घटे मुहान, सुक्न थाले कुवा

कहिले मेटिएला वीरेन्द्रनगरको तिर्खा ?

वीरेन्द्रनगर–३ पतेनी रोडकी बर्षा भण्डारीलाई हिजोआज पानीको पिरलोले सताइरहेको छ । गर्मी मौसम सुरु भएसँगै इनार समेत सुक्न थालेपछि उनलाई खानेपानीको चिन्ता छ ।

‘नजिकै पानीको मुहान छैन । घरको इनार पनि सुकिसक्यो । खानेपानीका लागि जेनतेन जारको पानी त किनौलाँ’ उनले भनिन्, ‘तर लुगा धुने, सौच गर्ने, नुहाउने पानी सँधै कसरी किन्ने ? खानेपानीको संकटले बस्ती नै छोडौं जस्तो लाग्छ ।’

उनीजस्तै पतेनी टोलमा रहेका सबै स्थानीयको पीडा एउटै छ । हप्तौ दिनसम्म धाराको पानी आउँदैन । भएका इनाहरु पनि सुक्दै गएका छन् । त्यसैमा झन् टोल टोलमा खनिएका व्यक्तिगत बोरिङहरुका कारण पनि इनारको पानी छिट्टै सुक्न थालेको छ ।

स्थानीय कालिका बिसीले भनिन्, ‘यो वर्ष सिमालो जग्गामा खनिएका इनार समेत सुक्न थाले । पानीको चरम संकट पर्न थाल्यो । अन्य कुराको भन्दा दैनिक पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउँछ ।’ पानीको स्रोत घट्टै गएपछि पतेनी टोलमा रहेको सार्वजनिक कुवा समेत सुक्न थालेको छ ।

यो कुवामा हाल दैनिक बिहान ४ बजेदेखि राती ११ बजेसम्म पानी भर्नेको भिड लाग्छ । ‘पानीको पालो कुर्दा कुर्दा दिग्क लागेर कहिलेकाँही रित्तै भाँडो लिएर घर फर्किन्छुँ’ स्थानीय चन्द्रा कंडेलले भनिन, ‘खानेपानी किनेर खानुको विकल्प छैन । वीरेन्द्रनगरमा पानीको हाहाकार कहिले अन्त्य होला ।’

वीरेन्द्रनगरमा व्यवसायका लागि टोलटोलमा खनिएका बोरिङका कारण इनार सुक्दै गएका हुन् । भने पानीको मुहान घट्न थालेपछि सार्वजनिक कुवाहरु सुक्न थालेका छन् । वीरेन्द्रनगर–५ चिसापानी स्थित गणेश मन्दिर नजिक रहेको सार्वजनिक कुवा पनि सुक्न थालेको छ ।

‘दैनिक हजारौं घरधुरीलाई पानीको प्यास मेटाउने यो कुवा सुक्दै गएको छ’ स्थानीय रुपा गुरुङले भनिन्, ‘जहिल्यै वीरेन्द्रनगरमा पानीको हाहाकार हुन्छ, नगरपालिका र प्रदेश सरकार के हेरेर बसेका छन् ? कुरा गर्ने काम नगर्ने हो भने अब हामी रित्ता भाँडा लिएर नगरपालिका धाउछौं ।’

खानेपानीको समस्या जताततै उस्तै रहेपनि इनार समेत सुक्न थालेपछि सरसफाइ गर्न समस्या भएको वीरेन्द्रनगर–१० का लक्ष्मी गौतमले बताए । उनले भने, ‘इनारमा पानी रहेनछ, ट्याकीमा पानी भर्न मोटर चलाउदाँ मोटर नै बिग्रीयो ।’

यी उदाहरण पात्र र घटना भएपनि वीरेन्द्रनगरमा पानीको अभावले सबैलाई सास्ती भएको छ । त्यसैमा झन् भाडामा बस्नेहरु ठुलो मारमा छन् । ‘इनारमा पानी छैन, घरभेटीले ट्यांकरको पानी किन्दा बराबर पैंसा तिर्नुपर्ने बाध्यता छ’ बजारमा भाडामा बस्दै आएका जगत हमालले भने, ‘हिजोआज त कोठा भाडा भन्दा पानीमा बढि पैंसा जान थाल्यो, अब सुर्खेत छोड्ने सोचमा छुँ ।’

सरकारसँग नागरिक आक्रोशित
यतीबेला कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा खानेपानीको चरम संकट पर्न थालेको छ । यो समस्या यो वर्षको मात्रै होइन । वर्षौदेखि नागरिकले भोग्दै आएका छन् ।

विगतका वर्षहरुमा गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु हुन्थ्यो । तर यो वर्ष इनार नै सुक्न थालेपछि भविष्यमा झन् ठुलो पानीको संकट पर्ने देखिन्छ ।

यस बिषयमा स्थानीय र प्रदेश सरकारले ध्यान नदिएको भन्दै नागरिक आक्रोसित भएका छन् । वीरेन्द्रनगरको खानेपानी संकट कस्ले र कहिले ? अन्त्य गर्ला भन्दै राजनीति दलबारे आलोचना सहित चर्चा पनि हुने गरेको छ । तर वर्षौ बित्यो समस्या ज्यूँ का त्यूँ छ ।

यता सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगरमा पानी वितरण गर्दै आएको छ । तर गर्मी लागेसँगै मुहानमा पानी घटेपछि ७२ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको संथाले जनाएको छ । संस्थाका प्रमुख डम्मर गौतमका अनुसार हिजोआज मुहानमा ४० प्रतिशत पानी घटेको छ ।

संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएपनि मागअनुसार पानी पुरयाउन नसकेको गौतम बताउँछन् । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ ।

दिर्घकालिन समाधानको काम सुस्त
वीरेन्द्रनगरमा खानेपानी समस्या समाधानको दीर्घकालिन विकल्पका रूपमा हेरिएको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको गति सुस्त छ । यो खानेपानी परियोजना सुरु भएको ६ वर्ष बित्यो । तर निकै चर्चामा रहेको खानेपानी आयोजना सम्पन्न हुन अँझै कति समय लाग्ने हो ? पत्तो छैन ।

निर्वाचनमा मतदाता रिझाउन नेताहरुको चुनावी नारा समेत बन्ने गरेको यो आयोजना निर्माणको काम भने कछुवाको गतिमा छ । पछिल्लो समय काकाकुल बनेको सुर्खेत उपत्यकामा खानेपानीको संकट टार्न यो आयोजना निर्माण हुनुको विकल्प पनि छैन । तर आयोजना निर्माणको सुस्त गतिले नागरिक आजित बनेका छन् ।

भेरी लिफ्टिङ खानेपानी आयोजनामा प्रयाप्त बजेट हुदाँ हँुदै कार्यान्वयन गर्न नसक्नु सम्बन्धित पक्षको कमजोरी हो । हाल परियोजना कार्यान्वयन प्रक्रियामा आएकोले आगामी तीन वर्षभित्र वीरेन्द्रनगरमा पानी पुर्र्याउने लक्ष्य छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा ढिलाई भएको हो । उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा भेरी लिफ्टिङ आयोजना निर्माण गर्न लागिएको हो ।

२०८० जेठ ४ गतेदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम भइरहेको छ । २०८० असोज १२ गते आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । जसमा सात वटा टेन्डर परेका थिए ।

परेका सात वटा टेन्डर मध्ये पाँच टेन्डर छनोटमा परेका छन् । प्राविधिक छनौंटका आधारमा पाँच वटा टेन्डर छनोट गरिएको र अब ती टेन्डरको आर्थिक प्रस्तावका आधारमा छनौंट गरिने आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख सञ्जीवकुमार शाहका अनुसार पहिलो चरण अन्तर्गतका काम धमाधम भइरहेका छन् । आयोजना निर्माणका लागि सात वटा टेन्डर परेको र ती मध्ये पाँच वटा प्राविधिक प्रस्तावका आधारमा छनौंट भएको उनले बताए ।

उनका अनुसार अब आर्थिक प्रस्तावका आधारमा छनोट गरिनेछ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत पहिलो चरणको काम भएको थालिएको हो ।

वीरेन्द्रनगर १ देखि १६ सम्मका सबै वडामा खानेपानी तथा सरसफाइको अवस्थाको विश्लेषण पनि गरिएको छ । ६ वटा सूचकका आधारमा अवस्था विश्लेषण गरिएको हो । १६ वटै वडाको अवस्था विश्लेषणका आधारमा आयोजनाको काम सुरु गरिनेछ । पहिलो चरणअन्तर्गत अबको एक महिनामा ठेक्का सम्झौता गर्नेगरी काम अघि बढाइएको छ ।

त्यसैगरी दोस्रो चरणको काम पनि सुरु गरिएको आयोजनाले जनाएको छ । अहिले दोस्रो चरणअन्तर्गत सर्वे डिजाइनको काम भइरहेको छ । पहिलो चरणको कामको ठेक्का सम्झौता गरेर दोस्रो चरणको काम सुरु गरिने आयोजनाले जनाएको छ ।

हाल आयोजनाको भौतिक संरचना निर्माण गर्ने स्थानमा वन क्षेत्रले ओगटेको छ । आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । भने बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

पहिलो चरणमा संरचना निर्माणका लागि तीन अर्ब २३ करोड रूपैयाँ लागत अनुमान छ । जसअन्तर्गत मुहान इन्टेक, रिर्जब ट्याङ्की, पाइपलाइन निर्माण र दोस्रो चरणमा सेवा विस्तारका काम हुनेछन् ।

आयोजनाका निर्माणका लागि कुल ६ अर्ब लाग्ने अनुमान छ । भेरी पुल र झुप्रा खोलाको दोभान नजिकबाट पानी पम्पिङ गरी अमृतडाँडा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया