‘शिक्षकलाई तलब खुवाउनः ओखर खेती’


‘मेरो एउटै सपना छ, विद्यालय राम्रो बनाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु ।’ शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालय जुम्लाको गुठिचौर –३ जुम्लाका प्रधानाध्यापक तिल बहादुर भण्डारीले यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक भण्डारी बताउँछन् ।

शंकर माध्यमिक विद्यालयमा माविको दरबन्दीमा उनी एक मात्र शिक्षक र आफै प्रधानाध्यापक हुन् । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा ३ सय भन्दा ३० जना बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको संख्या अनुसार शिक्षकको दरबन्दी नहुँदा पढाइ व्यवस्थापनमा ठूलो चुनौती देखिएको उनले बताए ।

उनका अनुसार १० वटा दरवन्दी कोटा खाली छ । प्राविमा ४ दरवन्दीका शिक्षक छन् । निमावि र माविमा ५÷५ दरवन्दी शिक्षक हुनुपर्ने हो, पुरै रित्त छन् । उनले भने, ‘शिक्षक दरबन्दी छैन भनेर विद्यार्थीको भविष्यमाथि लापरवाही गर्नुभएन। विद्यालयकै पहलमा दसजना निजी शिक्षक राखेर विद्यालय सञ्चालन गरेका छौं । तलब बेलैमा पाउन नसक्दा निजी शिक्षकको पीडा पनि त्यस्तै छ ।’ विद्यालयलाई आर्थिकले हम्मेहम्मे छ, अब निजी शिक्षकलाई कहाँबाट तलब खुवाउने हो भन्ने चिन्ताले पिरोलिरहेको छ,’ अहिलेसम्म जेनतेन तलब खुवाइयो,उनले भने, ‘यो समस्या वर्सेनी बल्झिरहन्छ ।’ नेपालको संविधान २०७२, को मौलिकहकले निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गरेपनि तीनै तहका सरकारबाट त्यसको कार्यान्वयन हुन नसक्दा अभिभावक, बालबालिका र शिक्षक सबैले समस्या बेहोर्नुपरेको उनले टिपप्णी गरे ।

विद्यार्थीको पढाइलाई प्रभावित हुन नदिन शंकर माध्यमिक विद्यालयले ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमबाट ओखरका विरुवा रोपेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले ‘ओखर पकेट’ कार्यक्रमबाट ८ लाख रकम सहयोग गरेको हो,’ प्रधानाध्यापक तिल बहादुरले भने, २ सय ५० वटा दाँते ओखरका विरुवा रोपिएका छन् । उक्त ओखरले विद्यालयको आयस्रोत बढ्ने र आर्थिकरुपमा बलियो हुने अपेक्षा छ।’ विरुवाले दुई वर्ष भित्र फल दिने कृषि विज्ञहरू बताउँछन् । विद्यार्थीको चाप बढेपछि दसजना निजी शिक्षक राखिएको र उनीहरुको तलबको आर्थिक स्रोत नभएपछि विकल्पका रुपमा ‘ओखर खेती शुरु गरिएको विद्यालयले जनाएको छ।निजी शिक्षकको तलबको लागि दीर्घकालीन स्रोत नभएकोले विद्यालयको नाममा रहेको करिब ९ सय वर्गमिटर जमीनमा ओखर बगैँंचा निर्माण गर्ने योजना लिइएको प्रअ भण्डारीले बताए ।’

बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चितका लागि हामीले ओखर बगैँचा निर्माणको तयारी गर्दैछौं, ’जुन आर्थिक आम्दानीको दीर्घकालीन स्रोत बनेर शिक्षकलाई तलब खुवाउन सहज हुनेछ ।’ यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बुढाका अनुसार ’विद्यालय चलाउनका लागि ओखर खेती गरेर नयाँ प्रयोग र सन्देश दिन खोजिएको छ,’ बुढाले भने, ’पछिल्ला दिनमा विद्यालय सञ्चालन गर्न बाह्य सहयोग लिनु नपर्ने दाबीसमेत गरे ।

विरुवा जोगाउन घेराबार गरेको छ । एक जना चौकिदार राखिएको छ।भने रेखदेख र सिचाँइ गर्ने दुईजना कर्मचारीको व्यवस्थापन गरिएको छ । विद्यालय २०२४ सालमा स्थापना भएको हो।कार्य गर्ने यो जुम्लाको लागि नयाँ काम र पहिलो विद्यालय बनेको छ । अझैसम्म ग्रामीण क्षेत्रमा सञ्चालित सरकारी तथा सामुदायिक विद्यालयको शिक्षक दरबन्दी अभाव गुणस्तरीय शिक्षा प्राप्तिको ठूलो बाधक बनेको शिक्षकहरू बताउँछन् ।’
आर्थिकरुपले विपन्न, सामाजिक, साँस्कृति र राजनीतिक हिसाबले पछाडि परेका अभिभावकका बालबालिका सामुदायिक विद्यालयमा पढ्छन्, ’उनीहरु पढ्ने विद्यालयको आवश्यक शिक्षक दरबन्दी परिपूर्ति गर्न नसक्नु तीन वटै सरकारको कमजोरी हो ।’
शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीतिअनुरूप मन्त्रालयले हरित विद्यालय कार्यक्रम घोषणा गरेको हो । प्रत्येक सामुदायिक र निजी विद्यालयले बगैंचा निर्माण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया