कर्णालीको मात्र नभई समर्ग देशकै धार्मिक एवंम पुरातात्विक महत्वका हिसावले महत्वपूर्ण जिल्ला हो दैलेख । दैलेख विभिन्न भाषाभाषी, जातजाती र धर्मको संगमस्थलका रुपमा रहेको जिल्लासमेत हो ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधनसहित) ले ‘पुरातात्विक वस्तु’ भन्नाले प्राग ऐतिहासिक कालमा मानिसले निर्माण गरी उपभोग गरेको वस्तु वा कुनै पनि देशको इतिहास बोध गराउने हस्तलिखित वंशावली, हस्तलिखित ग्रन्थ हुन् भनि व्याख्या गरेको छ ।
यस्तै, स्वर्णपत्र, शिलापत्र, ताम्रपत्र, काष्ठपत्र, भोजपत्र, ताडपत्र, कागजपत्र, मुद्रा वा ऐतिहासिक घटना घटेको वा ऐतिहासिक विशिष्ट व्यक्ति बसेको घर र त्यस्तो व्यक्तिले प्रयोग गरेको वस्तु ढुंगा, काठ, माटो, हस्तिहाड, हाड, काँच, कपडा, कागज, धातु आदि वा बेलबट्टा भरी आकर्षक ढंगले बनाएको घरको कुनै महत्वपूर्ण भाग वा सो घरमा उपयोग गरिएका वस्तु वा बेलबुट्टा भरी वा नभरी बनाएको मूर्ति, देवदेवीको मन्दिर, चैत्य, शालिक, पौभाचित्र, राजप्रसादमा उपयोग भए–गरिएका वस्तु, पशुपन्छी, स्थावर जंगमको प्रतिकृति गरी तोकिदिएको वस्तु समेत सम्झनुपर्छ भनी व्याख्या गरेको छ ।
उक्त ऐनले व्यवस्था गरे बमोजिम स्थानीयले महत्व नबुझ्नु र राज्यको संरक्षण नीतिमा ढङ्ग नपुग्नुले दैलेख जिल्लामा अवस्थित अधिकाँश ऐतिहासिक तथा पुरातात्विक एवम् धार्मिक महत्वका स्थलहरू ओझेलमा मात्रै परेका छैनन् नामेट हुने चरणमा पुगेका छन् । अझ भनौ सम्पदा संरक्षणमा सरकार त उदासिन छ, स्थानीय नागरिकमा अपनत्वको विकास अझै भइनसकेको देखिन्छ । जसले गर्दा सम्पदा चोरीको जोखिम पनि उत्तिकै छ । बाइसे, चौबीसे राज्यकालमा दुल्लु र दैलेखमा दुईवटा राज्य थिए ।
बाह्रौँ शताब्दीसम्म सिंजा उपत्यका र दुल्लु दुईवटा राजधानी बनाई विकास भएको विशाल खस साम्राज्य विघटन भएपछि मात्र बाइसे, चौबीसे राज्यहरू बनेका इतिहासमा उल्लेख छ । तत्कालीन खस राज्य कर्णाली र हालको कर्णाली प्रदेशको इतिहास खोजीमा राज्य ध्यान पु¥याउन नसकेको इतिहासविद्हरु बताउँछन् ।
वि.सं. ११४० मा राजा नागराजले राज्यको स्थापना, उनका वंसज, क्राचल्ल, पृथ्वी मल्ल, जितारी मल्लका पालामा निर्माण गरिएका, मुग्रा धारा, देवल, गुफा, पञ्चदेवलहरू, कोतगडी जस्ता ऐतिहासिक सम्पदा कर्णाली प्रदेशको खस साम्राज्यका महत्वपूर्ण प्रमाणहरू भएको बताइन्छ ।
खस मल्लकालीन साम्राज्यकालमा जुम्लाको सिंजाहाटमा ग्रीष्मकालीन र दैलेखको दुल्लुमा शीतकालीन राजधानी थियो । कुनै बेला खस संस्कृतिको साम्राज्य इराक, इरानदेखि बर्मा जावा समुद्रसम्म फैलिएको इतिहासकार डा. सूर्यमणी अधिकारीले लेखेको पुस्तक खस राज्यको इतिहासमा उल्लेख छ ।
