‘विश्वविद्यालयमा राजनीति बढी हावी छ’

‘कुशल शैक्षिक नेतृत्वको अभाव पनि उत्तिकै खड्किँदो छ । यसैमा ध्यान दिन सक्यौँ भने विश्वविद्यालय बन्छ र बनेको विश्वविद्यालयले जनतालाई परिवर्तनको अनुभूति दिलाउनेछ’ सुर्खेत बहुमुखी क्याम्पसमा प्राध्यापनरत तथा साहित्यकार डा. महेन्द्र कुमार मल्लसंग हाम्रा सहकर्मी धिरन अनुपमले गरेको कुराकानी ।

युगआह्वान दैनिकमा यहाँलाई स्वागत छ ?
धन्यवाद,

हजुरको परिचय पाउँन ?
म महेन्द्रकुमार मल्ल। वीरेन्द्रनगर–१० शान्तिनगर,सुर्खेतमा बस्दछु।

साहित्य लेखनकर्ममा यहाँ कसरी लाग्नुभयो ?
मेरो अध्ययन अनुसन्धानको विषय नै नेपाली भाषा साहित्य हो। अध्ययनको क्रमसँगै साहित्य सिर्जनाको यात्रा पनि प्रारम्भ भयो।

मानव समाजमा साहित्यले पार्ने प्रभाव कस्तो हुनुपर्छ ?
साहित्य र मानव जीवनका बिचको सम्बन्ध घनिष्ठ हुन्छ। यिनीहरू नङ र मासु जस्तै हुन्छन्, अलग्याउनै नसकिने। आकृतिसँग छाँया जसरी अभिन्न हुन्छ त्यस्तै हुन्छन् समाज र साहित्य पनि।साहित्यले समाजको बिम्ब खिच्न सक्नुपर्छ।त्यसैले त साहित्यलाई समाजको ऐना भनिन्छ।

शिक्षा र राजनीतिलाई साहित्यमा कसरी जोडेर हेर्नुहुन्छ ?
सानो अणुदेखि सिङ्गै ब्राह्माण्ड साहित्यको विषय बन्न सक्छ। त्यसैले विषयगत विविधताका आधारमा साहित्य विशाल समुद्र हो भने शिक्षा राजनीति भनेका खोला नदीहरू हुन्।साहित्यकाअनेकन् उद्देश्यहरू हुन सक्छन्। त्यसमध्ये शिक्षा प्रदान गर्नु र राजनीतिक परिस्थितिको चित्रण गर्नु पनि उद्देश्यका रूपमा आउन सक्छन्। फेरि शिक्षा ज्ञान विस्तारको महत्वपूर्ण माध्यम हो। यसले सिर्जनात्मक चेतको विकास गरिदिन्छ।संसार पगाल्ने सुझ र हेर्ने आँखा उपलब्ध गराउँछ। त्यसै गरी इतिहाँस र राजनीतिको चित्रण मात्र होइन साहित्यले राजनीतिलाई सही मार्गदर्शन गर्ने कार्य पनि गर्दछ।त्यसैले साहित्य,शिक्षा र राजनीतिको गहिरो सम्बन्ध रहेको हुन्छ।

उपन्यास पनि लेख्दै हुनुहुन्छ भन्ने सुनेको छु उपन्यासले उठाउन खोजेको मुल बिषय केहो ?
हो म अहिले उपन्यास लेखनमा व्यस्त छु। मैले लेख्दै गरेको उपन्यासको आयतनभित्र नेपाली समाजको दुर्दान्त पीडा र व्यवहारतः बल्झिरहने घाउ विषयबद्ध गरिएको छ। कर्णाली हुँदै समग्र देशले भोगिरहेको एउटा अभिसप्त वर्तमानलाई दूरदराजको कुनै अँध्यारो बस्तीबाट चियाउने प्रयत्न गरेको छु।

