कर्णालीका १० जिल्लामध्ये एक हो, डोल्पा । डोल्पो संस्कृती र धार्मिक सम्पदाहरु प्राचीन गुम्बा, स्मारक, मूर्ती, स्तुपा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् । नेपालको सबैभन्दा ठूलो जिल्लामा रुपमा परिचित ऐतिहाँसिक पृष्ठभूमि बोकेको डोल्पामा रहेका स्थानीय तहमध्ये पर्छ शे फोक्सुण्डो गाउँपालिका ।
शे–फोक्सुण्डो नेपालको एक सुन्दर पर्यटकीय नगरी हो । मुलुक संघीय संरचनामा गएपछि साविकका साल्दाङ, भिजेर र फोक्सुण्डो गाविसलाई गाभेर शे फोक्सुण्डो गाउँपालिका बन्यो । ऐतिहाँसिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभुमिसंग जोडिएको यो गाउँपालिकाको नामाकरण साल्दाङ भूभागस्थित ऐतिहाँसिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँस्थित पर्यटकीय स्थल शे फोक्सुण्डो तालको नामबाट गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा पर्ने शे फोक्सुण्डोको सम्पूर्ण भू–भाग हिमाल, डाँडापाखा र समथर घाँसे मैदान छन् । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवत्ति क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्रहरु उच्च हिमाल र सुख्खा क्षेत्र हुन् ।
नेपाल संघीयतामा प्रवेश गरेसँगै स्थानीय तहहरू घर–आँगनको सिंहदरबारमा रूपान्तरित भए । संघीयतापछि दोस्रो पटकको स्थानीय तह निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा धावा सम्डुक गुरुङ र उपाध्यक्षमा पेम्मा वाङछेन गुरुङ निर्वाचित भएका छन् ।
गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिले मुलतः नागरिकको जीवनस्तर उकास्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने, स्थानीय सुशासन अभिवृद्धि गर्ने तथा स्थानीय आर्थिक विकासका लागि योजनाबद्ध कार्यक्रमहरु अघि सारेका छन् ।
सोहि अनुसारका नीति छन् । उच्च हिमाल क्षेत्रमा रहेको शे फोक्सुण्डोका केहि चुनौती र केहि अवसर छन् । विशेषत् सम्भावनाको खानी नै छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकाल भन्छन् ‘शे फोक्सुण्डोको प्रमुख सम्भावना भनेकै पर्यटन, चौरी पकेट क्षेत्र (चीज र छुर्पी उद्योग), च्याङग्रा पजेट क्षेत्र र भेडा पकेट क्षेत्र हो ।’ शे फोक्सुण्डो गाउँपालिकामा सिमेना र म्युजिक भिडियो छायांकनका लागि उपयुक्त प्राकृतिक सौदर्यता रहेको ढकाल बताउँछन् ।
पर्यटनको प्रचुर सम्भावना
चीनको स्वशासीत क्षेत्र तिब्बतको भू–भागसँग सिमा जोडिएको शे फोक्सुण्डोले पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रशिद्ध फोक्सुण्डो ताल नेपालकै मूख्य पर्यटकीय गन्तव्यको रुपमा चिनिदै आएको छ ।
यसका अलावा फोक्सुण्डो झरना, चारताल, प्रशिद्ध प्राचिन शेल गुम्बा, रिवो वुम्पा गुम्बा, चाखाङ गुम्बा, शे साम्लिङ गुम्बा, याङजेर गुम्बा, रापमार नाम्सुम लगायत विभिन्न प्राचिन गुम्बा, स्मारक र मुर्तिहरू एवं घङ चेन्रल्वा, घङ् नोर्बु, घड् ताइका, शे ला, छोया ला, काङ्ग ला लगायतका सुन्दर हिमालहरू शे फोक्सुण्डोमै छन् ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरूको दर्शन, अवलोकन, भ्रमणका लागि पर्यटकहरू आकर्षित हुने क्रम बढ्दो छ । गाउँपालिकाको पञ्चवर्षिय आवद्यिक योजनाले नै स्थानीय समृद्धिको आधारको रुपमा पर्यटनको दीगो विकासको सोच अघि सारेको छ ।
