हिउँले अवरुद्ध नाग्म–गमगढी खण्डको हिउँ पन्छाएर सडक सुचारु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टिमले नाग्म–गमगढी सडकको बुलबुले,सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सुचारु गरेको हो ।
गत मंगलबार, बिहीबार र बुधबार हिमपात हुँदा गमगढी–नाग्मा सडक अवरुद्ध भएको थियो । साधनहरु चल्न सकेका थिएनन् ।
बिहिवार र शुक्रवार दिनभरी सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकहरु लगाएर हिउँ पन्छाएर सडक सुचारु गरेको सुपरभाइजर जग्गी बिकले बताए। उनका अनुसार झाड्नौला देखि सातमोड,सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।
उच्च हिमाली क्षेत्र रहेको कर्णाली राजमार्ग अन्तरगत नाग्म– गमगढीको सडकको यो खन्डमा हिउँदमा हिउँ परेर र वर्षामा पानीले पहिरो र रुख ढलेर सधै सडक अबरुद्ध हुँदै जान थाले पछि पछिल्ला बर्षहरुमा १ दिन पनि सडक अबरुद्ध नहोस भनेर सडक डिभिजन कार्यालयले यी सिजनमा सडक रक्षक र स्काभेटर तैनाथ अबस्थामा राख्दै आएको छ ।
हिउद र वर्षामा २÷३ महिना अवरुद्ध हुने यो सडक २ वर्ष यता सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ,पहिरो र अन्य अवरोध हटाउनाले १÷२ दिन भन्दा बढी अबरुद्ध हुने गरेको छैन ।
एक दशकअघि नेपाली सेनाले निर्माण गरी संचालनमा आएको गमगढी–नाग्मा सडक अझै कालोपत्र भने हुन सकेको छैन ।
नेपाल कै प्रमुख पर्यटकिय गन्तव्य नेपाल कै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकहरुको स्थलमार्गको सडक पनि यहि सडक भएकाले यातायात साधनले यो खण्ड सधै व्यस्त हुने गर्दछ ।
यो खण्ड व्यस्त र पर्यटकीय मार्ग समेत रहेकाले सिन्जा,जुम्लाको चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अबरुद्ध कै कारण सास्ती नपाओस भनेर सडक विस्तार र स्तरौन्नतीमा समेत सडक डिभिजन कार्यालय लागेको बिक बताउँछन्।कर्णली राजमार्ग अन्तर्गत नाग्म–गमगढि सडक ९३ किमि दुरी छ ।
गाेल्डेन बुढा । जुम्ला । १२ फाल्गुन २०८०, शनिबार ११:१७