कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बर्षेनी बिरामीको चाप बढ्दै गएको छ । दैनिक अस्पतालमा ६ सय बढी बिरामी उपचारका लागि आउने गर्दछन् । सेवा लिने बिरामीको संख्या बढ्न थालेपछि अस्पतालमा बिरामीको घुइँचो लाग्न थालेको हो ।
पछिल्लो समय अस्पतालले पनि भौतिक पूर्वाधारमा फड्को मार्दै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिइएको छ । अस्पतालका अनुसार तीन आर्थिक बर्षभित्र चार लाख १६ हजार तीन सय ३७ जना बिरामीले सेवा लिएका छन् ।
जसमा तीन लाख ६९ हजार ६ सय १७ जनाले ओपिडि सेवा लिएका छन् । भने ४६ हजार सात सय २० जना बिरामीले अस्पतालबाट इमरजेन्सी सेवा लिएका हुन् । तथ्यांक अनुसार सेवा लिने बिरामीको संख्या हरेक बर्ष दोब्बरले बढ्दै गएको छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा कुल ५३ हजार एक सय ८३ जनाले ओपिडि सेवा लिएकोमा आर्थिक बर्ष ०७८÷०७९ मा दोब्बर बढिले बढेर सेवा लिनेको संख्या एक लाख २४ हजार चार सय ६८ पुगेको थियो । त्यस्तै आर्थिक बर्ष ०७९÷०८० मा एक लाख ९१ हजार नौ सय ६६ जना बिरामीले अस्पतालबाट ओपिडि सेवा लिएका छन् ।
यता इमरजेन्सी सेवा लिने बिरामीमध्ये आर्थिक बर्ष २०७७÷०७८ मा आठ हजार नौ सय २३ जना, आर्थिक बर्ष २०७८÷०७९ मा १६ हजार ६ सय २० र आर्थिक बर्ष २०७९÷०८० मा २१ हजार एक सय ७७ जना रहेको अस्पतालले जनाएको छ ।
बिरामीको बढ्दो चापलाई मध्यनजर गरी हाल तीन सय शैयाको प्रदेश अस्पताललाई पाँच सय शैयामा स्तरबृद्धि गर्ने काम भइरहेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताए । पाँच सय शैयाको अस्पताल सञ्चालनका लागि हाल भवन निर्माणको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए ।
‘ड्रिम प्रोजेक्ट’ कार्यान्वयन हुने अपेक्षा
अस्पताल निर्देशक डा. खड्काले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने कार्यलाई ‘ड्रिम प्रोजेक्ट’ का रुपमा लिएका छन् । बिरामीको चापलाई मध्यनजर गरी कर्णालीबासीलाई कर्णालीमै सबै विषशेज्ञ सेवा दिन ‘ड्रिम प्रोजेक्ट’ कार्यान्वयन हुनैपर्ने डा. खड्काको भनाई छ ।
अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्न भौतिक संरचना, उपकरणदेखि आवश्यक दक्ष जनशक्तिको अभाव नरहेको उनको जिकिर छ । ‘आगामी तीन बर्षभित्र अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गरिने छ’ उनले भने, ‘सुर्खेतमा प्रतिष्ठान आवश्यक छ । प्रदेश सरकारले यो ‘ड्रिम प्रोजेक्ट’ कार्यान्वयनमा ल्याओस् भन्ने अपेक्षा छ ।’
‘ड्रिम प्रोजेक्ट’ आफ्ना लागि नभई कर्णालीबासीका लागि आवश्यक रहेको भन्दै आफु उपकुलपति हुन चाहेमा जतापनि हुनसक्ने उल्लेख गरे । निर्देशक डा. खड्काका अनुसार बिरामीको चापलाई मध्यनजर गरी आगामी तीन बर्षभित्र बालबालिकाहरुको लागि छुट्टै अस्पताल निर्माण गरी सञ्चालन हुनेछ । त्यस्तै छुट्टै ओपिडि भवनका निर्माण, बिरामी कुरुवा घर निर्माण र अस्पतालको तला थप निर्माण कार्य सम्पन्न गरी थप सेवाहरु सञ्चालन गर्ने तयारी छ ।
