ओम बहादुर शाही ।
२९ असोज २०८० मा अधिवक्ता शेरबहादुर खत्री वीरेन्द्रनगर नगरपालिका उपत्यका क्षेत्रमा डुवानको समस्या बिकराल बन्न थालेको प्रति चिन्ता जाहेर गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन लिएर पुगे ।
सामान्य बर्षामा पनि नगर क्षेत्र डुवानमा पर्न थालेको भन्दै नगरपालिकाले उपत्यकाभित्रका खोलानालाको संरक्षणका लागि के–के पूर्वाधार व्यवस्थापन तथा निर्माण गरेको छ ? खोलानाला अतिक्रमण रोक्न के–के क्रियाकलाप गरिएको छ ? लगायतका विषय समेटी जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत खत्रीले नगरपालिकासँग विवरण मागेका थिए ।
खत्रीको निवेदन उपर कारवाही गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले १ कार्तिक २०८० मा नगरपालिकालाई पत्र लेख्दै उपत्यका क्षेत्रभित्र पर्ने खोलानाको संरक्षणमा नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ १५ दिनभित्र लिखित जानकारी पठाउन पत्र लेख्यो ।
तर, नगरपालिकाले जिल्ला प्रशासनको पत्रउपर कुनै प्रतिक्रिया जनाएन । त्यसको ठिक एक महिनापछि प्रशासनले नगरपालिकाका नाममा ७ दिनको हदम्याद राखी दोस्रो पटक पत्र पठायो । यस पटक पनि पत्रमा भनिए बमोजिम विवरण उपलब्ध गराउन नगरपालिकाले कुनै चासो देखाएन ।
प्रशासनले बारम्बार विवरण उपलब्ध गराउन निर्देशन दिएपनि नगरपालिकाले अटेर गरेपछि सोमबार ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशानुसार पत्र पठाएको छ । ‘सुर्खेत उपत्यकाभित्र प्राकृतिक खोलानालाको सिमाक्ष्ोत्र नापनक्सा गरी संरक्षण गरि पाउँ भन्ने विषयमा अधिवक्ता शेरबहादुर खत्रीले यस कार्यालयमा पेश गरेको बोधार्थ निवेदनपत्रमा उठाएका विषय उपर वीरेन्द्रनगर नगरपालिकाबाट के कसो भएको छ ?
नगरपालिकाले उपत्यकाभित्रका खोलानालाको संरक्षणका लागि के–के पूर्वाधार व्यवस्थापन गरेको छ ? अतिक्रमण रोक्न के–के क्रियाकलाप गरिएको छ ? यस विषयमा हालसम्म पनि जवाफ प्राप्त नभएकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित जानकारी पठाउनु हुन आदेशानुसार अनुरोध छ ।’ प्रशासनले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ ।
के भन्छ नगरपालिका ?
यस विषयमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत गेहन्द्रबहादुर डाँगीले अघिल्ला दुई पत्रका बारेमा कुनै जानकारी नभएकाले विवरण नपठाइएको बताए । यद्यपी प्रशासनले सोमबार लेखेको पत्र नगरपालिकामा प्राप्त भएको बताउँदै तोकिएको समयभित्र माग गरिएको विवरण तयार गरी पठाउने डाँगीले बताए ।
पत्रमा माग गरिए बमोजिमका विवरणहरु संकलनको कार्य सुरु भइसकेको डाँगीको दावी छ । यता, सार्वजनिक सम्पत्ति संरक्षणको अवस्थाका बारेमा बुझ्न खोज्दा जिम्मेवार निकायले नागरिकको सूचना पाउने हकबाट बञ्चित गराएपछि अदालत जाने तयारी रहेको अधिवक्ता खत्रीले बताए ।
‘यो सबैको साझा समस्या हो, सार्वजनिक सम्पत्तिको संरक्षण हुनपर्छ, त्यसमा पनि पानी बग्ने निकास मासिनुले सिर्जित समस्यालाई सार्वजनिक बहसको विषय बनाईनु पर्छ भन्ने मेरो धारणा हो,’ उनले भने, ‘मागेका विवरणहरु उपलब्ध नभए त अदालत जाने कुरो त भइनै हाल्यो ।’
डुवानको समस्या बढ्दै
बढ्दो सहरीकरणको चपेटामा परेको वीरेन्द्रनगर नगरपालिका उपत्यका क्षेत्रमा वर्षेनी पानीको सहज निकास नहँुदा डुबानको समस्या विकराल बन्दै गएको छ । वर्षात् होस् या हिउँदको समय, सामान्य वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँहरू डुबानमा पर्ने गर्छन् ।
