जुम्लाको तिला गाउँपालिका नीति निर्माण र पूर्वाधार विकासमा अग्रता देखिएको छ ।
जुम्लाका ८ स्थानीय तहमध्य पूर्वाधार निर्माण तथा ऐन कानुन निर्माणमा तिला अगाडि देखिएको हो । तिला गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०÷८१ मा एक दर्जन ठुला योजना निर्माण प्रक्रिया अगाडि बढाएको छ । संघिय सरकार तथा प्रदेश सरकारको सहयोगमा चालू आवमा एक दर्जन ठुला योजना ठेक्का मार्फत निर्माण गर्न लागेको हो ।
तिला गाउँपालिकाले तीन वटा प्रशासकिय भवन निर्माण गरेको छ । सुविधायुक्त कार्यकक्ष, सभाहल, विषयगत शाखाका फराकिलो कार्यकक्ष सहितको पक्की भवन निर्माण भएका छ । क र ख ब्लक भवन संचालनमा आएको र नयाँ निर्माण भएको भवन आगामी चैत महिनाबाट संचालनमा आउने गरी व्यवस्थापनको काम भईरहेको छ ।
१३ औँ हिउँदे गाउँसभाको अबसरमा तिलामा चालू आवमा ठेक्का मार्फत निर्माण हुने योजना,नयाँ निर्माण भएका नीति,हाल सम्म निर्माण भएका ऐन कानुन,बजेट खर्च,लगायतको विवरण गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरिन् ।
मानव विकासका हरेक सुचांकमा कमजोर रहेको तिलाको कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा,सडक पूर्वाधार, लगायतका क्षेत्रको विकासका लागि आबश्यक १२ वटा योजना ठेक्का मार्फत निर्माण गर्न थालिएको तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।
उनका अनुसार गाउँसभाको १३ औँ अधिबेशनबाट १४ वटा विभिन्न नीति,कार्यविधि र निर्देशिका पारित भएका छन् । चालु आवमा निर्माण हुने ठुला योजनाको बोलपत्र आह्वान भई ठेक्का सम्झौता भएर पनि निर्माण प्रक्रियामा रहेका छन् ।
नीति तथा कार्यक्रमको पुर्ण कार्यान्वय,सेवा प्रवाहमा चुस्तता,विकास निर्माणलाई गति दिन,कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध समधुर बनाउन र तिलालाई समग्र जिल्लाको अब्बल पालिका बनाउन तैथान रहेको प्रशासकिय अधिकृत बुढ्थापाले प्रतिबद्दता गरे ।
मानेचौरदेखि रिपिसम्म सडक निर्माण,कुडारी बजारदेखि डुंग्रीसम्म सडक स्तरउन्नती, सरस्वति मावीको ८ कोठे पक्की भवन निर्माण, ज्योति मावि पक्की भवन निर्माण, देउराली मावि ८ कोठे पक्की भवन, दविदेउराली आवि ६ कोठे पक्की भवन, राँसोदेखि नदै गुफासम्म सडक निर्माण योजना रहेका छन् ।
त्यस्तै तुहि हुदैँ घोडेसिम सम्म कृषि ग्रामिण सडक निर्माण, तिलचौरदेखि लासीसम्म तटबन्धन निर्माण, ग्रामिण कृषि सडक सडक रारादेखि घोडे सुडि मानेचौर राँसा हुदैँ खोप्री सडक स्तरबृद्धि, रारादेखि पुरु जुम्लाकोट हुदैँ मानेचौर सडक स्तरउन्नती र सिता मावि पक्की भवन निर्माण गरी १२ वटा योजना ठेक्का मार्फत चालु आवमा निर्माण हुने छन् ।
१३ औँ गाउँसभाबाट विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०८०, सडक आश्रित मानव उद्दार पुर्नस्थापना तथा व्यवस्थापन कार्यविधि–२०८०, बालमैत्री आचारसंहिता कार्यविधि–२०८०,बालविवाह सम्बन्धि रणनीति योजना–२०८०,ब ालबालिका सम्बन्धि पञ्चवर्षिय रणनीतिक योजना–२०८० पारित भएको छ ।
त्यस्तै,विपन्न नागरिक उपचार सहायता कार्यविधि–२०८०,भवन निर्माण मापदण्ड कार्यविधि–२०८०,जग्गाको वर्गीकरण कार्यविधि–२०८०, तिला गाउँपालिका शिक्षा नियमावली–२०८०, स्थानीय विपद तथा जलवायु उत्थानशील योजना–२०८० र तिला गाउँपालिकाको अबकाश कोष कार्यविधि–२०८० सहित १४ वटा नीति पारित भएका छन् ।
साथै तिला गाउँपालिकाले हालसम्म २० वटा ऐन,४ वटा नियमावली,१६ वटा कार्यविधि,२ वटा निर्देशिका र १ वटा नीति गरी कुल ४३ वटा ऐन कुन निर्माण भई राज पत्रमा प्रकाशन भएर कार्यान्वयनमा रहेका छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले कानुन निर्माण बिना विकास निर्माणदेखि सेवा प्रवाहमा कठिनाई हुने भएकोले कानुन निर्माणमा पहिलो प्रथामिकता दिएको बताए ।
‘मानव विकासका विभिन्न सुचांकमा तिला कमजोर छ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुुर्वाधार विकासका क्षेत्रमा सन्तोषजन नतिजा ल्याउने गरि काम गर्नु पर्ने छ । तिला गाउँपालिकाले चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी कुल ५१ करोड २४ लाख ३७ हजार ७९७ रुपैयाँ विनियोजन गरेकोमा माघ समान्तसम्म १५ करोड ५२ लाख ४६ हजार ९ सय २८ रुपैया खर्च गरेको छ ।
गाेल्डेन बुढा । जुम्ला । ११ फाल्गुन २०८०, शुक्रबार १५:०१