको स्रोत हो । जहाँसम्म राज्यको उदासिनताको कुरा छ त्यो त भएको घामजत्तिकै छर्लङ्गै छ । हामी सबैले हाम्रो जीवनको जुन प्रारम्भिक सिकाई छ त्यो आमाबाटै सिकेका छौं । राज्यले आफु जुन माध्ययमले आफ्ना दैनिक कार्य संचालन गरिरहेको छ त्यो स्रोतलाई नै बेवास्ता गरिरहेको छ । आमालाई हेला गर्ने ब्यक्तिको दुर्दशा जस्तो हुन्छ नि हो हाम्रो राज्यको दुर्दशा पनि त्यस्तै भएको छ । जहाँसम्म मन कुँडिने कुरा छ मेरा सिर्जनाको प्रेरणा एउटा यो विषय पनि हो । बेवास्ता, हेपाई, दुब्र्यवहारले कुँडिएको मनबाट झन् धारिलो विचार उत्पन्न हुँदोरहेछ । त्यसैले संसारमा युगान्तकारी परिबर्तन गर्न सक्ने दर्शनहरुको उत्पत्ति भएको हो नि त ।
कर्नालीको सभ्यता बचाउनका लागि प्रदेश सरकारले के गरोस् भन्ने लाग्छ ?
म शिक्षक हुँ , साहित्यकार चाहिँ होईन है । साहित्यमा रुचि राख्ने साहित्यको सामान्य विद्यार्थी हुँ । म जस्तालाई साहित्यकारको पगरी गुथाउनुभयो भने साहित्य शब्दको नै अपमान हुन्छ । त्यसैले साहित्यकार शब्द जोसुकैलाई दिने उपाधी होईनजस्तो लाग्छ मलाई । अब यो प्रदेश सरकारको कुरा गर्नुभयो नि नेपाली जनताले जुन अपेक्षा राखेर संघीयताको युद्व लडे नि त्यो पुरा हुन सकेन र हुँदैन पनि यस्तै ढङ्ग हो भने । हाल आएर दलहरुको नेता, कार्यकर्ता ब्यवस्थापन गर्ने थलो बनेको छ । यसबाट केही होला भन्ने आशा मैले राखेको छैन । केही गर्ने नै हो भने सम्बन्धित निकायले कर्नालीको सभ्यता, कला, साहित्य र धर्म संस्कृतिको बारेमा परिचित हुन जरुरी छ । हाम्रो दुर्भाग्य भनेको राज्य संयन्त्र सञ्चालन गर्नेहरुले यस बारे सोचेको र बुझेको जस्तो मलाई लाग्दैन । नागराजदेखि पृथ्वी मल्लसम्म लगभग तीन सताब्दीसम्म कर्नालीमा के भयो ? कस्तो बित्यो ? यसको बिरासत के थियो ? यसको इतिहाँस कति गौरवपूर्ण, कति रोचक, कति कहाली लाग्दो छ ? हामी मध्ये कमैलाई जानकारी होला । पूर्वमा त्रिशुलीदेखि पश्चिम लेह लद्घाख हँुदै उत्तरको गुँगे र कैलास मानसरोवरसम्म फैलिएको तत्कालीन खस साम्राज्यको ईतिहाँस हामीले कुनैपनि विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्न पाएनौ । केन्द्रिय राज्य सत्ताले यसरी दबाएर राख्यो ईतिहाँसलाई नामेट पार्न खोजियो । कर्नाली पनि नेपाल नै हो भन्ने नै सोचेन । यो केन्द्रिय राज्य सत्ताले कर्नालीमाथी गरिएको बेईमानी हो । भाषा, साहित्यको उत्पत्ति र उत्थानको विषय त छँदैछ कला सभ्यता र संस्कृतिका ज्यलन्त नमुनाहरु आजसम्म कर्नालीका बस्तिमा खडा छन् । मध्यकालीन समयमा निर्माण भएका देवल, पौवा, मुग्राह तथा बिहारहरुले तत्कालीन कला कति उन्नत थियो भन्ने कुरा स्पष्ट हुन्छ । अब कर्नाली प्रदेश सरकारले पुनरुत्थान गर्ने खालका योजना तथा कार्यक्रमहरु बनाउनु पर्छ । त्यस्तै कर्नालीको कला, साहित्य र धर्म संस्कृतिको श्रीबृद्घिका लागि एउटा प्रतिष्ठान बनाउनु पर्छ । अझै कतिपय प्राचीन सम्पदाहरु लुकेका छन् तिनको खोजी गर्नुपर्छ । अनुसन्धानकर्ता तथा सर्जकहरुलाई आवश्यक सम्मान र प्रोत्साहन गर्नुपर्छ । कर्नाली चिनाउन सक्ने सिर्जनाहरु प्रकाशनका लागि सहयोग गर्नुपर्छ ।
यहाँको रितिरिवाज, चालचलन, भाषा र कला संस्कृतिको प्रोत्साहन गर्न स्थानीय सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?
