कर्णालीमा घट्दै औलो

हुम्ला र कालीकोटका चार वडा भने जोखिममा


कर्णालीमा औलोको जोखिम घट्दै गएको पाइएको छ । प्रदेशभर विगत चार वर्षको तथ्यांकलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन मसान्तसम्म आइपुग्दा आयातित र स्थानीय औलो संक्रमणको जोखिम घट्दै गएको पाइएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ देखिको तथ्यांकमा कर्णालीका सात जिल्लामा औलोका पोजेटिभ बिरामी भेटिएकोमा चालु आर्थिक वर्षमा आइपुग्दा चार जिल्लामा औलो सीमित भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा मुगु, हुम्ला, कालिकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत र सल्यानमा औलोका विरामी रहेकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा चार जिल्ला सुर्खेत, कालिकोट, हुम्ला र मुगुमा मात्रै औलो पोजेटिभ देखिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिए ।

जिल्लागत तथ्यांक अनुसार हाल हुम्ला र कालिकोटमा एक÷एक, सुर्खेतमा २०, दैलेख दुई गरी जम्मा २४ जनामा स्थानीय तथा आयातित औलो संक्रमण पुष्टि भएको छ । यो अवधिमा प्रदेशभर स्थानीय औलो संक्रमण पोजेटिभ एक जनामा मात्रै देखिएको छ ।

दोस्रो स्थानबाट आएको भन्दा स्थानीय स्तरमै फैलने संक्रमणलाई जोखिम मान्ने गरिन्छ । यस्तै, कर्णालीका दुई जिल्ला हुम्ला र कालिकोटका चार वडा भने स्थानीय औलोको उच्च जोखिममा रहेको आचार्यले बताए ।

जसमा हुम्लाको अदानचुली गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र कालिकोटको खाँडाचक्र नगरपालिकाको २ नम्बर वडा रहेका छन् ।

यस्तै, मध्यम जोखिम भएका वडाहरुमा हुम्लाको अदानचुली वडा नं. २ र ३, चंखेली गाउँपालिका वडा नं. २, ताजाकोट गाउँपालिका वडा नं. १, मुगुको सोरु गाउँपालिका वडा नं. ४ र ५, खत्याड गाउँपालिका र सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका रहेको आचार्यले बताए । प्रदेशभर चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३६ हजार ६ सय १३ जनामा मलेरियाको माईक्रोस्कोपी र आरडिटी दुबै जाँच गरिएको उनको भनाई छ ।

सरकारको औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना पुरा गर्न कर्णालीमा औलो निवारण रणनीति नै बनाएर लागि परेको उनले बताए ।

कर्णालीमा औलो निवारणका लागि सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको परिक्षण तथा उपचार निशुल्क उपलब्ध हुने स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।

उनका अुनसार हरेक औलोका बिरामी तथा जोखिम क्षेत्रको १–३–७ (पहिलो दिन जानकारी, तेस्रो दिन भित्र खोज र सात दिन भित्र रोकथाम) पद्दती अनुरुप नियमित सक्रिय खोजपड्ताल भइरहेको छ ।

त्यस्तै औलो रोकथाम तथा नियन्त्रणका लागि जोखिम क्षेत्रहरुमा आमा तथा गर्भवती महिलाहरुका लागि कीटनाशक झूल वितरण गरिनुका साथै आवश्यकता अनुसार कीट्नाशक बिषादीसमेत छर्किने व्यवस्था रहेका कँडेलले बताए ।
यस्ता छन् औलो निवारण रणनीति
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले औलो निवारणका लागि विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ । जस अन्तर्गत प्रभावकारी निर्णय लिन औलो सम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्नेे, औलोको जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम संचालन गरी औलो सर्ने दरलाई घटाउने रणनीति निर्देशनालयले अपनाइ रहेको छ ।
त्यस्तै, औलोको लागि गुणस्तरीय निदान तथा प्रभावकारी उपचारमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने, औलो निवारणका लागि सरकारको नेतृत्वदायी भूमिका तथा प्रतिवद्धता र समुदायको सहभागीता सुनिश्चित गर्ने, औलो निवारणका लागि प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्ने लगायतका रणनीतिका साथ अगाडी बढिरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले बताए ।