मल्ल राज्यकालमा जुम्लाको सिंजा र दैलेखको दुल्लुमा रहेका हजार बढी ऐतिहासिक सम्पदा, कृति, अभिलेख मासिँदै गएका छन् । राज्यले संस्कृतिलाई अनुत्पादक क्षेत्र ठान्नुले दैलेखका अधिकांश संस्कृतिक तथा ऐतिहासिक सम्पदा नासिदै जान थालेको प्रति चिन्तित छन् दैलेख क्षेत्र नम्बर (२) प्रदेशसभा (क) बाट निर्वाचित सांसद घनश्याम भण्डारी ।
काठमाडौं राज्यलाई जितेर कर तिर्न बाध्य पार्ने सिंजा साम्राज्य नै भएको इतिहासलाई अन्देखा गरिनु विडम्बना रहेको सांसद भण्डारीको भनाई छ । पञ्चकोशी क्षेत्रको विकास र संरक्षणमा लागेका भण्डारी दैलेखको इतिहास जोगाउन राज्यले खासै ध्यान पु¥याउन नसकेको बताए ।
कर्णाली साम्राज्यको सिमाना पूर्वमा त्रिशूली नदी, पश्चिममा कुमाउँ गडवालसम्म थियो । दैलेखको गौडा दरबारमा मात्रै तत्कालीन समयमा ३५ जिल्लाको राजश्व संकलन गरिन्थ्यो । कर्णाली प्रदेशमा हजारौँ ऐतिहासिक महत्वका स्थलहरुमध्ये दैलेखमा अवस्थित सम्पदाहरुको खोजी हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै सांसद भण्डारीले अब पनि संरक्षणमा ध्यान दिन नसके इतिहास नै हराउने खतरा देख्छन्।
दैलेखको धार्मिक तथा ऐतिहासिक महत्वका क्षेत्रहरुको संरक्षणमा तीन वटै तहका सरकारहरुले नीति नै बनाएर लाग्नुपर्ने वकालत आफूले गर्दै आएको सांसद भण्डारीले बताए । सम्पदा क्षेत्र संरक्षणको मुख्य चुनौती सम्पदा बनेका जग्गाहरु व्यक्तिका नाममा हुनु रहेको भण्डारी बताउँछन् ।
‘सम्पदा संरक्षण ऐनमा पुरातात्विक सम्पदास्थल भन्दा ५० मिटर वरपर व्यक्तिको स्वामित्व हुन नुहने उल्लेख गरेको भएपनि दूल्लु क्षेत्रका अधिकांश सम्पदाहरु व्यक्तिको नाममा दर्ता रहेकाले संरक्षणमा चुनौति छ, यसमा सरकारले कत्तिपनि ध्यान पु¥याउन खोजेको अवस्था छैन’ भण्डारीले भने ।
सो ऐनले प्रमुख जिल्ला अधिकारीको मातहतमा रहने गरी संरक्षणि संयत्र व्यवस्था गरेको भएपनि सरकारी उपेक्षाका कारण इतिहास नामेट हुने चरणमा जानु दुखद् रहेको भण्डारीको धारणा छ । आफू दूल्लु नगरपालिकाको मेयर हुँदा पञ्चकोशी क्षेत्रको विकासका लागि योजना अगाडि सारेर सात करोडमा निर्माण ठेक्का भएको अवस्थामा संघ सरकारले वजेट नपठाएपछि योजना अगाडि बढ्न नसकेको भण्डारीको भनाई छ ।
यि हुन् अस्तित्व खोजिका सम्पदा स्थल
दैलेख सदरमुकामको मध्यभागमा अवस्थित ऐतिहासिक कोतगढीको महत्व पनि उत्तिकै छ । झण्डै १२ हात बढी लामा ढुंगाहरूले कोतगढी निर्माण गरिएको छ । बाइसे र चौबीसे राज्यकालमा सुरक्षाका लागि कोतगढी निर्माण गरिएको बताइन्छ ।
दैलेखमा रहेको कोतगढी अहिले नेपाली सेनाको सुरक्षा घेरबारमा छ । नेपाली सेनाको नाममा भएकाले पनि सेनाकै मातहत कोतगढीको सुरक्षा गरिएको छ । नगरपालिका हुँदै स्थानीय सरकारले आफ्नो मातहत लिने भन्नेबारे धेरै पटक नगरपरिषद्बाट निर्णयहरू गरिएको भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । कोतगढीभित्र तत्कालीन समयमा रहेका महत्त्वपूर्ण तीनवटा घरहरू भग्नावशेषमा परिणत भएका छन् ।