यस्तै आगामी बर्षमा विशेषज्ञ चिकित्सकद्वारा क्याथ ल्याब सेवा सञ्चालन गर्नुका साथै अस्पताल विकास समितिको दिगो आर्थिक श्रोतका लागि पसल सटर निर्माण गर्ने अस्पतालको तयारी छ ।
हाल सेवा सुधारमा भइरहेका प्रयास
प्रदेश अस्पतालले बिरामीको चाप र प्राप्त सुझाब सल्लाहका आधारमा थप रणनीति अपनाउँदै आगामी दिनमा सेवा प्रवाहमा कमिकमजोरी हुन नदिने प्रयास गरिरहेको छ । जसअन्र्तगत माइनर मोडुलर ओ.टी. निर्माण गरी दैनिक शल्यक्रिया सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै मुटु रोगको उपचार सेवा, आँखाको शल्यक्रिया सेवा र अस्पतालको तला थप निर्माण कार्य सुरु गरिएको छ । भने मृगौला प्रत्यारोपणका लागि आवश्यक औजार उपकरण खरिद गरिएको निर्देशक डा. खड्काले बताए । ‘सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा दुई जना बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरियो’ उनले भने, ‘मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि पनि संस्था सूचीकृत गर्ने प्रक्रिया भइरहेको छ ।’
यस्तै सौर्य उर्जाबाट खाना पकाउने सोलार, किचिन सिष्टम जडान गरी सञ्चालनमा ल्याइएको छ । युरो सर्जरी सेवा सञ्चालन गर्न आवश्यक उपकरण खरिद गरी सेवा प्रदान भइरहेको छ । भने विश्व स्वास्थ्य संगठनको सहयोगमा एक सय ५० केभीए क्षमताको सोलार सिस्टम जडान गरी सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
डा. खड्काको आठ बर्षका आठ उपलब्धी
अस्पताल निर्देशक डा.खड्काले आइतबार अस्पताल स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै आफ्नो पछिल्लो आठ बर्षे कार्यकालको प्रमुख आठ उपलब्धि समेत सार्वजनिक गरेका छन् ।
डा. खड्काले मुख्य आठ उपलब्धिका रुपमा क्रमशः भौतिक पूर्वाधारमा फड्को, जनशक्ति तेब्बर, अत्याधुनिक स्वास्थ्य उपकरण, सेवा विस्तार र सुधार, उच्चस्तरीय स्वास्थ्य सेवा, कोरोनासँग साहसिक लडाइँ, समन्वय–सहकार्य मूलमन्त्र र सेवाग्राहीको विश्वास आर्जनलाई लिएका छन् ।
डा. खड्काले आठ बर्षअघिको अव्यवस्थित शौचालय, हात धुने पानी र स्थान, बिरामी बेड, भवन र सेवा प्रवाहको अवस्थालाई स्मरण गर्दै आफ्नो नेतृत्वमा हाल कुनै अभाव नरहेको बताए । तत्कालिन क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेटको रुपमा कार्यरत डा. खड्काले पछिल्लो आठ बर्ष निर्देशकको रुपमा नेतृत्व गरेका थिए ।
उनले भने, ‘चुनौती र संघर्षको रुपमा यी बर्ष जति कठिन थिए, आज अस्पतालको उन्नत रुप हेर्दा आत्मसन्तुष्टिले आनन्द महशुस हुन्छ । यसमा सबैको भूमिका छ । सहयोग गर्ने सबैमा धन्यबाद ।’ साथै डा. खड्का यसै बर्षभित्र सेवा निवृत्त हुन लागेका छन् ।
युग संवाददाता । सुर्खेत । ७ फाल्गुन २०८०, सोमबार १२:४५