खरको छाप्रो, त्यही छाप्रोभित्र सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौं दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन ।
आरन पेसामै जिन्दगी बिताएका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका हर्कबहादुर सुनारकोे जाँगर अझै उस्तै छ । उनको पुख्र्यौली घर दैलेख गुराँस गाउँपालिका–६ हो । अहिले वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएका छन् । ‘राम कृष्ण आरण उद्योग’ भने वीरेन्द्रनगर–१० मा संचालन गरेका छन् । सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सीप सिकेर उनले आरन पेसा थालेका हुन् । आरन पेसा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेसा भएकाले निरन्तरता दिएको उनले बताए । खरको छाप्रामुनी रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ ।
मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन सुनार निक्कै खप्पिस छन् । उनले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताए । १८ वर्षको उमेरदेखि आरन पेसामा लागेका उनले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबे जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउछन् । उनले काँचो फलाम किनेर विभिन्न सामानहरु निर्माण गर्दै आएका छन् भने विद्युतको सहायताबाट तिनै फलामका सामानहरु चम्काउने गर्छन् । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् ।
आरनमा बनेको खुकुरीलाई न्युनतम तीनहजार रुपैयाँदेखि ६ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई ३ सय देखि ५ हजार, कोदाली, टुकुटुके एकहजार पाँच सय रुपैयाँ मूल्य पर्ने गरेको उनले जानकारी दिए । आरनबाट दैनिक रुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामानहरु बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने काम पनि हुन्छ । आफुले बनाउँदै आएका सामानको एक सयदेखि ६ हजार सम्ममा विक्रि गर्ने गरेको उनले बताए ।
उमेरले ५९ वर्ष पुगेका हर्कबहादुर फलामको सामानहरु बनाउने सिप आफूसँग रहेको उनको भनाइ छ । हर्कबहादुरको आरनका सामानहरु कैलाली, काठमाडौं, पोखरा, जुम्ला, कालिकोटलगायत ठाउँमा पुग्ने गरेका छन् । परम्परागत सिप र प्रविधिमा आधारित आरनमा सामुदायिक वन जङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामानहरु तिखारिन्छन् र चम्किने गरेको उनले बताए ।
अहिले चारजनाको परिवार रहेको सुनारले आरन पेसाबाटै परिवारको गुजारा चलाउने गरेको बताए । पहिले त आरनको काम गरेबापत गाउँलेबाट उनले अन्नपात लिने गरेका थिए । अन्य ठाउँबाट सामान बनाएको र अर्जाबेवापत ज्याला लिने गरेको उनले बताए । उनले ७ वर्ष सम्म ज्यालादारी काम गरेको बताए ।
९ वर्षको उमेरमा २० केजि फलाम नेपालगञ्जबाट खालि खुट्टा बोकेर ल्याए
हर्कबहादुर सुनारको जिवन संघर्ष रोचक अनि मार्मिक पनि छ । उनी ९ वर्षको उमेरमा २० केजि फलाम बोक्ने गरेका थिए । उनले नेपालगञ्जबाट २० केजि फलाम खाली खुट्टा बोकेर सुर्खेत लिएका थिए ।
यो २०३० साल तिरको कुरा हो उनी सम्झिन्छन् । ‘म २०२१ सालमा जन्मिएको हुँ भनेपछि १० वर्षको थिएहोला ? १० पनि कहाँ होर, नौ वर्षको भएको रहेछु ।’ उनले भने, ‘सबैभन्दा आर्थिककै कमजोरी थियो । के गर्ने १६ वर्षको उमेरमा पाँच कक्षामा पढ्थे भने के पढ्ने भन्नुस्, अनि उनी खिस्स हास्छन् ।’
उनको परिवार ठुलो थियो । उनी घरका जेठा छोरा नै थिए । घरको केहि जिम्मेवारी उनलाई थपिन पुग्यो । आफ्ना बुबाले गरेको आरन पेसा उनले पनि सिके र आरनलाई नै निरन्र्तता दिए । ज्याला मजदुरको काम उनले विभिन्न ठाउँमा गरेका थिए ।