कोतगढीसँगै करिव पाँच किलोमिटरको दूरीमा रहेका पंचिसदेवल र पंचदेवल, बेलासपुर मन्दिर र दैलेख सदरमुकामको सबैभन्दा अग्लो समुद्र सतहदेखि करिव चार हजार २०० मिटर अग्लो भूभागमा रहेको महावु धामसम्मसमेत संरक्षणको पर्खाइमा छन् ।
पञ्चकोशी क्षेत्रमा पर्ने शिरिस्थान, कोटिला, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवी, डुङ्गेश्वर लगायतका क्षेत्रहरूको अस्तित्व पनि संकटमा छ । यि क्षेत्रले पाँच थान पञ्चकोशीको रुपमा परिचय बनाएका छन् । पञ्चकोशीका सयौं बिभिन्न स्थानहरूमा सयौं वर्षदेखि ज्वाला बलिरहेका छन् ।
बैश्वानर पुराणमा उल्लेख भए बमोजिम महादेवले कामदेवलाई भष्म गर्दा उनको नेत्रबाट निस्किएको ज्वालालाई एकत्रित गरी फाल्दा ज्वालाको उत्पत्ति भएको पौराणिक मान्यता छ । शिरिस्थानमा शाके संवत १७५७ को शिला अभिलेख पनि रहेको छ ।
पञ्चकोशी क्षेत्र मध्ये शिरिस्थान, नाभिस्थान र पादुका धार्मिक दृष्टिकोेणले विशेष महत्वका क्षेत्र हुन् । पादुका मन्दिरमाको शाके संवत ११३६ को जैन तीर्थकर महावीरको मूर्तिको विशेष महत्व छ । त्यस्तै सिंजा साम्राज्यका राजा अशोकचल्लको समयमा स्थपना गरिएको साउना कार्की र साउका कर्कीनीको अभिलेख सहितको स्तम्भले पञ्चकोशी क्षेत्रको महत्व झनै बढाएको छ ।
नयाँ कार्यको थालनी गर्दा पञ्चकोशी देवतालाई सम्झिए सबै मनोकामना पुरा हुने धार्मिक मान्यता अझै पनि कायम छ भने, पञ्चकोशी क्षेत्रमा बलेका ज्वालाको अग्निबाट दाहसंस्कार गरे स्वर्गमा वास हुने धार्मिक विश्वास कायम छ ।
त्यस्तै, माओवादीले सशत्र द्वन्द्वका समयमा भत्काइदिएको दूल्लु दरवार पुनर निर्माणको पर्खाइमा बसेको छ । दैलेखका ऐतिहासिक वस्तुहरूको बारेमा लेखिएको पुस्तक इतिहास प्रकाशमा उल्लेख भएअनुसार बैश्वानर ज्वाला क्षेत्र भनेर उल्लेख गरिएको छ । यस क्षेत्रमा मध्यकालीन समयमा समेत ३२ वटा ज्वाला बलेको उल्लेख गरिएको छ ।
यसलाई बैज्ञानिक हिसावले समेत खोज अनुन्धान भएको बिभिन्न कृतिहरूमा उल्लेख गरिएको देखिन्छ । दैलेखको ज्वाला क्षेत्रमा रहेको प्राकृतिक ग्याँस वा पेट्रोलियमको संभावनाका बारेमा सन् १९६० मा नै प्रारम्भिक अध्ययन सुरु भएको थियो ।
त्यस्तै, सन् १९९३ मा जियोकेमिकलको नेतृत्वमा पनि अध्ययन भएको थियो । अध्ययनकै आधारमा खानी तथा भूगर्भ विभागको वेभसाइटमा ज्वाला क्षेत्रभरी ४५ वटा ग्यास उत्सर्जन केन्द्रहरू रहेको उल्लेख छ । दैलेखका ४० वटा सम्पदाहरू खानी तथा भूगर्भ विभागको सूचीमा सूचीकृत भएको भएपनि संरक्षणको काम भने अगाडि बढ्न सकेको छैन ।
दैलेख विभिन्न ३२ जात जातिको उद्गम थलो पनि हो । कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेल लगायतका ३२ जातजातिको उद्गम थलो भनेर बिभिन्न बंशावलीमा उल्लेख छ ।
नेपाली भाषाको पहिलो सिलालेख
खस मल्लकालमा जुम्लाको सिञ्जाहाटमा ग्रीष्मकालीन र दैलेखको दुल्लुमा शितकालीन राजधानी थियो । कुनै बेला खस संस्कृतिको साम्राज्य इराक–इरानदेखि वर्मा जावा सुमद्रासम्म फैलिएको खस भाषाको इतिहास नामक पुस्तकमा उल्लेख गरिएको छ ।
वि.सं.१०३८ को साहुपाल अडैद्वारा लिखित शिलास्तम्भ लेखबाट प्रारम्भ भएको नेपाली भाषाको सुरुवातका बारेमा भिन्नभिन्न बहसहरू भएको भाषाविद् प्राध्यापक डाक्टर मधुसूदन गिरी बताउँछन् । भाषाविद् प्रा. डा. गिरीले भने, ‘दुल्लुमा रहेको भाषालिपिसँगै रहेको सा.के.१२७९ वि.स. १४१४ को कृतिखम्ब पनिसँगै रहेको छ, यसबाट स्पष्ट हुन्छ, नेपाली भाषाको पहिलो शिलालेख दैलेखको दुल्लु कै हो ।’
देवल र खम्ब पनि संकटमा
सदरमुकाम दैलेख बजार नजिकै रहेको ९०० वर्षअघि संवत् १३२१ मा निर्माण गरिएको इतिहास भएको भुर्तीस्थित पंचदेवललगायतका अन्य देवलहरू समेत टुक्रिँदै र फुट्दै गएका छन् ।
दैलेख बजारबाट लगभग तीन किलोमिटर पूर्व–उत्तर अर्थात् सुर्खेतबाट दैलेख बजार हुँदै जुम्ला र जाजरकोट जाने मूल बाटोको बायाँतर्फ देवल भएको एउटा अत्यन्त रमणीय ठाउँ छ, जसलाई स्थानीय मानिसहरू भुर्तीको पंचिसदेवल भन्ने गर्छन् । यही ठाउँबाट भुर्तेलको उत्पत्ति भएको मानिन्छ ।
करिव ३२ देखि १८ वर्गमिटर क्षेत्रमा यी देवलहरू बनेका छन । यहाँ २२ वटा देवलहरू अस्तित्वमा छन् । खम्ब देवल विलकुलै सादा अर्थात् एउटै ढुंगामा बनाइएको देवलाकार पाषाण स्तम्भ हो, जसमा आमलक, कलश र गजुराकार शीर्ष विन्दु रहेको हुन्छ । देवल वास्तवमा देवलायको छोटकरी नाम भएकाले यसको योजना शास्त्रीय आधारमा गरिएको छ ।
धेरैजसो देवलका ढोकामाथिको कार्नेसमा सानै भए पनि गणेशको मूर्ति कुँदिएको छ । यस प्रकारका सबै देवलहरूको भित्री भाग सादा र बाहिर भने केही फूलबुट्टा वा अन्य कलाद्वारा अलंकृत गरिएको देखिन्छ ।
दैलेखका धेरै स्थानहरूमा यस्ता देवलहरू देखिन्छन् । करिव २५ बढी स्थानहरूमा पाँचवटा देवलहरू रहेका छन भने १३ देखि २५ वटासम्म देवलहरू भएका स्थानहरूमा पनि पाँच बढी छन् । विभिन्न स्थानहरूमा वीर खम्बहरू पनि प्रशस्त मात्रामा देख्न सकिन्छ । यि देवल तथा खम्बहरु पनि संरक्षणको पर्खाइमा छन् ।
संरक्षणको पर्खाइमा महावु धाम
दैलेखको महावु गाउँपालिका, नौमूले गाउँपालिका र कालीकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने महावु धाम हिन्दु धर्मालम्बी तथा धार्मिक पर्यटकका लागि महत्वपूर्ण तिर्थस्थल मानिन्छ ।
हरेक वर्षको जनै पूर्णिमाका अवसरमा महावुमा भव्य मेला लाग्ने गर्छ । महावु गाथका भगवान शिवको पूजापाठ गरेपछि मात्र देशभरका अन्य मन्दिरहरूमा पूजापाठ हुने भएकाले महावुधामलाई ठूलो शक्तिपिठका रूपमा पूजापाठ हुँदै आएको छ ।
रमणीय पाठन लेक, बुकी झार, उच्च भागमा पनि समथल भूभागको मनरोम दृश्यावलोकन र एउटा मात्र वर मागे पूरा हुने विश्वासका कारण महावु धाममा धार्मिक पर्यटकहरूको चाप बढ्दै गएको भएपनि सहज पहुँच मार्गको भने अभाव छ ।
एक हजार वर्ष पहिले दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुंगामा दिनहुँ दूध चढाएका र पछि शिवलिंग उत्पत्ति भएको किंवदन्ती छ ।
ढुंगा फुटेर शिवलिंग उत्पत्ति भएपछि बोल्न नसक्ने आचार्य ब्राह्मणका छोराले वेद पढ्न जानेका थिए । दैलेखको भुर्तीका आचार्य ब्राह्मणहरूले शिवलिंगमा दूध चढाउने र कालीकोटका काफ्लेहरूले शिव देवताको पहिलो पूजापाठ गर्ने चलन अहिले पनि कायमै छ ।
‘क’ र ‘ॐ’ को अस्तित्व पनि संकटमा
दैलेखमा हजार भन्दा बढी ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक सम्पदाहरू छन् । यति धेरै सम्पदा भए पनि संरक्षणमा राज्यले चासो राखेको छैन । नेपाली भाषा लिपिबद्ध गरेको सबैभन्दा पुरानो साके संवत ९०३ विसं १०३८ मा लेखिएको कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपालको समयको भनिएको भाषालिपि दैलेखको दुल्लुमा छ ।
दैलेखको शिलालेखमा ‘क’ र ‘ॐ’ शब्दको अस्तित्वअहिले संकटमा परेको छ । अस्तित्व जोगाउने अभियान पनि नभएका होइनन् । तर, उचित व्यवस्थापन र संरक्षण हुन सकिरहेको छैन । मल्ल राज्य सिंजा र जुम्लाको दुल्लु दैलेख पनि संरक्षणको पर्खाइमा छ । दैलेखको इतिहास जोगाउन केन्द्र र स्थानीय सरकारले जागरुकता देखाउनुपर्ने आवश्यकता रहेको इतिहासकारहरु बताउँछन् ।
यसो भन्छन् इतिहासका जानकार
लामो समयदेखि दैलेखका सम्पदाहरू र भाषा साहित्यको बारेमा खोज अनुसन्धान गर्दै आएका प्राध्यापक डा. मधुसूदन गिरी भन्छन्, ‘राज्यले दैलेखका सम्पदाहरू संरक्षणमा दिनुपर्ने चासो दिएको छैन, अब जिम्मा स्थानीय सरकारको हो, प्रदेश सरकारले दैलेखलाई पर्यटन, इतिहास र भाषा साहित्यको प्रमुख गन्तव्य जिल्ला बनाउनुपर्छ ।’
दैलेखको इतिहासलाई नजिकबाट नियालेका वरिष्ठ पत्रकार हरिहरसिंह राठोर भन्छन्, ‘दैलेखलाई केन्द्र मानेर समग्र कर्णाली प्रदेशको इतिहासको खोजी गरी राज्यले संरक्षणमा ध्यान पु¥याउन उहिलेदेखि नै ढिलाई गरिरहेको छ ।’
झण्डै तीन दशकदेखि सक्रिय प्रत्रकारितामा संलग्न राठोर दैलेखका सम्पदाहरुको ऐतिहासिक विशेषता र महत्वका बारेमा स्थानीयलाई थाहा नहुनु तथा संरक्षणका नाममा जथाभावी संरचना निर्माण गरिनुले सम्पदाहरुको मौलिक विशेषतासहितको इतिहास मेटिदै जान थालेको बताउँछन् ।
पञ्चकोशी, महाबुधाम लगायतका धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएका क्षेत्रको संरक्षण गरी प्रचार–प्रसारलाई व्यापक बनाई आन्तरिक तथा छिमेकी मुलुक भारतका धामिक तिर्थालुलाई पर्यटकको रुपमा भित्राउन सकेको खण्डमा आर्थिक उपार्जनको पाटो बलियो हुनेमा दुई मत नरहेको देख्छन् पत्रकार राठोर ।
ओम शाही । सुर्खेत । १७ बैशाख २०८१, सोमबार १०:०४