सल्यानमा आत्महत्या विरुद्ध समूदाय लक्षित विशेष अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले सञ्चालन गर्ने अभियानको सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरिक्षक लालमणी आचार्यले अभियानको उद्घाटन गरेका हुन् । पछिल्लो समय विकराल रूप लिएको आत्महत्या रोकेर मानिसको जीवन बचाउने उद्देश्यसहित आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस अभियानलाई सल्यानका दशवटै स्थानीय तहका सबै वडामा लैजाने प्रहरीको लक्ष्य छ ।
अभियान उद्घाटन गर्दै प्रहरी नायव महानिरिक्षक लालमणी आचार्यले यस अभियानले मानिसलाई आफ्नो जीवनको महत्व बुझाउन मद्दत गर्ने र आत्महत्याको बाटो जानबाट मानिसलाई रोक्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी लगाएतले बोल्दै जनचेतना वृद्धि गर्दै आत्महत्या रोकथाम गर्नुपर्ने तथा नागरिकको जीवन रक्षाका लागि सबै सरोकारवाला प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक नवीन कार्कीले सल्यानका प्रतिवर्ष औसतमा ५६ जनाले आत्महत्या गर्नेगरेको तथ्यांक प्रस्तुत गरे । आर्थिक वर्ष २०७९।०८० मा सल्यानमा ४५ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष २०७८।०७९ मा ५३ जना र त्यसको अघिल्लो आर्थिक वर्ष ७१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक छ ।
चालु आर्थिक वर्षको हाल सम्म सल्यानमा ८ जना बालवालिकाले आत्महत्या गरेका छन् । तीन वर्षको अवधिमा आत्महत्या प्रयास गरेका १२७ जना बाँच्न सफल भएका छन् ।
प्रहरी नायव उपरिक्षक कार्कीका अनुसार संख्याको हिसाबले सबैभन्दा बढी शारदा नगरपालिकामा र सबैभन्दा कम सिद्ध कुमाख गाउँपालिकामा आत्महत्याबाट मृत्यु भएको देखिन्छ । यस्तै जनसंख्याको अनुपातमा सबैभन्दा बढी कपुरकोट गाउँपालिका र सबैभन्दा कम बागचौर नगरपालिकामा आत्महत्याका घटना भएका छन् भने महिला भन्दा पुरुषले बढी आत्महत्या गरेको देखिन्छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयले तयार गरेको डकुमेन्ट्री र नाटक तथा सशस्त्र प्रहरी बल नेपाल अनाश्रीत गुल्म सल्यानको तर्फबाट नृत्य प्रदर्शन गरिएको थियो । आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर सकारात्मक सोचको विकास र काउन्सिलिङ गराउनेतर्फ ध्यान जानुपर्नेमा सहभागिहरुको जोड थियो ।
शंकर केसी । सल्यान । २१ फाल्गुन २०८०, सोमबार १७:४७