सम्पादकीय : व्यवसायीको सम्पत्तिमा नगरपालिकाबाट तोडफोड

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को हटियालाइन, गोदाम यरियामा रहेको सरकारी सार्वजनिक जग्गा खाली गरिएको छ । उपत्यका नगर विकास समितिले केही बर्ष अगाडी सम्झौता गरेर भाडामा लगाइएका र नियमित भाडा अशुल गरिरहेकै व्यवसायीमाथी नगरपालिका बुधबार आफै तोडफोडमा उत्रिएको थियो ।

समितिको आन्तरिक आम्दानी बृद्धि गर्ने उद्देश्यले खुल्ला प्रतिस्पर्धाबाट बोलकबोल गरी क्षेत्रफल र यरिया तोकेर भवन निर्माणको नक्सा दिएर सोही अनुसार साना आयस्तर भएका व्यवसायीहरुले आफ्नै लगानीमा भवन बनाएर व्यवसाय गरेका हुन । विगतमा सम्पूर्ण कानूनि प्रक्रिया पुरा गरेरै नगर विकास समितिले बर्ष तोकि सम्झौता गरेर बस्न, भवन बनाउन, व्यापार गर्न दिएकै हो । उनीहरुले सार्वजनिक सरकारी जग्गा भने आफै कब्जा गरेका हैनन । प्रतिस्पर्धा गरेर बढी भाडा कबोल गरेरै त्यो स्थानमा भवन बनाउन र व्यापार गर्न पाएका हुन ।

स्थानीय सरकार आम नगरबासीको अभिभावकीय निकाय हो । जनताको घरदैलो नजिकको अभिभावकिय संस्था हो । तर कोभिडपछि थलिएका व्यापारी, व्यवसायीलाई स्थानीय सरकारले प्रवद्र्धन गर्नुपर्ने, संरक्षण गर्नुपर्नेमा मानविय संवेदनासमेत नराखेर आफ्नो जग्गा फिर्ता लिने नाममा तोडफोड शैलीमा उत्रिएको छ । ब्यवसायीहरु जग्गा खाली गर्ने सम्बन्धमा समितिको नामबाट ३५ दिने सार्वजनिक सूचना निकालेर आव्हान पनि गरेको थियो तर सार्वजनिक सूचना मात्रै अन्तिम निर्णय त हुने थिएन ।

२१ दिन, १५ दिन हुँदै ७ दिनसम्म कुरेर कानूनि प्रक्रिया पुरा गरेर सहमतिमै भएपनि व्यवसायीलाई अनुरोध, आग्रहमा सौहार्दपूर्ण तरिकाले केही विकल्प खोज्ने अवसर दिनुपर्ने थियो तर त्यसो गरिएन । जवरजस्त तोडफोडमै उत्रिनु अन्तिम विकल्प लिइयो ।

सस्तो लोकप्रियताका नाममा लाखौं ऋण लिएर लगानी गरेर बनाएका संरचनालाई समेत क्षतविक्षत हुनेगरी डोजर चलाउने काम गरियो । व्यवसायीको सम्पत्ति पनि सम्पत्ति हो । त्यो बनाउँदा ऋण लिएर व्यवसायीले लगानी गरेका थिए । आफु स्वरोजगार भएका छन् । परिवारका सदस्यलाई स्वरोजगार बनाएका छन् भने केही रोजगारीको अवसर समेत सृजना गरेर सस्तो बजार चलाएका थिए ।

भौतिक संरचना तथा सामान सकुशल उठाएर लैजाने अवसर दिनुपर्ने थियो । दिएको सूचना अनुसार व्यवसायीले जग्गा तथा पसल कबोल खाली गर्न चाहेनन त्यसमा व्यवसायीहरुले सरकारी सूचनाको समेत वेवास्ता गरेकै हुन । अटेरी गरेकै हुन । त्यसको बदलामा सरकारी निकाय तोडफोडमा उत्रिनु राम्रो थिएन । कमभन्दा कम क्षति पुग्ने गरी विभिन्न विकल्पमा जानुपर्ने थियो तर नगरपालिका तोडफोडमै उत्रियो ।