गाउँपालिकाले दिगो पर्यटन विकासबाट उत्पादन र रोजगारीमा बृद्धि गरि गाउँपालिकाको अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । पर्यटनमार्फत जनताको आय र रोजगारीमा बृद्धि गर्ने उद्देश्य गाउँपालिले आवधिक योजनामा राखेको छ ।
विशेषगरी लामो समयको लागि प्याकेजिङमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरू पोखराबाट मुस्ताङ प्रवेश गरी मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङ डोल्पाको फोक्सुण्डो ताल, शेल गुम्बा हुँदै मुगुको रारा ताल एकै पटक भ्रमण गर्न चाहने हुँदा उनीहरूका लागि फोक्सुण्डो तालबाट शे ला (पास)–शेल गुम्बा– फोत गाउँ–मुगु छायाँनाथ–रारा ताल जोड्ने मार्ग लागि मूख्य पदमार्ग हो ।
यो पदमार्गलाई थप व्यवस्थित र सुविधायुक्त बनाई पर्यटन प्रवद्र्धन र विकास गर्न शे फोक्सुण्डोका विभिन्न योजना अघि सारेको छ । फोक्सुण्डो ताल शे पास हुँदै शे गुम्बासम्म पर्यटन पदमार्ग निर्माण र शे गुम्बा फोत गाउँ हुँदै मुगु छायाँनाथ रारा जोड्ने पदमार्ग निर्माण लगायतका योजना निर्माणको पहल गरिरहेको छ । यी पदमार्ग मुख्य पर्यटकीय पदमार्ग भएकाले सुविधायुक्त व्यवस्थित पर्यटन पदमार्गको रुपमा विकास गर्नु जरुरी रहेको गाउँपालिकाले जनाएको छ ।
५० प्रतिशत घरधुरीमा विद्युतीकरण
शे–फोक्सुण्डोमा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन् । गाउँपालिकाभित्र दुई स्थानमा लद्यु जलविद्युत निर्माण भएका थिए । तर, दुई वटै लद्यु जलविद्युत बिग्रिएका कारण विद्युत उत्पादन हुन सकेको छैन् ।
तत्कालै राष्ट्रिय प्रशारण लाइनको बिजुली पुग्ने सम्भावना पनि छैन् । गाउँपालिकाले सौर्य मिनिग्रेट र सोलार वितरण गरेर ५० प्रतिशत घरधुरीमा विद्युतीकरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल बताउँछन् ।
गाउँपालिकाको प्रथम पञ्चवर्षिय आवधिक योजनाले विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको र सम्भाव्यता नभएका क्षेत्रमा नविकरणीय उर्जाको माध्यमबाट विद्युतीकरण गर्ने र नवीकरणीय उर्जाको स्रोतलाई उत्पादन वृद्धि र व्यवसायिक उर्जाको रुपमा विकास गर्ने रणनीति लिएको छ ।
‘कु गाउँ’ मा सौर्य मिनिग्रेट
नेपालको सबैभन्दा पछि पत्ता लागेको गाउँ हो उपल्पो डोल्पामा पर्ने हिमाल पारि रहेको ‘कु गाउँ’ । शे फोक्सुण्डो गाउँपालिका–७ स्थित रहेको कु गाउँ सदरमुकाम दुनैबाट करिव १ हप्ता भन्दा बढि समय लाग्छ । राज्यको पहुँचबाट निकै टाढा रहेको यो गाउँमा झण्डै ३८ घरधुरी छन् ।
गाउँपालिकास्थापना भएपनि यो गाउँका नागरिकले गत असोजमा पहिलो पटक गाउँपालिकाको हाकिमलाई आफ्नै गाउँमा पुगेको देखे । यो गाउँमा सौर्य मिनिग्रेट निर्माण गरेर ३८ घरधुरीमा विद्युतीकरण गर्ने पहल थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत ढकाल भन्छन् ‘कु गाउँमा सौर्य मिनिग्रेट निर्माण गर्न वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रमा पहल भईरहेको छ ।’
मुकारुङ्गमा याकको चिज
शे फोक्सुण्डो गाउँपालिका–५ मुक्पोरोङस्थित याकको चिज उद्योग छ । मुक्पोरोङ याक चीज उद्योग प्रर्बद्धन कार्यक्रम अन्र्तगत याकको दुधबाट चीज र छुप्र्री उत्पादन भईरहेको छ । उच्च हिमाली क्षेत्र समृद्धि कार्यक्रममार्फत उक्त उद्योग स्थापना गरि सञ्चालनमा ल्याईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
