चौथो मुख्यमन्त्री यामलाल कँडेल को हुन् ?


कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका प्रभावशाली नेता कँडेल कर्णालीको चौथो मुख्यमन्त्री हुन् । नव नियुक्त मुख्यमन्त्री यामलाल कँडेल हालको गुराँस गाउँपालिका दैलेखमा २०१८ साल कात्तिक २५ गते भाइटिकाको दिन उनको जन्म भएको हो । हालको उनको ठेगाना वीरेन्द्रनगर नगरपालिका वडा नं.४ भैरवस्थान हो ।

मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री हुन् सफल भएका छन् । शैक्षिक योग्यतामा त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक (विएड, एमकम) गरेका छन् ।

२०३६ साल देखि उनको राजनिति यात्रा शुरु भयो । सुर्खेतको दशरथपुरमा पंचायती शासकविरुद्ध किसान आन्दोलन र किसान आन्दोलनको प्रेरणाले उनी राजनितिमा सक्रिय भए । तत्कालीन अवस्थामा उनी हालको शिखर मावि रामघाटमा शिक्षण पेशामा संलग्न थिए ।

२०३९ देखी २०४३ सम्म अनेरास्ववियूको प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनिति शुरु महेन्द्र बहुमुखी क्याम्पसको प्राकको सदस्य, सचिव हुदै अञ्चल कमिटी सदस्य, अञ्चल कमिटी सचिव हुदै केन्द्रीय कमिटी सदस्यसम्म भए ।

२०४२ देखि २०४६ सम्म नेकपा (एमाले) काठमाण्डौंको विद्यार्थी फाँटको काममा संक्रिय, कमिटीको सदस्य हुंदै कार्यवाहक सचिवसम्म जिम्मेवारी पाएँ ।

उनले २०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाण्डौंको भद्रगोल जेलघरमा ९ महिना जेलजीवन समेत विताएका थिए । २०४९ सालमा नेकपा (एमाले) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित, प्रजातन्त्र स्थापनापछि २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित, वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखबाट राजीनामा दिएर २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सुर्खेत क्षेत्र नं २ वाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

उनी २०५४ सालमा ३६ वर्षको उमेरमा नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री पनि भए । २०६२÷२०६३ सालमा राजा ज्ञानेन्द्रको निंरकुशता विरुद्धको आन्दोलनमा सहभागी भए र आन्दोलनको नेतृत्व गर्दा सुर्खेतको वीरेन्द्रनगरबाट गिरफ्तार भई सुर्खेत कारागारमा ३ महिना जेल विताए ।

यसैगरी २०६४ सालको पहिलो संविधासभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ वाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । पार्टीको नवौं महाधिवेशबाट केन्द्रीय सदस्य हुदैं पोलिटव्यूरो सदस्यमा निर्वाचित, तत्कालिन भेरी अंचल इन्चार्ज हुदै पार्टीको कर्णाली प्रदेश सहसंयोजक भए । २०७२ मा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदुरपश्चिम प्रदेशमा मिसाएपछि छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाई थिए । फलस्वरुप अहिलेको कर्णाली प्रदेश प्राप्त भयो ।

२०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित उनी प्रदेशसभा प्रमुख प्रतिपक्ष दलको नेता भए । २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले) पार्टीको दशांै महाधिवेशन पछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशको इन्चार्जको भूमिका निभाएका उनी हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज थिए । २०७९ सालमा सुर्खेतको प्रदेशसभा निर्वाचन २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले अमेरिका, क्यानाडा, चीन, श्रीलंका, बेलायत, टर्कीलगाएतका देशहरुमा भ्रमण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया