सुर्खेती रंगमञ्चका उस्ताद हुन् प्रमदेव गिरी । ख्याउटे शरीर, फुलेका सेताम्मे दाह्री–जुँगा, लामा–लामा कपालका जटा । सरर्र हेर्दा उनी बेपर्वाह, वैरागी, अल्छीजस्तो देखिन्छन् अर्थात् ‘ब्रान्डेड’ कपडामा सजिने र चिटिक्क परिहिँड्ने स्वभाव उनमा छैन । ‘मेरो सम्पत्ति भनेकै यही लुक्स त हो नि !’ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ निवासी पाका संस्कृतिकर्मी प्रेमदेव गिरी भन्छन्, ‘कथाले मागिरहन्छ । काट्नै पाउदिनँ । कपाल नकाटेको झण्डै १२ वर्षै पुग्यो ।’
मादल समाइरहेको दुब्लो, फुर्तिलो, दाह्रीवाल टोपीधारी प्रेमदेव नै ख्यातिप्राप्त कलासाधक प्रेमदेव गिरीको ‘सिग्नेचर स्टाइल’ हो, जो टाढैबाट चिनिन्छ । संघीय राजधानी काठमाडौं वा अन्य प्रदेशबाट कलाकारहरू सुर्खेत आउँदा प्रेमदेवको नाम पनि सम्झेर आउँछन्, निवासमै पुगेर उनका अनुभव, ज्ञानगुनका कुरा सुनेर फर्किन्छन् । विक्रम संवत् २०१० माघ १० गते जन्मिएका प्रेमदेव बुवाआमाका जेठा सन्तान हुन् ।रंगमञ्चको नशाले एसएलसी परीक्षा छाडेका उनी एकपछि अर्को सफलता पाए । अग्रजहरूले कटकुवा र सुर्खेत उपत्यकामा देखाएका नाटकबाट उनी प्रभावित भइसकेका थिए ।
उनी मादल वादनमा आकर्षित हुनुको कारण छ – जेठी आमाबाट १ दाइ जन्मेका थिए, आमा बितेपछि दाइ पनि बिते । प्रेमदेवका बुवा हरिलालले अर्को बिहे गरे । अब जन्मिने सन्तान बाँचोस् भनेर हरिलालले वादी समुदायसँग मित लगाए । प्रेमदेव जन्मिए । वादी मितबाले उनी ७–८ वर्षको छँदा मादल उपहार पाएका थिए । त्यही मादल खेलाउँदा–खेलाउँदै कुशल वादक कहलिए ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले बर्सेनि आफ्नो स्थापना दिवस मनाउँथ्यो । २०२८ सालमा एसएलसी नदिएर उनी सांस्कृतिक टोलीको नेतृत्व गरेर काठमाडौं जाने तयारीमा थिए । राजा महेन्द्रको निधन हुँदा नाचघरको कार्यक्रम स्थगित भयो । २०२९ फागुन ७ गते सांस्कृतिक संस्थानले आयोजना गरेको अञ्चलस्तरीय लोकनृत्य प्रतियोगितामा भेरी अञ्चलको नेतृत्व गर्दै उनले भाग लिए । त्यसअघि जिल्ला–जिल्लामा प्रतियोगिता गरेर अञ्चलका लागि छानिनुपर्थ्यो ।
प्रतियोगितामा ‘यानीमाया लेबरै’ भाकामा झ्याउरे नृत्य थियो ।
पे्रमदेव नेतृत्वको सुर्खेती टोली पहिलो भयोे । पुरस्कार स्वरूप टोलीले स्वर्णपदक पायो । उनको सफलताको सिँढी पनि यहीँबाट शुरू भयो । हुन त स्कूल पढ्दाताका उनी नाटक, नृत्यमा कहिल्यै दोस्रो भएनन् । २०२९ सालमै रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा पनि भाग लिए । सुर्खेतकै भीमबहादुर कार्कीले गाए, उनले मादल बजाए । प्रतियोगितामा सुर्खेतको टोली पहिलो भयो ।
एकै वर्ष भएका २ ठूला प्रतिस्पर्धामा सबैलाई उछिनेपछि पे्रमदेव सांस्कृतिक संस्थानको रोजाइमा परे । प्रतियोगितामा भाग लिन त्यस बेलाको कठिन यात्रा पार गरेर काठमाडौं पुगेका उनीसहित ३ जनाले राष्ट्रिय नाचघरमा करार सेवा शुरू गरे । जतिबेला उनी १९ वर्षका थिए । वाद्य वादकका रूपमा उनी र नृत्यकारतर्फ सुर्खेतकै टेकराज भारती र गोपाल बस्नेतले करार सेवाअन्तर्गत जागिर पाए । उनीहरू त्यतै बसे । बाँकी ३ जना फर्किए ।
त्यो बेला वाद्य वादकका रूपमा गिरीको मासिक तलब २०० र नृत्यकारको ३०० रुपैयाँ थियो । टेकराज २०३४ र गोपाल २०३७ सालमा सुर्खेत फर्किए । उनी २०४१ सालमा सुर्खेत फर्किए ।
स्मृतिमा नारायण गोपाल
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा काम गर्दा उनले नारायण गोपालसँग संगत गर्न पाए । नारायण गोपाल पनि करार सेवामा काम गर्दै नाचघरको महाप्रबन्धकसम्म भए । प्रेमदेवको नारायण गोपालसँग २०२७ सालदेखि चिनजान हो । २०२९ सालदेखि नाचघरमा सँगै काम गर्ने मौका पाए । नाचघरमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उनलै मादल बजाउँथे । नारायण गोपालसँगै सोभियत संघ, युरोप, हङकङ र भारतका विभिन्न शहर घुमे ।
‘यो गिरी भाइले मादल राम्रो बजाउँछ’ भन्दै नारायण गोपाल हरेकपटक हौसला दिइरहन्थे । नारायण गोपालको ‘मुनामदन’ गीतिनाटकमा उनले मादल वादकको रूपमा काम गरेका थिए । ‘कान्छी’ चलचित्रको गीतमा नारायण गोपालले गाउँदा प्रेमदेवले मादल बजाएका थिए । ‘कान्छी’ भारतको कोलकत्तामा छायांकन भएको चलचित्र हो । नारायणगोपालप्रतिको उनको स्मृति यस्तो छ, ‘धेरै नबोल्ने, मूड आयो भने आफैं हाँसोठट्टा गर्ने, अलि अन्तर्मुखी स्वभाव थियो । बिहानै उठ्ने बानी थियो । सोभियत संघको ३ हप्ताको यात्रामा म नारायण दाइसँगै मर्निङ वाकमा निस्केको थिएँ ।’
२०४७ सालमा सुर्खेतबाट सांस्कृतिक टोली लिएर काठमाडौं गएका बेला कलाकार भुवन चन्दसँग पे्रमदेवको भेट भयो । ‘भुवन दिदीले ‘नारायण गोपालको अवस्था अन्तिम छ, वीर अस्पतालमा गएर भेट्नुहोला’ भन्नुभो । अस्पतालको आईसीयूमा टाढैबाट देख्न पाएँ, त्यतिबेला उहाँको शारीरिक अवस्था शिथिल भइसकेको थियो । मैले भेटेको २–३ दिनपछि उहाँ बित्नुभएको खबर पाएँ । मंसिर १९ गते नारायण गोपाल ब्रह्मलिन हुनुभयो,’ उनले सम्झिए ।
नारायण गोपालको स्मृति दिवस नजिकिँदा प्रेमदेव विगतका स्मृतिले झन् मर्माहत हुन्छन् । प्रेमदेवले २०४१ सालसम्म राष्ट्रिय नाचघरमा जागिर खाए र जमल वरिपरि निकै जमेर रंगीन सा“झ कटाए । मासिक २०० रुपैयाँबाट शुरू भएको उनको तलब बाहिरिँदा ९५० रुपैयाँसम्म पुगेको थियो । नाचघरमा छ“दा दर्जनौं नाटक र गीतिनाटकमा वाद्यवादकका रूपमा उनले काम गरे । मुकुन्द इन्दिरा अमरसिंह (बालकृष्ण सम), मसान (गोपालप्रसाद रिमाल) हरिशचन्द्र, अन्धवेग, हास्दै जल्नुपर्छ, बादलले छोपेको घाम, हाम्रो पनि कथा छ, यमपुरीमा जिउँदो मान्छे लगायतका नाटकमा अभिनय गरे । कतै बटुवाको भूमिकामा देखा परे त कतै सैनिकका रूपमा, कतै सारंगी रेट्ने गन्धर्वदेखि घरेलु कतै नोकरसम्मको भूमिका निर्वाह गरे ।
टेलिसिरियल ‘सनै रोइरहेछ …’ र चलचित्र ‘बन्धकी’मा नायिकाका बुवाको अभिनय गरे । त्यतिबेलै हो श्यामदास वैष्णव, हरिप्रसाद रिमाल, प्रचण्ड मल्ल, जितेन्द्र महत अभिलाषी, गोविन्दप्रसाद तिमिल्सेना, गोपीकृष्ण अर्याल, झलकमान गन्धर्व, गणेश रसिक, गोपाल योन्जन, गंगा राणा, नविनकिशोर राई, कुमार बस्नेत, भैरवबहादुर थापा, सुभद्रा अधिकारी, तारादेवी, अम्बिकादेवी रिमाल, रामशरण दर्नालजस्ता अग्रज स्रष्टासँग संगत भयो । उनीहरूकै प्रत्यक्ष निर्देशनमा नाटक खेले । ३० देखि ४० को दशकसम्म सयौं रेडियो नाटकमा पनि खेले । निर्देशकले औंधी रुचाउने हुँदा त्यतिबेला उनले नखेलेका नाटक सायदै बाँकी होलान् ।
