स्थानीयस्तरमा तरकारी तथा खाद्य बालीको बिउ उपलब्ध नहुँदा पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का खड्कबहादुर खत्रीलाई १० वर्षअघि बिउ खरिद गर्न छिन्चु वा वीरेन्द्रनगर धाउनुपर्ने बाध्यता थियो । गाउँमै बिउ नपाउँदा समय त खेर जान्थ्यो नै, जान आउन लाग्ने खर्चसमेत दोब्बर हुन्थ्यो ।
उनले परम्परागत खेतीबाट परिवारलाई खान पुग्ने धान मात्रै उत्पादन गर्थे । तर, अहिले उनी धानको बिउमा आत्मनिर्भर मात्रै होइन, वार्षिक लाखौँ आम्दानीसमेत गरिरहेका छन् । उनले १० कट्ठा जमिनमा हिउँदे र बर्खे गरी दुई सिजन भिण्डी र धान (सुक्खा चार) को बिउ उत्पादन गर्दै आएका छन् ।
६ जना परिवार रहेको खत्रीको मुख्य आम्दानीको स्रोत अहिले बिउ उत्पादन बनेको छ । उनले वार्षिक रोग कीरा र प्राकृतिक प्रकोपले असर नगरेको खण्डमा २ देखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । ‘पहिले बिउ सहजै पाइँदैनथ्यो, अहिले बिउमा आत्मनिर्भर भएका छौँ, मूल्य पनि राम्रै पाएका छौँ,’ उनले भने ।
गुर्भाकोटका लिलबहादुर थापाको कथा पनि खड्काको जस्तै छ । निर्वाहमुखी कृषि गर्दै आएका थापा पनि धान र मकैको बिउमा आत्मनिर्भर बनेका छन् । उनले आठ हेक्टर जमिनमा मकै, धान, गहुँ, बदाम आदिको बिउ उत्पादन गर्दै आएका छन् ।
बिउबाटै वार्षिक २ देखि ३ लाखसम्म आम्दानी उनले गरिरहेका छन् । खड्का र खत्री मात्रै हैन, गुर्भाकोट नगरपालिकाका १४ वडा, भेरीगंगा नगरपालिकाका २ वडा र सिम्ता गाउँपालिकाको १ वडाका करिब एक हजार ६ सय ४५ जना कृषकहरू बिउ उत्पादनमा आत्मनिर्भर बनेका छन् ।
बिउ उत्पादनमा ९ सयभन्दा बढी महिलाको सहभागिता छ । जिल्लाको पूर्वी क्षेत्र साविक मैनतडा, मेहेलकुना, साहरे, दहचौर र घुमखहरे गाविसहरूमा २०५२ सालमा वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्र (सिप्रेड) ले विभिन्न कृषक समूह गठन गरी तरकारी तथा तरकारी बिउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
सिप्रेडले सञ्चालन गरेको कृषि कार्यक्रमको प्रेरणा तथा कार्यक्रमले ल्याएको परिवर्तनलाई स्थानीयस्तरमा संस्थागत गर्ने हेतुले संस्थाकै प्राविधिक सहयोगमा २०५८ साल १५ मंसिरमा डिभिजन सहकारी कार्यालय बाँकेमा विधिवत् दर्ता भएर पवित्र जनकल्याण कृषक सहकारी संस्था स्थापना भएको थियो ।
संस्थाको मुख्य उद्देश्य भनेकै बिउ उत्पादन र कृषि पेसालाई व्यवसायीकरण गर्दै कृषकहरूको आर्थिक स्थिति सबल तुल्याउने हो । आजभन्दा करिब १० वर्षअघि स्थानीयस्तरमै बिउ उत्पादन गर्ने गरेको सहकारीले हाल आएर ‘पवित्र बिउ’ नामक उद्योग नै स्थापना गरी देशका करिब ३९ जिल्लामा विभिन्न १० प्रजातिका हिउँदे, १२ प्रजातिका वर्षे तरकारी र ६ प्रजातिका खाद्यान्न बालीको बिउ उत्पादन गरी निर्यात गरिरहेको छ ।
हालसम्म संस्थाले उत्पादन गरेका बिउ ४४ जिल्लामा पुग्ने गरेको संस्थाका अध्यक्ष नौलसिंह खत्रीले बताए । अध्यक्ष खत्रीका अनुसार संस्थाले विशेषगरी धान, गहुँ, मकै लगायतका खाद्यवालीको मुल बिउ उत्पादनमा जोड दिने गरेको छ । स्थानीयस्तरबाट सुरु भएको संस्थाको बिउ उत्पादनको यात्रा अहिले देशव्यापी बनेको छ ।
संस्थाले गत आर्थिक वर्षमा वार्षिक करिब ३ करोडभन्दा बढी आम्दानीसमेत गरेको छ । सहकारीबाट उत्पादित बिउ सबैभन्दा बढी झापा जिल्लामा निर्यात भइरहेको छ । ‘किसानदेखि किसानसम्म’ भन्ने नीति लिएको संस्थाले विभिन्न ४२ वटा कृषक समूह बनाएर बिउ उत्पादन र बजारीकरण गर्दै आएको छ ।
संस्थाले कृषकलाई घाँस काट्ने मेसिन, हाते ट्याक्टर, स्प्रे मेसिन तथा प्लास्टिक टनेल, जैविक विषादी आदिमा सहयोग प्रदान गरेको छ । संस्थाले कृषक समूहमार्फत ९ सय महिला कृषकलाई एक सिजनमा ४५ हजारदेखि ७० हजारसम्म आम्दानी दिन सफल भएको छ । १ सय तीन जना कृषकहरू वार्षिक ७५ हजारदेखि १ लाख ४० हजारसम्मको बिउ उत्पादनबाट आम्दानी गरी स्वरोजगारमा जोडिएका छन् ।
संस्थाले चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म संस्थाले तीन करोड ५४ लाख ७४ हजार ६ सय ८० रुपैयाँ बराबरको तरकारी तथा खाद्यबालीको बिउ निर्यात गरेको छ । यस्तै गत आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न जातका तरकारी तथा खाद्यबालीका बिउ बेचेर ३ करोड ६८ लाख ५१ हजार १ सय ५० रुपैयाँबराबरको कारोबार गरेको थियो ।
कर्णाली प्रदेशको एक मात्र बिउ उद्योग सञ्चालन गरेको सहकारीले महिलालाई क्षमता अभिवृद्धिसहित रोजगारी दिदै आएको छ । पूर्ण रूपमा महिलाहरूबाट सञ्चालित संस्थामा हाल करिब १५ जनाले प्रत्यक्ष र झण्डै १७ सय बढी किसानले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
कृषि विकास निर्देशनालय, सुखेतका निर्देशक चित्रबहादुर रोकायाले कृषिलाई आधुनिकतातर्फ प्रशोधीकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिन बिउ उत्पादन ब्लक क्षेत्र घोषणा गरी निर्देशनालयले विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको बताए ।
निर्देनालयले विभिन्न समयमा कृषि उपकरण खरिद, भवन निर्माण, बिउ प्र्रशोधन गर्ने मेसिन खरिद, बिउ ढुवानीका लागि गाडि खरिद लगायतमा ८५ लाख बढी रकम संस्थालाई अनुदान वापत प्रदान गरेको रोकायाले बताए ।
किसानलाई कृषि कर्ममा जोड्न सहकारी मार्फत निर्देशनालयले विभिन्न कार्यक्रम गरिरहेको उल्लेख गर्दै रोकायाले बिउ उत्पादनमा पूर्वी सुर्खेतका किसान आत्मनिर्भर बन्दै गएकोे बताए । उनका अनुसार निर्देशनालयले किसानलाई व्यवसायिक कृषिमा जोड्न सिंचाई, कृषि औजार खरिद, विभिन्न प्रजातिका तरकारी तथा खाद्यबालीका बिउविजनहरुमा अनुदान दिदै आएको छ ।
ओम शाही । सुर्खेत । १६ बैशाख २०८१, आईतवार ११:५८