आगामी वर्ष अर्थात २०८१ मंसिरमा दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुँदैछ । जसका लागि विभिन्न जिल्ला र सुर्खेतमा समेत धमाधम भौतिक खेल पूर्वाधार निर्माणको काम भैरहेको छ । सम्बन्धित निकाय जोडतोडका साथ सो कार्यसम्पन्न गर्नलाई आ–आफ्नो स्थानबाट लागि परेका छन् । बिभिन्न जिल्लामा विविध खेलकुदको लागि संरचना निर्माण भैरहेका छन् ।
यसले हाम्रो कर्णालीको दिगो पूर्वाधार विकासमा महत्वपूर्ण ईतिहाँस बन्ने छ । दशौँं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको लागि त गौरवको विषय हो नै । साथ साथै कर्णालीलाई देश तथा विदेशका ब्राण्डिङ गर्ने अवसर समेत हो । थुप्रै चुनौती छन् यो कार्यक्रम सफल बनाउनलाई तर पनि अवसरलाई जसले छोप्न सक्छ त्यहाँ नै सम्भाबनाका ढोकाहरु खुला हुने गर्छन ।
भौतिक पूर्वाधार, सडक सञ्जाल, हवाई र सडक यातायात लगायत धेरै कुरामा नामै कर्णाली काफी छ । तर पनि यसरी आएको अवसरलाई हामी सफल पार्नलाई आ–आफ्नो ठाउँबाट लाग्यौँ भने असम्भव भने छैन । किनकि कामले अनुभव हुन्छ र त्यहि अनुभवले अन्य यस्ता थुप्रै कार्य गर्न क्षमता र आत्मविश्वास बृद्धि गर्छ । दिन रात नभनि रंगशाला बन्दै छ , जिल्ला जिल्लामा पनि विभिन्न खेलकुदका लागि संरचना तयार हुँदै छन् ।
यहि खेलकुदलाई मध्यनजर गर्दै व्यवसायिहरुले आवश्यक होटल, लज लगायतमा लगानी बढाएका छन् १० हजार मान्छे उपस्थित हुने कार्यक्रमको लागि आवश्यक अन्य थुप्रै चिज चाहिन्छ । खाना, बस्न, मनोरञ्जन, सवारी साधन प्रयोग लगायतका कुरामा हामी कति सक्षम छौंँ भन्ने कुराको परीक्षा नै हो भन्दा पनि अत्युक्ति नहोला ।
यसरी पाएका अवसरहरुलाइ कसरी बढी भन्दा बढी आफ्ना उत्पादित बस्तु, अर्गानिक खाद्य पदार्थ लगायतका चिजहरु हामीले त्यहाँ आउने पाहुनाहरु मध्येका केही प्रतिशतलाई उपलब्ध गराउन सक्यौं भने पनि हाम्रो प्रचार देश भित्र र बाहिर दुबै ठाउँमा हुनेछ । हरेक जहाँ चुनौति हुन्छ त्यहाँ अवसर पनि हुन्छ ।
यो खेलकुद कर्णालीमा चलाउन जति चुनौति छ त्यो भन्दा सयौंँ गुणा यसभित्र अवसर लुकेका छन् । जसले यो खेलकुदलाई चुनौती सम्झन्छ त्यसका लागि झन झन चुनौति भएजस्तो लाग्छ भने जसले यो चुनौती भित्रका अवसर पहिल्याउन सक्छ त्यसले नाम र दाम दुवै कमाउँछ । त्यसैले हामी कर्णालीबासीले व्यक्तिगत स्वार्थ भन्दामाथी उठेर हाम्रो प्रतिष्ठाको रुपमा लिएर दशौं राष्ट्रिय खेलकुदलाई सफल पार्न लाग्नुपर्छ ।
कसैका आसेपासेको जागिर खाने थलोमात्र बनाउन हँुदैन । हाम्रोमा त सफल पार्ने भन्दा पनि नुन पनि खाने अनि आगो पनि तिनै नुन खानेवालाले नै झोस्ने परम्परा रहेको छ । अनि आफ्ना चम्चाहरुले रित्याउन नपाउने अवस्था आयो भने फेरि सहयोग त परको कुरा कसरी असफल पारौंँ भन्नेतिर लाग्छन । त्यो नगरेर सिङ्गो कर्णालीबासी देशकै आशाको रुपमा हेरिएको दशौं राष्ट्रिय खेलकुदलाई सफल पार्न आफ्नो आफ्नो ठाउँमा ईमानदार हुनु आवश्यक छ ।
आ–आफ्ना उत्पादनको प्रचार गर्ने लोकल उत्पादनको बजार बिस्तार गर्ने यो एउटा राम्रो अवसर हो । यसलाई मात्र खेलकुद कार्यक्रम नामाकरण गरिएता पनि आ–आफ्नो व्यवसायको प्रचार प्रसार र बजारिकरण गर्ने अवसर समेत हो । ठूला ठूला शहरहरुमा यस्ता कार्यक्रम हप्ता हप्तामा हुन्छन हजारौं लाखौंको सङ्ख्यामा पर्यटकहरु आउँछन् ।
त्यहाँका सरोकारवालाले आफ्नो ठाउँ स्थानीय उत्पादन लगायत चिजको प्रचार गर्छन । बजारिकरण गर्छन देश विदेशमा सम्भावना खोज्छन र त्यो ठाउँ भौतिक बिकास भएको छ र त्यहाँका मानिसहरु आर्थिकरुपमा पनि सक्षम रहेका छन् । त्यसैले दशौँ राष्ट्रिय खेलकुदलाई अवसरका रुपमा प्रयोग गरौँ ।
युग संवाददाता । सुर्खेत । २१ चैत्र २०८०, बुधबार १२:१६