लोकबाजा त्यसमा पनि मूल रूपमा उनी मादल वादक हुन् । जसरी बासुरी वादनमा प्रेम औतारीको नाम आउँछ, त्यसरी मादल वादनमा सबैले प्रेमदेव गिरीकै नाम लिन्छन् तर उनी वाद्यवादक मात्र कहाँ हुन् र ? उनी त लोकगीत संकलक, संगीतकार र अभिनेता पनि हुन् । उनले बन्धकी, गोर्खा पल्टन, बाटुली, परदेशी–२ एकादेशको कथा, घामड सेरेजस्ता दर्जनौं चलचित्रमा कुशल अभिनय गरेका छन् । प्रेमदेवले सयौं लोकगीत संकलन गरेर रेकर्ड गरेका छन् ।
‘सरर्र मलेवा … घुम्छ बादलमुनि मायालै, छ्याम्म–छ्याम्म कट्टीका उकालो लाग्या परालका बिटा, सुर्खेतमै सालिना बुलबुले ताल, जाम माया बुलबुले २०४० सालको दशकसम्म उनले संकलन गरेका केही चर्चित गीत हुन् यी । ताप्लेजुङकी कविता आले, भोजपुरका गणेश रसिक, हिरण्य भोजपुरे, काठमाडौंका कुमार बस्नेत, पोखराकी ज्ञानु राणा, लुम्बिनीका नारायण रायमाझी, दाङका खड्ग बुढा, चन्द्रकला शाहदेखि कञ्चनपुरका भुवन विरहीसम्मलाई आफूले संकलन गरेका गीतमा स्वरांकन गराए प्रेमदेवले ।
पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका श्रष्टामार्फत तत्कालीन मध्यपश्चिम क्षेत्रको लोकलय, लोकभाकालाई देशव्यापी बनाए । उनले संकलन गरेका गीतहरू स्वर्गीय लोकबहादुर क्षेत्री, प्रवीण गुरुङ, सुन्दर श्रेष्ठ, मधु क्षेत्री, नारायण रायमाझी, भुवन चन्द, सावित्री शाह, तारा थापा, सपना परियारका स्वरमा सुन्न सकिन्छ । उनले संकलन गरेका १०० हाराहारीको संख्याका सबै गीत अहिले रेडियो नेपालको स्टुडियोको अभिलेखालयमा सुरक्षित छन् । रेडियो नेपालबाट बेलाबखत गुन्जिनेमा पर्छन् ती गीतहरू ।
प्रेमदेव गिरी यस्ता कलाकार हुन्, जसले देउडा, ख्याली, झ्याउरे, सिंगारु, सोरठीजस्ता मध्यपश्चिमका लोकभाका देशव्यापी गराए । कुमार बस्नेत र राम थापाले गाएको
उनको यो गीत पनि चर्चित छ –
‘कोइली बास्यो कोहो कोहो
क्याट्ट क्रिक्रिटीका टयाम्मै
न्याउली बास्यो न्याहो बाउजु
लर्की लरक्क घन्काऊ मादल ।’
कट्टीका उकाला लाग्या छ्याम्म छ्याम्प बोलको गीत गणेश रसिक, हिरण्य भोजपुरे लगायतले गाए । सरर मलेवा बोलको गीत कविता श्रेष्ठ, कुमार बस्नेतले गाएको सुर्खेतमा सलिना बुलबुले ताल लगायतका गीत संलकन गरेका थिए । राष्ट्रिय नाचघर छाडेपछि २०४३ देखि २०४५ सालसम्म उनले रेडियो नेपालमा वाद्य वादकका रूपमा काम गरे । २०४२ सालमा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित अञ्चलस्तरीय प्रतियोगितामा भेरीको तर्फबाट लोक नृत्यमा प्रथम स्थान हासिल गरे । १२ जनाको टीम थियो । २०४३ सालमा पुनः काठमाडौं फर्के । रेडियो नेपालको लोकगीत शाखामा वाद्य वादकका रूपमा ३ वर्ष काम गरे ।
काठमाडौंबाट सुर्खेत फर्केपछिको उनको यात्रा शिक्षणतर्फ मोडियो । यसै मेसोमा बुलबुले तालकै छेउमा रहेको निजी स्कूल इगरब्रिजमा अतिरिक्त शिक्षकका रूपमा १२ वर्ष संगीत सिकाएर बिताए उनले । २०६० सालदेखि हालसम्म इन्टरनेसनल कोअपरेटिभ उच्च माविमा अतिरिक्त शिक्षकका रूपमा गीत, संगीत र वाद्यवादन सिकाइरहेका छन् । उनले थुप्रै सम्मान पुरस्कार पाएका छन् । नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार, लोकदोहोरी लाइभ अचिभमेन्ट हात पारेका उनलाई न्यूयोर्क कला मञ्चले सम्मान पनि गरेको छ ।
नेपाल संगीत नाट्य प्रतिष्ठानले २०७६ सालमा लोक प्रज्ञा राष्ट्रिय सम्मान दियो । गत असारमा सांस्कृतिक संस्थानले स्वर्ण जयन्तीको अवसरमा राष्ट्रिय संगीत पुरस्कार पनि उनलाई प्रदान ग¥यो । गिन्ती गर्दा यस्ता कदर, सम्मान, पुरस्कार धेरै होलान् तर उनको तपस्याका तुलनामा ती नगण्य हुन् भन्न सकिने ठाउँ“ छ ।
मादल बजाउने र नाच्ने वा विद्यार्थीहरूलाई सारेगम वा नाद ताल सिकाउनमा मात्र प्रेमदेव गिरी सीमित भएनन् । उनलाई लागेको थियो, तत्कालीन सुदूर र मध्यपश्चिमको सुन्दर केन्द्र सुर्खेत उपत्यकामा स्थायी महत्त्वको केही काम गर्न पाए हुन्थ्यो । जब सुर्खेत फर्के, उनले बागिना (बाजा, गीत नाच) लाई एउटा कला मन्दिरमा रूपमा स्थापना गर्ने सोच बनाए ।
अहिले यही बागीनाले त्यस क्षेत्रको कला संस्कृतिलाई राष्ट्रको मूलधारमा जोड्ने काम गरेको छ । यसले थुप्रै कलाकार उत्पादन गरेको छ र प्रेमदेवको सपनालाई उनकै जीवनकालमा थामिराख्ने काम गरेको छ । गिरी काठमाडौं बस्दा ३० को दशकमा स्वर सम्राट नारायण गोपालको सम्पादनमा ‘बागीना’ निस्कन्थ्यो । त्यो बाजा, गीत नाचमा समर्पित त्यतिबेलाको एक मात्र चर्चित त्रैमासिक पत्रिका थियो । धेरै लामो समय निस्केन । छोटो समयमै पत्रिका बन्द भयो । सुर्खेतको बागीना नामक संस्थालाई त्यसैको कला मन्दिर संस्करण भन्न नसकिने होइन । जे भए पनि प्रेमदेवले नाम चाहिँ उतैबाट झिकिल्याएका थिए ।
चरी लैजा समाचार …
‘त्यता के–के हुँदैछ, यता बाढी पसेर, फेरि हामी दुःखीकै खायो मुटु–कलेजा, हामी भयौं बेघरबार, हामी भयौं बेघरबार, चरी लैजा समाचार, हामी भयौं बेघरबार !’ नेपालमा कुनै न कुनै भूगोलमा बर्सेनि बर्खाको सिजनमा बाढी–पहिरोले क्षति गरिरहन्छ । तब नेपालीको जनजिब्रोमा गुन्जिन्छ, संगीत श्रोताको शब्द र लयमा अन्जानबाबु र स्वयं संगीतश्रोताले गाएको यो गीत ।
२०७१ साउन २८ र २९ गते सुर्खेतमा भीषण बाढीपहिरो आयो । भेरी लगायत नदीमा आएको कहालीलाग्दो बाढीले ११५ जनाको ज्यान लियो, थुप्रै अंगभंग भए । सुर्खेत उपत्यका जलमग्न भयो । ५ हजार बढी परिवार विस्थापित भए । निरन्तरको वर्षाकै बीचमा प्रेमदेवले स्थानीय समावेशी टेलिभिजनका प्राविधिक टोलीसँग एउटा प्रस्ताव सुनाए, चरी लैजा समाचार, हामी भयौं बेघरबार बोलको परिस्थिति सुहाउँदो गीत छ, यसलाई छायांकन गरौं । टेलिभिजनको टीम पनि सहमत भयो । गीतको भिडियो तयार भयो ।
टेलिभिजनमा प्रसारण हुनुका साथै यूट्युबमा अपलोड भयो । लाखौं दर्शकले भिडियो हेरिसकेका छन् । अहिले पनि हरेक बर्खामा त्यही भिडियो भाइरल हुने गरेको छ । भिडियोमा प्रेमदेवको जीवन्त अभिनय देख्न सकिन्छ ।
ओम शाही । सुर्खेत । १७ बैशाख २०८१, सोमबार १३:०८