सूचनाको वेवस्था गर्दै गर्दा व्यवसायीहरुले अर्को उपयुक्त विकल्प भएमा स्थान तोकिदिन अनुरोध पनि गरेका हुन । नगरपालिका नेतृत्वले डोजर चलाउन उपयुक्त देख्यो । डोजर चलाएर भएका भवन, सम्पत्ती तोडफोडमै उत्रियो नगरपालिकाले आखिर के पायो । सामाजिक सञ्जालभरी बहुत बधाई, कुनै महान कार्य थियो यो ? लामो समयदेखि हराएको जग्गा फिर्ता लिइएको हो ? कुनै अनौठो र नौलो काम त होइन ।

सरकारी जग्गा अतिक्रमण गरी जवरजस्ती बसेका गैरकानूनि कार्य गरेका नागरिक जस्तै गरी आतंकित, त्रसित र भ्रम छर्ने काम गरियो । केही दिन फेसबुकका भित्ताहरुमा भ्रमको खेती गर्नलाई त उपयुक्त होला तर साना व्यवसायीहरुका समस्या, दुःख, कष्टमा केही भएपनि सहुलियत र राहत हुने गरी नीति, विधि र काम गर्नुपर्ने हुन्छ । नगरपालिकाको आन्तरिक आम्दानीको मुख्य स्रोत व्यवसायीहरु पनि हुन र विकासको साझेदार व्यवसायी पनि बन्न सक्छन् । व्यवसायीको सामाजिक उत्तरदायित्व समेत हुन्छ ।

व्यवसायीको मनोबल उच्च बनाउनुपर्छ । आफुलाई आवश्यकता पर्दा आउ आउँ भन्ने अनुरोध गर्ने उनीहरुलाई अप्ठेरो पर्दा जे सुकै गर हामी जवरवस्ती भएपनि तोडफोड गछौं, बल प्रयोग गछौं भन्नु अमानविय र अविवेकी हो । बहुसंख्यक नागरिक न्यूनआयस्रोत भएका नागरिक छन् । खेती, किसानी, ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्ने, दैनिकी चलाउने आम नागरिकहरुले किनमेल गर्ने सस्तो बजारका साना स्तरका व्यवसायीहरुलाई आतंकित, त्रसित र विस्थापित गर्ने गरी नगरपालिकाको नेतृत्वले देखाएको बल खेदजनक छ ।

व्यवसायीहरु चौतर्फी घेराबन्दीमा परेका छन् । बैक तथा वित्तिय संस्थाबाट खेदिएका व्यवसायीहरुलाई नजिकको सरकार नगरपालिकाले समेत बल प्रयोग गरेरै खेदेको छ । चुनाव लडेर नेतृत्व तहमा पुगेका व्यक्तिहरुका लागि फेरी अर्को चुनाव तत्काल आएको छैन । जसले हिजो चुनाव लड्दा पार्टी कार्यकर्ता, नाता, गोता, आफ्न्त वा फरक पार्टीको भएपनि चन्दा, सहयोग, दान दियो उनीहरुका कुरा, उनीहरुका पिडा, बेदना, आग्रह सुन्नका लागि त फेरी अर्को चुनाव आउनैपर्छ ।

निर्वाचनको समयको चन्दा, सहयोगको रकम त सकियो होला । अहिले सरकारी रसपस चाखेपछि हिजो निर्वाचनको चन्दा, दान सहयोग त सानो लाग्न सक्छ नै । व्यवसायी कुनै पार्टीका हुँदैन उनीहरुमा व्यवसायीकता, व्यवसायीक धर्म र नैतिकता भने अनिवार्य हुनुपर्छ । उनीहरु मानव हुन शाषकले कम्तिमा मानवियता, सम्वेदनशिलता त देखाउन सक्नुपर्छ ।

आम नागरिकमा भ्रम छर्ने र विश्वास आर्जन गर्ने फरक फरक विषयवस्तु हुन । साना लगानीका व्यवसायीमाथी डोजर चलाएर अनौंठो कुनै काम त गरिएको छैन तर त्यस सम्बन्धमा जानकारी नभएका नागरिकहरुलाई केही दिन भ्रम छर्ने काम भने भएको छ । नगरपालिकाको नेतृत्वको आदेशमा जुनखालको बल प्रयोग गरिएको छ सोही गतिमा तत्काल जुन उद्देश्यले त्यो स्थान खाली गरिएको छ सोही रफतारमा उद्देश्य अनुसार कार्यहरु सुसम्पन हुन शुभकामना छ ।

तपाईको प्रतिक्रिया