उनका अनुसार यहाँ याककाु दुधबाट चीज र छुप्र्री उत्पादन ब्राण्डिङ र बजारिकरण भईरहेको छ । स्थानीयस्तरमा बिक्री कम हुने भएकोले चीज र छुप्री बिक्रीका लागि सिधै काठमाडौं पु¥याईन्छ । ‘उद्योगमा एउटामात्रै भवन छ, थप भवन गरि व्यवसायिक चौँरी पालन व्यवसायमा सहयोग गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
आवासिय विद्यालय सञ्चालन
शे फोक्सुण्डो गाउँपालिकाले गाउँपालिकाभित्र दुई स्थानमा आवासिय विद्यालय सञ्चालन गरिरहेको छ । वडा नम्बर ८ मा रहेको तापेरीजा मावी र वडा नम्बर ५ मा रहेको मुक्पोरोङ आधारभुत विद्यालयमा आवासिय विद्यालय कार्यान्वयनमा छ । तापेरीजा मावी उच्च हिमाली क्षेत्रको नमूना विद्यालय समेत हो ।
तल्लो डोल्पाबाट पनि अध्ययनका लागि आउने उक्त विद्यालयमा झण्डै दुई सय विद्यार्थी अध्ययनरत छन् । जहाँ विद्यार्थी र शिक्षकलाई आवासिय रुपमा बस्ने र पठनपाठन हुन्छ । आवासिय विद्यालय चलेको मुक्पोरोङ आधारभुत विद्यालयमा झण्डै ९० बढि विद्यार्थी अध्ययनरत रहेको गाउँपालिकाले जनाएको छ ।
इन्टरनेट र टेलिकमको टावर
शे फोक्सुण्डो गाउँपालिकाको अधिकाँश क्षेत्रमा अहिले पनि नेटवर्कको सुविधा पुगिसकेको छैन् । स्थानीयहरु वोकेटोकेको भरमा सूचना आदानप्रदान गर्छन् । इन्टरनेट र टेलिफोन सुविधा नभएको स्थानका नागरिकहरु अहिले पनि ५० कै दशकको जीवनयापन गर्न बाध्य छन् । अब भने गाउँपालिकाले इन्टरनेट सुविधा विस्तारको पहल गरिरहेको छ । गाउँपालिकाले इन्टरनेटको सुविधा विस्तारसँगै नेपाल टेलिकमको टावर राख्नका लागि पहल गरिरहेको छ ।
पाँच शैयाको अस्पताल बन्दै
शे फोक्सुण्डो गाउँपालिकामा हाल तीन वटा स्वास्थ्य चौकी सञ्चालनमा छन् । गाउँपालिकाले थप तीन वटा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरिरहेको छ । सरकारले घोषण गरे अनुसार फोक्सुण्डो गाउँपालिकामा पनि पाँच शैयाको अस्पताल निर्माणको चरणमा छ । गाउँपालिकाका अनुसार हाल पाँच शैयाको अस्पताल निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाईएको छ ।
उत्तिकै छन् समस्या
शे फोक्सुण्डो गाउँपालिकामा सडक संजाल जोडिएको छैन् । जसका कारण खरिद भन्दा बढी ढुवानीको मूल्य पर्न जान्छ । विकास आयोजनाका लागि निर्माण सामग्रीहरू मानिस र खच्चडबाट ढुवानी हुने गरेको छ ।
कतिपय सामान हेलिकप्टरबाट ढुवानी गर्दा खरिदको भन्दा २÷३ गुणा बढी खर्र्च हुने गरेको छ । हिउँदको समयमा हिमपातले निर्माणका कामहरु गर्न सकिदैन् । वनजंगल नहुँदा काठ सामग्री धेरै टाढाबाट ल्याउनुपर्ने बाध्यता छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले शे फोक्सुण्डो गाउँपालिका जस्तो उच्च हिमाली क्षेत्रका स्थानिय तहहरूको लागि (ताप्लेजुङ देखि दार्चुलासम्मका सबै) आर्थिक बर्ष पौषदेखि मंसिर मसान्त कायम भएको भए काम गर्न सहज हुने बताउँछन् ।
‘उच्च हिमाली क्षेत्रको स्थानीय तहमा काम हुने भनेको वैशाखदेखि मंसिर महिनामा हो, असारमा काम सकिन्न, बजेट सबै फ्रीज जान्छ,’ ढकालले भने ।
हिक्मत बहादुर नेपाली । सुर्खेत । १० बैशाख २०८१, सोमबार ११:०७