अब सात वटै प्रदेशमा विस्तार हुनेछ क्यान्सरको निदान र उपचार सेवा

संघीय सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (सन् २०२४–२०३०) तयार पारेसँगै अबदेखि सात वटै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा विस्तार हुने भएको छ । क्यान्सरको राष्ट्रिय रणनीति तयार भएसँगै सरकारले सात प्रदेशका प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि–२०८१ पारित गरिसकेको छ ।

सरकारको यो निर्णयसँगै अब क्यान्सरको उपचारका लागि संघीय राजधानी काठमाण्डौं तथा चितवनको भरतपुर लगायतका ठाउँहरुमा धानउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । हाल बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मात्रै सरकारी स्तरका क्यान्सर अस्पतालहरु रहेका छन् । क्यान्सर निदान हुने अस्पतालको संख्या कम हुँदा यी अस्पतालमा बिरामीको चाप अध्याधिक हुनेगर्छ । सबै प्रदेशमा क्यान्सर अस्पताल विस्तार भएपछि यसको पहिचान र निदानमा सहज हुने अपेक्षा लिइएको छ ।

‘नेपालको संबिधान २०७२ धारा ३५(३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ । क्यान्सर रोगको भार वर्षेनी बढ्दै गएको तर उपचार गर्ने अस्पतालहरु सिमित भई उपचारमा जनताको पहुँच पर्याप्त हुन नसकेको अवस्था छ,’ क्यान्सर सेवा विस्तार कार्यविधि–२०८१ मा भनिएको छ, ‘तसर्थ, हाल काठमाण्डांै उपत्यका र भरतपुर चितवनमा सिमित रहेको क्यान्सर रोगको उपचार सेवालाई सातै प्रदेशमा विस्तार गर्न अत्यावश्यक भैसकेको छ ।’ क्यान्सर उपचार सेवा संचालन गरीरहेका सङ्घीय अस्पतालहरुले सो सेवा नभएका प्रदेश स्थित कम्तिमा एक सङ्घीय/प्रादेशिक अस्पतालहरुमा क्यान्सर सेवा संचालन गर्न वान्छनीय भएकोले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिईएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि निर्माण गरेको हो ।

हाल संचालनमा रहेका सङ्घीय तहका क्यान्सर अस्पतालहरुबाट उपलब्ध जनशक्ति तथा साधन स्रोत एवं आवश्यकतानुसार थपसमेत गरी सातै प्रदेशमा अवस्थित कम्तीमा एक सङ्घीय/प्रादेशिक अस्पतालहरुबाट क्यान्सर रोग उपचार र व्यवस्थापन गर्ने उद्देश्य अनुरुप कार्यविधि तयार गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यविधि अनुसार भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन र सुशील कोइराला प्रखर क्यान्सर अस्पाल खजुरा बाँकेले क्यान्सर रोगको निदान, उपचार, पूनसर््थापना र प्रशामक सेवा लगायत बिस्तारित सेवाको लागि विशेषज्ञ सहयोग गर्नेछन् ।
यी अस्पतालहरुले विस्तारित सेवा प्रदान गर्ने अस्पतालमा विस्तारित क्लिनिक तथा शाखा स्थापनाको माध्यमबाट क्यान्सर रोगको उपचार सेवा प्रदान गर्नेछन् । विस्तारित सेवा प्रदान गर्ने अस्पतालहरुले भित्री विस्तारित क्लिनिकको माध्यमबाट क्यान्सर सेवा प्रवाह गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

जसमा भक्तपुर क्यान्सर अस्पताल दुधपाटी भक्तपुरले कोशी अस्पताल, बिराटनगर र नारायणी अस्पताल बिरगंजमा सेवा विस्तार गर्नेछ । यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सेती प्रादेशिक अस्पताल धनगढीमा क्यान्सर रोग उपचार सेवा विस्तार गर्नेछ । प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर उपचार सेवा सुरु भएको खण्डमा कर्णालीका १० जिल्लाका नागरिकलाई अन्यत्र प्रदेश धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

क्यान्सरको राष्ट्रिय रणनीति तयार
क्यान्सरबाट उत्पन्न हुने भार र मृत्युदरलाई क्रमशः घटाउँदै क्यान्सरका बिरामीहरुको जीवनस्तरमा सुधार ल्याउने दूरदृष्टिका साथ संघीय सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) जारी गरेको छ । क्यान्सरको प्राथमिक रोकथाम, प्रारम्भिक पहिचान, निदान, उपचार क्षमता र प्रशामक सेवाको विकास तथा समतामूलक विकासका लागि लागत प्रभावकारी क्यान्सर नियन्त्रण कार्यलाई सुदृढीकरण गर्ने लक्ष्य सरकारले राखेको छ ।

