प्रकाशकिय : २४ औं बार्षिकोत्सवको शुभकामना

पहिलो पटक सन १४४० मा जर्मन नागरिक गुटेन जोहानेस वर्गले काठको छाप्ने मेसिनको आविस्कार गरेका थिए । सोही मेसिनको आविस्कारसंगै किताव तथा पत्रपत्रिकाको प्रकाशन प्रारम्भ भएको इतिहाँस छ । नेपालमा पशुपत प्रेसबाट बि.स.१९५५ मा सुधासागर साहित्यिक मासिक पत्रिका प्रकाशित भयो । नेपाल भित्रबाटै नेपाली भाषामा प्रकाशित यो पहिलो पत्रिका हो ।

यसभन्दा अगाडि १९४८ सालतिर भारतको वनारसबाट मोतिराम भट्टको पहलमा गोर्खा भारत जीवन प्रकाशित भइसकेको थियो । १९५८ वैशाख २४ गते साप्ताहिक गोरखापत्रको प्रकाशन शुरु भयो । १९६० कै दशकमा माधव प्रसाद वर्माको सम्पादकत्वमा चन्द्र नामक सचित्र मासिक पत्रिकाको प्रकाशन शुरु भयो । राणाहरूको कारण १२ अंक पछि यसले निरन्तरता पाउन सकेन । वनारसबाट १९६५ मा मातृका प्रसाद अधिकारी र राममणि आर्चाय दिक्षितले माधवी नामक मासिक पत्रिका प्रकाशित गरेका थिए । यो नेपाली छापामाध्यमको संक्षिप्त इतिहाँस हो ।

 

यस संस्थाले स्थापना तथा निरन्तरताको २३ औं बर्ष पुरा गरेको छ । २४ औं बार्षिकोत्सव मनाउन पाउँदा हामी ज्यादै हर्षित छौं । २०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई प्रकाशन प्रारम्भ भएको थियो । २०६६ चैत्र २९ गतेदेखि दैनिक प्रकाशन प्रारम्भ भयो । स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको भरपुर उपयोग गर्दै २०७६ भदौं १ गतेदेखि आफ्नो स्तरबृद्धि गरी ठुलो आकार (ब्रोडसिट) मा कर्णालीबाट पहिलो पटक प्रकाशन गरी निरन्तरता दिन सफल भएका छौं । निष्पक्षता, निर्भिकता र निरन्तरता हाम्रो मुल मन्त्र हो ।

स्थानीय स्रोत, साधन, उपलब्ध प्रविधिको भरपुर उपयोग गर्दै हामीले आफ्नो प्रकाशनलाई थप परिस्कृत, परिमार्जित, सुव्यवस्थित गर्दै दैनिक फरक/फरक विषयवस्तुमा पाठकमाझ उपस्थिति जनाउने गरेका छौं । कोभिड–१९ को विश्वव्यापी महामारी, विश्व लकडाउनको अवस्थामा पनि देशका ठुला भनिएका सबै छापामाध्यम केही दिन बन्द भए । मोफसलमा रहेर हाम्रो टिमले आफ्नो प्रकाशनलाई एक दिनपनि नरोकि नियमित प्रकाशन गरेर महामारीको ठुलो संकटपूर्ण अवस्थामा हाम्रा पाठकहरुलाई अन्यौलता, सन्त्रासमा सही सूचना, जानकारी, सन्देश प्रवाह गरी पाठकलाई सचेत बनाएको अवगत नै छ ।

कर्णालीको रोग, भोक, अभाव, बेरोजगारी समस्यालाई छिचोल्दै कर्णालीको उद्यमशिलता, खानी, जल, जंगल, कृषि, जडिबुटीको उत्खनन्, प्रशोधन र पर्यटनको सम्भावना खोजी बारे पैरवी गरेका छौं । अझै सशक्त रुपमा गर्नेछौं । प्रदेश सरकार, संसद र स्थानीय सरकारका क्रियाकलाप बारे नागरिकलाई जानकारी दिलाउनु हाम्रो मुख्य कर्म हो । पद, प्रतिष्ठा र शक्तिको दुरुपयोगबाट हुन सक्ने कानून विपरितका गतिविधिलाई रोक्न, सुधार गर्नु खबरदारी गर्नु हाम्रो प्रमुख धर्म हो । प्राप्त अधिकारीबाट हुन सक्ने अनियमितता, भ्रष्टाचार, मनपरीतन्त्रलाई खबरदारी गर्दै आम नागरिकका माझ जस्ताको त्यस्तै सूचना, सन्देश, जानकारी उपलब्ध गराउन नियमित लागेकै छौं । पत्रिकामार्फत खोज, अनुसन्धानमूलक समाचार, लेख रचनासँगै कला, साहित्य, भाषाभाषि, लोककलाको संरक्षण र सम्वद्र्धनमासमेत हाम्रो प्राथमिकतामा रहेको छ ।

आयातमूखी मुलकको अर्थतन्त्रले संकटपूर्ण अवस्थामा पुगेको व्यवसायी क्षेत्रका मुद्धाहरुलाई नियरन्तर उठाउँदै आएका छौं । स्थानीय उत्पादनको बजारिकरण, महंगो लागत, प्रचार प्रसारको अभावमा पलायन हुने अवस्थामा पुगेका स्थानीय कच्चा पदार्थमा आधारित उद्यमीहरुलाई प्रोत्साहन गर्न हामीले नियमित स्तम्भमार्फत स्थानीय उद्योगी, व्यवसायी र उत्पादनका बारेमा निरन्तर पैरवी प्रचार प्रसार गर्ने गरेका छौं । मुलुकमा भएको विभिन्न राजनीतिक परिर्वतनका बावजुद पनि जुन रुपले विकासले गति पाउनुपर्ने हो, त्यस ढगंले गति नपाउनु सिंगो मुलुकको लागी दुभाग्र्यपूर्ण छ ।

राजनीतिक पुनसंरचनाले शक्ति पृथकीकरण सिद्धान्तमा तीन तहमा अधिकार बाँडफाँड गर्दा पनि आ–आफ्ना कार्यक्षेत्रमा इमान्दारीपूर्वक कार्य नहुँदा जनताको चाहना, आकांक्षा र मुलभुत आवश्यकता पुरा भएको देखिँदैन । यसप्रति हाम्रो चिन्ता र चासो निरन्तर रहँदै आएको छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, समानता, पहिचान, शान्ति, न्याय र विकासका लागि संघर्षरत जाति, वर्ग, समुदाय र क्षेत्रका मुद्दा हाम्रो प्राथमिकता रहँदै आएका छन् ।

पत्रकारिताको जग र इतिहाँस बनेको प्रिन्ट (छापा माध्यम) पत्रकारिता पछिल्लो समय संकट उन्मुख रहेको छ । इन्टरनेटको माध्यमबाट सञ्चालित डिजिटल प्लेटफर्मले मिडियाको अस्तित्व, व्यवसायीकता र प्रभावकारितामा चुनौति खडा गरेको छ । सूचना प्रविधिको विकाससंगै मिडियाका आयामहरुमा र पाठकका अभिरुची परिवर्तन हुँदै गएका छन् ।

ठुला उद्योग, कलकारखानाको अभाव, सिमित स्रोत, साधन, भौगोलिक विकटता, सार्वजनिक खरिद ऐन/नियमावली मोफसलका मिडियामैत्री नहुँदा सरकारी विज्ञापन काठमाडौं केन्द्रित हुनु, विज्ञापन बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा र विकृतिले समग्र मिडिया उद्योगलाई नै धरासायी बनाईरहेको छ । मोफसलमा सानो विज्ञापन बजार र भौगोलिक विकटता रहेको कर्णालीमा यो काम सजिलो भने पक्कै छैन । तर पनि हाम्रा आमपाठक, विज्ञापनदाता र शुभेच्छुकहरूको मायाले हामी थप उत्साहित नै छौं । समग्र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि आगामी दिनमा हाम्रो उपस्थिति सशक्त हुनेछ ।

सूचना, प्रविधिको विकाससंगै आम नागरिकहरुको दैनिकी बदलिएको छ । सूचना र प्रविधि वर्तमान समयको उत्कृष्ट र अत्यावश्यक औजार हो । यसलाई आत्मसाथ गर्दै सूचनाको खोजिमा दौडिएका, भौतारिएका, अलमल्ल परेका आम नागरिक, पाठक, स्रोत, दर्शकलाई एउटै प्लेटफर्म युगन्यूज मोवाइल एपबाट समाचार, मनोरञ्जन, शिक्षा, रोजगारीका विभिन्न अवसर, स्थानीय उद्यमशिलता र उत्पादनको डिजिटल मार्केटिङ गरी विश्वभर प्रचार प्रसार गर्ने योजना छ ।

सार्वजनिक खरिद प्रक्रियाको बोलपत्र, शिलबन्दी, आशयपत्र, प्रस्ताव आव्हान जस्ता सबै प्रकृतिका सूचनाहरु सःशुल्क र निःशुल्क उपलब्ध गराउँदै युगन्यूज डटकमलाई सूचनाको केन्द्र विन्दुको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । डिजिटल प्लेटफर्मलाई उपयोग गरी आधारभूत मुल्यमान्यता सहित पत्रकारिताको इतिहाँस जोगाउँदै आफ्ना समाचारजन्य उत्पादन, प्रकाशन सामाग्रीलाई थप व्यवस्थित, मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउनु हाम्रो लक्ष्य रहेको छ । अन्त्यमा, यस संस्थाको शिर उच्च राख्न अहोरात्र कार्यक्षेत्रमा खटिने सम्पूर्ण पत्रकार, कर्मचारीहरु, संस्थाको प्रगति, दिगोपना र सफलताका लागि माया गर्नुहुने सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

दीपक कुमार बुढाक्षेत्री
(प्रकाशक/सम्पादक)

तपाईको प्रतिक्रिया