कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस भएबमोजिम परियारले मंगलबार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम प्रदेश सभाको मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्ने प्रावधान छ ।
युग संवाददाता । सुर्खेत । २३ फाल्गुन २०८०, बुधबार १४:२१