भर्खर लोकगित पनि बजारमा ल्याउनुभएको छ गीतको प्रभाब बजारमा कस्तो रहेको छ ?
एउटा स्रष्टा भएको नाताले सिर्जनाकर्ममा लत हुनु स्वाभाविक धर्म हो । म गीत रचना गर्ने मात्र होइन त्यसलाई रेकर्डिङ्ग र छायाङ्कन गराई उत्पादन गर्ने समेत गर्दछु।

पछिल्लो समय बजारमा आएको ‘काँ प¥यो घर माया’ नृत्यप्रधान लोकगीत हो।यो गीत शब्द एवम् सङ्गीत संयोजन,लयविधान,गायन,नृत्य एवम् अभिनयका दृष्टिले मेरा गीतहरूमध्येकै अब्बल गीत हो भन्ने लाग्छ मलाई।

विकास भनेको केहो, विकासको परिभाषा कस्तो हुनुपर्छ ?
कुनै पनि मुलुकमा समुन्नति बाटोघाटो,बिजुलीबत्ती,पुलपुलेसा लगायतका भौतिक विकासले मात्र प्राप्त गर्न सकिँदैन।  विकासको वास्तविक मापन त त्यस देशको मौलिकताको संरक्षण र प्रवद्र्धनद्वारा प्राप्त हुन्छ।

एकाध अपवादबाहेक हाम्रा तीनै तहका सरकारहरू यतातर्फ प्रायःजसो उदासिन देखिन्छन्। म त भन्छु हाम्रो कला,हाम्रो संस्कृति,हाम्रो भाषा भेषभूषा,हाम्रो लोक र अधुनातन साहित्य प्राकृतिक स्रोत र विविधता लगायत समग्र मौलिकताको संरक्षण र सम्वद्र्धन गर्ने हो भने नेपाललाई अरु केही गर्नै पर्दैन।

यस दृष्टिले विश्वमै नम्बर एक बन्न सक्छ हाम्रो देश।तर राज्य बहिरो छ,सत्ताका चालकहरूले आँखामा पट्टि बाँधेका छन्,ती अयोग्य छन्  ।  तिनका बुद्धिमा बिर्को लागेको छ।

अन्य प्रदेशमा प्रज्ञाप्रतिष्ठान गठन भई सकेका छन् कर्णाली प्रदेशमा अहिलेसम्म हुन सकेको छैन ?
कर्णालीलाई कतिपय सन्दर्भमा स्वयम् कर्णालीकाले नै पछि पारेको छन्।

कर्णाली प्रदेश सरकार पनि त्यसैभित्र पर्छ। यो सरकारलाई यहाँको कला,साहित्य र संस्कृतिमा अन्तर्निहित मौलिकता र विशिष्टता विश्व मानवलाई आकर्षित गर्ने र हामीलाई चिनाउने मूल विषयक्षेत्र हुन् भन्ने ज्ञान नै छैन। तिनको स्तर देखेर वाक्क हुन्छु म।सुझबुझपूर्ण र योग्य नेतृत्वको खडेरी हुनु हाम्रो दुर्भाग्य हो । यो प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन होला जस्तो लाग्दैन मलाई।

विश्वविद्यालय स्थापना भएको क्षणलाई कसरी सम्झनु हुन्छ ?
एउटा निश्वार्थ र पावन क्षण थियो त्यो।जनताको अथक परिश्रमको परिणाम थियो।त्यति बेलाका राजनीतिक र प्राज्ञिक नेतृत्वको उत्तरदायी र ऐतिहाँसिक भूमिका रहेको थियोे । त्यो भूमिकालाई भने जति प्रशंसा गरे पनि कम हुन्छ। समग्रको साझा एजेन्डा बनेको थियो । विश्वविद्यालय सुर्खेत कि नेपालगन्ज कहाँ स्थापना गर्ने भन्ने बहसले आन्दोलनकै रूप लिएको थियो।