शिक्षाको समग्र पक्षलाई लक्षित बर्गसम्म पु¥याउन हामी शिक्षकले जुन रुपमा भूमिका निर्वाह गर्छौं त्यसरी नै राज्यका समग्र कार्यक्रम जनतासमक्ष पुगाउन स्थानीय सरकारको प्रमुख भुमिका रहेको हुन्छ । तर हालका सबै स्थानीय सरकारहरुले गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई सार्थक बनाउन सकेका छैनन् । गाउँ गाउँमा सिंहमात्रै आए । न दरबार आयो न सरकार नै आयो भनेर सर्वत्र आलोचना भएको पाईन्छ । हाम्रा आवश्यकता, समस्या र पीर मर्का स्थानीय सरकारले नै सम्बोधन गर्न सक्छ भन्ने विश्वास स्थानीय सरकारले जित्न सक्नु पर्छ । हामी कर्नालीवासी भाषा, कला, संस्कृति, साहित्य र सभ्यतामा समृद्ध छौं । कर्नालीका कुना कन्दरामा ईतिहाँसको गर्तमा लुकेका तमाम खालका सम्पदाहरुको खोजी गरी त्यसको श्रीबृद्घी गर्न स्थानीय तहमा एउटा छुट्टै खाले संयन्त्र बनाउनु पर्छ । त्यसका बजेट बिनियोजन गरी त्यस क्षेत्रका जानकार ब्यक्तिलाई खोज, अनुसन्धान, संकलन र प्रकाशनका साथै विविध ढंगले प्रोत्साहन गर्नुपर्छ ।
जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
यो बडो दार्शनिक र जटिल प्रश्न हो । जीवनलाई मैले कसरी परिभाषित गर्ने जबकि मैले मेरै जीवनलाई चिनेको छैन । मेरै जीवनको रहस्य बुझेको छैन । जीवनलाई परिभाषितै गर्न सक्ने तहसम्मको दार्शनिकता म मा छ जस्तो लाग्दैन । तथापि सोधेको सवालको जवाफ त दिनै पर्छ । हामी सबैको जीवन एउटा संयोगमात्र हो । हामी जन्मने कुनै योजना थिएन । तर पनि जन्मियौं । जीवनको कुनै शाश्वत परिभाषा छैन । ओशो रजनिसले ‘जन्म त पाईन्छ तर जीवनलाई खोज्नुपर्छ जीवनको खोजी गर्नु एउटा कला हो’ भनेका छन् । सायद उनले जीवनलाई कर्मसंग जोडेको हुनुपर्छ । पूर्विय ऋषिमुनीहरुले जीवनलाई सत्–चित्–आनन्दको त्रिबेणी मानेका छन् । जीवन दुःखका लागि होईन सुखका लागि हो । जीवन एउटा यात्रा हो । यात्राका क्रममा जस्तासुकै परिस्थिति आएपनि भोग्नुको बिकल्पै छैन । यो प्रकृतिको उपज जीवनलाई सार्थक र अनुपम उपहार बनाउन हर सम्भवको प्रयत्न गर्नु पर्छ ।
जीवन दर्शनमा साहित्यले पार्ने प्रभाव के हो ?
मेरो बुझाईमा दर्शन भनेको दृष्टिकोण हो । कुनै पनि विषयप्रतिको हेराई, बुझाई र ठम्याई नै दर्शन हो । आज विश्वमा धेरै खालका दर्शनहरु देखा परेका छन् । हालको विश्व साहित्य मौखिक परम्परा हुँदै यो अवस्थामा आई पुगेको छ । ब्यक्तिमा जुन खालको दृष्टिकोणको विकास भएको छ त्यसैमा निर्देशित भएर साहित्य सिर्जना गर्छ । त्यसो त साहित्यले पनि दर्शनलाई परिवर्तन गर्न सक्छ । साहित्यिक अभिब्यक्ति अवधारणाका रुपमा पनि आउन सक्छ र दर्शनकारुपमा पनि आउन सक्छ । सुरुमा हामीले साहित्यकारुपमा बुझेका ज्ञानका शाखाहरु आज दर्शनका रुपमा विकास भएका छन् । विश्वका कतिपय साहित्यिक कृतिहरुले ब्यक्ति र समुदायको दर्शनलाई बदलेर युगान्तकारी परिवर्तन ल्याएका छन् । त्यसैले साहित्य दर्शनबाट र दर्शन साहित्यबाट प्रभावित हुन्छन् ।
साहित्यलाई ब्यापार बनाउन खोज्ने साहित्यकारलाई के भन्नुहुन्छ ?
सुरु सुरुमा समाजमा रहेको सामाजिक, आर्थिक, राजनैतिक उत्पिडन, विकृति, बिसंङ्गती, शोषण, अकर्मण्यता आदिका बिरुद्घमा धेरै साहित्य सिर्जना भए । हाल आएर साहित्य सिर्जनाको आयाम निकै फराकिलो बन्दै गएको अवस्था छ । केही दशक अघिसम्म नेपाली सर्जकहरुले राजनैतिक तथा सामाजिक परिबर्तनका लागि कलम चलाए । हाल पनि यो क्रम नचलेको चाहिँ होईन । साहित्य सिर्जना एउटा पवित्र कार्य हो । यो ब्यक्तिको अन्तर्मनको अभिब्यक्ति हो । यो समाजको रुपान्तरण, चेतनाको प्रशारण, भावनाको शुद्घिकरणका लागि लेखिनु पर्छ । यो शाश्वत, युगान्तकारी र कालजयी हुनुपर्छ भन्ने कुरामाथी नै भन्यौं । कहिल्यै पनि पुरानो नहुनु पनि साहित्यको विशेषता हो । तर हाल आएर धेरै सर्जकहरु ््््््््््आग्रह पूर्वाग्रह र संकिर्णताबाट माथी उठ्न सकेका छैनन् । हामी धेरैको अवस्था यही छ । म पनि यसबाट अछुतो रहन सकेको छैन । सस्तो लोकप्रीयताका लागि हतारमा कृति प्रकाशन गर्न खोज्नु, राजनीतिक दर्शन होईन दलका पछि लागेर दलकै जनवर्गीय संगठन जस्तो साहित्यिक संस्था खोल्नु, सिर्जनामा राजनीतिक नाराबाजी गर्नु, साहित्यिक संस्थाहरुले सम्मान र पुरस्कार प्रदान गर्दा सेटिङ र सहकार्य गर्नु, प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरुमा भागबण्डा गर्नु नेपाली साहित्यमा देखिएका समस्या हुन् । यसबाट हामी सबै मुक्त हुनुपर्छ ।
पेशाले शिक्षक पनि हुनु हुन्छ । तपाईंको विचारमा साहित्य र शिक्षाको अन्तरसम्बन्ध कस्तो हुनुपर्छ ?
यो अत्यन्तै बृहत सवाल हो । यो छोटो बसाइमा यसलाई स्पष्ट पार्न त गाह्रो छ तथापि म प्रयत्न गर्नेछु । यी दुईबीचको अन्तरसम्बन्धको चर्चा गर्नुभन्दा पहिला साहित्य र शिक्षा के हो भन्ने विषयमा स्पष्ट हुनु जरुरी छ । साहित्य के हो ? भन्ने विषयमा पूर्विय तथा पाश्चात्य जगतमा गहन अध्ययन, मनन र विश्लेषण भएको पाईन्छ । त्यतातिर जाँदा अलि बढी समय लाग्ला । यस विषयको समग्रतातिर जानु सान्दर्भिक होला । सुरु सुरुमा त समग्र लिखित बाङ्गमयलाई नै साहित्य भनिन्थ्यो । त्यसमा अर्थशास्त्र, बिज्ञान, राजनीतिशास्त्र, समाजसास्त्र आदि पर्दथ्यो । तर हाल आएर सर्जकले आफ्नो कल्पनाको रङ भरेर जीवन जगतको प्रकटिकरण गर्नु, जीवन भोगाईलाई कलात्मक ढङ्गले पस्कनुलाई साहित्य भन्न थालिएको छ । अर्थात कविता, आख्यान, नाटक र निबन्धलाई साहित्य भनिन्छ । मेरो विचारमा साहित्य शब्दसंग खेल्ने कला हो । शिक्षा शास्त्रमा शिक्षाको पनि ब्यापक परिभाषा छन् । हामी हाल आएर शिक्षाको संकिर्ण परिभाषामा अलमलिएका छौं । कुनै निश्चित डिग्री प्राप्त गर्नुलाई शिक्षित भएको ठान्छौं । वास्तवमा रुशोको ‘शिक्षा अरु केही पनि होईन बानीहरुको निर्माण हो’ भन्ने परिभाषाले सबै कुरा समेट्छ । अर्को अर्थमा भन्दा मानिस जन्मेदेखि मृत्युपर्यन्त गरिने अनुभव र भोगाई नै शिक्षा हो ।
अब यी दुई बीचको अन्तर्सम्बन्ध कस्तो हुनु पर्छ भन्दा पनि कस्तो हुन्छ भन्ने कुरा महत्वपूर्ण छ । साहित्य र शिक्षाको बीचमा अन्योन्याश्रित सम्बन्ध छ । शिक्षाको उद्देश्य समाजको रुपान्तरण, सभ्य समाजको निर्माण, प्रतिभा र ब्यक्तित्व विकास, अन्धविश्वास र सामाजिक कुसंस्कारको अन्त्य रहेको हुन्छ भने साहित्यको उद्देश्य पनि त्यही नै रहेको हुन्छ । शिक्षा तथ्यपरक वा वास्तविकतामा आधारित हुन्छ भने साहित्यमा तथ्यमा कलाको रङ भरेर मनोरञ्जनात्मक लेखन शैली अवलम्बन गरिएको हुन्छ । शिक्षाले दियो बालेर समाजलाई उज्यालो बनाएको हुन्छ भने साहित्यले विजुली बालेर समाजलाई उज्यालो बनाएको हुन्छ । शिक्षाले ब्यक्तिको जीवनलाई आदर्श र नैतिकवान बनाउँदछ भने साहित्यले जीवन र जगतलाई सौन्दर्यबोध गराउँदछ । साहित्य समाजको प्रतिबिम्ब हो जसको उजागर शिक्षाको माध्यमबाट हुन्छ । यी दुई एक अर्काबिना अस्तित्वमा रहन सम्भव छैन । सुकरात, शंकराचार्य, रुशो, जोन डिवे, पेस्तालोजी आदिले शिक्षाको माध्यमबाट संसारमा आलोक छरे भने होमर, शेक्सपिएर, गोर्की, मिखाईल अस्त्रोभस्की, बाल्जाक, लुसुन, टाल्सटाय, बाल्मीकी, रबिन्द्रलाथ, भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोईराला आदीले साहित्यका माध्यमबाट । औपचारिक शिक्षा आर्जन नगरेको मानिस पनि साहित्य सिर्जना गर्न सक्छ । फरक यत्ति हो कि शिक्षित ब्यक्तिको सिर्जना स्तरिय र परिष्कृत हुन्छ । जहाँसम्म यीनको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने छ त्यो कुरा केही हदसम्म त माथीको चर्चाबाट पनि स्पष्ट भयो होला । बाँकि कुरा हाम्रा साहित्यिक विधाहरुले समाज र जीवन जगतलाई प्रगति तिर डो¥याउन सक्नु पर्छ केवल खोक्रो नारा र मनोरञ्जनमूलक मात्र हुनुु हुँदैन र शिक्षामा साहित्यको मिश्रण गर्न सकियो भने रुचिपुर्ण, सौन्दर्यपूर्ण र मिठास भर्न सकिन्छ ।
तपाईंको विचारमा अध्यापन गराउन सजिलो छ कि साहित्य सिर्जना गर्न ?
साहित्य सिर्जना गर्नु स्वेच्छिक कुरा हो । बाध्यताले साहित्य लेखिँदैन । यो जीवन निर्बाहका लागि लेखिँदैन । यति हुँदा हुँदै पनि साहित्य सिर्जना हुन्छ । हो हाल आएर यो एउटा व्यवसाय पनि भएको छ । साहित्य लेखेर जीवन चल्दैन भनेर धेरैले भनिरहेको बेला यसो हुनु सकारात्मक पक्ष हो । जहाँसम्म सजिलो र असजिलोको कुरा छ यो सम्बन्धित सर्जकले कुन रुपमा लियो त्यसमा भर पर्छ । आनन्दका लागि, ब्यक्तिगत सन्तुष्टिका लागि, समाज जागरण गराउनु मेरो जिम्मेवारी हो भन्ठान्नेहरुका लागि यी दुबै कार्य असजिलो होईनन् । अध्यापन गराउनु मानिसको औपचारिक पेशा हो । औपचारिकताभित्र निश्चित नीति, बिधिमुताविक जिम्मेवारीको बाँडफाँड गरिएको हुन्छ । यस्तोमा कार्य गर्न मानिसहरु बोझको रुपमा लिने गर्छन् । म मा पनि केही हदसम्म यो अवस्था हुन सक्छ । तर यी दुई एक अर्काका परिपुरक र सहयोगी बनेका छन् मेरा लागि । मैले सिर्जनालाई शिक्षणमा र शिक्षणलाई सिर्जनामा उपयोग गर्ने गरेको छु ।
शिक्षण पेशाका अलावा अन्य समय कसरी बिताई रहनुभएको छ ?
विद्यालय प्रशासनको जिम्मेवारी लिएको हैसियतले विद्यालयको दैनिक गतिविधि सुचारु ढङ्गले सञ्चालन गर्नु गराउनु र समय तालिका अनुसारको शिक्षण गर्नु त छँदैछ । यसका अलावा विद्यालयको भौतिक, आर्थिक, शैक्षिक आदि पक्ष सुधारका लागि आवश्यक समन्वय सहकार्य गर्नुपर्ने हुन्छ । फुर्सदको समय अध्ययन गर्ने, साहित्य सिर्जना गर्ने र पारिवारिक जिम्मेवारी बहन गरिरहेको छु ।
अन्तमा केही कुरा छन् भने राख्न सक्नुहुन्छ ?
साहित्य सिर्जनामा लागेका तर त्यसका लागि प्रोत्साहन र हौसला नपाएर थन्किरहेका मोफसलका हामीजस्ता भूईं मान्छेहरुलाई आफ्ना विचारहरु राख्ने जुन अवसर दिनुभएको छ । त्यसका लागि धेरै धेरै धन्यबाद छ । हजुरको यस्तो कार्यले नै दुर दराजको सिर्जना प्रकाशनमा आउन सक्छ । यसमा निरन्तरता दिनुहोला । यस्तो शुभकार्यमा थकावट नआओस् । धन्यवाद ।
धिरेन अनुपम । सुर्खेत । २७ माघ २०८०, शनिबार ११:५४