पछिल्लो समय नगर क्षेत्रभित्र रहेका पानीको निकास मासिँदा डुबानको समस्या विकराल बन्दै जादा नगरपालिका भने रमिते बनेर बसेको छ ।नगर क्षेत्रको उत्तरी जलाधार क्षेत्रदेखि दक्षिण निकास खोला र पूर्व धुलियाबिटदेखि पश्चिम बाङ्गेसिमल क्षेत्रमा करिब ३ सय ७२ वटा पानी बग्ने नालाहरू रहेको नापी कार्यालय सुर्खेतको नक्साले देखाउँछ । नेवारे खोला, इत्राम खोला, खोर्के खोला र रेडियो नेपाल खोला आदि वीरेन्द्रनगरका मुख्य खोलाहरू हुन् ।
बर्षाको औसत हेर्ने हो भने वीरेन्द्रनगरमा पानीको सहज निकासका लागि २० मिटरभन्दा फराकिला खोला आवश्यक पर्ने विज्ञहरू बताउँछन् । तर, यी खोलाहरू पनि मासिँदै गएका छन् । सरकारले पानीको निकासका लागि छुट्याएका नालाहरू अहिले प्रायः नक्सामा मात्र सीमित छन् ।
यी नालाहरू केही व्यक्तिले हडपेका छन् भने, केहीमा सडक बनेका छन् । जसले वीरेन्द्रनगर बिस्तारै डुबानको दलदलमा फस्दै गएको छ । पानीको सहज निकास नहुँदा सामान्य वर्षा हुँदा पानी खोलातिर नभई बस्ती र सडकमा बग्ने गरेको छ ।
गुरुयोजनाविपरीत भौतिक संरचना निर्माणको क्रमले पनि थप चुनौती थपिँदै गएको छ । डुबान हुनबाट वीरेन्द्रनगरलाई जोगाउन व्यक्ति तथा सडकका नाममा हडपिएका प्राकृतिक नाला खोलिए मात्र डुबानको दीर्घकालीन समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाका निर्वतमान नगर प्रमुख देवकुमार सुवेदी बताउँछन् ।
‘यदि वीरेन्द्रनगरलाई पानीजन्य विपद्बाट जोगाउने नै हो भने व्यक्तिबाट मिचिएका नालाहरू खोलिनुपर्छ’, सुवेदी भन्छन्, ‘झट्ट हेर्दा यो असम्भव देखिए पनि दीर्घकालीन समस्या समाधानको उपाए भनेकै यही हो ।’ यसका लागि नगरवासीको पनि सहयोग हुनुपर्ने सुवेदीको भनाइ छ । धुलियाबिटदेखि बाङ्गेसिमलसम्म पर्ने रत्नराजमार्गको उत्तरतर्फ पानी बग्ने उचित नाला नहुनुले पनि डुबानको समस्या देखा पर्ने गरेको छ ।
नक्सामा सिमित भए पानीका निकास
नापी कार्यालय सुर्खेतको तथ्यांक हेर्ने हो भने नगर क्षेत्रभित्र रहेका प्राकृतिक खोलाहरूबाहेक अधिकांश खोल्सा, कुलो, नारा, मूलपानीलगायत ३ सय ७२ वटा पानीका भूमिगत निकासहरूमा कहीँ सडक बनेका छन्, भने कतै विद्यालय तथा व्यक्तिका नामका पक्की भौतिक संरचना बनेका छन् ।
साविक जर्वुटा गाविसअन्तर्गतका वडाहरूमा ३५ वटा पानीका निकास छन् । तर, यी निकास केहीबाहेक प्रायः मासिएका छन् । यस्तै, साविक कटकुवा गाविस क्षेत्रमा ४४, साविक गोठिकाँडा गाविसमा ४७, बयलकाँडामा ४९ र साविक लाटीकोइली क्षेत्रमा सबैभन्दा धेरै १ सय७९ वटा पानीका निकासहरू छन् ।
मासिएका पानीका निकासहरू खोल्नका लागि प्रयास भने नभएको होइन । नगर व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका नगर विकास समितिले विभिन्न समयमा पानी बग्ने निकासहरूको तथ्यांक लिने गरेको छ । तर, मासिएका निकास नगर विकासको नाममा फिर्ता गराउन भने सकेको छैन ।
विभिन्न समयमा वीरेन्द्रनगरलाई व्यवस्थित शहरमा रुपान्तरण गर्न गुरुयोजना निर्माण गरी लागू गर्ने कुरा उठ्छ तर, गुरुयोजना भने अहिलेसम्म बन्न सकेको छैन । ५० वर्ष अगाडि तत्कालीन राजा वीरेन्द्रले वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए ।
युग संवाददाता । सुर्खेत । ३ फाल्गुन २०८०, बिहीबार ११:०७