आफ्नो ठाउँ छाडेर विदेश भने गएका छैनन् उनी । सुनारले आरन पेसाबाटै परिवार धानेका छन् । उनले छोरालाई पनि आरनको काम सिकाएका छन् । उनले भने, ‘भारतको रुपैडियाँ सम्म पुगेको छु । तैपनि उपचारको लागि । अन्त जाने त मेरो फुर्सद पनि हुदैन् ।’
बिरामी हुदाँ गोवरमा घाँटीसम्म शरिर डुवाएँ
र्हकबहादुर २०५५ साल चैत १४ गते दिनभरी काम गरेर सुतेका थिए । सुतिरहेका हर्क रातको साढे ३ बजे एक्कासि बिउँझिए । उनी बिउँझिदा एता–उता फर्किन सकेनन् । उनको खुट्टा, हात दुबै चलेन् । उनको घर दैलेख थियो त्योबेला गाउँकाले बोकेर किहान रातानाङ्लासम्म लिए । पछि गाडिमा उनी बाँके रहेको अस्पतालमा पुगे । त्यहाँ उनलाई सामान्य उपचार गरी बाथ रोगको केहि औषधी दिएर पठाईएको थियो ।
घरमा आएर औषधी खाई रहेँ तर निको भने भएन् । आफु विरामी थिए तर २०६१ सालमा उनले आफ्नो बुबा पनि गुमाए । उनले भने, ‘धेरै दुख लाग्छ म बिरामी भएकोले मैले मेरो बुबाको कृय पनि गर्न पाएन् ।’
दायाँ खुट्टा अहिले पनि चल्दैन् उनको । बाथ रोगले आफुलाई धेरै सताएको उनले बताए । रोग निको होला भनेर भैँसीको मल खाल्टो खनेर त्यहि खाल्टोमा मल हालेर उनले त्यहि मलमा बिहान–बेलुका आफ्नो शरिर घाँटी सम्म डुबाउने गरेको कुरा उनले सुनाए ।
उनले भने, ‘बाथ रोग निको होला भनेर कति औष्धि गरे, कति ठाउँ धाएँ, आफ्नो पिसाव सम्म खाएको छु तर निको भएन् ।’
आरनबाटै मनग्य आम्दानी
पछिल्लो पिँढीले भुलिसकेको र लोप हुने अवस्थामा पुगेको आरनबाट हर्कबहादुर सुनारको राम्रो आम्दिानीको स्रोत भएको छ । १८ वर्षदेखि आरनको काम गर्दै आएका सुनारले अहिले वार्षिक ३ लाख रुपैयाँ बढि कमाइ गर्दै आएको बताए ।
बुबाको पालादेखि नै फलामको काम गर्दै आएकाले पसा परिवर्तन नगरी ‘राम कृष्ण आरण उद्योग’ दर्ता गराएर आरनलाई व्यवस्थित र व्यावसायिक रुपले सञ्चालन गर्दै आएको सुनारले बताए । उनले ‘राम कृष्ण आरण उद्योग’ आफ्नो छोराको नाममा उद्योग दर्ता गरी संचालन गरेका हुन् । अहिले उद्योगमा दुई जनाले रोजगार पाएका छन् । उनीहरूलाई मासिक १६ हजार रुपैयाँ तलब दिएर काममा लगाएको उनले बताए । आरनमा बिहानदेखि बेलुका सम्म नै समय दिने गरेको उनको भनाई छ ।
विषेशगरी हँसिया, कुटो, कोदालो बढि बिक्रि हुने गरेको उनले जानकारी दिए । हँसिया दिनमा २०÷२५ वटा बनाउन सकिने सुनारले बताए । आरनमा धेरै लगानी नगरी भने गर्न नपरेको उनले बताए । ७÷८ सय लगानी गरेरै शुरु गरेका थिए । अहिले दुई लाख लगानीमा ‘राम कृष्ण आरण उद्योग’ संचालन गरेको उनले बताए ।
अहिले आरनमा फलाम तताउनका लागि प्रयोग गरिने पुरानो तरिकाबाट आगो फुक्ने भात्ती पनि रहेको छ । आगो फुक्नका लागि हातले चलाउने र विद्युतबाट चल्ने मेसिन राखिएको सनारले बताए । आगोमा तताएको फलाम पिटेर विभिन्न सामाग्रीको रूप दिने गरेको उनले बताए । उनले गाउँघरमा काठको कोइला पाउन छाडेपछि पत्थर कोइला पनि प्रयोग गर्ने गरेका छन् ।
फलाम तलाउनका लागि आगोको आवश्यकता पर्ने भएकाले कोइला जलाएर फलामलाई तताउने गरेको सुनारले बताए । फलामको काम भएकाले अरू काम जस्तो सजिलो नभएको उनले बताए । सानैदेखि बाबुसँग सिकेको सीप अहिले आफ्नै उद्योगमा प्रयोग भइरहेको छ । आरनबाट भएको आम्दानीले अहिलेसम्म सन्तुष्ट नै भएको र घरपरिवार चलाउन सहज भएको सुनारले बताए । आरन पेशा परिवार सँगै बसेर काम गर्न मिल्ने, आज काम गर्छु भोलि गर्दिन पनि भन्न मिल्ने भएकाले यो पेसामा आफु निकै खुसि रहेको उनी बताउँछन् ।
आरन मेसिनको लागि हर्कबहादुर सुनारले वडा, नगरपालिका सम्म मेसिन माग गर्न धाएँ । तर उनले कहिबाट पनि कुनै सहयोग भने पाएनन् । आरन पेसालाई राज्यबाट सहयोग मिले आफुले उत्पादन गरेको सामान विदेश सम्म पु¥याउँने उनको लक्ष्य रहेको उनले बताए ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । ४ बैशाख २०८१, मंगलवार १५:२७