बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले ‘थोरै भएपनि बचत गरौं’ भन्ने उद्देश्य का साथ सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईलीमा २०५७ साल जेठ १२ गते स्थापना भयो ।
२५ जना सेयर सदस्यहरुबाट शुरुभएको सहकारी अभियान हाल कर्णाली प्रदेशको ४ जिल्लामा रहेका सेयर सदस्यहरुलाई उनीहरुको घरदैलोमा गई सानो सानो कर्जा, बचत, बीमा तथा रेमिटान्स र वित्तिय साक्षरता सम्बन्धि कार्य गरी सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरमाथी उठाउन सफल भएको छ ।
कर्णाली प्रदेश अन्तरगत सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा २०८० असार मसान्तसम्ममा कुल ६४ हजार ६ सय २० जना सेयर सदस्य रहेको यस सहकारीमा ५० हजार दुई सय ११ जना महिला र १४ हजार ४ सय २ जना पुरुष रहेका छन् । र ७ जना संस्थागत सदस्य रहेको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बिशाल केसीले जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत केसीका अनुसार संस्थाले कर्णाली प्रदेशको ४ जिल्लाभरमा कुल १३ नगरपालिका, २० गाउँपालिकाका २ सय ४८ वडामा यस संस्थाको कार्यक्रमहरु संचालन गरेको छ ।
संस्थाको मुख्य कारोवार बचत तथ ऋण भएपनि संस्थाले त्यसका अलावा सुर्खेत जिल्लामा दुग्ध उत्पादक किसान सदस्यहरुबाट उत्पादित दुग्ध पदार्थको विक्रि वितरणका लागि बौद्ध ग्रामीण डेरी उद्योग, शुद्ध र सफा पिउने पानी उपभोक्तालाई उपलब्ध गराउन बौद्ध ग्रामीण प्रशोधित खानेपानी उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा अध्ययन अनुसन्धान एवं सदस्यहरुलाई कपि सम्बन्धि तालिम दिने, कृषि सम्बन्धि कार्य गर्नको लागि मेशिनरी औजार उपलब्ध गराउन बिजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टर नामक कृषि फर्म र सदस्यका छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिनका लागि बिजी एकेडेमी एण्ड रिसर्च सेन्टर नामक सहकारी विद्यालय स्थापना गरी संचालनमा ल्याएको छ ।
संस्थाले कर्णाली प्रदेश अन्तर्गत रहेको अति दुर्गम स्थानहरुमा सेवा विस्तार गर्दै मध्यमदेखि अति विपन्न परिवारका सदस्यहरुलाई गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ । संस्थामा हालसम्म १ सय ५० जना पुरुष, १ सय ३९ जना महिला गरी कुल कर्मचारी संख्या २ सय ८९ जना रहेको प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।
समाजमा छरिएर रहेको सानो सानो पुँजीलाई बचत स्वरुप संकलन गरी उक्त पुँजीलाई आयआर्जनको क्षेत्रमा परिचालन गर्दै यस क्षेत्रको आर्थिक सम्बृद्धिको लागि ठुलो सहयोग पु¥याएको प्रमुख कार्यकारी अधिकृत केसीको भनाई छ ।
गरिव तथा विपन्न वर्गको आर्थिक, सामाजिक उत्थान गरी देशको गरिवी निवारणमा योगदान गर्ने परिकल्पना, गरिव तथा विपन्न वर्गलाई सहकारीमार्फत आर्थिक तथा सामाजिक उत्थान गर्ने अभियान र आगामी ५ वर्षभित्रमा १ लाख जना सदस्यहरुलाई संस्थाका सेवाहरु प्रदान गर्ने लक्ष्यका साथ यो संस्था अगाडि बढेको बताइएको छ ।
डेरी उद्योगबाट डेढ करोड कारोबार
यस संस्थाले सदस्यहरुले संचालन गरेको गाई तथा भैँसीपालन व्यवसायमार्फत उत्पादित दुधलाई बजारिकरण गर्ने उद्देश्यका साथ बौद्ध ग्रामीण डेरी उद्योग स्थापना गरेको छ । डेरी उद्योगमा संस्थाले एक करोड ४ लाख ८२ हजार ६ सय ४ रुपैयाँ लगानी गरेको छ ।
डेरी उद्योगबाट समीक्षा अवधिमा किसानहरुबाट कुल एक लाख २२ हजार ७ सय ९८ लिटर दुध ८८ लाख ४१ हजार ४ सय ७५ रुपैयाँमा खरिद गरिएको थियो । त्यसैगरी उक्त दुधलाई प्रशोधन गरी दुध, दहि, घिउ, क्रिम, पनिर, वटर गरी कुल एक करोड १ लाख ४२ हजार २६१ रुपैयाँको दुग्धजन्य सामागी विक्रि बितरण गरिएको छ ।
पानी बिक्रिमै साढे तीन करोड कारोबार
त्यसैगरी सहकारी संस्थामार्फत सञ्चालन गरिएको बौद्ध ग्रामीण प्रशोधित खानेपानी उद्योग यस संस्थाले संचालन गरेको छ । यस उद्योगमा संस्थाले ४ करोड ४ लाख ४९ हजार ९७ रुपैयाँ लगानी गरेको छ ।
बौद्ध ग्रामीण प्रशोधित खानेपानी उद्योगमा आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ४० लाख ५९ हजार ५ सय ३५ रुपैयाँको पानी प्रशोधन गरी विक्रि वितरण गरिएको छ । गुणस्तरीय पिउने पानीको उपलब्धताको लागि बौद्ध ग्रामीण प्रशोधित खानेपानी उद्योग स्थापना गर्न सफल भएको जनाइएको छ ।
कृषि उद्योग
त्यसैगरी संस्थाले सदस्यको कृषि क्षेत्रमा ज्ञान वृद्धि गर्नको लागि कृषि सम्बन्धि अध्ययन अनुसन्धान गर्ने, सदस्यहरुलाई तालिम दिई आधुनिक र व्यवस्थित कृषि पेशामा अघि बढाउने उद्देश्यका साथ स्थापना गरिएको बिजी एग्रीकल्वर एण्ड रिसच सेन्टर सञ्चालन गरेको छ ।
कृषि उद्योगका लागि यस संस्थाले २ करोड ६ लाख १ हजार २ सय ६० रुपैयाँ लगानी गरेको छ । बिजी एग्रीकल्वर एण्ड रिसच सेन्टरमा आर्थिक वर्ष २०७९÷०८० मा धान, मकै, जौ, तोरी, फापर, एवं तरकारी उत्पादन गरी १९ लाख ७३ हजार ७ सय १९ रुपैयाँको कृषिजन्य वस्तु विक्रि गरेको छ ।
सो फर्ममा भारतको हरियाणाचाट मुर्रा जातको भैँसी एवं राँगा ल्याएर उत्पादन बृद्धि गर्नको लागि नश्ल सुधार र उन्नत जातको पशुपालन सम्बन्धि अनुसन्धान गरिएको छ । जहाँ सेयर सदस्य किसानहरुलाई नयाँ नयाँ कृषि प्रविधि, कम लागतमा गुणस्तरिय कृषि वस्तु उत्पादन गर्ने विधिका बारेमा प्रत्यक्ष रुपले तालिम दिने र गाउँमा रहेका बाँझो जमिनमा उन्नत प्रविधिको प्रयोग गराई कृषिजन्य वस्तुको उत्पादन बृद्धि गर्ने रहेको छ ।
यसरी उत्पादित बस्तुहरुको भण्डारण गर्नको लागि शित भण्डार र बजारिकरणका लागि मण्डीको समेत व्यवस्था गर्ने उक्त फर्मको योजना रहेको छ । सुर्खेत वीरेन्द्रनगर–९, तिलपुर गाउँमा अवस्थित यस फर्ममा सदस्यहरुको सुविधाको लागि कस्टम हायरिङ्ग सेन्टर समेत संचालनमा रहेको जसबाट सदस्यले भाडामा खनजोत सेवा, ग्रेसर सेवा, ट्यांकर पानी आदि सेवाहरु उपलब्ध गराउने गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बिशाल केसीले जानकारी दिए ।
सहकारीकै विद्यालय
गुणस्तरिय शिक्षा दिनको लागि यस संस्थाले बिजी एकेडेमी एण्ड रिसर्च सेन्टर नामक विद्यालय संचालन गरेको छ । संस्थाले यस विद्यालयमा एक करोड १४ लाख ४१ हजार ९ सय रुपैयाँ लगानी गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा यस विद्यालयतर्फ भर्ना तथा अन्य शुल्कबाट २२ लाख ९ हजार ७२८ रुपैयाँ प्राप्त भएको छ । मोन्टेश्वरी विद्यालयमा सुर्खेत जिल्लामा सञ्चालित व्यवसायिक विद्यालय भन्दा ज्यादै न्यून शुल्कमा यस विद्यालयबाट विद्यार्थी पढाउने कार्यको शुरुवात गरिएको केसीले बताए ।
सहकारीको बार्षिक कारोबार
आर्थिक वर्ष २०७९/०८० मा यस संस्थाको ब्याज आम्दानी ३४ करोड ४ लाख ९० हजार ७ सय ४० रुपैयाँ रहेको छ । यसैगरी ब्याज खर्च २० करोड ३३ लाख ८१ हजार एक सय ४३ रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा एक करोड ८९ लाख ७९ हजार ७० रुपैयाँ नाफा रकम रहेको छ । त्यस्तै २७ करोड ६४ लाख ९ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बिशाल केसीले जानकारी दिए ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । २१ चैत्र २०८०, बुधबार १३:२१