स्वास्थ्य संस्थाबाट स्क्रिनीङ्ग तथा परिक्षण, निजी, सरकारी तथा बहु निकायहरुलाई कार्यक्रम सम्बन्धमा स्थलगत अनुशिक्ष तालीम तथा अभिमुखीकरण, सीमा जोडिएका छीमेकी राष्ट्रहरुसँग औलो निवारण सम्बन्धमा सहकार्यसमेत गर्ने गरेको उनको भनाई छ ।

औलो निवारण कार्यक्रमका चुनौतीहरु
हिमाली जिल्लाहरुमा औलोको बिरामीहरु देखिनु तथा आवश्यक प्रतिकारात्मक क्रियाकलाप जस्तै खोजपड्ताल तथा बिषादी छर्किन समयमा पुग्न कठिनाई रहेको निर्देशक खड्काले बताए ।

स्वास्थ्य संस्थामा मलेरिया जाँचमा कमी, औलो परिक्षण स्वास्थ्यकर्मीहरुको प्राथमिकता नपर्नु, स्थानीय सरकारबाट औलोको लागि रणनिति र बजेट व्यवस्थापन कम प्राथमिकता हुन औलो निवारण कार्यक्रमका चुनौती रहेको निर्देशक खड्काको भनाई छ ।

भारत तथा तेश्रो मुलुकबाट आउने आयातित केशहरुको समयमै व्यवस्थापन गर्न कठिनाई, औलो निवारण कार्यक्रमका लागि माग भए बमोजिम पर्याप्त आर्थिक स्रोतको अभाव रहनु, प्रदेश तथा स्थानीय तहमा औलो सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव तथा ईन्टोमोलोजिष्टहरुको अभाव लगायतका चुनौतीले कार्यक्रम सोचे अनुरुप प्रभावकारी हुन नसकेको उनले बताए ।

औलो निवारणका यस्ता छन् आगामी कदम
औलो निवारणका लागि निर्देशनालयले अगाडि बढाउने आगामी कदमहरुमा आरडीटी कीटको समयमै माग, आपूर्ति र विभाजन गर्ने कार्यलाई निरन्तरता दिने, निजी अस्पतालहरुमा औलोको परिक्षण, निदान तथा उपचारमा मुलप्रवाहीकरण गर्ने र सञ्जाल गठन रहेका छन् ।

त्यस्तै, सबै जिल्लाहरुमा समान्तर रुपमा मलेरिया कायक्रम संचालनलाई निरन्तरता दिने, १–३–७ मोडलमा मलेरिया केसको अनुसन्धान र खोजपडतालाई निरन्तरता दिने, औलो सम्बन्धी तथ्यांकलाई व्यवस्थित र विश्वसनिय बनाउने निर्देशनालयको आगामी योजना रहेको छ ।

के हो औलो, कसरी जोगिने ?
सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरुवाट हुने गर्दछ । प्लाज्मोडियम भाइवेक्स, प्लाज्मोडियम मलेरिया, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरु वाट यो रोग लाग्ने गर्दछ । साधारणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजिबीहरु पाइन्छ ।

प्लाज्मोडियम फाल्सीफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन ।
मानिसको शरिरमा प्रवेश गरेपछी कलेजो र राता रक्तकोषहरुमा विकाश भई हुकिएका परजिवीहरु रगतको माध्यमबाट शरिर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन । बेलामा नै सही निदान र उपचार नभएमा छोटो समय मै ज्यान लिन सक्ने रोग हो ।

सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखी १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन । निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरु फियो, कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन् ।

औलो रोगको उपचारको लागी नेपालमा विभिन्न औषधीहरु नेपाल सरकारले निशुल्क रुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराउँदै आएको छ । परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टा छुट्टै हुने गर्दछ । स्वास्थ्य कर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधी सेवन गर्न पर्ने हुन्छ ।

लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगबाट वच्नको लागी सामान्य रुपमा लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।

पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राती सुत्दा संधै झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउंहरुको भ्रमणमा जानु अगाडी रोकथामका उपाय तथा औषधीहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ ।

तपाईको प्रतिक्रिया