सम्पादकीय : सरकारी बजेटको हरिबिजोग

एक बर्षका १२ महिना मध्येमा ९ महिना कुम्भकर्ण स्टाईलमा सुत्ने र ३ महिनामा बजेट खर्च गर्न जागा हुने निकायलाई कर्णाली प्रदेश सरकार भनिन्छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्म पनि कर्णाली प्रदेश सरकारले कुल बजेटको चालु तर्फ ३४ दशमलव ९८ र पूँजिगततर्फ १९ दशमलव आठ गरेर जम्मा २५ दशमलव ६६ प्रतिशतमात्र बजेट खर्च भएको थियो । यो अहिलेको मात्र रोग भने होईन, यो पुरानै सरुवा रोग हो जुन रोग जतिसुकै गजबवाला सत्ता सञ्चालक आएपनि लागि नै हाल्छ । बरु कति प्रतिशतमा तलमाथी भयो भन्नेमात्र हो । सरकारले नियमित खर्च गरेको भनेको उहि कर्मचारी र जनप्रतिनिधिका तलव भत्तामात्र होला अरु त त्यस्तै त्यस्तै हो ।

लाजले पनि लाज मान्ने बेलासम्म पनि यि सत्ता सञ्चालकको पारा केही चेन्ज भएको छैन । कर्णाली प्रदेश सरकारले हालसम्म ६ वटा निति, कार्यक्रम तथा बजेट कार्यान्वयन गरेको छ । आव ०७४÷७५ देखी गत आवसम्म विकास निर्माणका काममा सरकारले विनियोजन गरेको रकम ५० प्रतिशत पनि खर्च गर्न सकेको छैन । खाली सैतान दिमाग लगाउने सुरुका ९ महिना काम नगर्ने बाँकी रहेका महिनामा भने टुक्रे योजना बनाउने र भद्रगोल खर्च गर्ने प्रवृत्ति झन मौलाउँदो छ भन्दा फरक पर्दैन । किनकि आफ्ना आसेपासे, नातागोता, कार्यकर्ता खुशी बनाउने एउटा माध्यम भनेको टुक्रे योजना र घुमाईफिराई अनुदान नाम राखेर दिने दान नै हो अनु थपेर सुन्दा अलिक राम्रो बनाएर सरकारको सम्पत्तिमा रजाँई गरेकै छन् ।

पुरानै शैलिमा काम गर्न बानी परेकाहरुलाई जति पुच्छर निमोठेपनि केही लाग्नेवाला छैन । अनि कसरि हुन्छ अपेक्षित लक्ष्य प्राप्ती ? अपेक्षित लक्ष्य प्राप्तिको बाधाहरुमध्येको पहिलो नम्मरको बाधा हो पुरानै कार्यशैलि । यो सरकारको विकास बजेटको ग्राफ भनेको असारे विकासमा निर्भर रहेको छ । अरुवेला बजेट कार्यान्वयनमा ध्यान नदिने जव आर्थिक वर्षको अन्त हुन्छ तव बजेटान्तर गरेर भएपनि हचुवाको भरमा बजेट खर्चको अंक बढाउने प्रबृति पुरानै हो ।

न समयमा बजेटको अख्तियारी पठाउछ, न त्यो कार्यान्वयन गर्ने जनशक्तिको विषयमा टुङ्गो हुन्छ । न त ठूला ठूला महत्वका आयोजना समेटीन्छ यदी समेटी हालेपनी कानुनी बाधाहरुले गर्दा कर्णालीमा विकास बजेट खर्च नभएको कुरा देखाउँदै आएका छन् । कति सत्य कति मिथ्या त्यो भन्नेहरु नै जानुन तर यसलाई पनि पूर्ण रुपमा बनावटी कुरा भन पनि मिल्दैन ।

समयमै बिकास बजेटलाई नियमबद्ध रुपमा कार्यान्वयनमा लगेका आफ्ना आसेपासेलाई पोस्न नपाईने कारण पनि धकेलीधकेली अन्तिममा पुगाउछन । जव मसान्त संघारमा आउछ तव सबैलाई बिकास बजेट खर्चको ग्राफ बढी से बढी देखाउनुपर्ने हुन्छ तव के नियम, के निति, के विधि उहि पुराना थिती हेयो ।

अनि गयो बजेटान्तरण अनि बनायो टुक्रे योजना र आफुु अनुकुलका काम गयो । आफु पनि खुसी आफ्ना पनि खुसी । आखिर आम मानिसका खुसि कहिले कसले पो चिन्ता गरेका थिए र अहिले यिनले गरेनन भनेर चित्त दुखाउनु बानी परेको त्यो बानी पनि लागिराछ । ठीकै छ । तर विकास बजेट खर्चको ग्राफ बढाउने नाममा भएको बजेट टुक्राउने र बजेटान्तर गर्ने काम चाहीं राम्रो होईन । यो व्यक्तिको लागी ठिक र सरकारका लागी स्लोपोईजन हो ।

तपाईको प्रतिक्रिया