यस रणनीतिको समग्र उद्देश्य क्यान्सर रोकथाम र नियन्त्रणको सम्पूर्ण पक्षलाई समेट्नु हो । क्यान्सर रोगको प्रमुख जोखिम तत्वहरुलाई सम्बोधन गरी प्राथमिक रोकथामका माध्यमबाट क्यान्सर हुने दर घटाउनु र आम नागरिकमा क्यान्सर रोकथामका विषयमा ज्ञान बढाउनु रणनीतिको उद्देश्य रहेको छ । सबै उमेर र समुहमा क्यान्सर हुने दर र मृत्युदर कम गर्न प्रमाणमा आधारित र लागत प्रभावकारी देखिएका क्यान्सरहरुको परिक्षण कार्यक्रम सहित क्यान्सरको प्रारम्भिक पहिचान गर्नसक्ने क्षमता विस्तार गर्ने सरकारको लक्ष्य छ । क्यान्सरका बिरामी र तिनका परिवारको जीवनस्तर सुधारका लागि उपचारमा हुने ढिलाइ कम गर्न प्रारम्भिक निदान, उपचार र प्रशामक सेवाको क्षमता विकास गर्नु, मुलुकभर क्यान्सर उपचार सेवाहरुको समतामूलक वितरणमा सुधार गर्न पूर्वाधारको विकास गर्न र सेवा प्रदान गर्न आवश्यक जनशक्ति तयार गरी सरकारले रणनीति लिएको छ ।

उच्च गुणस्तरीय अत्यावश्यक क्यान्सर नियन्त्रण सेवा प्रदान, निजी सेवा प्रदायकहरुसहित सम्बन्धित सरोकारवालाहरुबीच बहुपक्षीय साझेदारी प्रवद्र्धन गरी सहकार्यमूलक क्यान्सर नियन्त्रण पहल अघि बढाउनु सरकारी लक्ष्य रहेको छ । देशमा क्यान्सर नियन्त्रणको कार्यान्वयन र नीतिहरुमा सहयोग गर्न क्यान्सर निगरानी, अनुसन्धान र विकासलाई सुदृढीकरण गर्नु, क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कार्यान्वयन गर्न सुशासन र स्रोतसाधन अभिवृद्धि गर्नु तथा क्यान्सर उपचार सेवाको हरेक चरणमा सहयोगात्मक र पुनसर््थापनात्मक सेवा उपलब्ध गराउने गरी संघीय सरकारले रणनीति तयार पारेको छ ।

यस्ता छन् क्यान्सर निवारण रणनीति र कार्यनीति
राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (सन् २०२४–२०३०) मा प्रस्तुत रणनीतिले विद्यमान क्यान्सरसम्बन्धी सबै क्षेत्रहरुको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आवश्यकता अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यनीतिहरु अपनाईने मन्त्रालयले जनाएको ।
जसका लागि सरकारले विभिन्न नौ वटा रणनीति र कार्यनीति तयार पारेको छ । जसमा पहिलो रणनीति स्वास्थ्य प्रवर्धन तथा रोकथाम रहेको छ । प्रारम्भिक पहिचान, निदान, उपचार र प्रशामक सेवा र पूर्वाधारको विकास गरी जनशक्ति विकास गर्ने सरकारी रणनीति रहेको छ । यस्तै, बहुपक्षीय सहकार्य, अनुगमन, निगरानी र अनुसन्धान, सुशासन र वित्तीय व्यवस्थापन सहयोग तथा पुनसर््थापनात्मक सेवा प्रदान गर्ने गरी सरकारले रणनीति र कार्यनीति अगाडि सारेको छ ।

बढ्दै क्यान्सरका बिरामी
नेपालमा नसर्ने रोगको प्रकोप विस्तार बढ्दै जान थालेको विभिन्न तथ्यांकहरुले देखाउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सबैभन्दा बढी फोक्सो, स्तन, पाठेघरको क्यान्सर देखिने गर्छ । विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरु १३ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा ७१ प्रतिशत नसर्ने रोगको कारणले हुने मन्त्रालयले जनाएको छ । जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्युको कारण क्यान्सर हुने गरेको छ । नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखापरेका थिए भने १४ हजारभन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए ।

अब सात वटै प्रदेशमा विस्तार हुनेछ क्यान्सरको निदान र उपचार सेवा

सम्पादकीय : समाजको चेत कहिले फिर्ने ?

अब सात वटै प्रदेशमा विस्तार हुनेछ क्यान्सरको निदान र उपचार सेवा

यो कानुन तथा नीति निर्माणको वर्ष हुनेछ: