हिमा नदीमाथिको पुल जीर्ण

जुम्लाको सिंजा गाउँपालिका–२, चुलेलगाउँकी रजमा ओड हिमा नदीमाथि लगाइएको पुलमा ओहोरदोहोर गर्न निकै डराउँछिन् । तैपनि उनले हरेक दिन यो पुलमा आवतजावत गरिरहनु परेको छ । स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकामा सेवा लिन होस् या दैनिक उपभोग्य सामान खरिद गरेर घर लैजान ।

उनका लागि यो पुल तरेर जानुको विकल्प छैन । उनले सहजै रुपमा आउजाउ गरौंला भनेर बनाइएको पुल नै धराप बनेपछि निकै डर लाग्ने गरेको बताइन् । दुई वर्ष अघिको कात्तिकमा परेको वर्षासँगैको बाढीले पुल बांगो बनाइदिएको छ । पुलको वरिपरिको भाग नै कटान गरेर लैजाँदा खाली जस्तो देखिन्छ ।

अहिले खाली जस्तो देखिएको भागहरुमा काठको फड्के जोडिएको छ । त्यो फड्केहरुमा न गुह्रंगो भारी लैजान सकिन्छ, नत सहजै रुपमा वारपार नै, रजमाले भनिन्, ‘पुलसँगै स्थानीय सरकार जोडिएर बसेको छ । तर जनताको यहाँ पाइरहेको दुःख बुझेको छैन ।’ हुन त जनप्रतिनिधि र कर्मचारीहरु पनि यही फड्के तरेर आउजाउ गरिरहेका हुन्छन् । उनले आफ्नै लवजमा भनिन्, ‘उनीहरुलाई कुनै मतलब नै छैन । हामी सर्वसाधारणका मर्काहरु को बुझ्न्या छियो ।’

स्थानीयले पुल धेरैपटक बनाइदिन सरकारसंग माग गरिसकेका छन् । पटक–पटक गाउँपालिकामै पुगेर दुःखहरु सुनाइरहेका छन् । तर पालिकाले सुनुवाइ नगरेको गुनासो स्थानीयको छ । यो पुल ५२ लाख रुपैयाँको लागतमा बनेको हो । बाढीले पुल बांगो बनाइदिएपछि सवारीसाधन आवागमन नै रोकिएको छ । बाढीले पुल बगाउन नसकेपनि क्षत् विक्षत् बनाएको छ ।

अहिले न पुल मर्मत गरेर सञ्चालन गर्न मिल्ने छ, न भत्काएर नयाँ पुल नै बनाउन सकिने अवस्था नै ।गाउँपालिका केन्द्र नराकोट देखि नाग्म गमगडी सडक जोड्ने उक्त पुलले सिंजा–२ लाई समेत यातायातसंग जोडेको थियो । अहिले पुल काम नलाग्ने भइसकेको छ । पालिका केन्द्र अगाडि ठिङ्ग उभिएको जस्तो देखिने पुलमा काठको फड्के तरेर वारपार गर्नु परिरहेको दुःख स्थानीयले पोखिरहेका छन् ।

गाउँपालिकाले पुल बनाउनको लागि ५२ लाख रुपैयाँ खर्चेको थियो । ढुक्कसंग पुलमा मोटर चढेर वारपार गर्ने सिंजालीको सपना पुरा हुन नसकेको सिंजा–२ का पुर्ववडाध्यक्ष नविन शर्माले बताए । उनले भने, ‘बाढीले पुल बगाउन सकेन । तर पुल बांगो बनाएको छ । मर्मत गरेर पनि सञ्चालन हुन सक्ने अवस्था छैन । पुल वरिपरिको सबै जमिन कटान गरेर लगिसकेकोले नदीको बीचमा उभएको जस्तो मात्र देखिन्छ । पुल तर्न पाइदैन । तर हेर्न चाँहि पाइन्छ ।’

हिमा नदीमाथि लगाइएको पुल

उतिबेला त्यही पुलमा गाडी गुड्न सुरु गरेका थिए । मोटरसाइकल आवतजावत भइरहेका थिए । स्थानीय कृष्णप्रसाद चौलागाँईले भने, ‘बाढीले पुलमा गाडी चढ्ने सपना तुहाइदियो ।’ हिमा नदीमा पुल नहुंदा स्थानीयले डेढ दुई घण्टा हिडेर वारपार गर्नुपर्ने अवस्था छ ।’ हिउँदमा नदीको बहाव कम हुने भएपनि अत्यधिक चिसोले नदी तर्न सकिदैन । वर्षायाममा भेलबाढीले आउने भएकोले नदी तरेर वारवार गर्ने संभावना नै छैन । नदी आसपासको सबै जमिन कटान गरेर लगेको छ ।

जसकारण खेतीयोग्य जमिन पनि रहेन । पुलले सबै सिंजालाई जोड्ने लक्ष्य थियो । गाउँबस्ती र वडासम्म पुग्न सहज हुन्थ्यो । विकास निर्माणको अनुगमन गर्नदेखि जनताको सेवा घरदैलो सम्म छिटो छरितो भइरहेको थियो । सुर्खेत नेपालगञ्ज हुँदै मुगुको रारा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पालिका केन्द्रसम्म आइपुग्न सहज होस् भन्ने हिसाबले पुल बनेको थियो ।

पालिका सँगै जोडिएको जीर्णपुलले हरेक दिन झस्काउने गरेको कर्मचारीहरुले बताइरहेका छन् । बाढीले भत्काएको पुल पूर्ण रुपमा भत्काएर राम्रो पक्की पुल बनाउनु पर्ने स्थानीयको माग छ ।’ पालिकाले पहिल्यै सोच बिचार गरेर पुल बनाइदिएको भए सायद पुलको यस्तो हविगत हुदैनथ्यो होला,’ स्थानीय सुवास बुढाले भने, ‘पालिकाको कमजोरीले पनि पुल रहेन । न पुल रह्यो, नत पालिकाको बजेट नै सदुपयोग भयो । अबका दिनमा हरेक संरचना बनाउँदा सबै क्षेत्रको आंकलन गरेर बनाउनुपर्छ भन्ने मान्यताको पहिले नै मापन हुन जरुरी छ ।’

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल अघिल्लो सरकारको गैरजिम्मेवारीले पुल काम नलाग्ने गरेर बांगिएको बताइरहेका छन् । ‘पुल बनाउने क्रममा विगत, वर्तमान र भविष्यलाई केलाएर बनाउनु पर्ने हो । त्यो कदापि हुन सकेन । फलस्वरुप पालिकाको ५२ लाख लगानी बालुवामा पानी जस्तै बन्यो । न बजेटको सदुपयोग भयो नत पुल हिड्डुल गर्न सकिने नै बन्यो,’ उनले भने ।

उनले हिमा नदीमा पक्की पुलको लागि डिपीआर बनिसकेको बताए । पक्की पुल हुने वित्तिकै सिंजालीहरुको नदी तर्नुपर्ने कष्टकर दिनको अन्त्य हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया