वीरेन्द्रनगरमा प्रदेशकै ठुलो र नियमित उडान हुने विमानस्थल रहेको छ सुर्खेतको एयरपोट । जसले अहिले कर्णाली प्रदेशको केन्द्र सुर्खेत र देशकै केन्द्र काठमाण्डौलाई जोड्ने सहज पुलको काम गरेको छ । अनि धेरैका भाषण मसला पनि भएकोछ । सर्वसाधारणमा होईन कि नेता बन्नुपर्ने र आम नागरिकले नेता भन्नुपर्ने बृत्तमा यसको खुब चर्चा र परिचर्चा गरेको हामी पाउँछौं । तर कुरा के हो भन्नेकुरा कसले बुझ्ने ? कसले सर्वसाधारणका भावना बुझ्ने ?
सुर्खेत एयरपोटको विषयमा भर्खरै कर्णालीमा शीर्ष भनिएका र देशकै बागडोर सम्हालेका मन्त्रीदेखी माननियका कुरा सुन्दा पनि गुदी कुरा के हो त भन्ने केही न केही त बुझिन्छ । आवश्यकता के हो र मसला के हो भन्ने कुराको सतही मापन त गरिएका बिकासको उपभोग कतिले गर्छन अथवा गर्न सक्छन या पाउँछन् भन्ने कुरा नै त होला ? की अरु केही पनि हुन्छ र ? सरसर्ती हेर्दा बिकास भनेको त त्यहाँ रहेका धेरैभन्दा धेरै व्यक्तिले प्रयोग गर्न सक्ने र त्यसको प्रयोगबाट अधिकतम् लाभ लिनसक्नेलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने होईन र ?
के कर्णाली अर्थात सुर्खेतको तत्कालीन आवश्यकता अन्तर्राष्ट्रिय विमानस्थल नै हो त ? अझ भनौ विमानस्थल बिस्तार नै हो त ? के कर्णालीमा गर्नुपर्ने बिकास अव बिमानस्थल बनाउने मात्र होला त ? पक्कै होईन एयरपोटमा गर्ने लगानी सुर्खेत–जुम्ला–रारा फोरलेन सडक बनाउँदा के कम बिकास हुन्थ्यो र ? बिमानस्थल अपुग नै हुन भने अर्बौ खर्बौ लगानी लगाएर बनाएका पोखरा, भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थल के सञ्चालनमा छन् त ? कुनै दिन केही खराबी भएमा के अन्तर्राष्ट्रिय बिमान पोखरा भैरहवा ल्यान्ड गरेको रेकर्ड छ ? या गर्छन ? अहँ गर्दैनन सिधा लखनउ कि दिल्लीमा बिमान अवतरण हुन्छन् । बन्नु र बनाउनु नै ठूलो कुरा रहेछ त ? नजिकैका बिमानस्थलका उदाहरण हेरौं न कालिकोटको अस्ति भर्खर जम्बो टोली गएर बुढेशकाल लागेको एयरपोटलाई कुरीकुरी गरेर आएका छन् ।
हेर्नुस् त ३५÷३६ बर्ष अगाडी करोडौं लगानी लगाएर बनाएको एयरपोटको उपयोगीता बैंककै व्याज हिसाव गरौं या त सरकारले लिने ऋणकै व्याज हानौ त कति हुन्छ ? तर उपयोगिता र उपलव्धी शुन्य । यो त नेतृत्वको अदुरदर्शि निर्णय असक्षमताको कारण भएको घाटा होईन ? यहि रकम एउटा उद्योगीले लगानी गरेर उपलब्धि बिहीन हुन्थ्यो भने त उ धोती न टोपी हुन्थ्यो । ७ पुस्ता बद्नाम हुन्थ्यो, उ आत्महत्या गर्नबाध्य हुन्थ्यो तर यहाँ त नेताले गरेका गल्ति र कमजोरीले त उनीहरुको सिघ्र बढुवा हुन्छ । ग्रेटअप हुन्छ ।
आग्रगामी यिनै हुन्छन् । सिधै फाईल बढुवामा पर्छन । सिङ्गो राष्ट्र हाकेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काज्यू, देश नै सम्हाल्नेबेला फेरी के आफ्नै निर्वाचन क्षेत्र रुघेर बस्ने हो र ? अनि कि प्रदेश सभा सदस्य यामलाल कडेलज्यू, आरोप त छ नि आफ्नो पार्टी सत्तामा नहुँदा सुर्खेत बिमानस्थल बिस्तार गर्न दिएन उनीहरुले जिन्दगीभरी भजाई खान्छन् भनेर उचालेर बनाउन दिनुभएन भन्ने त छ त ? अनि विगत ३÷४ दशकदेखी केन्द्रीय राजनितीमा राम्रै पहँुच राख्नुभएको सासंद हृदयराम थानीज्यू पनि खाली हृदयमा गुटबन्दीमात्रै राख्याजस्ता कुरा गर्न पनि अलि नसुहाउने हुँदो हो कि ?
हो कर्णालीको बिकास बाँकी अन्तर्राष्ट्रिय बिमानस्थलभन्दा पहिला यहाँका बाटोहरु बन्नुपर्छ । १३२ केभिए प्रसारणलाईनको त टेण्डर भैसके छ ढिलो चाढो बन्ला नै । के कर्णालीलाई १३२ केभिए भन्दा पनि थप विद्युत क्षमता आवश्यक छ । त्यो काममा लागौं, कर्णालीमा ठूलो लगानीमा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाऔं । कर्णालीमा बार्षिक लाखौको सङ्ख्यामा पर्यटक भित्राउनतिर लागौं । कर्णालीमा विद्युत प्रसारण लाईन अभावकै कारण रोकिएका भेरी र कर्णाली नदीबाट हाइड्रो उत्पादनमा ध्यान दिऔं । तर खालि भोट संकलन केन्द्र सुर्खेत बिमानस्थल नबनाऊ ।
युग संवाददाता । सुर्खेत । १७ फाल्गुन २०८०, बिहीबार ०७:३२