२०८४ को चुनावका लागि अहिले नै गठबन्धन नगर्ने : कांग्रेस सभापति ललितजंग शाही

नेपाली कांग्रेसका कर्णाली सभापति ललितजंग शाहीले २०८४ को चुनावका लागि अहिले नै गठबन्धन नगर्ने निर्णय गर्न नहुने बताएका छन् ।

कर्णाली र मधेश प्रदेशको संयुक्त छलफलको प्रतिवेदन पेस गर्दै उनले गठबन्धन रणनीतिक कुरा भएको बताए । ‘गठबन्धन भनेको रणनीतिक कुरा हो । तत्कालीन समयले माग गर्ने विषय हो । अहिले नै नगर्ने भनेर निर्णय गर्न हतार हुन्छ,’ उनले भने ।

दुवै प्रदेशका महासमिति सदस्यहरूले मधेश र कर्णालीको आर्थिक विकास, कृषि र युवालाई रोजगारको कार्यक्रम ल्याउन कांग्रेसले नीति बनाउनुपर्ने निष्कर्ष आएको पनि उनले बताए । ‘मधेश र कर्णालीमा उत्पादन वृद्धि गर्नुपर्छ । मधेशभित्रको सबै समूह र आवाजको सम्बोधन गर्न नीति तर्जुमा गर्नुपर्छ,’ उनले भने ।

छलफलमा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपमुक्त बनाउन पनि कांग्रेसले भूमिका खेल्नुपर्ने सुझाव आएको उनले बताए । उनले अहिलेको गठबन्धन सर्वसम्मत भएको र यसलाई इमानदार भएर निरन्तरता दिनुपर्ने विषयमा कुरा उठेको पनि बताए । साथै हिन्दुको नाममा राजनीति गर्न नहुने पनि सुझाव आएको उनले बताए ।

यस्तै कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए ।

समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनले भने, ’अहिले पनि मधेशमा ठूलो पार्टी कांग्रेस हो । तर, सरकारको नेतृत्व पाएन । मधेश प्रदेशलाई कांग्रेसलाई नेतृत्व गर्ने पहल गर्नुहोस् ।’ साथै सभापति यादवले पार्टीमा अन्तर्घात बढेको सुझाव आएको बताए ।

तपाईको प्रतिक्रिया