नेपालगन्जमा तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्काको पुत्लादहन गरेको अहिले पनि सम्झन्छु म। थुप्रै आशा थिए विश्वविद्यालय स्थापनाका क्रममा र अहिले पनि छन्। म आफैले पनि विश्वविद्यालय स्थापनाको नेतृत्वदेखि बिग्रिएको विश्वविद्यालयको शैक्षिक प्रशासनिक नेतृत्व गरेर त्यसलाई सुधार गर्न धेरै मिहिनेत गरेँ।परिणाम सबैले महशुस गरेको कुरा हो ।

विश्वविद्यालयमा राजनीति बढी हावी छ। साथसाथै कुशल शैक्षिक नेतृत्वको अभाव पनि उत्तिकै खड्किँदो छ । यसैमा ध्यान दिन सक्यौँ भने विश्वविद्यालय बन्छ र बनेको विश्वविद्यालयले जनतालाई परिवर्तनको अनुभूति दिलाउनेछ।

पछिल्लो समय विश्वविद्यालयको खस्कदो अवस्थाका बिषयमा यहाँको दृष्टिकोण के रहेकोछ ?
संस्थाहरू कामले बन्ने हुन्,कुराले बन्दैनन्। भाषण धेरै भयो योदेशमा जनता परिणाम चाहन्छन् भने जस्तै विश्वविद्यालयबाट पनि प्रतिफल खोजेका छन् । अभिभावक,विद्यार्थी र यसका अभियान्ताहरूले।स्थापनाको उद्देश्य के थियो र विश्वविद्यालय ऐन, नियमका मार्गदर्शन के हो भन्ने बुझ्नुप¥यो राजनीतक र शैक्षिक प्राज्ञिक नेतृत्वले।दलिय छाँयाबाट मुक्त गर्दै विश्वविद्यालयहरू सिर्जनात्मकताको थलो हो भनि प्रमाणित गर्न सक्नुप¥यो चलाउँछु भन्नेहरूले।मलाई लाग्छ एउटा कुशल शैक्षिक प्रशासनिक गुण एवम् समन्वयात्मक क्षमता भएको नेतृत्व खोजिरहेको छ विश्वविद्यालयले।

तपाईं विश्वविद्यालयमा आउने चर्चा बजारमा सुनिन्छ साँचो कुरा केहो ?
म अहिले त्रिभुवन विश्वविद्यालय,सुर्खेत बहुमुखी क्याम्पसमा प्राध्यापनरत छु। यसभन्दा बाहिरको कुनै पनि जिम्मेवारीमा नजाने निधो केही समयअघिदेखि नै गरेको छु मैले।मेरा केही वैयक्तिक कामहरू छन्। जिम्मेवारीमा जाँदा त्यसले उद्देश्यहरूबाट विचलित गराउन सक्छ र समय पनि उपलब्ध हुँदैन।
उसो त नेतृत्वले कुनै क्षेत्रको जिम्मेवारी लागि आग्रह नगरेका होइनन् । उहाँहरूले भूमिका दिन खोजनुभएकै हो।प्राथमिकतामा केलाई पार्ने त्यो व्यक्तिको निर्णयमा भर पर्ने कुरा हो । म केही समय खास उद्देश्यहरूमा केन्द्रित रहनेछु।

खस सभ्यतालाई कसरी चित्रण गर्नुहुन्छ ?
खस सभ्यता नेपालको प्राचिन सभ्यता हो। राज्य, जाति, भाषा, प्रशासन, लोकवार्ता, पुरातत्व आदिका दृष्टिले नेपालको प्रथम महत्वको सभ्यता हो खस सभ्यता।

कर्णालीको कला संस्कृति र साहित्यलाई संरक्षण गर्ने कुरामा राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?

कर्णालीलाई कला, साहित्य र संस्कृतिको विशेष संरक्षित क्षेत्र बनाएर खोज अनुसन्धान र संरक्षणको विशेष अभियान चलाउनु आवश्यक छ।अनि मात्र देशले मौलिक र विशिष्ट पहिचान प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया