कर्णालीका नेपाली कांग्रेस संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री तथा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही बिरुद्ध दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको मुद्दा दायर गरेको हो ।
अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको हो । तत्कालिन पर्यटनमन्त्री हुँदा शाहीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाहीले विमान खरिद कार्य प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सो अन्तर्गत बनेको सार्वजनिक खरिद नियमावली, २०६४ समेतको विपरीत रहेको तथ्यलाई अनदेखा गरी नेपाल वायुसेवा निगमलाई गैरकानूनी हानी पुरयाउने बद्नियतसाथ एओयूमा कानून विपरीतको मूल्यबृद्धिको सर्त र विमानको प्रमुख प्राविधिक विशिष्टता भारवहन क्षमतलाई २४२ टनबाट २३० टनमा कायम गर्ने तर भुक्तानी दिएको आरोप पत्र दायर आयोगले जनाएको छ ।
त्यस्तै २४२ टन के गर्नेगरी राखेका प्रावधानलाई बदर गराउन/सँच्याउन विभागीय मन्त्रीको हैसियतमा निर्देशन दिनुपर्नेमा सो समेत नगरी/नगराई प्रस्तावदाता र निगमका कर्मचारी/पदाधिकारीसँगको मिलेमतोमा नियमानुसारको बैंक जमानत/सुरक्षण बिना नै प्रतिबद्धता फि भुक्तानीको लागि डलर सटही सुविधाको सिफारिस गरेको, कानुन विपरीतको एमओयूलाई वैधानिकता प्रदान गरेको कारणले मुद्दा दायर गरिएको आयोगका प्रवत्ता नरहरि घिमिरेले बताए ।
‘बैंक जमानत/सुरक्षण बिना नै प्रतिबद्धता फि भुक्तानी गर्नेगरी शाहीबाट भएको निर्णयले निजको उत्तराधिकारीको रुपमा आउने कुनैपनि पदाधिकारी वा निकायले सो एमओयू बदर गर्दा नेपाल वायुसेवा निगमले प्रतिवबद्धता फि पनि गुमाउनुपर्ने र विमान पनि प्राप्त नहुने जस्ता दोहोरो जोखिममा पार्ने अवस्था सिर्जना गराएको निजले गरेको उक्त कार्यबाट मूल्यबृद्धिवापत आपूर्तिकर्तालाई भुक्तानी गरेको एक अरब ४७ करोड १० लाख ८५ हजार ४८२।८५ बढी भुक्तानी दिएकोले दायित्व सिर्जना गरिएको छ ।’
उनले भने, ‘बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असुल उपर हुन साथै निज जीवनबहादुर शाहीले राष्ट्रपतिबाट नियुक्ती लिई संघीय मन्त्री पदमा रही भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ ।’
शाहीबाहेक अरु ३२ जना को हुन्
अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।
शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए ।
के छ शाहीलाई आरोप
तत्कालीन पर्यटनमन्त्री शाहीमाथि मूल्य बढाउने अनि विमानको भारवाहन क्षमता घटाउने निर्णयमा संलग्न भएको आरोप लागेको छ । नेपाल वायुसेवा निगमका पदाधिकारीहरुसँगको मिलेमतोमा बैंक जमानत विना नै सटही सुविधा दिएको आरोपमा उनीमाथि १ अर्ब ४७ करोड नै भ्रष्टाचार गरेको आरोप छ । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा शाही हुम्ला प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए ।
के हो प्रकरण ?
नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुइटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यसक्रममा निगमले अमेरिकाको एएआर इन्टरनेसनल नामक कम्पनी छनोट गरेको थियो । एउटा कम्पनी छनोट भएकोमा पछि खरिद समझदारी (एमओयू) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनी मिसिए ।
तीनवटा कम्पनीको कन्सोर्टियम बनाएर विमान खरिद–बिक्री सम्झौता भएको थियो । यी तीनवटै कम्पनीले आयरल्यान्डमा हाइफ्लाई एक्स नामक कम्पनी स्थापना गरे । निगमले विमान खरिदका लागि उसैसँग सम्झौता गरेको थियो ।
विमान तयार भएपछि रकम भुक्तानी गर्न जर्मनीकै नटर्न रोज फुलब्राइट नामक कम्पनीसँग सम्झौता भएको थियो । दुइटा पक्षले विश्वास गरेको तेस्रो पक्षको खाता, जसलाई एस्क्रो खाता भनिन्छ, मा रकम राखी सम्झौता अनुसार काम भएको भनी भुक्तानी गरिएको थियो । वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिब २४ अर्ब रुपैयाँमा दुइटा वाइडबडी विमान खरिद गरेको थियो ।
२१ फेब्रअरी २०१७ (१० फागुन २०७३) मा स्थापित उक्त कम्पनीले युरोपको एयरबस कम्पनीबाट दुई वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा निगमलाई बेचेको थियो । १ मार्च २०१७ (१८ फागुन २०७३) मा बैना स्वरूप १० लाख अमेरिकी डलर भुक्तानी गरेको निगमले १९ जुन २०१७ (५ असार २०७४) मा थप ७ करोड ९० लाख भुक्तानी गरेको थियो । २८ जुन २०१८ (१४ असार २०७५) र २६ जुलाई (१० साउन २०७५) मा नेपालमा दुइटा वाइडबडी विमान ल्याइएको थियो ।
शाहीको सांसद स्वतः पदबाट निलम्बनमा
भ्रष्टचार मुद्दा दर्ता भएपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ । दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनालाई मुद्दा दर्ता गरेसँगै उनी निलम्बित भएका हुन् ।
भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । सोही अनुसार उनी निलम्बित भएका छन् ।
रमेश रावल । सुर्खेत । २३ चैत्र २०८०, शुक्रबार ०९:१६