बालबालिकाको सुरक्षाको जिम्मा कसको ?

केही महिना अगाडी सुर्खेतस्थित उषा वालवाटीकामा अध्ययनरत एक बालकले आत्महत्या गरेको समाचार हामीले सुन्यौ । आफन्तहरुले विभिन्न आरोप लगाए, विद्यालयले विज्ञप्ती मार्फत खण्डन ग¥यो । केश प्रहरीकोसम्म पुग्यो । आन्दोलनले भौतिक क्षति समेत भयो । समाज र अभिभावक विभाजित भए । आमाबुवाले एक सन्तान गुमाए, विद्यालयको आफ्नो ईमेजमा दाग लाग्यो ।

केही समयपश्चात विद्यालयले होस्टेल सञ्चालन नगर्ने निर्णय ग¥यो । यि सबै कुरा हँुदै गर्दा त्यो भन्दा पछाडीका समयमा पनि आत्महत्या गर्नेको सङ्ख्या दिनानुदिन बढीरहेको सामाजिक सञ्जालमार्फत हामी सुनिरहेका छौं । सोसल मिडियाले विश्वको जुनसुकै कुनाका गतिविधी हातहातमा रहेका मोवाईल फोन मार्फत क्षणभरमै विश्वभर फैलिन्छ ।

तर त्यसको असर कहाँ के पर्छ भन्ने कुराको आँकलन कसैले गरेको पाईदैन । भर्खरमात्र चितवनमा सलिना पोख्रेल विद्यालयले सञ्चालन गरेको होस्टेलमा मृत भेटिएकी छिन । एकपक्ष भन्छ बलात्कार गरेर मारेको छ । अर्कोपक्ष भन्छ बाबुआमाको मायाँको कमीको कारण एक्लोपनले यस्तो निर्णय भएको हुन सक्छ । के कसैको विषयमा चिन्ता व्यक्त गर्न उ मर्नु नै पर्ने अवस्था भएको हो त हाम्रो समाजमा ?

किशोरावस्था पार गरेर युवा अवस्थामा प्रवेश गरेकाको विषयमा कुरा नगरौं । यहाँ बालबालिका, सामाजिक सञ्जाल र पछिल्लो समयमा बालबालिकाद्धारा लिएका निर्णय, अथवा उनीहरुमाथी भएका घटनाको विषयमा कसले बोल्दिने ? कसले बुझ्दिने ? कसले बुझ्दा के हुन्छ ? यि त प्रतिनिधी घटनामात्र हुन । कति घटनाहरु त समाजमा ईज्जत जाने डरले पिडामा परेकाहरुलाई झन पिडीत बनाएका उदाहरणमात्र पनि हामीले देखेका छौं । अनि विद्यालयका होस्टेल सञ्चालनका मापदण्ड के हुने ? त्यहाँ बस्ने विद्यार्थीको मापदण्ड के हुने ? कुन अवस्थामा बाबुआमाले आफ्ना सन्तानलाई होस्टेल राख्न पाउने ? होस्टेल सञ्चालनको मापदण्ड के हुने ? त्यहाँ खुवाईने खानाको गुणस्तर, वातावरणको, नियमनको पाटो, समय, सुधारका लागी दिईएका सुझाव पालना भए नभएको अनुगमन कसले गरिदिने ? त्यहाँ बस्ने बच्चाको विषयमा कसले बुझिदिने ? के सधैं होस्टेलको मात्र गल्ति भएको होला त ? हो होस्टेल पनि सञ्चालकको व्यवसाय हो ।

सञ्चालकले पेशा नै त्यही गर्छु । तिम्रो सन्तानको भविष्यको जिम्मा म लिन्छु त्यस बापत तिमिले मलाई यो या त्यो बाहानामा यति पैसा तिर्नुपर्छ । भनेर होस्टेल सञ्चालकले जिम्मा लिएको हुन्छ । असहज व्यवहार, परिस्थीतीलाई सहज बनाउने जिम्मा सञ्चालक अथवा सञ्चालकले जिम्मा दिएको व्यक्तिको हो । त्यहाँ रहँदा बस्दासम्मको उपती र क्षति दुवैको जिम्मा उसले लिनुपर्छ । अस्वाभाविक गतिविधी छ भने सुधारको लागी उसले सकारात्मक भूमिका खेल्नुपर्छ ।

उसको व्यापारमा उ आफुले जिम्मा लिन्छु भनेका कुरामा ईमानदार हुनपर्छ । नभए त्योबाट भएका कमजोरीको जिम्मा उसले लिनुपर्छ । रातदिन आफ्नो रेखदेखमा रहने बच्चाको स्वभाव, मनोविज्ञान त्यसका दुरगामी असरको बारेमा जानकारी लिनेमात्रै गर्ने हो भनेपनि यस्ता अप्रिय घटना रोकथाममा पक्कै सहयोग पुग्छ ।
समाजमा हुने यस्ता अप्रिय घटनाका अदृश्य कुराहरुमा हामी कम बहस गर्छौं । सतही ठिक या बेठीक भन्नेमा हामी बिभाजित हुन हतार गर्छाैं । आफ्ना बच्चाको उज्वल भविष्य खोज्न उसलाई अन्धकारमा उसको ईच्छाको ख्याल नगरी धकेल्छौं ।

बुबाआमाको काख भन्दा सुरक्षित अर्को कुनैं ठाँउ होला त ? के हामीले देखेको सन्तानको उज्यालो भविष्य आफु भन्दा टाढा राख्नुमै छ त ? बुवा आमाले भएका आफ्ना १÷२ सन्तानलाई गर्न नसकेको रेखदेख र बनाउन नसकेको अनुकुल बातावरण के साँच्चै होस्टेलमा छ होला त ? भन्ने कुराको हेक्का कसले राखिदिने ? के पैसाले मात्र बच्चाको भविष्य सुन्दर हुन्छ त ? बाबुआमाको साथ, माया र हौसलाको मानवजिवनमा कुनै मुल्य नै छैन त ? के सबैचिज पैसा नै हो त ? आफ्ना बाटो बिराएका छोराछोरीको जिम्मा अर्कालाई दिएर रिजल्ट खोज्ने बाउआमाको गल्ति केही छैन त ? आमाको न्यानो काख सम्झिएर कति पटक व्युझिन्छ होला त्यो बच्चा, व्युझिएर कति रात निदाउन नसकेर अनिदो भएको छ होला त्यो सन्तान ? अहिले त झन आफ्ना मस्तीका लागी सन्तानलाई सास्ती दिने चलन बढेको छ ।

यसको नियमन राज्यले गर्नुपर्छ । उचित माँया र हेरचाहमा आफ्नो बुबाआमासंग बस्न पाउने बालबालिकाको नैसर्गिक अधिकार उसले बिनासर्त प्राप्त गर्न पाउनुपर्छ ।

तपाईको प्रतिक्रिया